लमजुङमा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी विजयी हुनुभएको छ ।   शनिबार सम्पन्न मतगणनामा नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारको भन्दा दोब्बर मत ल्या...

पोखरा:    गण्डकी प्रदेश सरकारले  आज (मंगलबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिनुभयो 

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ वर्ष २०८१ साल आगमनको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।   भट्टले शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको शुभकामना दिएका हुन् । ‘हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्ने गर्दछौँ। त्यसैले, नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव हो’ – भट्टले भनेका छन् – ‘राष्ट्रको आजको प्राथमिकता संविधानको पूर्ण कार्यान्वयन, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दीगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको छ।’ नयाँ उमङ्ग र उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रिय समृद्धि र सुशासनका निम्ति जुट्न पनि उनले अनुरोध गरेका छन् ।   शुभकामना सन्देशमा भनिएको छ – ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वोपरी लक्ष्य रहेको छ। यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्न आवश्यक छ।   अर्थतन्त्रमा देखिएको संकट समाधानका लागि सबै पक्ष मिलेर अहम् भूमिका निर्वाह गर्नुपर्नेछ । सबै राजनैतिक दलकाबीच दृढ सङ्कल्प आवश्यक रहेको छ। मुलुकलाई अगाडि बढाउन दलहरूका बीचमा सहकार्य र सहमतिको संस्कृति अझ विकास र विस्तार हुनेमा विश्वस्त छु। लोकतन्त्रको उच्चतम अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्न निरन्तर प्रयत्नरत रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।’

पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद (इद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गरेका छन्।    भट्टले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ‘ मुस्लिम समुदायले जकात अल–फित्र भनिने अनिवार्य दान गर्नुपर्ने मान्यता छ। इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्ठान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ। यस धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गर्दै आएको छ। यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेछ ।’   यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्नुका साथै धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउने भट्टको विश्वास छ ।             आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउने, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने, राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने विश्वास लिँदै उनले शुभकामना व्यक्त गरेका छन् ।   

पोखरा:    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । कांग्रेसले भने सभामुखसहित पेस गरेको दाबी असंवैधानिक रहेको भन्दै मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरेको थियो । दिउँसो साढे ३ बजे शपथ ग्रहणको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।  

पोखरा:    गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्ट र बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबीच विहीबार भेटवार्ता भएको छ ।   गण्डकी प्रदेश प्रमुख निवास, पोखरामा गण्डकी प्रमुख भट्टले बागमती प्रमुख शर्मालाई स्वागत गर्नुभयो । यस्तै, हालै प्रमुख प्रदेश नियुक्त हुनुभएकोमा बागमती प्रमुख शर्माले भट्टलाई बधाई ज्ञापन गर्नुभयो ।  प्रमुखद्वयले आ–आफ्ना प्रदेशको परिचय आदानप्रदानका साथै दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले काम र अनुभवहरू पनि साटासाट गर्नुभयो ।  भेटका अवसरमा आपसी कार्यानुभव आदान प्रदान गर्नुका साथै आगामी दिनमा दुई प्रदेशबीच थप सम्बन्ध  प्रगाढ बनाउँदै सहयोग र सहकार्य  गर्नुपर्नेमा जोड दिइएको थियो ।  प्रदेशका सिमान्तकृत समुदाय उत्थानका लागि गर्न सकिने भूमिकालगायत विषयमा कुराकानी भएको गण्डकी प्रदेश प्रमुख भट्टका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिनुभयो ।  उक्त अवसरमा बागमती प्रदेश प्रमुख शर्माले बागमती प्रदेशमा निमन्त्रणा समेत गर्नुभएको थियो ।   

पोखरा:    गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बिहान पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।  प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गरी आगामी चैत २७ गते दिउँसो ३ बजेभित्र मुख्यमन्त्री दाबी गर्न समय दिइएको जनाएको छ । संविधानको धारा, १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८० चैत २७ गते मङ्गलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरिएको छ ।  यसैगरी, अर्को मन्त्रिपरिषद् गठन नभएसम्म संविधानको धारा, १६९ को उपधारा (३) बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखले तोकिएको  जारी विज्ञप्तिमा उल्लेख छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्दछ । प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपा २ र एक स्वतन्त्र सांसद रहेका छन् । 

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले लोक सेवा आयोग राष्ट्रका सेवा गर्न चाहने आम नागरिकको आशा एवम् भरोसाको केन्द्रको रुपमा रहेको बताएका छन् ।  उनले निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई अक्षुण राख्नु आयोगका लागि चुनौतीपूर्ण रहेको पनि उल्लेख गरे ।  प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेश, पोखराको तेस्रो वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आयोगले गरेको काम र भूमिकाको प्रशंसा समेत गरे ।  उनले भने, ‘देश संघीय संरचनामा रूपान्तरण भएसँगै जारी हुनुपर्ने संघीय निजामती सेवा ऐन जारी नभएको विषम परिस्थितिमा पनि प्रदेश सरकार र प्रदेश लोकसेवा आयोगबाट प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह हुँदै आएको छ ।’ पाठ्यक्रमलाई आवधिक रुपमा परिमार्जन एवम् अध्यावधिक गर्ने, परीक्षा प्रणालीमा सामयीक सुधार गर्ने जस्ता विधि र प्रक्रिया अवलम्बन गरी उम्मेदवारको परीक्षण र छनौट प्रणालीको गुणस्तरीयता कायम गर्दै योग्यता प्रणालीको संरक्षण गर्नमा प्रदेश लोक सेवा आयोग निरन्तर क्रियाशील रहनेछ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । प्रदेश प्रमुख भट्टले संविधान र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमका कार्यहरुको अलावा स्मारिका प्रकाशन जस्ता रचनात्मक कार्यहरु समेत गरेकोमा बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा पनि नियमित कार्यहरुको प्रभावकारिता अभिवृद्धि गर्दै थप रचनात्मक कार्यहरु गर्न उत्प्रेरणा र सफलता मिलोस् भन्ने कामना गरे ।  उक्त अवसरमा उत्कृष्ट कर्मचारीबाट आयोगले अधिकृत छैटौं गोविन्द पौडेललाई नगद र सम्मानपत्रसहित प्रदेश प्रमुखबाट पुरस्कृत गरिएको थियो । प्रदेश प्रमुख भट्टले लोक सेवा आयोग गण्डकी प्रदेशले प्रकाशित गरेको स्मारिका समेत लोकार्पण गरे।  

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार एक शुभकामना सन्देशमार्फत् उहाँले नेपालीहरुको महान पर्व फागु पूर्णिमा ९होली पर्व० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ – ‘खुशीको रंगहरु छर्दै मौलिक संस्कृतिहरुको संरक्षण र  सम्वर्द्धन  गर्ने प्रेरणा मिलोस् भन्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’ नेपालमा पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा (होलीपर्व) मनाइने गरिन्छ ।   सबैले आपसी मनोमालिन्यता, रिस, राग, द्वेष, मतभेद बिर्सेर एकअर्कालाई रङ अबिर लगाएर फागु पूर्णिमा (होलीपर्व) मनाउँदै हामीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दता र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वासका साथ यस पर्व धुमधामका साथ मनाइने गरिन्छ ।