काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग आज यहाँ भएको भेटवार्तामा सो आग्रह गर्नुभएको हो । “जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्वता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगावै सन् २०४५ सम्म नेपालले शून्य कार्वन उत्सर्जनको उपलब्धि हासिल गर्ने लक्ष्य राखेकाले हामी सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरु पूरा गर्न आग्रह गर्दछौंँ”, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो प्रभाव बेहोरी रहेको बताउनुभयो । उहाँले हिमालमा भएको हिउँ पग्लिरहेको, तल्लो तटीय क्षेत्रका जनसङ्ख्यालाई स्वच्छ खानेपानीको स्रोत घटीरहेको एवं जलवायु परिवर्तनबाट सृजित प्राकृतिक विपद्बाट हरेक वर्ष ठूलो जनधनको क्षति भइरहेको जानकारी दिँदै यसवर्ष पनि बेमौसमी भारी वर्षाका कारण नेपालले देशव्यापी जनधनको ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गर्नुभयो । “सरकारले हरेक वर्ष बजेटको ठूलो हिस्सा जलवायुबाट प्रभावित जनसङ्ख्याका लागि खर्च गर्नु परिरहेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । पर्वतीय भू–बनोट तथा भू–परिवेष्ठित अवस्थितिका कारण हामीबीच भौगोलिक समानता मात्र नभइ पर्वतीय मुलुकले सामना गर्नुपरेका संरचनागत चुनौती र असरहरु पनि समान रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जलवायु परिवर्तन विश्वको साझा विषय हो, पर्वतीय भू–भाग रहेको हाम्रा दुवै मुलुकले जलवायु परिवर्तनका खराब असरहरू सामना गर्नुपरिरहेको छ, नेपालले पर्वतीय मुलुकहरुले सामना गर्नुपरेका विषयलाई कोपलगायत मञ्चहरुमा उठाउँदै आएकाले यसमा अजरबैजानी सरकारको ऐक्यबद्धताका लागि आग्रह गर्न चाहन्छु ।” सन् १९९१ मा स्वतन्त्र भएपछि अजरबैजानले हासिल गरेको बृहत् विकास र आर्थिक रूपान्तरणको राष्ट्रपति पौडेलले प्रशंसा गर्नुभयो । उहाँले राजनीतिक परिवर्तनपछि नेपाल हाल आर्थिक विकासको बाटोमा अघि बढिरहेको र सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको बताउनुभयो । “आर्थिक रूपान्तरण र विकासबिना हामीले हासिल गरेका राजनीतिक उपलब्धि संस्थागत गर्न सकिँदैन”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले अजरबैजानका समकक्षी अलियेफको सक्षम नेतृत्वमा आयोजना भइरहेको कोप–२९ को पूर्ण सफलताका लागि बधाई दिँदै सम्मेलनले पारित गर्ने घोषणापत्रले नेपाल जस्ता अत्यन्त न्यून कार्वन उत्सर्जन गर्ने तर जलवायु परिवर्वनको ठूलो असर व्यहोरिरहेका मुलुकको हकहित संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा कृषि, पर्यटन र जलस्रोतका क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेकोतर्फ ध्यानाकर्षण गराउनुभएको थियो । भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेभले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नजिक गरेर काम गर्ने बताउनुभएको सल्लाहाकार पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति अलियेफले नेपालले प्रस्ताव गर्ने क्षेत्रमा लगानी गर्न आफ्नो देश सकारात्मक रहेको बताउनुभयो । सन् १९९५ मा नेपाल र अजरबैजानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुवै देशले संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा दीगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा चासोका विषयमा सहकार्य गरिरहेका छन् । राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई मङ्गलबार सम्बोधन गर्नुभएको थियो । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । राष्ट्रपति पौडेलले किर्गिस्तानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र÷सरकार प्रमुखहरूसँग गर्नुभएको सामूहिक भेटघाट कार्यक्रममा समेत उहाँ सहभागी हुनुभएको थियो । यही कात्तिक २६ गतेदेखि सुरु भएको सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै सोमबार गणतन्त्र अजरबैजानको राजधानी सहर बाकु आइपुग्नुभएको हो । अजरबैजानका समकक्षीसँगको भेटपछि राष्ट्रपति पौडेल स्वदेश फर्कने क्रममा आजै बाकुबाट कतारको दोहाका लागि प्रस्थान गर्नुहुनेछ । राष्ट्रपति पौडेल शुक्रबार बिहान काठमाडौँ पुग्नुहुने कार्यतालिका छ ।
काठमाडौं: नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुन जनाएको छ । उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ । यसैगरी २०÷२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ ।
पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले आइटी पढ्ने विद्यार्थीका लागि नि:शुल्क इन्टरनेटको व्यवस्था मिलाएकाे छ । वडा कार्यालयले ल्याएको नीति अनुसार आइटी पढ्ने विद्यार्थीलाई निस्शुल्क रुपमा इन्टरनेटको सुविधा उपलब्ध गराएको हो । 'देशकै नमूना विद्यालयका रुपमा पुरस्कृत भइसकेका शितलादेवी, अमरसिंह मावि जस्ता विद्यालयलाई प्रविधिमैत्री बनाउँदै आइटी पढ्ने विद्यार्थीलाई नि:शुल्क इन्टेरनेटको व्यवस्था वडाले नै गर्ने हो, सरकारी विद्यालयप्रति अझै विश्वास बढाउनका लागि जनप्रतिनिधिले अझै ध्यान दिनुपर्छ भनेर लागि परेका छौं, वडाध्यक्ष बास्तोलाले भने । इन्टरनेटको सुविधा पाएपछि पढाईमा सहज भएको विद्यार्थी प्रज्वल बास्तोलाले बताए । 'अहिले इन्टरनेटको माध्यमबाट देश विदेशमा भएका घटना तथा विषय वस्तुको जानकारी पाउन सहज छ । कतिपय ठाउँमा इन्टरनेटको पहुँच पनि छैन तर यहाँ भने विद्यार्थीलाई नि:शुल्क इन्टरनेट उपलब्ध गराएर विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याइएको छ, उनले भने । इन्टरनेटको व्यवस्था भएपछि अध्ययनमा सहयोग पुगेको अर्का विद्यार्थीले बताए । नि:शुल्क इन्टरनेटको निरन्तरता पाएपछि विद्यार्थीहरु उत्साहित भएका छन् । वडाले नीति तथा कार्यक्रममै भौतिक पूर्वाधारभन्दा शिक्षा स्वास्थ्य र सामाजिक विकासलाई जोड दिएर नीति तयार गरेको हो । वडा कार्यालयले असोजदेखि सुरु गरेको उक्त सेवाका कारण विद्यार्थीहरुलाई विभिन्न विषयको खोज अनुसन्धान गर्न सहज भएको छ । शिक्षण र प्रविधिलाई जोड दिंदै वडाले विभिन्न सेवाहरु उपलब्ध गराउदै आएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताउनुभयो । विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ भन्नुभयो । “जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेका छौँ ।”नवलपरासी (सुस्ता पूर्व) का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । चाइना स्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । सो सडक खण्डको हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको बताइएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमी व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी हुनुहुन्थ्यो । भौतिक मन्त्री दाहालले निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्ममा काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराउनुभयो । सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्बासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो ।
काठमाडौं: ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन् । विगत दुई हप्तादेखि भएको ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै हजारौंलाई सुरक्षित स्थानमा सारिएको थियो । मौसम ‘सुध्रिएको’ अवस्थालाई उल्लेख गर्दै क्वान्टास र जेटस्टारले बालीमा आफ्नो सेवा पुनः सुरु गरेको विज्ञप्तिमार्फत जनाएका छन् । एयरएशियाले बिहीबारदेखि बाली जाने उडानहरू पुनः सुरु गर्ने जनाएको छ भने अस्ट्रेलियाले आफ्नो वेबसाइटमा उडानहरू पुनः सुरु गर्ने बताएको छ । यसैबीच, सिङ्गापुरको स्कुट एयरलाइन्सले लेवोटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिको कारण सिङ्गापुरबाट बाली र सुराबायाका लागि उडानहरू पुनर्निर्धारित गरेको जनाएको छ । विमानस्थललका महाप्रबन्धक अहमद स्योगी साहाबले माउन्ट लेवोटोबी लाकी–लाकीबाट ज्वालामुखीको खरानी बुधबार साँझदेखि विमानस्थलबाट टाढा गइरहेको बताउनु भएको छ । ज्वालामुखी विज्ञान विभागका अनुसार लेवोटोबी बिहीबार पुनः विस्फोट हुदाँ यसको खाडलबाट बाक्लो खरानी स्तम्भ र लाभा बगिरहेको देखिएको थियो । विमानस्थलको इन्स्टाग्राम अनुसार ज्वालामुखी नजिकैको लाबुआन बाजोको पर्यटक स्थलमा रहेको विमानस्थल बिहीबार पुनः खोलिएको छ ।
चितवन: चितवनको इच्छाकामना गाउँपालिका–२ डाडाँगाउँमा प्रत्येक घरको आगमनै धारा छ । तर यहाँका स्थानीय कुवा धाउन बाध्य छन् । १ घर–एक धारा अभियान अन्तर्गत डेढवर्ष अघि मात्र इच्छाकामना गाउँपालिका, ‘वाइनटु वाटर’ नेपाल र स्थानीय उपभोक्ताको सहकार्यमा लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिएको तेर्से– भोर्ले– डाडाँगाउँ खानेपानी आयोजनाको सोलारले काम गर्न छाडेपछि यहाँका स्थानीय खानेपानी जोह गर्न कुवा धाउन बाध्य भएका हुन् । उपभोक्ता समितिका अध्यक्ष दीपक गुरुङका अनुसार आयोजना सम्पन्न भएको ६ महिनामै सोलारले काम गर्न छाडेपछि यहाँका स्थानीय समस्यामा परेका हुन् । १ वर्षदेखि यहाँका बासिन्दा झण्डै एक घण्टाको बाटो हिँडेर पानी लिन जान बाध्यक्ष छन् । डाँडागाउँमा मात्र होइन सोही आयोजनाअन्तर्गत भोर्ले र तेर्से गाउँमा पनि समस्या उस्तै छ । घर–घरमा धारा भए पनि १ वर्षदेखि पानी नआएको तेर्सेका सुकबहादुर गुरुङले बताउनुभयो ।लामो समय भइसक्दा पनि खानेपानी समस्या समाधानमा गाउँपालिकाले बेवास्ता गरेको उपभोक्ताको गुनासो छ । आयोजनाअन्तर्गत ४२ परिवार रहेका छन् । बयालिस परिवारका स्थानीयले खानेपानीको समस्या झेलिरहेका छन् । तत्काल गाउँपालिका र साझेदार संस्था ‘वाइनटुवाटर’का कर्मचारीलाई जानकारी गराए पनि समस्याको बेलैमा सुनुवाइ नभएको स्थानीय बताउँछन् । स्थानीय दीपक गुरुङले भन्नुभयो, “सोलारले पानी तान्न छाडेपछि तत्काल गाउँपालिका र वाइनटुवाटरलाई जानकारी गराएका थियौँ । महिनौँ दिनसम्म प्राविधिक पठाएनन् ।” ढिला गरी प्राविधिक आए पनि काम सुरु गर्न ढिलाइ गरेको उहाँको भनाइ छ । वाइनटुवाटरका वास संयोजक यज्ञराज जोशीले भने स्थानीयले ढिला जानकारी गराउँदा समस्या समाधान हुन समय लागेको बताउनुभयो । अहिले सर्भे गरी समस्या पहिचान गरिएको र चाँडै समाधान हुने गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले वैकल्पिक ऊर्जाका प्राविधिक ल्याएर रिर्पोट तयार पारिसकेका छौँ, केही दिनभित्र काम सुरु गछौँ ।” उहाँका अनुसार सो स्थानमा घाम केही समय मात्र लाग्ने र लामो दुरी भएका कारण समस्या आएको हो । सोलारले काम नगरेको अवस्थामा विद्युत्बाट सञ्चालन हुने गरी व्यवस्था गर्न गाउँपालिकासँग छलफल भएको उहाँको भनाइ छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले दीर्घकालीन रुपमा टिकाउ हुने गरी समस्याको सामाधान गरिने बताउनुभयो । तत्कालका लागि अस्थायी रुपमा खानेपानी समस्या सामाधान गर्न पुरानो मुहानबाट पानी ल्याउन पाइप उपलब्ध गराइने उहाँले बताउनुभयो । केही दिनमै काम सुरु गरिने र एक महिनाभित्र समस्या समाधान गरिने उहाँको भनाइ छ । गाउँपालिका, वाइनटुवाटर नेपाल र स्थानीय उपभोक्ताको साझेदारीमा रु ५८ लाखको लागतमा २०८० साल जेठ ३० गते आयोजना सम्पन्न भएको थियो ।
काठमाडौं: नेपाली कांग्रेसले नेपाली कांग्रेसकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी गण्डकी प्रदेशसभाका सदस्य एवम् नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य ६३ वर्षीया विमला गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । पार्टीको भ्रातृ संस्था नेपाल महिला सङ्घ म्याग्दीकी पूर्वअध्यक्षसमेत रहनुभएकी गौचनको डेँगीको उपचारका क्रममा काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा गएराती निधन भएको थियो । उहाँ राजनीतिसँगै सफल पर्यटन व्यवसायीसमेत हुनुहुन्थ्यो । गौचनले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । गौचनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ । प्रदेशसभा सदस्य गौचनको निधनप्रति कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले आज १ सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो । मन्त्रिपरिषद् बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो । “वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी–वान, टि–टु र टि–थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नुभएको, अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन अर्थात २०८१ मङ्सिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ,” प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार कारबाही गरिने प्राधिकरणले जनाएको छ ।
काठमाडौं: अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गर्नुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ । स्मरण रहोस्, राष्ट्रपति निर्वाचित ट्रम्फले चार वर्षअघि जो बाइडेनको विजयलाई अस्वीकार गर्दै शिष्टाचार भेट गर्ने र राष्ट्रपति निर्वाचित व्यक्तिलाई ह्वाइट हाउसमा स्वागत गर्ने र बधाई तथा शुभकामना दिने अमेरिकी परम्परालाई तोड्नुभएको थियो । बाइडेनले आफ्ना कटु प्रतिद्वन्द्वीलाई नयाँ कार्यकालका लागि ह्वाइट हाउसमा उपस्थित हुने र भेटवार्ता गर्ने निम्तो दिएर शिष्टताको प्रदर्शन गर्नुभएको छ । ट्रम्पको यो भ्रमण उहाँलाई अमेरिकी कङ्ग्रेसको पूर्ण नियन्त्रण प्रदान गर्नका लागि हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनहरूलाई बहुमत प्राप्त दल घोषणा गरिएको र उहाँले महान्यायाधिवक्ताको रूपमा फायरब्रान्ड म्याट गेट्जसहित आफ्नो शीर्ष टोलीको लागि केही प्रमुख नियुक्तिहरूको घोषणा गरिएको समयमा भएको हो । अमेरिकी राष्ट्रपति बाइडेन र आगामी फेब्रुअरी २० मा अमेरिकी नेतृत्वमा पुनरागमन गर्न लागेका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ओभल अफिसमा न्यानो आगोको अगाडि हात मिलाउँदै भेटवार्ता शुरू भएको थियो । ट्रम्पले सन् २०२० मा बाइडेनसँग आफ्नो हारलाई मान्यता दिन अस्वीकार गरेपछि तोडेको परम्परालाई पुनः स्थापित गर्दै बाइडेनले भन्नुभयो, “स्वागत छ ।” गत जुलाईमा चुनावबाट बाहिरिएका तर गत साता कमला ह्यारिस ट्रम्पसँग पराजित भएको देखेका एकासी वर्षीय बाइडेनले ७८ वर्षीय ट्रम्प लोकतन्त्रका लागि खतरा भएको संज्ञा पटक–पटक दिनुभएको थियो तर भेटमा मिठो स्वरमा शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । दुई नेताले हात मिलाउँदा बाइडेनले तलतिर हेर्नुभएको थियो भने भने ट्रम्पले अगाडि झुकेर बाइडेनको आँखामा नियाल्नुभएको थियो । बाइडेनसँगको निर्वाचनमा ट्रम्पले हार अस्वीकार गरेपछि सन् २०२१ मा अमेरिकी संसद भवनमा उहाँका समर्थकले आक्रमण गरेका थिए । रिपब्लिकन नेता ट्रम्पले यस वर्ष आक्रोशक र विभाजनकारी चुनावी अभियान चलाउनुभएको थियो ।

