पोखरा: पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुर स्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको छ । उक्त नाटकघर चर्चित कलाकार अनुप बरालको सक्रियतामा निर्माण भईरहेको छ । नाटकको प्रदर्शकन इन्द्रेणी थिएटरले गर्ने थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । उक्त नाटक ईन्द्रेणीको छैटौ प्रस्तुतीमा निर्माण हुन लागेको हो । नाटकको लेखन केदारनाथ पौडेलले नै गरेका हुन् । झण्डै एक वर्ष अगाडि लेखेको नाटकमा पोखराबाट काठमाडौं जाने यात्रुबाहक बसमा हुने विभिन्न क्रिया र प्रतिक्रियालाई समेटिएको छ । एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जिविकोपार्जन गरिरहेको छ र त्यो भित्र कस्ता खालका समस्या छन् भन्ने बारेमा दर्शकलाई जानकारी दिईनेछ । आफुलाई पोखराबाट काठमाडौं जाने क्रममा देखिएका दृष्यलाई मञ्चमा उतार्न लागिएको लेखक पौडेलले बताए । सबै मानिस बस चढेर गन्तव्यमा पुगेपनि यसरी गन्तव्यमा पुर्याउने बस र त्यसका कामदारका समस्या के हुन् भन्ने यात्रुले खासै ध्यान नदिने गरेको अवस्थामा नाटक मार्फत बाहिर ल्याउन लागिएको उनको भनाई छ । करिब एक महिनादेखि नाटकको दिनदेखि रिहर्सल भैरहेको छ । नाटक मञ्चन हुने दिन आउन केही दिन बाँकी रहँदा टिमको मेहनतको कारण दिनप्रतिदिन नाटकमा निखारता थपिदै गएको उनले सुनाए । सामान्य शैलीमा कथा भन्ने तरिकालाई फरक गर्ने प्रयास गरिएको र गाउँघरमा धेरैले भोगेको बाँदरको आतङ्कलाई समेत जोडिएकोले दर्शकलाई मनोरञ्जन मिल्ने उनको विश्वास छ । पोखराको गैह्रापाटन स्थित रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा माघ १९ गतेसम्म लगातार मञ्चन हुने नाटकमा कपिल शर्मा, दिलप्रसाद गुरुङ, विभु प्रसाद भुसाल, उमा पुन, रामहरि अधिकारी, विजयराज अधिकारी, अभिषेक भुसाल, श्रद्धा अधिकारी लगायतका कलाकारको अभिनय हेर्न पाइनेछ । यो नाटकको निर्देशन लक्ष्मण डुम्रेले गर्दैछन् । निर्देशक डुम्रेले नाटक सुन्दर बनाउन कलाकार र नेपथ्यबाट विभिन्न प्रयासहरु भईरहेको बताए । आफूहरूको तर्फबाट शतप्रतिशत दिने कोसिस गरिरहेका भन्दै दर्शकले नाटक मन पराउने आशा बढ्दै गएको सुनाए । नाटकमा रात्रिबस चलाउने ड्राइभरको मनोविज्ञानलाई केन्द्रित गरिएको उनको भनाइ छ । सवारी साधन चलाउँदा उसको दिमागमा खेलिरहेका कुराहरू समावेश गरिएको र यो खालको नाटक पोखरामा पहिलोपटक मञ्चन गर्न लागिएको दावी उनले गरे । स्टेजमा यात्रा देखाउनुपर्ने भएकोले चुनौती भएपनि राम्रो बनाउने कोसिस गरिरहेको निर्देशक डुम्रेले बताए ।
पोखरा: पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा बुधवार देखि विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । कुल १४ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको पहिलो दिन माघ २ गते बाल कल्याण बोर्डिङ स्कुल, कालिका माध्यामिक विद्यालय, सेन्ट मेरिज स्कुल, अमरसिंह माध्यामिक विद्यालय ‘बी’ बीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी माघ ३ गते कास्की मोडनाइज्ड स्कुल, हार्वड ई. बोर्डिङ स्कुल र ज्ञान गंगा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा रहने छ । माघ ४ गते बेसलाइन ई। बोडिङ स्कुल, पोखरा युनाईटेड एकेडेमी र अमरसिंह मावि ९ए० बीच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते सरस्वती ई। बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी ई। बोर्डिङ स्कुल, विभुति शिक्षा सदन र प्यारामाउण्ट पब्लिक स्कुल बीच प्रीतस्पर्धा रहने छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ४५ हजार, शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र तृतिय हुनेले नगद २० हजार शिल्ड र प्रमाण पत्र र शान्तवना स्थान हाँसिल गर्ने दुई वटा टिमले जनही नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । पोखरा महोत्सवको छैठौ दिन दर्शकको उल्लेख्य सहभागीत रहेको छ । माघ १ गते छैठौ दिन महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा मंगलबार चर्चित लोक तथा दोहोरी गायिका शान्ती श्री परियार, चोलेन्द्र पौडेल, पार्वती जिसी, तुलसा क्षेत्री, सन्तोष सुवेदी, निश्चल थापा मगर, पुजा गुरुङ, गंगा पौडेल, आयुषजंग कार्कीको प्रस्तुती संगै गंगा पौडेल र पोखरेली माग्नेबुढा र धुर्मुसको हाँंस्य ब्यङ्ग्य प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टमा चर्चित ¥यापर लाहुरेको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सवको सातौ दिन लोकदोहोरी तर्फ अस्मिता अधिकारी, चोलेन्द्र पौडेल, चारापति सुवेदी, तुलसा क्षेत्री, ज्योती लोहनी, बसन्ती थापा मगर, कमला सुनार, परशुराम अधिकारी र राजेन्द्र गिरी (गुन्द्रुके)को हाँस्यब्यङ्ग्य प्रस्तुती रहने छ । साँझको लाइभ ब्याण्ड तर्फ सुगम पोखरेल एण्ड बाजागाजाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
काठमाडौं: वरिष्ठ मुटुरोग विशेषज्ञ डा राजेन्द्र कोजुको ‘मुटुको कथा’ शीर्षकको कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा आज आयोजित समारोहमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, धुलिखेल अस्पतालका संस्थापक डा रामकण्ठ मकाजु, मुटुरोग विशेषज्ञ डा स्मृति शाक्य, हास्यकलाकार हरिबंश आचार्य र लेखक कोजुले लोकार्पण गर्नुभयो । बुक हिलले प्रकाशन गरेको उक्त कृतिमा मुटुको कथा, बा छाति त दुखेको छैन नि रु हत्तेरिक्ता औषधि नै छुट्यो, नूनको आत्मकथा, रक्सी समातेपछि र छाडेपछि, फेरिएको जीवन शैली, स्वस्थ जीवन र प्रार्थनासहित ४१ शीर्षकमा अनुभव, अनुभूति र घटनासम्बन्धी विषयबस्तु समेटिएका छन् । कार्यक्रममा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रुइतले तुलनात्मकरुपमा नेपालको स्वास्थ्य क्षेत्र राम्रो रहेको र त्यसमा चिकित्सकहरुले व्यावसायिक धर्म तथा बिरामीप्रति करुणा व्यक्त गर्न सकेमा अझ प्रभावकारी हुने धारणा राख्नुभयो । मुटुरोग विशेषज्ञ डा कोइरालाले समाज रुपान्तरणका लागि किताब लेखन र अध्ययनको प्रभाव लामोसमयसम्म रहने उल्लेख गर्दै हामीले व्यतित गरेको जीवनशैली र खानपिनमा सामान्य सुधार गर्न सके राम्रो स्वास्थ्यलाभ लिन सकिने अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “मैले बिरामीलाई सधैँ भन्दै आएको छु, गर्न नहुने भनेको चुरोट नखाने, गर्नैपर्ने भनेको व्यायाम रहेको छ ।” डा मकाजुले पुस्तक अध्ययनबाट धेरै ज्ञान प्राप्त हुने भएकाले मुटुको कथासम्बन्धी पुस्तकले अध्ययनका लागि थप प्रेरणा प्रदान गर्ने धारणा राख्नुभयो । हास्यकलाकार आचार्यले पुस्तकलाई आफूले सबैभन्दा नजिक सिरानीमा राख्ने साथीका रुपमा लिने गरेको हुँदा जन्मोत्सवलगायतका अवसरमा उपहारका रुपमा पुस्तक दिँदा उपयुक्त हुने धारणा राख्नुभयो । डा शाक्यले मुटुको कथासम्बन्धी कृतिमा स्रष्टाले स्वास्थ क्षेत्रमा काम गर्दाको आफ्नो कथा, व्यथा, वास्तविकता, भावनालगायतका विषयबस्तु केही कविता र केही निबन्ध शैलीमा प्रस्तुत गरेको धारणा राख्नुभयो । लेखक कोजुले आफूले विभिन्न पत्रपत्रिकामा विभिन्न समय कालखण्डमा लेखिएका लेखहरुबारे उपचार गर्न आउने बिरामी र चिनेका व्यक्तिबाट पाएको प्रतिक्रियाबाट प्रेरित भएर पुस्तक लेख्ने जमर्को गरेको बताउनुभयो । उहाँले जीवनको ४० वर्ष चिकित्सासम्बन्धी ज्ञान हासिल गर्ने सिलसिलामा २३ वर्ष मुटु स्वास्थ्यमै केन्द्रित भएर उपचारमा संलग्न हुँदा देखेका, भोगेका विषयबस्तुलाई सरल तरिकाले सर्वसाधारणसम्म पु¥याउन कथा, निबन्ध र स्मरण समेटेर पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथमा सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले महोत्सव अत्यन्त भव्यताका साथ सफल भएकोमा आमदर्शक र आयोजकलाई धन्यवाद् दिदै महोत्सवमा राखिएको गौतम बुद्धको मुर्तिलाई उपयुक्त दुइ ठाउँ मध्ये एक स्थानमा व्यवस्थित गरिने छ आचर्यको भनाइ रहेको छ । वहाँले यस क्षेत्रमा २१ ओटा विभिन्न परियोजना जस्तै वेगनास तालको वाटर स्पोर्ट, पोखराको प्रवेशद्धारमा रहेको हेलमेटडाडाँ लगायतका विभिन्न परियोजना सफल पार्न निजी क्षेत्रलाई लगानी गर्न सक्रिय सहभागिताका लागि आह्वन गर्दैे पोखरा आफैँमा सौन्दर्यले भरिपूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यमा लगायतका कुरालाई समेटेर महानगरसँग सहकार्य गरी पर्यटनको राजधानी को रुपमा विकास गर्न पर्नेमा जोड दिएका थिए । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सव २० औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताउँदै भव्य र सभ्य दर्शकको साथ मिलेको, उत्पादक र उपभोक्तmा लाई एकै थलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पुर्याएको बताउदै प्राकृतिक सम्पदाको संरक्षणमा जुट्न सवैमा आग्रह गर्दै सम्पूर्ण लेखनाथभित्रका संघ संस्था, व्यवसायीहरु, विभिन्न जात जातिहरु, आमा÷महिला समूहहरू र समग्रमा सम्पुर्ण लेखनाथवासिहरुको एकताका कारण उक्त सफलता सम्भव भएको बताए । कार्यक्रमा प्रेस रजिष्ट्रार गण्डकी प्रदेशकी विमला भण्डारीले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउने धारणा राखिन् । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले महोत्सवले लेखनाथ क्षेत्रको पहिचान गरी यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको व्यापार प्रवद्र्धन भएको र आगामी दिनमा अझ पर्यटकी स्थल र ऐतिहासिक स्थलको खोजी गर्न आग्रह गरे । पुस १८ गतेदेखि सञ्चालन भएको २० औँ संस्करणको महोत्सवमा आयोजकले राखेको लक्ष्यभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् भने सोही अनुसारको कारोबार समेत भएको छ । महोत्सव अवधिभर ९ करोड ५० लाख भन्दा बढीको कारोबार भएको र ३ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गरेको प्रचारप्रसार संयोजक जानुका पराजुलीले बताइन् । महोत्सवमा निर्माण गरिएको बुद्धको मुर्ति सहितको नमुना विशेष आकर्षणको केन्द्र बनेको थियो भने मातृशत्तिहरुको सम्मानमा आयोजित पहिलो पटक भएको हाजिरी जवाफ प्रतियोगिता रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिहरूको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा÷महिला समूहहरूको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनी, ख्याति प्राप्त हास्य व्यङ्ग्य कलाकारहरुको दैनिक प्रस्तुति, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सर्ट अन्य आकर्षणको रुपमा रहेका थिए । विभिन्न विधामा प्रथम, द्धितीय, तृतीय र सान्तोना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारलाई कार्यक्रममा सम्मान गरीएको थियो । महोत्सव सञ्चालनबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी राजुले गरेका थिए ।
सिन्धुपाल्चोक: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उहाँले बताउनुभयो । यहाँको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आउनुभएका अध्यक्ष प्रचण्डले आज पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको बताउनुभयो । नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उहाँको भनाइ छ । अध्यक्ष प्रचण्डले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पहिलोपटक नेकपा (माओवादी केन्द्र०को स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको उल्लेख गर्नुभयो ।
पोखरा: गण्डकी प्रदेश शारिरिक सुगठन संघ तदर्थ समितिको अध्यक्षमा नविन आले मगर सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश शारीरिक सुगठन संघ तदर्थ समिति भेलाले आलेमगरको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा बिमल बहादुर खॉड (स्याङ्जा), सचिब प्रकाश पौडेल (स्याङ्जा) र कोषाध्यक्षमा नितेश खड्का (कास्की) चयन भए । यस्तै कार्यसमिति सदस्यमा अमृत लम्साल (कास्की), सैलेश रिमाल (तनहुँ), धिरज घर्ती (बाग्लुङ्ग), निरज तिवारी (कास्की), तिलक गर्बुजा (म्याग्दी), दिवा राना (स्याङ्जा) र दुर्गा खोर्जा पुन (पर्वत) चयन भए । तदर्थ समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका अध्यक्ष आलेमगरले गण्डकी प्रदेशमा शारीरिक सुगठन खेलको विकास एवं प्रवर्द्धन संगै आसन्न दशौं राष्ट्रिय खेलकुदमा गण्डकीको तर्फबाट पदक ल्याउने गरी प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा तयारी गर्ने प्रतिवद्धता जनाए ।
हेटौंडा: करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा फेला परेको छ । भीमफेदी गाउँपालिका–९ स्थित भान्जीको घरबाट फर्किने क्रममा गत कात्तिक १४ गते बेपत्ता भएका मकवानपुरको कैलाश गाउँपालिका–७ भार्ता निवासी ७० वर्षीय टिकाराम प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको उहाँले बताउनुभयो । मामाको खोजी गर्न प्रजाका भान्जा रामहरि प्रजाले गत मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिनुभएको थियो । मृतकले लगाएको कपडा र साथमा रहेको झोलाका आधारमा मृतक प्रजाको सनाखत भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सव सञ्चालनको १२ औं दिनसम्म आईपुग्दा लक्ष्यनजिक पुगेको आयोजकले दावी गरेको छ । महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक र ९ करोड कारोेबार गर्ने लक्ष्य लिएको आयोजकले महोत्सव सकिन १ दिन बाँकी छँदासम्म २ लाख ४५ हजार दर्शक भित्राउन सफल भएको छ भने ७ करोड ९५ लाखको कारोबार गर्न सफल भएको छ । महोत्सवको सोमबार मात्रै २५ हजार दर्शकले अवलोकन गरेको र १ करोड बराबरको कारोबार गर्न सफल भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिएकी छन । महोत्सव समापनको अघिल्लो दिन किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएका र महोत्सव सोचे भन्दा बढी सफल रहेको आयोजकको दावी छ । महोत्सवमा पहिलो पटक सम्पन्न भएको महिलाहरुको हाजिरी जवाफ प्रतियोगितामा पोखरा–३० को नारी विकास आमा समुह प्रथम, पोखरा–२६ को सृजना महिला समुह द्धितीय, पोखरा–३० कै गार्डेन सिटी आमा समुह तृतीय र पोखरा–२९ को समाज सुधार आमा समुहले सान्त्वना स्थान हाँसिल गरेको संयोजक प्रभाकुमारी लामिछानेले जानकारी दिइन् । विजयी समुहले क्रमश २५ हजार, २०हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन् । यसैगरि महोत्सवको थप आक्रर्षणको रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा दर्ता भएका ३३ समुह मध्य छनोटमा परेका २२ समुहले महोत्सव स्थलमा प्रस्तुती रहेको रत्यौली गितका संयोजक गंगा मल्लले जानकारी दिएका छन् । सोमबार नै विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगिहरुलाई पुरस्कार वितरण समेत गरिएको छ । सोमबार कलाकारहरु प्रजापति पराजुली, तारापती सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली तारा थापा, प्रस्तुती रहने र बेलुका लाईभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्याण्ड र स्थानिय ब्याण्ड सुजित एण्ड दि वार्यस व्याण्डको प्रस्तुती रहेको थियो ।
म्याग्दी: यहाँ बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको जिल्लास्थित मगर सङ्घका सचिव खम थापामगरले बताउनुभयो । “माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ”, उहाँले भन्नुभयो, “प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन् ।” यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने सङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको सङ्घका सचिव थापामगरले बताउनुभयो । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे सङ्क्रान्तिमा माइतीघर जान्छन् । यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किने गर्दछन् । अस्ट्रेलियाबाट माघे सङ्क्रान्ति मनाउन परिवारसहित जन्मथलो मङ्गला गाउँपालिका–१ तुसारेपानी आउनुभएका मुक्ति रोकाले चाडपर्वले आफन्तजन र साथीभाईसँग भेटघाट हुने अवसर जुुराएको बताउनुभयो । माघे सङ्क्रान्ति पर्वको अवसरमा तुसारेपानीमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखि माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने प्रचलन रहेको स्थानीय बताउँछन् । जिल्ला उद्योग वाणिज्य सङ्घका मानार्थ सदस्य नैनकुमार श्रेष्ठका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे सङ्क्रान्ति मेलामा आउने गर्दथे । बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । “त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेला कुर्नुपर्दथ्यो । बेनीमा माघे सङ्क्रान्तिको मेला किनमेलको माध्यम थियो”, ८० वर्षीय श्रेष्ठले भन्नुभयो, “युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गर्दथे ।” समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवर्द्धनमा युवाको सक्रियता बढेको उहाँले बताउनुभयो । हरेक तीन÷तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गर्न थालिएको उद्योग वाणिज्य सङ्ले जनाएको छ । सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे सङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष आइतबारदेखि बेनीमा आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला सुरु भएको हो । परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव यही माघ ८ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुुविन श्रेष्ठले जानकारी दिनुभयो ।