काठमाडौं: बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)मा कार्बन व्यापारसम्बन्धी विषयको छलफलमा धेरै वर्षपछि भएको सहमतिले अब कार्बन व्यापारको बजार सुश्चित गराउन सक्ला भन्ने प्रश्न उठेको छ । विगतका कोपहरूमा भएका सहमति कार्यान्वयन गर्न धनी तथा विकसित मुलुकले आनाकानी गरिरहेका बेलामा कोप–२९ मा भएको कार्बन व्यापारसम्बन्धी सहमति पनि कार्यन्वयन नहुने हो कि भन्ने आशंका रहेको हो । बाकुमा सम्पन्न २९औँ कोपमा कार्बन व्यापारसम्बन्धी विषयको छलफलमा धेरै वर्षपछि भएको सहमतिप्रति नेपाल भने उत्साहित देखिएको छ । उक्त सहमतिले बजारमा आधारित कार्बन व्यापार र द्विपक्षीय सहमतिमा गरिने कार्बन व्यापारलाई अघि बढाउने बाटो खुलेको भन्दै कोपमा उपस्थित भएका नेपाल प्रतिनिधिहरूले सकारात्मक टिप्पणी गरेका छन् । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल कार्बन व्यापारमा जाने अन्तिम तयारीमा रहेका बेला कोपमा भएको सहमतिले कार्बन बजार सुनिश्चित हुने भन्दै यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुभएको छ । “जलवायु वित्त एक दशमलव तीन ट्रिलियन अमेरिकी डलर पुर्याउनुपर्छ भन्ने हाम्रो माग रहेकामा अहिले तीन सय विलियन अमेरिकी डलर मात्र बढाउन सहमति भएको छ, तर कोपको दस्तावेजमा राखिएकाले आगामी दिनमा हामी निर्णयमा पार्न दबाब दिइरहने छौँ, यीलगायत कतिपय हाम्रा एजेण्डामा सहमति जुट्न सकेन”, उहाँले भन्नुभयो, “तर कार्बन व्यापारसम्बन्धी हाम्रो एजेण्डामा सहमति जुट्नु निकै ठूलो उपलब्धि रह्यो ।” मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले नेपाल कार्बन व्यापारमा जाने तयारी गरे पनि कार्बनको बजार अनिश्चित रहेका बेलामा कोपमा भएको सहमतिले कार्बनको बजार सुनिश्चित हुने बताउनुभयो । “हामी कार्बन व्यापारमा जाने त तयारी गरिरहेका छौँ, कार्बन खरिदबिक्रीका सहमति पनि भयो । तर अर्को पक्षले कार्बन किन्छु भनेर किनेन भने त हाम्रो बजार सुनिश्चित भएन नि”, उहाँले भन्नुभयो, “कोप–२९ को कार्बन व्यापारसम्बन्धी सम्झौताले अब पेरिस सम्झौतामा टेकेर अगाडि बढ्न पाइन्छ, यी नेपालको हितमा गरिएको महत्त्वपूर्ण निर्णय हो ।” ढुङ्गानाले कोप–२९ मा नेपालले स्वीडेनसँग कार्बन व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको बताउनुभयो । “कोपमा भएको स्म्झौताले नेपालले कार्बन उत्सर्जन कटौती गरेर कार्बन सञ्चिती बढाएबापत स्वीडेनले कार्बन खरिद गर्ने भन्ने सम्झौता भएको छ”, उहाँले भन्नुभयो, “उक्त सम्झौतमा ऊर्जा क्षेत्रमा कार्बन उत्सर्जन कटौती गर्न डिजेल–पेट्रोलको खपत घटाउने, खाना पकाउने इन्धनको रूपमा बढी प्रयोग हुने दाउरा घटाउने र विभिन्न उद्योगमा प्रयोग गरिने कोइलाको प्रयोग कम गर्ने तथा विद्युतीय सवारीको प्रवर्द्धनमार्फत वायुमण्डीलय सतहमा बढ्दै गइरहेको कार्बनडाइअक्साइडको दर कम गरी कार्बन न्यूनीकरण गरेबापत अब स्वीडेनसँग पैसा लिन सकिन्छ ।” नेपालले यसअघि विश्व बैंकसँग कार्बन खरिद सम्झौता गरिसकेको छ । रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले पनि नेपाल कार्बन व्यापारमा जान पूर्वतयारीसहित अगाडि बढेको सन्दर्भमा कोपमा पेरिस सम्झौताको धारा ६ मा भएका व्यवस्था कार्यान्वयन गरिने सहमतिले कार्बनको बजार सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो । “कम कार्बन उत्सर्जनलाई उत्कृष्ट वनवित्त भनेर एउटा ‘लिफ कोलिजन’ संयन्त्र पनि बनेको छ । यस कोलिजनअन्तर्गत अमेरिका, बेलायत, नर्वे, साउथ कोरिया र २६ वटा प्राइभेट सङ्घसंस्था रहेका छन् । यसमा युनिरेभर, नेस्ले, बर्बेली, डैलटाजस्ता ठूला कम्पनीको कोलिजन बनेका छन् । यिनीहरूले इमरजेन्ट भन्ने नाफारहित संस्था बनाएका छन्”, उहाँले भन्नुभयो, “त्यो संस्थासँग नेपाल सरकार र अर्थ मन्त्रालयबीच सन् २०२१ मा भएको आशयपत्र ९एलओआई० अनुसार नेपालको तीनवटा प्रदेश गण्डकी, बागमती र लुम्बिनीको ३० मिलियन टन कार्बन उनीहरूलाई बेच्ने भन्ने सहमति भएको छ । अबचाहिँ सम्झौता गर्ने तयारीमा छौँ ।” निर्णय कार्यान्वयन हुँदा नेपालका लागि फाइदा जलवायुविद् राजु पण्डित क्षेत्रीले कोप–२९ मा कार्बन व्यापारसम्बन्धी भएको निर्णय कार्यान्वयन भएमा कार्बन सञ्चितीबाट प्राप्ति गर्ने भुक्तानी सुनिश्चित हुने तथा कार्बन न्यूनीकरणका लागि थप प्रोत्साहन मिल्ने र नेपालका लागि फाइदा हुने दाबी गर्नुभयो । “पेरिस सम्झौताको धारा ६ कार्बन न्यूनीकरण गर्ने प्रक्रिया हो । विकसित देशले कार्बन उत्सर्जन घटाउनुपर्ने दायित्व रहेको र कम विकसित मुलुकले कार्बन उत्सर्जन कटौती गरेबापत विकसित मुलुकलाई दिने आर्थिक प्रोत्साहन नै कार्बन व्यापार हो”, उहाँले भन्नुभयो, “कार्बन व्यापारको बजार सुनिश्चित हुनसके नेपालजस्ता कम विकसित मुलुकले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लक्ष्य कार्यान्वयन गर्न सहज हुनेछ ।” क्षेत्रीले कोपमा निर्णय हुनेबित्तिकै रकम आइहाल्ने व्यवस्था नभएकाले कार्बन व्यापारबाट बढीभन्दा बढी फाइदा लिन अब हामीले घरभित्र नै तयारी थाल्नुपर्नेमा जोड दिनुभयो । “नेपालले विश्व बैंकसँग कार्बन खरिद सम्झौता गरेको छ, सही क्षेत्रको कार्बन दोहोर्याएर अर्को पक्षलाई बिक्री गर्न मिल्दैन । यसबाहेक कार्बन व्यापारका क्षेत्रहरूको राम्रोसँग पहिचान गर्न जरूरी छ । जस्तै नविकरणीय ऊर्जाका क्षेत्र, वनजङ्गलबाट सञ्चिती हुने कार्बनलगायत क्षेत्रहरू छन्”, उहाँले भन्नुभयो, “कुनकुन ठाउँ कार्बन व्यापारको राम्रो सम्भावना रहेको क्षेत्र हो भनेर पहिचान हुनु जरूरी छ ।” कार्बन बजारको प्रगति युएनएफसिसिसीको सचिवालयले पेरिस सम्झौताको धारा ६ मा भएको कार्बन व्यापारसम्बन्धी सहमतिले विश्वबजारमा कार्बनको बजार सुनिश्चिता हुने भन्दै यो निकै उपलब्धिमूलक निर्णय भएको प्रतिक्रिया दिएको छ । सचिवालयका अनुसार पछिल्लो दुई हप्ताको महत्त्वपूर्ण उपलब्धि भनेको कार्बन बजारको प्रगतिमा भएको छलाङ हो । करिब एक दशक लामो प्रयासपश्चात् कोपमा उपस्थित विभिन्न मुलुकले पेरिस सम्झौताअन्तर्गत कार्बन बजार कसरी सञ्चालन हुने भन्ने अन्तिम संरचनामा सहमति जनाएका छन् । यसले देशदेखि–देश व्यापार र कार्बन क्रेडिटिङ संयन्त्र पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ । कोपपछि युएनएफसिसिसीले आफ्नो आधिकारिक वेबसाइड (युएनएफसिसिसी डट आइएनटी) मार्फत भनेको छ, “कोप–२९ बाट भएको निर्णयले कार्बन क्रेडिटको व्यापारलाई देशहरूले कसरी स्वीकृति दिने र यसको ट्रयाक राख्न रजिस्ट्रिहरू कसरी सञ्चालन हुने भन्ने विषयमा स्पष्टता दिएको छ । यसले पारदर्शी प्रक्रियामार्फत प्राविधिक समीक्षा गरी वातावरणीय अखण्डता सुनिश्चित गर्ने विश्वास प्रदान गरेको छ ।” पेरिस सम्झौताकै धारा ६ को (४) मा केन्द्रित कार्बन बजारसम्बन्धी विषयमा पनि कोपमा सहमति जनाइएको छ । कोप–२९ को पहिलो दिन, देशहरूले संयुक्त राष्ट्रसङ्घअन्तर्गत केन्द्रित कार्बन बजारको मापदण्डमा सहमति गरेको थिए । “यो विकासशील देशका लागि खुसीको खबर हो, यसले नयाँ वित्तीय प्रवाहमा फाइदा पुर्याउनेछ र कम विकसित देशहरू (एलडिसी) लाई यो अझ फाइदाजनक छ, यस बजारमा प्रवेश पाउन आवश्यक क्षमता निर्माण सहयोग प्राप्त गर्नेछन्”, युएनएफसिसिसीको सचिवालयले जनाएको छ । विज्ञान र कार्बन बजार धारा ६.४ अन्तर्गत संयुक्त राष्ट्रसङ्घीय कार्बन बजारलाई विज्ञानसँग समाहित गर्न निर्देशन दिएको छ । यसले बजारलाई सञ्चालनमा ल्याउने निकायलाई वैज्ञानिक प्रमाणको उपयोग गर्न निर्देशन दिएको हो । “कार्बन बजारमा गरिएको काम बाकुमा मात्र सीमित हुँदैन । नयाँ कार्बन क्रेडिटिङ संयन्त्र स्थापना गर्ने पर्यवेक्षण निकायले २०२५ को लामो कार्यसूची प्राप्त गरेको छ र यसलाई सदस्य राष्ट्रहरूलाई जवाफदेही बनाइनेछ”, युएनएफसिसिसीको सचिवालयले जनाएको छ । यसैगरी पारदर्शी जलवायु रिपोर्टिङमा उल्लेखनीय प्रगति भएको र जलवायु नीतिहरूलाई सशक्त बनाउन बलियो प्रमाण तयार गर्ने विश्वास लिइएको छ । जसले वित्तीय आवश्यकता तथा अवसर पहिचान गर्न सहयोग गर्ने अपेक्षा छ । युएनफसिसिसीका अनुसार हालसम्म १३ पक्षहरूले पहिलो द्विवार्षिक पारदर्शिता रिपोर्ट ९बिटीआर० प्रस्तुत गरिसकेका छन् । जुन सबै पक्षहरूले वर्षको अन्त्यसम्म प्रस्तुत गर्नुपर्ने हुन्छ । बेलायतको इन्टरनेशनल फरेस्ट युनिटले ‘युएनएफसिसिसी’ को ‘रेडप्लस’ कार्यक्रममा चार वर्षका लागि तीन मिलियन बेलायत पाउण्ड स्ट्रलिङको प्रतिबद्धता जनाएको छ । यस सहयोगले वन संरक्षणका गतिविधिलाई बलियो बनाउनेछ र सन् २०३० सम्म वनविनाश रोक्न तथा उल्ट्याउन ग्लोबल स्टकटेकको उद्देश्यसँग मेल खाने पारदर्शिता र कार्यान्वयनलाई प्रवर्द्धन गर्ने विश्वास छ । यसअनुसार राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धीका पक्षधर देशले आफ्नो जलवायु परिवर्तनसँग सम्बन्धित प्रतिबद्धताको मूल्याङ्कन र समीक्षा गर्छन् । यो प्रक्रिया पेरिस समझौताका भागको रूपमा लागू गरिएको हो र प्रत्येक पाँच वर्षमा गरिन्छ । के हो कार्बन व्यापार ? वायुमण्डलमा कार्बनसाइडलगायत ग्यासको उत्सर्जन बढी हुन गई जलवायु परिवर्तन भएको हो भन्ने तथ्य प्रमाणित भएको छ । राम्रो व्यवस्थापन गर्दा वनजङ्गलले कार्बनडाइअक्साइडलाई सोसेर जलवायु परिवर्तनको प्रक्रियालाई न्यूनीकरण गर्न सहयोग पुर्याउँछ । तर अर्कोतर्फ वनको विनाश र क्षयीकरण भएमा त्यसबाट कार्बनडाइअक्साइड उत्सर्जन भई थप जलावायु परिवर्तन हुन जान्छ । यस पृष्ठभूमिमा वन विनाश र वनको क्षयीकरण रोकी वनको दिगो व्यवस्थापन, वृक्षरोपण आदि गरी वन क्षेत्रबाट, फोहरमैलाको उचित व्यवस्थापनबाट तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका गतिविधिबाट हरितगृह उत्सर्जन ग्यास कटौतीमार्फत कार्बन सञ्चिति बढाउने र सोबापत अन्तर्राष्ट्रिय भुक्तानी दाबी गर्ने कार्यक्रम कार्बन व्यापार हो । अर्थात् कार्बन उत्सर्जन कटौती गरेबापत आर्थिक प्रोत्सहनस्वरूप अन्तर्राष्ट्रियस्तरबाट उपलब्ध गराउने भुक्तानी नै कार्बन व्यापार हो । कार्बन खरिदको संयन्त्र वन कार्बन खरिद बिक्रीका विभिन्न प्रक्रिया छन्, जसलाई बाध्यकारी बजार र ऐच्छिक बजार भनिन्छ । हाल विश्व बैंकअन्तर्गतको कार्बन फण्डमार्फत कार्बन बिक्री गर्ने एवं देशको वनक्षेत्रको कार्बन वा उत्सर्जन आधार तयार गरी संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रारूप महासन्धिमा पेश हुँदै आएको छ । पछिल्लो समय कार्बन सञ्चिति बढेको भने हरित जलवायु कोषमा रेडप्लसको प्रस्ताव पेश गरी भुक्तानीको दाबी गर्ने र द्विपक्षीय एवं बहुपक्षीय कार्बन व्यापार गरिँदै आएको छ ।
ढोरपाटन: प्रहरी चौकी मालढुङ्गा भवन अवभावका कारण मसानघाटमा बस्न बाध्य भएको छ । बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गामा रहेको प्रहरी चौकीको आफ्नो भवन नहुँदा नौ महिनादेखि कालीगण्डकी नदी किनारमा बनाइएको सत्तलमा बस्न बाध्य भएको छ । चौकीमा बस्ने प्रहरीले मसानघाटमा दाहसंस्कार गर्न आएका मलामी बस्ने सत्तललाई पुरानो जस्तापाताले बारेर रात बिताउने गरेका छन् । सत्तल छेउमै दाहसंस्कार गर्ने मसानघाट रहेको हुँदा दैनिक शव जलाउने ल्याउने प्रहरी चौकी मालढुङ्गाका प्रमुख भोजबहादुर गुरुङले बताउनुभयो । बिहानै शव अन्त्येष्टिका लागि ल्याउने गरेको सुनाउँदा मलामी घर नफर्किँदासम्म चौकीमा खाना नपाक्ने उहाँको भनाइ छ । खाना पकाउने छेउमै शव जलाउने हुँदा खाना पकाएर खान निकै समस्या भएको गुरुङले गुनासो गर्नुभयो । पहिले बस्दै आएको स्थानमा भवन निर्माण गर्ने भने पनि अहिलेसम्म बन्न नसकेको उहाँ बताउनुहुन्छ । “दिनदिनै शव ल्याएर यहीँ जलाउँछन्, कहिले त एकै दिन दुई–तीनवटा शवसमेत ल्याउने गर्छन्, शव जलाउँदै गर्दा खाना पकाएर खान पनि मिलेन, अन्त्येष्टि गरेर फर्किँदासम्म कहिले दिउँसोको ३ बज्छ कहिले राति हुन्छ”, गुरुङले भन्नुभयो, “यहाँ बसेर खाना खाने, ड्युटी गर्ने वातावरण छैन, राति बाहिर शौचालय निस्किन पनि जोखिमजस्तो हुन्छ, मान्छे जलाउने ठाउँमा बस्दा गाह्रो नै हुँदोरैछ ।” उहाँका अनुसार हाल प्रहरी सहायक निरीक्षकको नेतृत्वमा आठ जना प्रहरी र एक जना ट्राफिक प्रहरी चौकीमा बस्दै आएका छन् । मालढुङ्गामा भवन निर्माणका लागि बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरे पनि अहिलेसम्म भवन निर्माण सुरु गरेको छैन । उक्त स्थानमा प्रहरी ‘चेकपोष्ट पनि रहेको छ चेकपोष्ट पनि व्यवस्थित नहुँदा प्रहरीले समस्या भोग्नुपरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले प्रहरी चौकी मालढुङ्गाको आफ्नै जग्गा र भवन नहुँदा लामो समयदेखि समस्या भोग्दै आएको भन्दै यही वर्ष सामान्य भवन बनाएर मसानघाटबाट चेकपोष्ट नजिक सार्ने बताउनुभयो । बागलुङ नगरपालिकासँग सहकार्य गरेर भवन निर्माणका लागि बजेट विनियोजन भएको भन्दै मङ्सिर महिनाभित्रै सम्झौता गरेर काम अगाडि बढ्ने उहाँको भनाइ छ । बागलुङ नगरपालिकाले गत वर्ष नै प्रहरी चौकी निर्माण गर्नका लागि रु १५ लाख विनियोजन गरे पनि सडक मापदण्डका कारण भवन बनाउन नसक्दा बजेट फ्रिज भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने चीन भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री ओली नेतृत्वको चीन भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डले जानकारी दिनुभयो । “प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डाबारेमा थप छलफल जारी छ, ऐजेण्डा तय भइसकेको छैन, भ्रमण दल र प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएको छ, भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति छ, तर निजी क्षेत्रबाट आफ्नै खर्चमा जाने हो, सरकारलाई आर्थिक दायित्व पर्दैन, टोलीमा केही जरुरी व्यक्तित्वहरु मात्रै हुनुहुन्छ”, बैठकबारे जानकारी गराउँदै मन्त्री पाण्डेले भन्नुभयो । प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेण्डाका बारेमा मन्त्रिपरिषद्को अर्को बैठकले टुङ्गो लगाउने उहाँको भनाइ थियो । मन्त्री पाण्डेले मन्त्रिपरिषद्मा अन्य विषयका बारेमा छलफल भए पनि निर्णय नभएको बताउनुभयो ।
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ को समापनसहित पुरस्कार वितरण कार्यक्रम शुक्रबार हुने भएको छ । स्पोर्टस मिट अन्तर्गत बिहिबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा–छात्रा र विश्वविद्यालय विङतर्फका ब्याडमिन्टनका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ब्याडमिन्टन प्लस टुतर्फ मदरल्याण्डले बाजी मारेको छ । समग्रमा मदरल्याण्डले माविले ७ अङ्क प्राप्त गर्दा प्रतिभा मावि दोस्रो हुँदै ५ र कास्की मोर्डनाइज्ड तेस्रो हुँदै ३ अङ्क हात पारेको ब्याडमिन्टनका संयोजक पुरन कुंवरले जानकारी दिए । त्यस्तै विश्ववद्यिालय विङतर्फ पोखरा लिंकन इन्टरनेशनल कलेज ७ अङ्का साथ पहिलो बन्दा पोखरा इन्जिनियरिङ कलेज ५ अङ्का साथ दोस्रो, इन्फर्मेटिक्स र पोखरा कलेज अफ म्यानेजमेन्ट ३–३ अङ्कका साथ तेस्रो स्थान प्राप्त गरे । यस्तै छात्र प्लस टु सिंगल्समा प्रतिभाका विज्ञान भण्डारीले मदर ल्याण्डका दिप रानालाई २–१ को सेटमा पराजित गर्दा छात्रा सिंगल्समा केएमएकी प्रजु थापाले मदर ल्याण्डकी विशिष्ट केसीलाई २१–१६, २१–११ ले पाखा लगाइन् । छात्र सिंगल्समा मदर ल्याण्डका पृथक गुरुङ र प्रतिभाका सुमित सुनार र छात्रातर्फ सगरमाथाकी सदिक्षा खत्री र ग्लोबलकी प्रश्मिता खाँडले तेस्रो स्थान हात पारे प्लस टु छात्र डबल्समा प्रतिभाका विज्ञान भण्डारी र सुमित सुनारको जोडीले मदर ल्याण्डका दिप राना र पृथक रानाको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे । यस्तै छात्रातर्फ केएमएका प्रजु थापा र आइशा संग्रौलाको जोडीले मदरल्याण्डका विशिष्ट केसी र उपसना पौडेललाई २१–१५, १६–२१ र २१–७ ले पराजित गरेका छन् । त्यस्तै छात्र डबल्समा सगरमाथाका समिर र सुमन अधिकारीको जोडी रेन्वोका आइशा राना र किस्मत गुरुङको जोडी तथा छात्रातर्फ ज्योतीकुञ्जका सज्जा घले र आयुप्सा गुरुङको जोडी र ग्लोबलका शइन थापा मगर र प्राप्ती खड्काको जोडीले तेस्रो स्थान हात पारे । बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । छात्र/छात्रा भलिबल यसै गरी जारी प्रतियोगिता अन्तर्गत छात्र भलिबलमा प्रतिभा मावि र गुरुकुल मावि, सिर्जना र न्यू ग्यालेक्सी सेमीफाइनल प्रवेश गरेको छात्र भलिबलका संयोजक नविन बरालले जानकारी दिए । त्यस्तै छात्रा भलिबलतर्फ सिर्जना र सगरमाथा तथा करुणनिधी मावि र गुरुकुल मावि सेमीफाइनलमा भिड्नेछन् । छात्र बास्केटबल पोखरा रंगशालामा सम्पन्न प्लस टु छात्र बास्केटबलमा प्रतिभा मावि र मनकामना तथा न्यू ग्यालेक्सी र कास्की मोर्डनाइज्ड अन्तिम चारमा प्रवेश गरेका छन् । यस अघि सम्पन्न क्वार्टरफाइनलमा प्रतिभाले ग्लोबललाई ५२–२५ ले, मनकामनाले सोसल पब्लिकलाई ३६–१५ ले, कास्की मोर्डनाइज्डले माउन्ट अन्नपूर्णलाई ५०–४० ले र न्यू ग्यालेक्सीले मेरीगोल्डलाई ४८–२१ ले पराजित गरेको बास्केटबलका संयोजक खिम बहादुर गुरुङले जानकारी दिए । १७ औं संस्करणको हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा जारी रहेको छ । हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धामा कक्षा ११–१२ छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता रहेको छ । त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३९ र छात्रातर्फ ११ टिमको सहभागिता रहेको थियो । छात्रा बास्केटबल सम्पन्न भइसकेको छ । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेलहरु बिहिबार सम्पन्न भएका छन् । त्यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल १ सय २४ खेलहरु सम्पन्न भएका छन् । । विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रातर्फ समेत ८ टिमले सहभागिता जनाएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक याम बहादुर रोक्काले जानकारी दिएका छन् । प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गरेको छ । १५ औं र १६ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले जितेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले लगातार ४ पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् । निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत कास्कीमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको छन्दु पुग्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको हो । मन्त्री डा राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सो भेटवार्ता शुक्रबार चीनको छन्दु सहरमा नै हुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरुप उहाँ चीन जानुभएको हो ।
काठमाडौं: सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचारको प्रबन्ध गर्न आदेश गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले बुधबार मेडिकल व्यवसायी प्रसाईंको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइपछि स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नु भनी अनुसन्धान गर्ने निकायका नाममा निर्देशनात्मक आदेश गरेको हो । अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गर्दै प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतबाट यही मङ्सिर ९ गते हिरासतमा राख्ने अनुमति प्रदान गर्दा उहाँ क्यान्सर रोगको बिरामी रहेको भनी उल्लेख गरेकाले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न भनेको हो । आदेशमा भनिएको छ, “यस अदालतमा जीवनरक्षाका लागि स्वास्थ्य उपचारको व्यवस्था गरिपाउँ भनी निवेदनसमेत दिएको हुँदा क्यान्सर जस्तो संवेदनशील रोगको गाम्भीर्यतासमेत विचार गरी निवेदकको स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नु भनी अनुसन्धान गर्ने निकायका नाममा निर्देशनात्मक आदेश जारी गरिएको छ ।” व्यवसायी प्रसाईंका तर्फबाट छोरा नीरजले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गर्नुभएको थियो । सोही रिट निवेदन माथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो ।
काठमाडौं: पूर्वी युगान्डामा भूस्खलनले छ वटा गाउँमा ४० घर पुरेपछि कम्तीमा १३ जनाको मृत्यु भएको छ । युगान्डा रेड क्रस सोसाइटीले १३ जनाको शव बरामद गरिएको र उद्धार कार्य जारी रहेको बताएको छ । स्थानीय मिडियाले मृतकको सङ्ख्या ३० सम्म पुग्नसक्ने अधिकारीहरूले अनुमान गरेको बताएका छन् । पहाडी जिल्ला बुलम्बुलीमा बुधबार राति भारी वर्षा भएपछि भूस्खलन भएको हो । यहाँँ भूस्खलन सामान्य छ । यस जिल्ला राजधानी कम्पालाबाट करिब २८०किलोमिटर पूर्वमा पर्दछ । यस क्षेत्रका एका पत्रकारले एसोसिएटेड प्रेसलाई स्थानीय अधिकारीहरूले उद्धार प्रयासमा सहयोग गर्न उत्खनन ल्याउने बताएका छन् तर सडकहरू पहिरोले ढाकिएका छन् र अझै पनि वर्षा भइरहेको छ । प्रभावित क्षेत्र करिब ५० एकडको छ । त्यहाँ घरहरू र कृषियोग्य जमिनहरू डाँडामा फैलिएका छन् । पीडितहरूको खोजीमा माटो खन्ने मानिसहरूको फोटो र भिडियोहरू सामाजिक सञ्जाल प्लेटफर्महरूमा साझा गरिएको थियो । केही घरहरू पहिरोले ढाकिएका थिए भने अरूमा जमिन माथि मात्र छाना देखाइएको थियो । डेली मोनिटर अखबारले अहिलेसम्म बरामद भएका अधिकांश शवहरू बालबालिकाहरूको भएको जनाएको छ । प्रधानमन्त्री कार्यालयले बुधबार विपद् चेतावनी जारी गर्दै देशभर भारी वर्षाले प्रमुख सडकहरू अवरुद्ध भएको बताएको छ । बुधबार नाइल नदीमा एक उद्धार अभियानका क्रममा दुई उद्धार नौकाहरू पल्टिए । त्यहाँ पाकवाच पुल डुबेको थियो ।
काठमाडौं: अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आउनुभएकी सोनिया अधिकारीले झापाको बेलडाँगी र मोरङको पथरीमा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने जेष्ठ नागरिक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । बुबाआमाले दिएको खाजा खर्च, दसैँ तिहारमा पाएको दक्षिणा र जन्मदिनमा पाएको उपहार रकम जम्मा गरेर दुवै शिविरमा बस्ने बृद्धबृद्धा र असक्तलाई चार सय थान कम्बल र विद्यार्थीलाई एक हजार सात सय थान शैक्षिक सामग्री र केही थान कपडा एकल महिलालाई वितरण गरेको अधिकारीले बताउनुभयो । “मलाई यहाँ आएर सहयोग गर्न मन थियो । त्यो पनि आफैंले जम्मा गरेको रकमले, त्यो सपना पूरा भएको छ”, अधिकारीले बताउनुभयो, “मैले केही वर्षदेखि नै खाजा खर्च, दसैँ, तिहार, जन्मदिन र अरु अवसरमा आफूले पाएको रकम जम्मा गरेर राखेकी थिए । त्यो रकम मलाई अन्यत्रभन्दा शरणार्थी शिविरमा सहयोग गर्न मन लागेर नेपाल आएकी हुँ । सहयोग गर्न पाउँदा खुसी लागेको छ ।” उहाँ अमेरिकाबाट एकसाताको मात्र बिदा लिएर नेपाल आउनुभएको हो । कक्षा १२ अध्ययनरत अधिकारीको इच्छा १८औँ जन्मदिनको अवसरमा वितरण गर्ने थियो । त्यही इच्छा पूरा गर्न यसपटक नेपाल आएर रू १४ लाख बराबरको कम्बल र शैक्षिक सामग्री वितरण गरेको उहाँले बताउनुभयो । नर्सरी कक्षादेखि ३ कक्षासम्मका बालबालिकालाई दुई वटा पेन्सिल, दुई वटा इरेजर, दुई वटा सार्पनर, दुईवटा एक सय पृष्ठका कपी र कलर पेन्सिलको एक प्याकेट र स्केलको एउटा प्याक बनाएर वितरण गरेको पत्रकार एवं समाजसेवी चुडामणी भट्टराईले बताउनुभयो । त्यसैगरी कक्षा ४ देखि १० सम्मका लागि दुईवटा एक सय पृष्ठका कपी, ज्यामिति बक्स, दुईवटा कलमको प्याकेज तथा ११ र १२ कक्षाका विद्यार्थीलाई ठूलो साइजका दुईवटा नोटबुक, दुईवटा डटपेन र एउटा एडुकेट क्यालकुलेटरको प्याकेट बनाएर हस्तान्तरण गरेको भट्टराईले जानकारी दिनुभयो । सोनिया अधिकारी पनि झापाको टिमाई शरणार्थी शिविरमै जन्मनुभएको हो । डिल्ली अधिकारी र गोमा अघिकारीकी छोरी सोनिया चार वर्षको हुँदा आमाबुबासँगै अमेरिका पुग्नुभएको थियो । सोनियाका पिता डिल्ली अधिकारी समाजसेवाको क्षेत्रमा नेपाली समुदायकै अग्रणी व्यक्तित्व हुनुहुन्छ । शरणार्थीलाई पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेपछि व्यवसायमा लाग्नु भएका अधिकारीको नेतृत्वमा रहेको इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका नामक गैरनाफामुलक संस्था खोले संसारभरका नेपाली जातिलाई सांस्कृतिक एकताको अभियान चलाइरहेको पत्रकार एवं समाजसेवी भट्टराईले बताउनुभयो । मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोहरुमार्फत संसारभरका नेपाली जातिलाई नेपालसँग जोड्ने अभियान चलाइरहनु भएका अधिकारीले शरणार्थी शिविरमा बस्ने बृद्धबृद्धा र असक्तहरुलाई मासिक रु पाँच हजार रकम वितरण गरिरहनुभएको छ । दमक नगरपालिका र पथरी नगरपालिकाका एम्बुलेन्स र शरणार्थी शिविरका विद्यालयमा पढाउने ३० जना शिक्षकको तलब पनि फाउण्डेसनले पनि बेहोर्दै आएको बताउनुभएको छ ।
पोखरा: १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा मुल आयोजक संयोजक रहने गरी विभिन्न उपसमितिहरु गठन गरिएको हो । जस अन्तर्गत महोत्सवको कार्य सम्पादन उपसमिति संयोजकमा राजु श्रेष्ठ, अतिथि ब्यवस्थापन उप–समिति संयोजकमा हिमालय बख्रेल, सचिवालय उपसमिति संयोजक सुक बहादुुर गुरुङ, अनुगमन उपसमिति संयोजकमा लालकाजी गुरुङ, कलाकार व्यवस्थापन उपसमिति संयोजकमा गणेश तिमिल्सिनालाई चयन गरिएको छ । यस्तै प्रायोजक व्यवस्थापन उपसमिति संयोजकमा शान्त बहादुर थापा, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा सूर्य बहादुर बानियाँ, प्रचार प्रसार उपसमिति संयोजकमा दिनेश सुनार, अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजकमा जयराम आचार्य, ट्राफिक व्यवस्थापन उपसमिति संयोजकमा सन्तोष कार्की, ब्यानर व्यवस्थापन उपसमिति संयोजकमा सीमा गुरुङ, झाँकी र्याली तथा संघ संस्था उपसमिति संयोजकमा विष्णु कुमार गुरुङ, टिकट काउन्टर व्यवस्थापन उपसमिति संयोजकमा पूर्ण कुमार श्रेष्ठ, स्वास्थ्य उपसमिति संयोजकमा नरहरि पनेरु, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजकमा शिव थापालाई चयन गरिएको छ । खानेपानी व्यवस्थापन उपसमिति संयोजक पदम बहादुर कार्की (बिजय), मायाको चिनो व्यवस्थापन उपसमिति संयोजकमा शान्ति सुवेदी, विद्युतिय सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा बुद्ध कार्की, पृष्ठपोषण व्यवस्थापन उपसमिति संयोजकमा रिम बहादुर कार्की, खाना, खाजा व्यवस्थापन उपसमिति संयोजकमा गणेश खड्कालाई चयन गरिएको छ । यस्तै सरसफाइ तथा फोहोरमैला व्यवस्थापन उपसमिति संयोजकमा सुरेश थापा, विद्यालय समन्वय व्यवस्थापन उपसमिति संयोजकमा रमेश बहादुर कार्की, विमा व्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र बहादुर थापा, मुल्याङ्कन व्यवस्थापन उपसमिति संयोजकमा शुशिलराज पराजुली, पर्यटन प्रवद्र्धन व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द घिमिरे, पार्किङ व्यवस्थापन उपसमिति संयोजकमा कृष्ण थापा मगर, अतिरिक्त क्रियाकलाप उपसमिति संयोजकमा चन्द्र थापा, विद्युतिय व्यवस्थापन उपसमिति संयोजकमा हरि श्रेष्ठ, मिडिया कोअडिनेटरमा गिता राना र कार्यालय सचिवमा कुशुम गुरुङ रहेका छन । त्यसैगरी महोत्सवको सल्लाहकारहरुमा सेती थापा, सम्मर बहादुर श्रेष्ठ, पवित्रादेवी गुरुङ, विश्व प्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, प्रेमछिरी शेर्पा, लिला बहादुर जि.सी., पोखरा महानगरपालिका वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोला, पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङ, पोखरा महानगरपालिका वडा नं १३ का अध्यक्ष किरण बराल, पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बानियाँ, पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोधराज कार्की, पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष प्रेम कर्माचार्य, टिका बहादुर कार्की, रोजेन्द्र बहादुर कार्की, गोपाल गुरुङ (रामबजार), कृष्ण कोइराला, राजकुमार गुरुङ, दिपक थापा, मिन गुरुङ, सुनिल गुरुङ, कृष्ण कुमारी थापा, जस बहादुर गुरुङ, दया बराल, यम बहादुर गुरुङ (गल), डम्बरजंग गुरुङ, शिव बहादुर बराल, दान बहादुर गुरुङ, तेज बहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्ण बहादुर थापा, ओम सुवेदी, निलकण्ठ पोख्रेल, सन्जीव कोइराला, सु. इन्द्र बहादुर गुरुङलाई चयन गरिएको छ । त्यसैगरी वलराम ढुंगाना, अनिल थापा, श्यामकृष्ण श्रेष्ठ, राम नारायण श्रेष्ठ, चिन्तामणी बास्तोला, राम बहादुर पौडेल, गज बहादुर गुरुङ, गुप्त बहादुर कार्की, नुना गुरुङ, उज्जवल रन्जित, नरेन्द्र गुरुङ, लालकाजी गुरुङ, डा. कृष्ण के.सी., डा. प्रदीप घिमिरे, महेश गुरुङ, गोपाल गुरुङ(बाँझापाटन), अमर केसी, माधव गौतम, ओम बस्नेत, माधव घिमिरे, मोहन गुरुङ, रुद्र श्रेष्ठ, राजेश गुरुङ, सोमनाथ पौडेल, प्रेम प्रसाद गौतम, धनमाया गुरुङ, राजेन्द्र प्रसाद बास्ताकोटी र पोखरा महानगरपालिकाका ३३ वटै वडा अध्यक्षहरुलाई सल्लाहकारमा चयन गरिएको छ ।

