काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताउनुभएको छ । टुँडिखेलमा आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताउनुभयो । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्चिमबाट सुरु भएको गौरा पर्व नेपालको मौलिक पर्व भएको उल्लेख गर्नुभयो ।
काठमाडौं: आदिवासी लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ । याक्थुङ युवा मञ्च नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक उद्घाटनको अवसरमा मञ्चद्वारा प्रकाशित उक्त वर्णमाला आज सार्वजनिक गरिएको हो । याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, मञ्चका सल्लाहकार मधुराज केरुङ, चुम्लुङ प्रदेश सल्लाहकार याम योङ्हाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, चुम्लुङ इलाम सल्लाहकार बखतबहादुर आङ्देम्बेलगायतले संयुक्तरुपमा वर्णमाला सार्वजनिक गर्नुभएको हो । वर्णमाला सार्वजनिक हुनु लिम्बु समुदायका लागि नयाँ इतिहास निर्माण भएको मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गोले बताउनुभयो । “किरात सिरीजङ्गा लिपिको उन्नयन र विकासका लागि हामीले पहिलोपटक वर्णमाला तयार गरेका छौँ,” अध्यक्ष इधिङ्गोले भन्नुभयो, “हामीले भाषा र लिपि संरक्षणमा नयाँ इतिहास रचेका छौँ ।” सिरीजङ्गा लिपि लिम्बु समुदायमा पहिलेदेखि अभ्यासमा रहेपनि किरात समुदायका अन्य जातिहरुले यही लिपि प्रयोग गर्न थालेपछि यसलाई ‘किरात सिरीजङ्गा लिपि’ नामाकरण गरी वर्णमालाको रुपमा पहिलो पटक प्रकाशन गरिएको याक्थुङ युवा मञ्चले जनाएको छ ।
कास्की: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताउनुभएको छ । कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको आज समापनमा अध्यक्ष दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । “हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र अहिलेका उपलब्धीको रक्षा अन्यबाट सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “परिवर्तनका उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनःसङ्घर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्दछ ।” बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले पार्टीलाई एकतावद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिनुभयो । “अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो”, उहाँले भन्नुभयो । सो बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न बन्द गरिएको सडक आठ घण्टापछि सञ्चालनमा आएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले आज बिहानदेखि क्रेनको सहायतामा दुर्घटनाग्रस्त बस निकाल्न सडक बन्द गरेको थियो । क्रेनको हुक भाँचिएपछि सडक ढिला सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बस निकाल्न प्रयोग गरिएको क्रेनको बुम भाँचिएकोले सडक खुलाउन ढिला भएको हो । क्रेनको बुम जडान गरिएपछि यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।” तनहुँको आबुखैरेनी–२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मस्र्याङ्दी नदीबाट निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधान पूर्णरुपमा बन्द गरिएको हो । ऐनापहरामा भारतीय पर्यटक चढेको बस मस्र्याङ्दीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना सख्त घाइते भएका थिए ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन गर्नुभएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताउनुभयो । “प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दालाई प्राथमिकता दिनुप¥यो । जनताको मुद्दालाई प्राथमिकता दिँदा आफ्नो मुद्दा पनि आइहाल्छ,” उहाँले भन्नुभयो । सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ र जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । “यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकून् । सरकारले प्रदान गर्ने सेवा मध्ये प्रहरीले प्रदान गर्ने महत्वपूर्ण सेवा हो,” गृहमन्त्री लेखक भन्नुभयो । उहाँले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रस्ट पार्नुभयो । “दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौँ भनेर बनेको होइन । विसं २०७९ को चुनावपछिको समय सरकार बनाउने र भत्काउनेमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौँ,” उहाँले भन्नुभयो, “यो सरकारको उद्देश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो ।” कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकले जिकिर गर्नुभयो । “यसको उदाहरण १८ वर्षसम्म अल्झिएको सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौँ । छलफल हामीबीच भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमतिमा पुग्न सक्यौँ । ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरी छाड्नेछौँ,” उहाँले भन्नुभयो । गृह सचिव एकनारायण अर्यालले नेपाल प्रहरीलाई समानुकल, गतिशील, व्यावसायिक, सबल र सक्षम बनाउने नेपाल सरकारको नीति अनुरुप नै नयाँ भवनलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिन सकिने बताउनुभयो । यसबाट नेपाल प्रहरीको मनोबल बढ्नुका साथै सेवाग्राहीलाई समेत सहज हुने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले भविष्यमा प्रहरीका अन्य भौतिक संरचना पनि विस्तारै व्यवस्थित गर्दै लैजाने बताउनुभयो । व्यवस्थित संरचनाका कारण प्रहरीले आमसेवाग्राहीलाई सहज र व्यवस्थित रुपमा सेवा दिन मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
काठमाडौं: प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । राजधानीका मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्णमन्दिरमा पनि भक्तजनको भीड लागेको छ । काठमाडौँ उपत्यकाका चोक, गल्ली एवं कुना कुनामा रहेका कृष्णमन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको मान्यता छ । अन्याय, अत्याचार बढेपछि मानव अवतारका रुपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवतगीतामा अर्जुनका माध्यमबाट आम मानिसलाई शिक्षा दिनुभएको ग्रन्थहरुमा उल्लेख छ । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । रथयात्रा भने अष्टमीको भोलिपल्ट निकालिन्छ । अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुसियालीमा भाद्रकृष्ण नवमीका दिन रथयात्रा गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, निर्दोषलाई फसाउ भन्दैन र दोषीलाई छाड्दैन ।” वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन दिनुभयो । “यो सरकार केवल अर्को सरकार होइन, यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन, तपाईंहरु कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस्, अवाञ्छित र अनुचित प्रभावमा नलाग्नूस् ।” प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग रु एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिद गरेर रु एक अर्ब २६ करोडको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो । जिल्ला परिसर काठमाडौँ २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो ।
बागमती: मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन् । साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखा पर्न थालेको हो । य ही साउनदेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका बिरामीको सङ्ख्या ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिनुभयो । डेङ्गी सङ्क्रमणजस्तै स्क्रब टाइफसका बिरामी सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा भेटिएका छन् । हेटौँडा उपमहानगरपालिकामा ३९ जना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले बताउनुभयो । यस्तै मकवानपुरगढीमा ९, मनहरी गाउँपालिकामा ६, बकैया गाउँपालिकामा ७, भीमफेदी गाउँपालिकामा ४, बागमती गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा एक–एकजना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले जानकारी दिनुभयो । मुसाको माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सचेतना अपनाउन प्रमुख मिझारले आग्रह गर्नुभयो । डेङ्गी सङ्क्रमित बढ्दै पछिल्लो एक महिनामा मकवानपुरमा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही साउन १ गतेदेखि हालसम्म मकवानपुरमा एक सय ४३ डेङ्गी सङ्क्रमित फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारका अनुसार ७९ महिला र ६४ पुरुष गरी मकवानपुरमा एक सय ४३ जनामा नयाँ डेङ्गी सङ्क्रमित फेला परेका छन् । जसमध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा एक सय चार, मनहरी गाउँपालिकामा १६, मकवानपुरगढी गाउँपालिकामा आठ, बकैया गाउँपालिकामा छ, भीमफेदी गाउँपालिकामा तीन, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा एक–एक जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको प्रमुख मिझारले बताउनुभयो । वर्षायामको समय भएकाले डेङ्गी सङ्क्रमित अझै बढ्न सक्ने भएकाले स्थानीय तहसँगको समन्वयमा जनचेतनामूलक सन्देश प्रवाह तथा लामखुट्टे मार्ने अभियान अघि बढाइएको प्रमुख मिझारको भनाइ छ । यता डेङ्गी सङ्क्रमणको उच्च जोखिममा रहेको हेटौँडा उपमहानगर क्षेत्रमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाले नगरका विभिन्न वडामा लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको हो । पानी जम्ने ठाउँलाई पुर्ने, लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, जोखिम क्षेत्रमा स्प्रे गर्ने तथा डेङ्गीबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारीले बताउनुभयो ।
पोखरामा आगामी साता हुने इन्टर स्कुल ब्याण्ड कम्पिटिसनमा १९ स्कुलले प्रतिष्पर्धा गर्ने भएका छन् । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा यहि भदौ १४ र १५ गते पोखरा सभागृहमा हुने दोश्रो संस्करणको खुल्ला इन्टर स्कुल ब्याण्ड कम्पिटिसनमा १९ स्कुल छनौट भएका हुन् । धेरै विद्यालयले सहभागिताका लागि आवेदन दिएपनि उनीहरुले पठाएको भिडियोको आधारमा १९ स्कुल छनौट गरिएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । धेरै नै स्कुलले सहभागिताका लागि आवेदन र भिडियो पठाएका थिए,उनले भने,‘तर हाम्रो जुरी कमिटीले १९ स्कुललाई मात्र अन्तिम प्रतिष्पर्धामा सहभागिताका लागि छनौट गरेको छ ।’ विद्यालय स्तरका कक्षा १२ सम्मका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा सैनिक आवासीय मावि पोखरा, मदरल्याण्ड सेकेण्डरी स्कुल (बी), मदरल्याण्ड सेकेण्डरी स्कुल (ए), न्यू डायमण्ड मावि, कास्की मोर्डनाईज्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि, गुरुकुल विद्यासदन, पोखरा एकेडेमी, बालविद्या ईंग्लिस बोर्डिङ स्कुल र अल्फा बोर्डिङ स्कुल छनौट भएका छन् । त्यस्तै, लेविन्स रेसिडेन्सियल स्कुल, कालिका मावि, फिस्टेल एकेडेमी, प्रगती सेकेण्डरी स्कुल, ग्लोबल कलेजिट मावि, कुमुदिनी होम्स मावि, कान्तिपुर एकेडेमी, गण्डकी बोर्डिङ स्कुल र सगरमाथा मावि प्रतिष्पर्धाका लागि छनौट भएको अध्यक्ष गुरुङले जानकारी दिए । ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता आउँदो शुक्रबार शुरु हुँदैछ । प्रतियोगिता शनिबारसम्म चल्नेछ । संघका अनुसार भदौ १४ गते शुक्रबार १९ वटै स्कुलले आ–आफ्नो प्रस्तुती दिनेछन् । पूर्वाह्न ११ बजेदेखि शुरु हुने प्रतिष्पर्धामा सैनिक आवासीय माविले प्रस्तुती दिएपछि निरन्तर तालिका अनुसार नै प्रत्येक विद्यालयले प्रस्तुती दिने अध्यक्ष गुरुङले बताए । प्रतिष्पर्धी स्कुलका व्याण्डहरुले पहिलो दिन गण्डकी प्रदेशका सर्जकहरुको गीत प्रस्तुत गर्नुपर्नेछ । उनीहरुले दिएको प्रस्तुतीका आधारमा उत्कृष्ट १० दश फाइनलमा पुग्नेछन् । फाईनलमा पुगेका स्कुल व्याण्डहरुले प्रतियोगिताको अन्तिम दिन दुईवटा गीतहरु प्रस्तुत गर्नुपर्नेछ । जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्ने अध्यक्ष गुरुङले बताए । सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेतालगायतको घोषणा गरिने उनको भनाई छ । संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले जानकारी दिए । प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने संघका अध्यक्ष गुरुङले बताए । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने । संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ । प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।

