काठमाडौं: सुरक्षा परिषदको बैठकले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । आजको बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने विविध चुनौतीहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । साथै राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१र८२ को मस्यौदामाथि छलफल भएको थियो । उक्त मस्यौदामा आवश्यक संशोधनसहित स्वीकृति गरी नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपतिसमक्ष पेस गर्नेसमेत निर्णय भएको जनाइएको छ ।
गण्डकी: गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल कात्तिकमा २४ हजार ४१६ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए । नेपालमा असोज–कात्तिकलाई मुख्य पर्यटकीय यामका रूपमा लिइन्छ । दक्षिण एसियाली देशमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेका ‘एक्याप’का प्रमुख डा रविन कडरियाले बताए। आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सडकमार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका आयोजना प्रमुख डा. कडरियाले बताए। कात्तिकमा पर्यटकीय यामसँगै मुख्य चाडपर्व र बिदाको समय पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको हो । यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ । मुक्तिनाथसहित अन्य धार्मिक गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । सात हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ ।
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान नेपाली प्रतिभालाई एउटै मंचमा ल्याएर ‘सिनेमा बिना सीमा’ को उत्सव मनाउने तयारी पूरा भएको आयोजकले जनाएको हो । महोत्सवमा २५ चलचित्र प्रदर्शन हुनेछन् । जसमा १० युरोपेली फिचर फिल्म, ६ बाफ्टा–छानिएका लघु चलचित्र र ९ नेपाली लघु चलचित्र सामेल रहेको युरोपेली संघको नेपाल प्रतिनिधिमण्डल ईईएएसका प्रेस तथा सूचना अधिकारी विद्या महर्जनले जानकारी गराइन् । उनका अनुसार यी फिल्मले पहिचान, प्रतिरोध, स्मृति, आशा र रूपान्तरणजस्ता मानव अनुभूतिमा केन्द्रित कथाहरू मार्मिक रूपमा प्रस्तुत गर्छन्। चलचित्र महोत्सवमा पोर्चुगलको बाञ्जो, फिनल्याण्डको जे’भिदा, अस्ट्रियाको ह्याप्पी, हंगेरीको विथआउट एअर, फ्रान्स–इटालीको द गर्ल फ्रम टुमरो, साथै नेदरल्यान्ड्स, आयरल्याण्ड, पोल्याण्ड, स्विट्जरल्यान्ड र रोमानियाबाट समेत उत्कृष्ट फिल्महरू प्रदर्शन हुनेछन् । बेलायतका वान्डर टु वोन्डर, रक पेपर सिजर्स, मग्स क्रिसमस, मिल्क, आडिओस र स्टमक बग प्रदर्शन हुनेछन् भने स्थानीय र राष्ट्रिय स्तरमा चयन भएका ९ नेपाली लघु चलचित्र—चिसोघर,अबिस, अर्केस्टा, चाँदनी, इटर्नल किनशिप, ग्राण्डमाज् म्याजिक कोम्ब, साइलेन्ट स्कार्स, द काठमाडौँ र ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन—ले नेपाली कथनशैली र सौन्दर्यशास्त्रलाई उजागर गर्ने उनको भनाई छ। सबै प्रदर्शन निःशुल्क हुनेछन् र सबै फिल्ममा अंग्रेजी सबटाइटल उपलब्ध गराइने बताइएको छ । महोत्सवअघिको चरणमा पनि उद्योग, कला र सिकाइबीचको सम्वाद बलियो बनाउन कार्यक्रमहरू सञ्चालन गरिनेछ । मङ्सिर ६ गते शनिबार दिउँसो २ बजे ब्रिटिश काउन्सिलको सहकार्यमा ‘चलचित्र उद्योगले अब के गर्ने त?’ शीर्षकमा विशेष छलफल कार्यक्रम हुनेछ। वक्ताहरू—गौ माया गुरुङ, जस्सु गुरुङ र प्रविण टक्की कार्की—ले स्थानीयदेखि अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कमाउँदै आएका अनुभव साझा गर्नेछन्। कार्यक्रमको सञ्चालन सुनिर पाण्डेले गर्नेछन्। यो महोत्सव नेपालस्थित युरोपेली संघको प्रतिनिधिमण्डलले फ्रान्स, जर्मनी, फिनल्याण्ड, अन्य ईयू सदस्य राष्ट्रका दूतावास तथा ब्रिटिश काउन्सिल र युनेस्कोसँग सहकार्यमा आयोजना गरेको हो।
काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँ कायम रहेको थियो । यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार ३ हजार १५० रुपैयाँ कायम थियो ।
काठमाडौं: विगत १४ वर्षदेखि नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) मा सक्रिय केन्द्रीय महासचिव रोशन थापा मगरले संगठन छाडेका छन्। नेकपा माओवादी केन्द्रसमेत छाडेका उनले आफूलाई जनार्दन शर्मा प्रभाकर नेतृत्वको प्रगतिशील अभियानमा समाहित गरेको घोषणा सामाजिक सञ्जालमा गरेका छन् । पछिल्लो राजनीतिक परिवर्तन र भदौ २३–२४ पछि विकसित परिस्थितिबारे ब्याख्या गर्दै उनले हालै बनेको नेपाली कम्युनिस्ट पार्टीको संरचना आमनेपालीले चाहेको रुपान्तरणका लागि सक्षम नदेखिएको निष्कर्षमा आफू पुगेको बताएका छन्। १६ वर्षदेखि सुरु भएको आफ्नो राजनीतिक यात्रालाई सम्झँदै उनले संगठन छाड्ने निर्णय सजिलो नभएको उल्लेख गरेका छन्। कक्षा समिति सदस्यदेखि सुरु भएको उनको यात्रा ईकाई उपाध्यक्ष, ईकाई अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै माघ महिनामा केन्द्रीय महासचिव निर्वाचित हुनेसम्म पुगेको थियो। पुल्चोक क्याम्पस स्ववियू सभापतिमा उठेको समय र हालको महासचिवको जिम्मेवारीलाई उनले आफ्नो जीवनका महत्वपूर्ण क्षणका रूपमा लिएका छन्। संगठनभित्रको राजनीतिक चेतना र सामाजिक पुँजी निर्माणका लागि उनले अखिल ९क्रान्तिकारी० का अग्रज, मार्गदर्शक र सहकर्मीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। पछिल्लो समयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रममा पार्दै केही समूहले गरेको निच व्यवहारका बाबजुद पम्फा भुषाल र जयपुरी घर्ति लगायत नेताबाट पाएको अभिभावकत्वप्रति पनि उनले विशेष धन्यवाद व्यक्त गरेका छन्। कार्यसम्पादनका क्रममा कहीं त्रुटि वा कमी भएको भए क्षमा माग्दै उनले आगामी राजनीतिक यात्रा शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमार्फत अघि बढाउने घोषणा गरेका छन्।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज स्थगित बैठक यही मङ्सिर ६ गते शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो । पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशन गरिएको छ ।
नवलपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न रातिमा पाँच घण्टा सडक बन्द गर्न लागिएको हो । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले मङ्सिर ५ गते र ६ गते राति ११ देखि भोलिपल्ट बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको जानकारी दिनुभयो । “निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको नारायणी पुल गैँडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्र गर्ने प्रयोजनार्थ राति सडक बन्द गर्ने निर्णय गरिएको हो,” उहाँले भन्नुभयो, “उक्त स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्नुपर्ने भएकाले रातिमा सडक बन्द गर्न लागिएको हो ।” रातिको समयमा सडक बन्द गरिँदा पूर्वतर्फ जाने सवारीसाधन नवलपुरका विभिन्न स्थानमा र पश्चिमतर्फ आउने सवारीसाधन चितवनका विभिन्न स्थानमा रोकिने रिजालले जानकारी दिनुभयो । रातिको समयमा ६ घण्टा सडक बन्द हुने भएकाले तोकिएको ठाउँमा सवारीसाधन रोकेर पालो पर्खेर जान वा वैकल्पिक सडक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । बुटवलबाट नवलपुर हुँदै पूर्वतर्फ जाने सवारीसाधनमध्ये बस, मिनीबस, माइक्रो बस, साना चार पाङ्ग्रेसहितका सवारीसाधन थुम्सीदेखि पश्चिमतर्फ रोकिने छन् । यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता ठूला मालवाहक सवारीसाधन बेल्डिहादेखि पश्चिमतर्फ रोकिने छन् । यसैगरी नवलपुर हुँदै पश्चिम जान पूर्वतर्फबाट आएका सवारीसाधन नवलपुर नपुग्दै चितवनमा रोकिने छन् । बस, मिनीबस, माइक्रो बस, साना चारपाङ्ग्रे सवारीसाधन मुग्लिन नारायणघाट सडकको रामनगरदेखि जुगेडीसम्म र पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङसम्म रोकिने रिजालले जानकारी दिनुभयो । यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता मालवाहक सवारीसाधनहरु भने जुगेडीदेखि दासढुङ्गासम्म र गोन्द्राङदेखि टिकौलीसम्म रोकिने छन् । सडक विस्तार सुरु भएदेखि नै यस खण्डमा भएका खाल्डाखुल्डीका कारण यात्रुले दुःख पाउँदै आएका छन् । नारायणी नदीको पुलदेखि पश्चिमतर्फ १७० मिटर सडक कालोपत्र भएपछि नारायणघाट बुटवल खण्डको दाउन्नेसम्म करिब ६० किलोमिटर सडक कालोपत्रले जोडिनेछ ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास ९होमस्टे० पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चालक आशा दरै भन्छिन्, ‘यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन् । विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो । यस वर्ष धेरै मकै फल्यो सुली पनि विशाल छ ।’ यो वर्ष पर्याप्त उत्पादन भएका दुम्सीका घरैपिच्छे मकैका सुली भेटिन्छन् । विगतमा मकै लगाउने बेला तथा गोड्ने बेलामा किरा लाग्नुका साथै मलको अभाव किसानले बेहोर्नुपरेको थियो । यो वर्ष समस्या नभएकाले जिल्लामा पर्याप्त मकै उत्पादन भएको कृषि विकास कार्यालयका बाली विकास अधिकृत किरण परियारले बताए । आर्थिक वर्ष २०७९/८० मा २२ हजार २३८ हेक्टर क्षेत्रफलमा गरिएको मकैखेतीबाट ६७ हजार १५ मेट्रिक टन उत्पादन भएको थियो । २०८०/८१ मा २२ हजार ३४८ हेक्टर क्षेत्रफलबाट ६७ हजार २०० मेट्रिक टन मकै उत्पादन भएको थियो भने उत्पादकत्व तीन दशमलव ०१ रहेको थियो । आव २०८१/८२ मा २२ हजार १९५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ७३ हजार २४६ मकै उत्पादन भएको छ । ‘तनहुँ धानका साथै मकै उत्पादनको क्षेत्र पनि हो । जिल्लाको ऋषिङ गाउँपालिका नै पहिले मकैको बीउ उत्पादनको पकेट क्षेत्र हो’, बाली विकास अधिकृत परियारले भने । तनहुँ धान, मकै, कोदो, गहुँ, भटमास, अदुवाका लागि उपयुक्त छ । सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र पनि हो ।
पोखरा: पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो र निलो गरी सदनात्मक रुपमा विद्यार्थीले प्रतिष्पर्धामा भाग लिनेछन् । विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् । स्पोर्टस् मीटको प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले उद्घाटन गरे । उनले खेलकुदले विद्यार्थीलाई सामूहिक भावनाको विकास, प्रतिस्पर्धात्मक क्षमताको विकास, अनुशासन पालना गर्न सघाउने बताए । अध्यक्ष गौतमले प्रतिभा माविले शिक्षासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा गरेको प्रगतिको प्रशंसासमेत व्यक्त गरे । विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि आफूलाई अग्रपंक्तिमा उभ्याएको बताए । ‘खेलकुदले अनुशासन पक्षलाई बलियो बनाउँछ । खेलकुद स्वस्थ जीवन बनाउने आधार हो,’ पौडेलले भने, ‘खेलकुदबाटै जीवनलाई अघि बढाउने अवसर पनि छ । त्यसैले खेलकुदलाई विद्यालय तहमै प्राथमिकता दिने गरिएको छ ।’ विद्यार्थीभित्र लुकेको खुबी देखाउने एउटा अवसर यस्ता खेलकुद कार्यक्रम रहेको उनले बताए । विद्यालयका प्राचार्य किरण सापकोटाले गुणस्तरीय शिक्षामा प्रतिभा मुलुककै अग्रणी विद्यालयमा स्थापित भइसकेको बताउँदै यहाँको खेलकुदमा पनि विद्यालयको स्थान अगाडि रहेको बताए । ‘प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अग्रपंक्तिमा उभ्याएको छ । मानव स्वास्थ्यका लागि महत्वपूर्ण खेलकुद क्षेत्रलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको छ ।’ – सापकोटाले भने । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहप्राचार्य प्रदीप खनालले हाउस क्याप्टेनहरूलाई सपथ खुवाएका थिए । स्पोर्टस् मिटमा व्यक्तिगत स्पर्धातर्फ कक्षागत रुपमा दौडलगायतका प्रतिष्पर्धा तथा सामूहिक स्पर्धातर्फ अन्तरसदनात्मक रुपमा बास्केटबल, भलिबल, फुटबल, रिले दौडलगायतका प्रतिस्ष्पर्धा हुने विद्यालयले जनाएको छ । विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउनका साथै बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही, ज्ञानेन्द्र मल्ल जस्ता खेलप्रतिभालाई विद्यालयले ठूलो समारोहबीच जनही एक लाखले सम्मान गरिसकेको छ । मानवीय विपद, सामाजिक सेवामासमेत विद्यालय अग्रपंक्तिमा छ । प्रतिभा गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय पनि हो ।

