राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

पोखराः   प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२(१) मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ ।  पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याउनुभयो ।  नेकपा(माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार पाँच सय ४० र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले चार सय ९३, स्वतन्त्र उम्मेदवारहरू  दीपकप्रसाद पौडेल ७२, दुर्गाकुमारी शर्मा ४५ र निशा थापाले ३४ मत ल्याउनुभएको छ ।  सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । सो क्षेत्रको प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा(एमाले)का विद्या भट्टराईले अग्रता बनाउनुभएको छ । 

पोखराः   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।    बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याई विजयी भएका हुन् ।    देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन् ।

म्याग्दीः   म्याग्दीको प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जाली (सुविन) विजयी हुनुभएको छ । जुग्जाली उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार यामबहादुर गर्बुजालाई एक सय एक मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । जुग्जालीले नौ हजार चार सय ५४ मतसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गर्बुजाले नौ हजार तीन सय ५३ प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रका म्याग्दी संयोजक रहनुभएका जुग्जाली गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पराजित हुनुभएको थियो । उहाँ विसं २०७४ को स्थानीय तहमा मालिका गाउँपालिका–७ विमको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

पोखराः   कास्कीको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका दामोदर बैरागीले छ हजार आठ सय ३९ मतसहित अग्रता लिनुभएको हो ।  उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले पाँच हजार पाँच सय ७० मतसहित पछ्याउनुभएको छ ।       यस क्षेत्रमा कूल ६१ हजार चार सय १४ मत खसेकोमा हालसम्म २० हजार आठ सय ७० मतगणना भएको छ । जसमध्ये एक हजार एक सय २० मत बदर भएको छ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराल(जीवन)ले चार हजार आठ सय ३८ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले एक हजार ५० मत ल्याउनुभएको छ ।  यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमालेका गणेशमान गुरुङ आठ हजार सात सय ४६ मतसहित अग्रता लिनुभएको छ । उहाँलाई पाँच हजार तीन सय ९९ मतसहित दुर्गादत्त भण्डारीले पछ्याउनुभएको छ । साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार एक सय ४७ र हाम्रो नेपाली पार्टीका खीमप्रसाद तिमिल्सिनाले दुई हजार एक सय २५ मत प्राप्त गर्नुभएको छ । हालसम्म २० हजार आठ सय ६२ मतगणना भएकोमा आठ सय मत बदर भएको छ ।

ढोरपाटनः   बागलुङ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी हुनुभएको छ । कुँवरले नेकपा (एमाले)का लक्ष्मण पुनलाई तीन हजार तीन सय ३७ मतान्तरले पराजित गर्नुभयो । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ हजार ७१ मत प्राप्त गर्नुभएको छ । नेपाल दलित पार्टीका टेकप्रसाद कामीले दुई सय ६४, मङ्गोल नेशनल अर्गनाइजेशनका ताराबहादुर घर्तीमगरले दुई सय ३१, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्तीले ३६, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले तीन सय ३६ र दुर्गादेवी घर्तीमगरले चार मत प्राप्त गर्नुभएको छ । निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्ने यस क्षेत्रमा ४१ हजार दुई सय २७ मतदाता रहेकामा २३ हजार तीन सय ३८ मत खसेको थियो ।

पर्वत:  पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । पर्वतमा कूल खसेको ६६ हजार दुई सय ७३ मत मध्ये अपराह्न ४ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झण्डै १७ हजार मत गणना भएको छ ।  पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा एमालेका उम्मेदवार पदम गिरीलाई छ सय ९८ मतान्तरले पछि पार्नुभएको छ । जोशीले आठ हजार ४२ मत प्राप्त गर्नुभएको छ भने गिरीले सात हजार तीन सय ४४ मत प्राप्त गरेका छन् । प्रदेशसभा सदस्य क्षेत्र नं १ तर्फ गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरले सात हजार आठ सय ६४ मत प्राप्त गर्नुभएको छ ।  एमालेका भक्त कुँवरले सात हजार पाँच सय ९१ मत प्राप्त गरेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ तर्फ गठबन्धनका तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले एक हजार पाँच सय ५० मतले पछि पार्दै अग्रता कायम गर्नुभएको छ ।  पछिल्लो परिणामअनुसार कांग्रेसका तिवारीले पाँच हजार आठ सय २३ र एमालेका बस्यालले सात हजार तीन सय ७३ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म मतगणनाको अन्तिम परिणाम आउन सक्ने छ ।

जनकपुरधामः  धनुषाको चार क्षेत्रमध्ये तीन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अग्रता लिइरहेका छन् । धनुषाको निर्वाचन क्षेत्र न. १ बाहेक तीनवटा क्षेत्रमा एमालेका उम्मेदवारहरु अग्रता लिइरहेका छन् । धनुषा क्षेत्र नं. २ मा एमाले उम्मेदवार उमाशंकर अरगरिया ४८०२ मतसहित अग्रस्थानमा छन् । उनलाई कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले पछ्याइरहेका छन् । रामकृष्ण्ले ३७९० मत ल्याएर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा जसपाका उम्मेदवार आनन्द यादव २९६४ मत पाएका छन् भने चौथोमा एकीकृत समाजवादीका रामचन्द्र झा २१३९ मत पाएका हुन् । धनुषा क्षेत्र नं. ३ मा एमाले नेतृ जुलीकुमारी महतोले ६२४३ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठबन्धन लोसपाका उम्मेदवार अनिलकुमार झाले ४४३३ मतसहित पछ्याइरहेका छन् । तेस्रोमा जनमत पार्टीका उम्मेदवार शम्भु साहले १८४१ मत पाएका छन् । धनुषा क्षेत्र नं. ४ मा एमाले नेता रघुवीर महासेठ ४७६ मतसहित पहिलो स्थानमा छन् । उनलाई सत्ता गठबन्धन कांग्रेसका उम्मेदवार महेन्द्र यादवले ३९४ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतो ६१ मत पाएका छन् । धनुषा १ मा भने विपक्षी गठबन्धन जसपाका उम्मेदवार दीपक कार्की २३७६ मतसहित अग्र स्थानमा छन् । कार्कीलाई सत्ता गठबन्धन माओवादी केन्द्रका उम्मेदवार मातृकाप्रसाद यादव १७०५ सहित दोस्रो स्थानमा छन् भने तेस्रोमा राप्रपाका उम्मेदवार मनोज मल्ल २०४५ मत ल्याएका छन् ।

वीरगञ्ज:   पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ । पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए । पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश यादवले १२ हजार १२७ मत ल्याएका छन् । ०७४ सालमा पनि यो क्षेत्रबाट नेपाली कांग्रेसले नै जितेको थियो । कांग्रेसका राजेश्वरप्रसादले १० हजार २५९ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन संघीय समाजवादीबाट उठेका उनै राम नरेश यादव १० हजार ७९ मत ल्याएर पराजित भएका थिए ।

रसुवा:   रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गर्नुभएको छ । तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार चार सय १४ मत बढी प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।  उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार हुनुहुन्थ्यो । उक्त क्षेत्रमा १३ हजार ६ सय ५५ मत खसेकामा १३ हजार दुई सय ८७ मत सदर भएको थियो ।