पोखरा: वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका समीर कार्की विजय भएका छन् । कार्कीले निकटतम प्रतिस्पर्धी नेविसंघका मुबारक अलि गद्दीलाई पराजित गरे । कार्कीले २ सय ९५ मत ल्याउँदा नेविसंघका अलिगद्दीले १ सय ४७ मत ल्याए । कुल ४८० मतदातामा ४ सय ३४ मत खसेको निर्वाचन मण्डलले जनाएको छ । आइतबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल नै विजयी भएको छ । अनेरास्ववियुलाई सभापति, कोषाध्यक्ष, ३ सदस्य र अखिल ९क्रान्तिकारी० लाई सचिव र दुई सदस्यको भागबन्डा गरी संयुक्त प्यानल सहित चुनाव लडेका थिए । सचिवमा क्रान्तिकारीका धिराजन परियार विजयी भएका छन् । उनले २ सय ७७ मत ल्याए । सदस्यमै अनेरास्ववियुका महादेव सिंह, अनिशा आचार्य, गरिमा गुरुङ निर्वाचित भएका छन्। सदस्यमा क्रान्तिकारीका लोकराज थापा र दीपा कार्की विजयी भए । चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिए पनि स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन ।
पोखरा: वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा आज (आइतबार) भएको स्वतन्त्र विद्यार्थी युनियको निर्वाचनमा ४ सय ३४ मतदान भएको छ । आज भएको स्ववियु निर्वाचनमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा भएका ४ सय ८० मतदाता मध्ये ४ सय ३४ जनाले मतदाताले निर्वाचनमा भाग लिएको निर्वाचन अधिकृत डा. लिला पुरीले जानकारी दिए । अहिले सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भैरहेको निर्वाचन अधिकृत डा. पुरीले जानकारी दिए । क्याम्पसमा क्रियाशिल ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेपनि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीले मात्र निर्वाचनमा भाग लिएका थिए । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते नै देशभरका क्याम्पसमा स्ववियुको निर्वाचको मिति सार्वजनिक गरेपनि कास्कीको ६ क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको नामावली सार्वजनिक नभएको भन्दै फागनु २५ गते केही विद्यार्थी संगठनहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा त्रिविको कार्यतालिका अनुसार यस क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।
सन्धिखर्क : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार र एमालेबाहेकका दल राष्ट्र खोक्रो पार्न लागेका बताएका छन्। नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्। अध्यक्ष ओलीले विपक्षीहरूले राष्ट्रिय शक्ति निर्माणको कामलाई अगाडि बढाउन नदिएको त्यो प्रयासलाई असफल पारेर मिसन ग्रासरुट मार्फत मिसन ५१ प्रतिशत उपलब्धी हात पार्ने बताए। एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे। हरेक वडा, हरेक पालिका हरेक प्रदेश र संघमा सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले संगठन निर्माणमा लागेको जानकारी दिए। उनले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्। अध्यक्ष ओलीले भने 'बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ' एमाले नेता तथा कार्यकर्ता बोली वचनबाट छुट्टिनु पर्छ। समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन अन्तरविरोध गरेर भोट नदिने कार्य नगर्न कार्यकर्तालाई आग्रह गरे। 'अहिले सिङ कस्का बलिया भनेर जोरी खोज्ने समय नभएको बताउँदै उनले मानवीय समाजको सभ्यतालाई बुझेर कम्युनिष्ट पाटीका नेता र अरू पाटीका नेता कार्ड छुट्ट्याउन नहुने बताए।
काठमाडौँ: प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधानका लागि पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । एमालेकी विद्या भट्टराईले मुलुकमा आर्थिक मन्दिका कारण नागरिकको दैनिक जीवन अत्यन्त सङ्कटमा परेको तथा प्रमुख सहरमासमेत आर्थिक कारोबार सुस्त रहेको बताइन् । उनले भनिन्, “ठूलो सङ्ख्यामा युवा रोजगारीका लागि विदेशिएका छन, अध्ययन र भ्रमणका लागि विदेश जानेको सङ्ख्याले वैदेशिक मुद्रा सञ्चितिमा असहजता उत्पन्न भएको छ, महँगी उच्च छ, आम नागरिकलाई उत्साह प्रदान गर्ने कार्य कहिले हुन्छ ? ” राष्ट्रिय प्रजातन्त्र पार्टीकी बीना लामाले मिटर ब्याजमै भए पनि ऋण लिएर उच्च शिक्षा र रोजगारीका कारण ठूलो सङ्ख्यामा युवायुवती विदेश जान बाध्य भएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् । जनमत पार्टीकी विनिताकुमारी सिंहले सिराहमा प्रसूति अस्पताल नभएकाले सुत्केरीले बाटोमै मृत्युवरण गर्नुपर्ने बाध्यता अन्त्यका लागि ध्यानाकर्षण गराइन् । नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले दशकौँदेखि झापाका विभिन्न स्थानमा बसोबास गरेका सुकुम्वासी समस्यामा परेकाले उनीहरुका लागि लक्षित गरी नापी सुरु गर्न, चर्को रुपमा रहेको कर घटाउन, लालपुर्जा वितरण गर्न तथा अव्यवस्थित बसोबास हटाउन मिति तोकेर काम गर्न सुझाव दिए । राप्रपाकी मीना जैसवालले वीरगञ्जमा सरल र सहजरुपमा सार्वजनिक यातायातका साधानको व्यवस्था गर्न आवश्यक रहेको बताइन् । नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एसइई परीक्षा अर्को विद्यालयमा गएर दिनुपर्ने बाध्यतालाई अन्त्य गरी होम सेन्टरमै परीक्षा दिने व्यवस्था मिलाउन सुझाव दिए । एमालेकी शान्ति श्रेष्ठले आफूलाई निर्वाचनमा विजयी गराउने मतदाताप्रति आभार व्यक्त गर्दै आफ्नो क्षेत्रमा रहेको अव्यवस्थित र कच्ची बाटोलाई स्तरोन्नति गरी कालोपत्र गर्न माग गरिन् । रास्वपाका शिव नेपालीले जनताले सुशासन र विकासको कहिले अनुभूति गर्न पाउलान भनी प्रश्न गर्दैै सांसदलाई केवल सरकार गठन र ढाल्न मात्र प्रयोग नगर्न आग्रह गरे । नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवरले अघिल्लो वर्ष भएको जनगणनामा कालापानी र लिम्पियाधुराको जनगणना किन छुटाइयो भनी प्रश्न गरे । नेपाली कांग्रेसले सन्तोष चालिसले काठमाडौँ क्षेत्र नं ३ स्थित बागमती करिडोर बनाउने सिलसिलामा नेपाल ट्रष्टको जग्गा र वन क्षेत्र परेकाले त्यसलाई प्रयोग गर्न सक्ने व्यवस्थाका लागि पहल गर्न अनुरोध गरे । रास्वपाका सन्तोष परियारले देशमा आर्थिक सङ्कटका कारण समस्या परेकाले त्यसलाई कसरी सहज र सरल तुल्याउने भन्नेतर्फ सबैको पहल हुन आवश्यक रहेको बताए । सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा ताला, नियुक्तिमा ढिलाइ, विश्वविद्यालयका कोर्स अघि बढ्न नसकेको अवस्थाले भर्ना र उत्तिर्ण दर कमजोर भएकाले सबैको त्यसतर्फ ध्यान जानुपर्ने बताइन् । कांग्रेसका सुरेन्द्रराज आचार्यले सीमा क्षेत्रमा भारतले बाँधेको बाँधले वर्खामा नेपालका कयौं बस्ती र खेतीयोग्य जग्गा डुवानमा पर्ने भएकाले समयमै त्यो समस्या समाधानका लागि अर्थपूर्ण पहलका लागि ध्यानाकर्षण गराए । एमालेकी सूर्यकुमारी श्रेष्ठले दैलेखमा अव्यवस्थित बसोबास समस्या अन्त्यका लागि सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न माग गरिन् । जनमत पार्टीकी सोनु मुर्मुले कृषि प्रधान देश भएपनि किसानलाई मलखाद अभावले खेतीपाती गर्न नसक्ने परिस्थिति अन्त्यका लागि समयमै त्यसको सुनवाइ गर्न ध्यानाकर्षण गरिन् । रास्वपाकी सोविता गौतमले काठमाडौँ क्षेत्र नं ३ मा जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी समस्या समाधान गर्न माग गरिन् । नेपाली कांग्रेसकी सङ्गीता मण्डल धानुकले तराई–मधेसमा दाइजोलगायतका कुप्रथा अन्त्यका लागि चेतनामुलुक कार्यक्रम र शिक्षामा जोड दिन आवश्यक रहेको बताइन् । नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले कम लागतमा धेरै सिँचाइ हुने राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई छिटो पूर्णता दिन आवश्यक बजेटको व्यवस्था होस् भनी माग गरे । रास्वपाका हरि ढकालले शून्य समयमा उठाएका विषय शून्यतामै सीमित नगरियोस् भनी सदनको ध्यानाकर्षण गराउँदै शेयर कारोबार गर्नेले हालसम्म रु १४ खर्ब गुमाइसकेकाले उनीहरुलाई सान्त्वना दिने काम कहिले हुन्छ भनी प्रश्न गरे । नेकपा (माओवादी) केन्द्रका हितराज पाण्डेले पछिल्लो समय क्यासन्सरका कारण धेरै व्यक्ति आक्रन्त भएकाले त्रिभुवन विश्वविद्यालय महाराजगञ्जमा रहेको सुरेश वाग्ले अस्पताललाई विस्तार गरी उपचारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए । नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङले काठमाडौँ उपत्यकाभित्रका नदी किनार, उकास र बहाव क्षेत्रमा निर्माण गरेका संरचना सात दिनभित्र हटाइयोस् भनी सूचना प्रकाशित भएकामा सुकुम्वासी समस्यालाई हलुका तरिकाले नहेरियोस् भनी सदनको ध्यानाकर्षण गराए । राप्रपाका ज्ञानबहादुर शाहीले विश्वमा मुलुकलाई चिनाउने खेलकुद क्षेत्रमा छुट्याएको बजेट र खेलाडीको तलब बढाउन माग गरे । माओवादी केन्द्रकी ज्ञानु बस्नेतले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशाला अधुरै रहेकाले त्यसलाई पूर्णता दिने काममा तदारुकता देखाउन सरकारसँग माग गरिन् । नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले रामधुनी ऐतिहासिक महत्वअनुरुप संस्कृति र सभ्यताको प्रचारप्रसार आवश्यक रहेको बताए ।
काठमाडौंः सांसद्हरूले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्नुपर्ने बताएका छन्। संसदमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद् भानुभक्त जोशीले संशोधन विधेयक यथाशीघ्र पारित हुन आवश्यक रहेको बताए। जोशीले भने, ‘सर्वोच्च अदालत जस्तो संस्था कायममुकायम प्रधानन्यायाधीशको भरमा चलेको छ। संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन। यो संसोधन विधेयक चाँडो टुंगो लगाउनुपर्छ।’ सांसद् रघुजी पन्तले विधेयकलाई तत्काल पास गर्नुपर्ने बताए। पन्तले भने, ‘अहिलेको सरकारपनि टालाटुली बटुली कति राम्री पुतली जस्तै छ। प्रधानन्यायाधीश नहुँदा न्याय प्रक्रियाका कार्य सम्पादनहरू रोकिएका छन्। मन परेका मान्छेहरू आयोगमा पठाउने अवस्था नआओस्। यो विधेयकलाई पारित गरेर कानुन बनाउन सकौं, ’ पन्तले लोकतन्त्रका संरचना निर्माण गर्दा ध्यान पुर्याउनुपर्ने बताए। सांसद् अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद् जस्तो देखिएको भन्दै यसले लोकतन्त्र सुदृढ हुन नसक्ने बताए। स्वतन्त्र न्यायपालिकालाई काम गर्न अवरोध सिर्जना भएको भन्दै संवैधानिक निकायहरूमा स्वस्थ व्यक्तिहरूलाई नियुक्ती गर्नु अहिलेको आवश्यक रहेको बताए। स्वतन्त्र न्यायपालिका जस्तो संस्था कायममुकायमको भरमा चल्नु दुर्भाग्य रहेको केसीको भनाइ छ। कलेजियम निर्माण गरेर सम्बन्धित विज्ञहरूलाई छनौट गर्नुपर्ने र ती व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्ती दिनुपर्ने बताए। सांसद् महेशकुमार बर्तौलाले संवैधानिक निकायहरूको नेतृत्व टुंग्याउनुपर्ने अवस्था आएको बताए। बर्तौलाले भने, ‘केपी ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् बैठकमा गणपुरक सन्दर्भमा सडकको मसला बनाइयो। निर्णय प्रक्रियामा बैठक अध्यक्षले बोलाउनुहुन्छ। बैठकमा सबै सदस्यको समान भूमिका हुन्छ। तर, संशोधन विधेयकमा अध्यक्षलाई विशेषाधिकारको कुरा उठाइएको छ। यसले संवैधानिक आधार प्राप्त गरेको छ भन्ने देखिँदैन। संवैधानिक परिषद्को अध्यक्षलाई संविधानले नदिएको अधिकार दिनु उपयुक्त हुँदैन।’
बुटवल: लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)मा मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।
नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका दुई मन्त्रीले मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाएपछि नेकपा एमाले यहाँ कमजोर भएको छ । माओवादी मन्त्रीहरु बाहिरिएपछि अब ठूलो दलको हिसाबले नेपाली कांग्रेस प्रदेशको सरकारमा दाबी गर्दैछ । सरकार धरापमा परेपछि बहिर्गमनको बाटो रोज्नुपर्ने भएपनि मुख्यमन्त्री खगराज अधिकारी हार मानिहाल्ने मुडमा छैनन् । मुख्यमन्त्री अधिकारी निकटकाअनुसार एमालेले अझैपनि माओवादीसँग सत्ता समीकरण गर्न चाहिरेको छ । निकटस्थ भन्छन् ‘अधिकारीको चाहना माओवादीलाई मुख्यमन्त्री दिएर भएपनि प्रदेश सरकारमा रहनेछ ।’ उक्त योजनालाई मूर्तरुप दिन मुख्यमन्त्री अधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सम्वादमा छन् । स्रोतका अनुसार माओवादीलाई मुख्यमन्त्री दिएर सत्ता टिकाउने एमालेको बलियो अस्त्र हो । ‘माओवादी कांग्रेससँग मिले पनि पाउने भनेको हालकै पोर्टफोलियो हो’ स्रोत भन्छ ‘उसले कुनैपनि हालतमा मुख्यमन्त्री पाउँदैन, तर हाम्रो अफर माओवादीलाई झनै फाइदामूलक हुनेछ ।’ एमालेले यस्तो योजना बनाएपनि यसको निर्णय केन्द्रबाटै हुने बताइन्छ । यता माओवादीलाई भने एमालेको प्रस्ताव स्वीकार्न सहज छैन । प्रदेशसभाका एक सांसदले भने ‘जहाँसम्म एमालेले त्यस्तो प्रस्ताव नराख्ला तर राखेपनि यहीबाट निर्णय गर्ने सम्भावना छैन ।’ उनका अनुसार आगामी सरकारमा को–कहाँ हुने भन्ने निर्णय प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्र्णयमा निर्भर छ । यद्यपि, एमालेले मुख्यमन्त्री दिने प्रस्ताव भने माओवादीलाई लाभदायक हुने उनले उल्लेख गरे । एमालेको यो योजना सफल नभएपनि सत्ता छाडिहाल्नेतर्फ मुख्यमन्त्री अधिकारीले सोच बनाइसकेका छैनन् । ‘उहाँ अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा हुनुहुन्छ’ उनले भने । गण्डकी नेपाली कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रको ७ (सभामुखबाहेक), राप्रपाको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । ६० सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । रास्वपाको शुक्रबार बसेको केन्द्रीय समिती बैठकले उपनिर्वाचनमा गठबन्धन नगर्ने र तीनवटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । आगामी बैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । बैठकले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।
काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहेको छ । एकता घोषणा कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष साहले मुलुक अप्ठेरो अवस्थामा पुगेका कारण विभिन्न शक्तिहरू एकीकृत हुनुपरेको बताए। अर्थतन्त्रको भ्रष्ट नीतिका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको भन्दै उनले यसमा नीति निर्माण तहमा पुगेका व्यक्तिहरू गम्भीर हुनुपर्ने धारणा राखे। अब सरकार गम्भीर भएर मुलुकमा देखिएका समस्या समाधान गर्न ध्यान केन्द्रीत गर्नुपर्ने उनको भनाइ छ। अहिले नेताहरू कुर्सीको व्यापारी बनेकाले जनताहरू निराश हुनुपरेको उनको भनाइ छ । एकता कार्यक्रममा आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान सार्वजनिक गरिएको थियो ।

