काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष दलका शीर्ष नेताबीचको बैठक सकिएको छ। संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन प्रधानमन्त्री दाहालले बोलाएको शीर्ष नेता बीचको बैठक सोमबार पुन: बस्ने गरी सकिएको हो। बैठकमा प्रधानमन्त्री दाहालसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो। सोमबार पुन: बैठक बस्ने सहमति भएको उनले जानकारी दिए। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ। उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । मङ्गलवारबाट सुरु भएको बैठकमा रूपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दैछ । बैठकमा आउँदो केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकमा पार्टीको आउँदो कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले बताउनुभयो ।
सत्तारुढ दल नेकपा (एकीकृत माजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठक सोमबार र मङगलवार बस्नेछ ।
नेकपा एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा समापन भएको छ । १८ दिनअघि बैतडीको झुलाघाटबाट शुरू भएको समृद्धिका लागि सङ्कल्प यात्रा आज पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको हो । चिवाभन्ज्याङमा रहेको नेपाल–भारत सीमा स्तम्भ नजिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्राको समापन गर्नुभयो । कार्यक्रममा अध्यक्ष ओलीले १८ दिनको मध्यपहाडी लोकमार्गको यो यात्राले देशमा रहेका विभिन्न समस्या समाधान गर्न एमाले सक्षम छ भन्ने सन्देश प्रवाह गरेको दाबी गर्नुभयो । आफूहरुको अभियानका क्रममा नागरिकले दिएका सल्लाह सुझावलाई मनन गर्ने र समस्यालाई समाधान गर्न पहल गर्ने ओलीले बताउनुभयो । यात्राका क्रममा नेता कार्यकर्ता र स्थानीयको कुरा सुन्दा वर्तमान सरकार असफल भएको पाइएको ओलीको दाबी छ । उहाँले प्रचण्ड नेतृत्वको यो सरकार शान्ति सुरक्षा र विकासका लागि असफल भइसकेको दाबी गर्दै अब एमाले नै देशको दरिलो शक्तिका रुपमा स्थापित हुने जिकिर गर्नुभयो । झुलाघाटबाट यात्राको सुरु गरेदेखि १७ दिनसम्म गाडी यात्रा गर्नुभएका ओली आज भने फिदिमबाट चिवाभञ्ज्याङसम्म हेलिकप्टरमा जानुभएको थियो । मध्यपहाडी लोकमार्गले छुने २६ वटा जिल्लाहरुमा एमालेले गएको मङ्सिर १४ गते आजसम्म विभिन्न र्याली, सभा र भेटघाट गरेको हो ।
गण्डकी: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याउनुभयो । “कतिपय दलहरुले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो रु”, महामन्त्री शर्माले भन्नुभयो,“२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरुबीच छलफल गरौँ ।” उहाँले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाउनुभयो । महामन्त्री शर्माले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको बताउनुभयो । कांग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उहाँले बताउनुभयो । “देशको जितको खोजी प्रमुख कुरा हो, कांग्रेसको जित महत्वपूर्ण कुरा होइन”, उहाँले भन्नुभयो, “अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो ।” उहाँले कांग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
दाङ: दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु भएको छ । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई गएराति घोराही–१० झारबैरा चोकमा ठक्कर दिँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते भएका प्युठानको झिमरुक गाउँपालिका–४ बाङ्गे बस्ने १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–लुङका १८ वर्षका सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए । टिपर चालक रोल्पा रुन्टीगढी–९ का २६ वर्षका ईश्वर बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं: सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए । उनले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति देउवालाई दिइएको बताए । निर्वाचन र दल दर्ताको व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको छ। त्यस्तै बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्था महासमितिमा सिफारिस गर्ने निर्णय भएको बताए। भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपियाँ दिन अझै नसकेको बारे सरकारको ध्यानार्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय भएको छ। उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनमा पार्टीले दल दर्ता गर्ने निर्णय गरेको छ। उम्मेदवार बनाउँदा हस्ताक्षर सभापति शेरबहादुर देउवाको चल्ने भन्ने निर्णय भएको छ। यसको सम्पूर्ण व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको छ। केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्दैछौँ। विधानका केही व्यवस्था महासमितिमा सिफारिस गर्नुपर्ने हुन्छ। ’’ नेता विश्वकर्माले बैठकले पुस १६ देखि माघ १६ सम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए । उनले पार्टीका विधानमा रहेका केही अनुसूचीहरु परिमार्जन गर्ने, पार्टीको तर्फबाट समानुपातिकको बन्दसूचीमा रहेका केही केन्द्रीय सदस्यको नाम आजै फिर्ता लिने निर्णय भएको पनि बताए। उनले बारामा शिक्षकको शान्तिपूर्ण धर्नामा भएको घटनाको भत्र्सना गर्ने र तत्काल दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उच्चस्तरीय स्वास्थ्योपचार गर्नका लागि माग गर्ने निर्णय भएको बताए । उनले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको जानकारी दिए। यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो। तर सो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गतेसम्म पु¥याएको थियो। उहाँले बैठक सार्नुको कारण राष्ट्रिय सभाको निर्वाचन रहेको बताए।