पोखरा:  लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।  फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१०...

पर्वत:  नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतमा चालु आर्थिक वर्षमा १ सय ९ वटा योजना सञ्चालन हुने भएका छन् ।   जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सङ्घीय र गण्डकी प्रदेश सरकारका गरी एक सय नौ योजना सञ्चालन हुने भएका हुन् ।   सङ्घीय सरकारअन्तर्गत ३४ र गण्डकी प्रदेशअन्तर्गत ७५ वटा योजनामा बजेट विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ ।   गण्डकी प्रदेशअन्तर्गत कुश्मा नगरपालिकामा २६, फलेबास नगरपालिकामा १९, जलजला गाउँपालिकामा १०, पैँयु गाउँपालिकामा नौ, मोदी गाउँपालिकामा चार, महाशिला गाउँपालिकामा चार र विहादी गाउँपालिकामा तीन वटा योजनामा बजेट विनियोजन भएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।   उहाँका अनुसार सङ्घीय सरकारअन्तर्गत फलेबास नगरपालिकामा पाँच, कुश्मामा दुई, माशिलामा तीन, मोदीमा दुई, जलजला र पैँयुमा तीन वटा योजना रहेका छन् ।   यसबाहेक सङ्घीय शसर्त अनुदानबाट १६ योजना सञ्चालन हुने उहाँले बताउनुभयो । चालु आर्थिक वर्ष विसं २०८१÷८२ मा ७५ योजनाका लागि गण्डकी प्रदेश सरकारबाट रु ११ करोड ४० लाख र १८ योजनाका लागि सङ्घीय सरकारबाट रु एक करोड ५९ लाख बजेट विनियोजन भएको छ ।   यसैगरी सङ्घीय शसर्त अनुदानअन्तर्गत १६ योजना पुनःस्थापना गर्न रु ९८ लाख बजेट विनियोजन भएको छ ।   योसहित चालु आर्थिक वर्षमा रु १३ करोड ९७ लाख बजेट प्राप्त भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।   कार्यालयका अनुसार योजनाको लागतअनुसार बजेट विनियोजन नहुँदा यस वर्ष अधिकांश योजना पूर्ण रूपमा सम्पन्न नहुने भएका छन् ।   बजेट अद्यावधिक गरी केही थप भएमा निर्माणाधीन अवस्थामा रहेका १२ योजना चालु आवमा सम्पन्न हुने कार्यालय प्रमुख पौडेलले बताउनुभयो । गत आवभन्दा रु छ करोड बजेट घटेर आएकाले पनि सबै योजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने उहाँको भनाइ छ ।   “योजना बढी छन्, बजेट सीमित छ । त्यसैले अन्तिम चरणमा रहेका योजनालाई पूर्णता दिनेगरी काम गरिरहेका छौँ”, कार्यालय प्रमुख पौडेलले भन्नुभयो । प्रत्येक योजनामा न्यूनतम रु पाँच लाखदेखि बढीमा रु ६४ लाखसम्म बजेट विनियोजन भएको छ ।   जिल्लाका सबै परिवारमा खानेपानीको पहुँच पु¥याउने सरकारको योजनाअनुसार चालु आवमा बजेट विनियोजन भएका सबै योजना कार्यान्वयनमा गइसकेका कार्यालयले जानकारी दिएको छ ।   पर्वतमा अन्य संस्थागतबाहेक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत हालसम्म १६ हजारभन्दा बढी परिवारमा ‘एक घर, एक धारा’ विस्तार गरिएको छ ।   चालु आवमा सञ्चालित योजनाहरूले पूर्णता पाएमा दुई हजारभन्दा बढी घरमा ‘एक घर एक धारा’ विस्तार गर्न सकिने कार्यालयले जनाएको छ ।

मोरङ:   जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।   जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।   झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका–९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।   उहाँका अनुसार निजहरूको साथबाट नगद रु दुई लाख ७२ हजार चार सय ३०, भारतीय रुपैयाँ दुई हजार छ सय ३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ ।   निज आरोपितहरूलाई प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, मोरङ र सुनसरी प्रहरीको सहयोगमा सुनसरीस्थित इटहरीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक चिमरियाले बताउनुभयो । 

पोखरा:    ६ वर्षपछि लेखनाथको भण्ढारढिकमा आयोजना हुन लागेको २५ औं सस्करणको आदर्श कपको उद्घाटन खेलमा आयोजक र एन्फा तनहुँ भिड्ने भएका छन् ।   कुल ८ टिमको सहभागिता रहने प्रतियोगितामा आदर्श युवा क्लबले आज खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा आयोजक र तनहुँ भिड्ने जानकारी दिएको हो ।   कलबका अध्यक्ष पदम गुरुङले उक्त खेल दिनको १ बजे सुरु हुने बताए ।    अध्यक्ष गुरुङका अनुसार अर्काे दिन दोस्रो खेल नेपाल सिद्धिदल गण पश्चिम पृतना हेक्वा र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच हुनेछ ।   यस्तै २४ गते कास्की ११ र एन्फा स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । २५ गते  नेपाली प्रहरी गण्डकी प्रदेश र एन्फा गोरखा भिड्नेछन् ।    २६ गते पहिलो सेमिफाइनल र २७ गते दोस्रो सेमिफाइनल खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए । फाइनल भने २९ गते दिउँसो १ बजे सञ्चानल गरिने छ ।     सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।    यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।   विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।   यो पनि पढ्नुहोस   ६ वर्षपछि लेखनाथमा आदर्श कप, उपाधि राशी ४ लाख २५ हजार  

पोखरा:    गण्डकी विश्वविद्यालयको आयोजनामा दोस्रो संस्करणको कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।   मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म पोखरा रंगशालामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।    प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा. मधुसुधन सुवेदीले जानकारी दिए । सोमबारदेखि टिम दर्ता खुला गरिएको सुवेदीले बताए । उनका अनुसार दर्ता शुल्क २५ सय तोकिएको छ ।    उक्त प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक सुवेदीले बताए । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १५ हजारको व्यवस्था गरिएको छ ।   प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा सञ्चालित स्नातक तहको खेलकुद व्यवस्थापन समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको खेलकुद व्यवस्थापन संकायको संयोजक सुवेदीले बताए ।   विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।   २०७९ मा भएको प्रथम कुलपति रनिङसिल्ड फुटबलको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको थियो । २०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ ।   

अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी भेटिएका छन् ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा अन्वेषणका क्रममा आठ सय मिटरदेखि ४५ सय मिटरसम्मको उचाइमा ती प्रजातिका सुनाखरी पहिचान गरिएको हो ।   वरिष्ठ संरक्षण अधिकृत बाबुलाल तिरूवाको नेतृत्वको टोलीले झण्डै एक वर्ष लगातर अन्नपूर्ण क्षेत्रमा पाइने सुनाखरीको अनुसन्धान गरेको थियो ।   भौगोलिक विकटता र मौसम प्रतिकूलताका कारण कतिपय ठाउँमा पुग्न नसकिएको जनाउँदै संरक्षण अधिकृत तिरूवाले अन्नपूर्ण पेरिफेरिमा सुनाखरीका अझै थप प्रजाति भेटिन सक्ने बताउनुभयो ।   फूल फुल्ने एकदलीय बिरूवा प्रजातिमा पर्ने सुनाखरी जमिन (भुइँ), सडेगलेका वस्तु, रूख र पाखापहराको चेपमा उम्रने गरेको उहाँको भनाइ छ ।   गुणकारी वनस्पतिमा पर्ने सुनाखरी प्रजातिअनुसार विभिन्न याममा फुल्ने गरेको संरक्षण अधिकृत तिरूवाले बताउनुभयो । “सुनाखरी खाना र औषधिका रूपमा प्रयोग गरिन्छ, फूल फुल्दा आकर्षक देखिने हुँदा यसले प्रकृतिमा सौन्दर्य थपेको हुन्छ”, उहाँले भन्नुभयो, “संसारमा अन्त कतै नपाइने सुनाखरी पनि अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइन्छ ।”   सुनाखरी दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) मा सूचीकृत वनस्पती हो । औषधिय गुणका भएका कारण कतिपय प्रजातिको सुनाखारीको अवैध तस्करीसमेत हुँदै आएको छ ।   हिमालदेखि तराईसम्मको भूभागमा पाइने सुनाखरीको संरक्षणमा सम्बद्ध सबै पक्षले विशेष ध्यान दिनुपर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रविन कडरियाले बताउनुभयो ।   देशविदेशका वनस्पतिविद् र वैज्ञानिकहरूले अन्नपूर्ण क्षेत्रमा पाइने सुनाखरीको अध्ययन तथा अनुसन्धान गरेको उहाँको भनाइ छ ।   पाँचऔँलेलगायत नेपालमा सूचीकृत सुनाखरीमध्ये एक तिहाइ प्रजाति औषधिजन्य प्रयोगमा रहेका छन् ।   ‘एक्याप’ ले अनुसन्धानका क्रममा भेटिएका सुनाखरीका प्रजाति, बासस्थान, प्रयोग जस्ता विधालाई समेटेर सचित्र पुस्तक पुस्तक ‘अन्नपूर्ण संरक्षण क्षेत्रका सुनाखरीहरू’ प्रकाशनको तयारी गरेको छ ।   सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको ‘एक्याप’ मा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।   अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ ।   “रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकहरूबीच विवाद पछि भएको झडपपछि आइतबारको खेलमा घातक भागदौड मच्चिएको थियो,” राष्ट्रिय टेलिभिजनले सरकारद्वारा जारी एक विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ ।   “एनजेरेकोरको अस्पतालहरूले दिएको जानकारी अनुसार अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ,” विज्ञप्तिमा भनिएको छ।   प्रधानमन्त्री अमादोउ ओरी बाहले फेसबुकमा एक पोस्ट लेख्दै लाबे र एनजेरेकोरको टोलीबीचको खेलमा खलल पु¥याउने घटनाको निन्दा गरेका छन् ।   उहाँले भन्नुभयो, “सरकारले घटनाको अनुसन्धान गरिरहेको छ । घाइतेहरूको उपचार र अन्य सहयोगमा बाधा नपुगोस् भन्नेमा पूर्णरूपमा सजक छ । सरकार सबै नागरिकलाई शान्तिका लागि संयमता अपनाउन आह्वान गर्दछ।”   सन् २०२१ मा भएको सत्ता विद्रोह (कू) बाटसत्ता कब्जा गरेर आफूलाई राष्ट्रपतिमा स्थापित गरेका गिनीका जुन्टा नेता मामाडी डौम्बोयाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको एक हिस्साका रुपमा दक्षिणपूर्वी सहरमा उक्त खेल भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ सुरु भएको छ ।   कोटिहोमको शोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे ।   प्रदेश प्रमुख भट्टले यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि यस पवित्र भूमिमा विभिन्न उद्धेश्यका साथ कोटीहोम भक्तिज्ञान महायज्ञ आयोजना गरिएकोमा धन्यवाद ज्ञापन गरे ।   उनले भने – ‘धार्मिक पर्यटनको विकासका लागि शुद्ध मनहरूबाट यस्ता सत्कर्मका प्रयासहरू आवश्यक रहन्छ । विश्वका कयौँ देशहरुले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको अवस्था छ ।’     यज्ञको उद्याटनमा ब्रह्मनिष्ठ १००८ सन्त शिरोमणि मुक्तीनाथ धाम बुटवलका संरक्षक लोकानत्द स्वामी, कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान, स्याङ्जाका संस्थापक अध्यक्ष चैतन्त्र कृष्णले संक्षिप्त धार्मिक प्रवचन दिएका थिए ।   यज्ञ संचालन नारी परिचालन उपसमिति संयोजक पार्वता पाण्डेले कोटिहोम संचालनको उदेश्यवारे जानकारी दिदै ढुङगेसाँघुको यो ठाउलाई धार्मिक स्थलको रुपमा विकास गर्ने योजना सुनाएकी थिइन् ।   प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन सबै पोखरेलीको साथ र सहयोगको लागि आग्रह गरेका छन् ।   यज्ञ उद्घाटन पहिले पोखरा महानगरपालिका वडानम्बर १५ को कार्यालय अगाडीबाट यज्ञ स्थल ढुङगेसाँघु, पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटसम्म कलय यात्रा निकालिएको थियो । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटिहोमको आयोजना गरेको हो ।   मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ । । कोटिहोममा १५ भन्दा बढि बाचकलाई निम्ता गरिएको आयोजकले जनाएको छ ।     धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।   यज्ञको दोस्रो दिन प्रमुख बाचक ढकालसहित दिग्र्शनबाचक शिरोमणी दिपक सापकोटा, भागवतमन्जरी पुज्य राधाकिशोरी दासीले कथा बाचन गर्ने कार्यक्रम रहेको धामका कोषाध्यक्ष नारायण भण्डारीले जानकारी दिए ।

पोखरा:   रबि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को उत्पादन बेटरले तेह्रौं संस्करणको पोखरा महोत्सवमा मुख्य प्रायोजकको भूमिकामा साथ दिने भएको छ ।   युनाईटेड क्लब पोखराको आयोनजामा आगामी पुषको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने तेह्रौं संस्करणकोे पोखरा महोत्सवलाई बेटर मुख्य प्रायोजक बनेको हो ।   पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.का डाइरेक्टर सन्नी रौनियार र महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले महोत्सवको मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरे ।   सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीजका डाइरेक्टर सन्नी रौनियारले पोखरामा रही नेपालभर सामाजिक काममा अगाडी बढिरहेको युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा तेश्रो पटक मुख्य प्रायोजकको रुपमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।    यसअघि दुई पटक सम्म पोखरा महोत्सवको मुख्य प्रायोजकमा रही सहकार्य गर्दै आइरहदा तेह्रौं संस्करणको पोखरा महोत्सवमा समेत सहकार्य गर्न पाउदा आफुहरु निकै गौरवान्वित भएको रौनियारको भनाई थियो ।    पोखरा नयाँबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीजले उत्पादन गर्ने बेटर ब्राण्डको इलेक्ट्रिक सामानहरु हिटर, ओभन, पंखा, राइसकुकर, ,प्रेसर कुकर, गिजर इलेक्ट्रोनिक र किचनका सामग्रीहरु बिक्री गर्दै आइरहेको र ग्राहकको रोजाइमा पर्दै आइरहेको छ ।    युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले तेह्रौं संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीज संग सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै सहयोगी मनहरुकै कारण पोखरा महोत्सव स्थापित भएको र महोत्सवकै आम्दानीबाट युनाईटेड क्लबले सामाजिक कामलाई अगाडी बढाएको बताए ।    महोत्सवको आयोजना गरि युनाईटेड क्लबले पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद् ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।    तेह्रौं संस्करणदेखि युनाईटेड क्लबले आफ्नो परियोजनामा युनाईटेड छात्राबासलाई अगाडी सारेको छ ।   उक्त परियोजना अन्तर्गत हालै मात्र पोखरा २७ अर्चलेमा रहेको क्लवको आफ्नै जग्गामा हालै मात्र युनाइटेड आवासिय छात्राबासको सिलान्यास सम्पन्न गरी निर्माण कार्य अगाडी बढाइएको छ । उक्त छात्राबास मार्फत गरिब विद्यार्थीलाई आवासिय सुविधा सहितको शिक्षा प्रदान गर्ने लक्ष्य लिइएको छ ।    युनाईटेड क्लवको पहलकदमीमा पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने, त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समितिमार्फत निर्माण कार्य अगाडि बढिरहेको छ ।   सो अवसरमा युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना,  युनाइटेड क्लबका कोषाध्यक्ष जयराम आचार्य लगायतको सहभागिता रहेको थियो ।   यो पनि पढ्नुहोस   पुष २५ देखि १३ औं पोखरा महोत्सव  

काठमाडौं:     गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन भएपछि विमानस्थलमा उपस्थिति हुने पदाधिकारीको सङ्ख्या घटेको छ ।   मन्त्रिपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका क्रममा कार्यान्वयनमा आएको गृह मन्त्रालयले स्पष्ट गरेको छ ।      कार्यविधि संशोधनसँगै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा/आउँदा बिदाइ र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीको सङ्ख्या कटौती भएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो ।   “भिभिआइपी विदेश भ्रमणमा जाँदा विमानस्थलमा पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्थासम्बन्धी प्रस्ताव चार दिनअघि मात्र संशोधनसहित मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ,” सूचना अधिकारी तामाङले भन्नुभयो, “भिभिआइपीको स्वागत र बिदाइ व्यवस्थित र प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको हो, सम्माननीय प्रधानमन्त्रीज्यू आज मित्रराष्ट्र चीनतर्पm प्रस्थान गर्नुहुँदा उपस्थिति छरितो देखिएको छ ।”                                                                                                                                                                कार्यविधि संशोधनपछि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा आउँदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधीकारी विमानस्थलमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किंदा उपराष्ट्रपतिसहित २३ जना पदाधिकारी विमानस्थलमा उपस्थित हुनुपर्ने व्यवस्था थियो ।   “अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किंदा गरिने स्वागत र बिदाइलाई प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको छ ।” उहाँले भन्नुभयो, “सुरक्षा व्यवस्थापन कार्यविधि–२०८०, पहिलो संशोधन भई आजदेखि कार्यान्वयनमा आएको छ ।”      त्यसैगरी, राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किंदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारीको सङ्ख्या पनि घटाइएको छ । मिनी कारकेडसम्म यसअघि उपराष्ट्रपतिसहित १३ जना पदाधिकारी उपस्थित हुने व्यवस्थालाई कटौती गरेर नौजना पदाधिकारीमा सीमित गरिएको छ ।   नयाँ कार्यविधिअनुसार अब उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किंदा प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्था संशोधन भई प्रधानमन्त्रीसहित सातजना उपस्थित हुनुपर्ने व्यवस्था कायम भएको छ ।  त्यस्तै, विदेश भ्रमणमा जाँदा र फर्किंदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारी सातबाट घटाएर चार पु¥याइएको छ ।  अब प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उपराष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मात्र उपराष्ट्रपतिको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा उपस्थित हुनुपर्नेछ त्यसैगरी, संशोधित कार्यविधिअनुसार प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनुपर्नेछ ।  प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा यसअघि कार्यवाहक प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म गरी २१ जना पदाधिकारी विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने व्यवस्था थियो ।      त्यस्तै, प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म कार्यवाहक प्रधानमन्त्रीसहित छजना पदाधिकारी उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।  यसअघि उक्त स्थानसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ११ जना उपस्थित हुने व्यवस्था थियो ।संशोधित नयाँ कार्यविधिअनुसार प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष विमानस्थल जानुपर्ने छैन । राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा सभामुख र राष्ट्रियसभा अध्यक्ष विमानस्थल पुग्नुपर्ने व्यवस्था संशोधनपछि हटेको छ ।