काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ । ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । यसैबीच, विभागले विगत छ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको जनाएको छ । कोशी प्रदेशको सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गालगायत अन्य भू–भाग, मधेुस प्रदेशको सप्तरी आसपासका क्षेत्रहरूमा, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, नुवाकोट तथा गण्डकी प्रदेशका गोर्खा, कास्कीलगायत क्षेत्रका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा पानी परेको थियो ।
धादिङ: पोखराबाट बिरामी लिएर काठमाडौँ उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो । पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–ए।एम।एल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौँतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाउनुभयो ।
काठमाडौं: सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै केही दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा आन्दोलनरत दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारलाई आज प्रहरीले पक्राउ गरेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वर अगाडि निशेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई पक्राउ गरिएको हो । हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गरिरहेका सुनारलाई आज दिउँसो पक्राउगरी प्रहरीवृत्त नयाँबानेश्वरमा राखिएको अभियन्ता रेम विकले जानकारी दिनुभयो । प्रदर्शनकारीहरूले दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले महालेखापरीक्षकको प्रतिवेदनले निरन्तर औँल्याइरहेको डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता असुल गर्नुपर्ने विषयलाई सार्वजनिक लेखा समितिले अध्ययनको विषय बनाउनु स्वभाविक र जायज रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा पोखरेलले लेखा समितिले अध्ययन थालेको विषयलाई अतिरञ्जित गर्न खोजिएको र अनावश्यक विवाद सिर्जना गरिएको बताउनुभएको हो । महालेखाको प्रतिवेदनले औँल्याएको बक्यौता र नेपाल विद्युत् प्राधिकरणले असुल गर्न खोजेको बक्यौता रकमबीच तादम्यता नदेखिएपछि त्यस विषयमा लेखा समितिले पनि अध्ययन थालेको उहाँको भनाइ छ । “महालेखाको ६१औँ प्रतिवेदनमा रु २१ अर्ब ८८ करोड बेरुजु बक्यौता देखिन्छ । प्रतिवदनेमा उल्लेखित बेरुजुमाथि समितिमा छलफल गर्नुपर्ने भनेर कुरा उठ्यो । व्यवसायीहरुबाट रु २१ अर्ब ८८ करोड उठाउनुपर्नेमा प्राधिकरणले जम्मा रु आठ अर्बको मात्रै विद्युत् बिल पठाइरहेको छ”, उहाँले संसदमा भन्नुभयो, “यो विषयमाथि छलफल हुनुपर्ने कुरा समितिमा उठेपछि प्रक्रिया थालिएको हो ।” महालेखाले औँल्याएको महसुल बक्यौता र प्राधिकरणले असुल गर्न खोजेको बक्यौता रकमबीच ठूलो अन्तर देखिएपछि लेखा समितिले हस्तक्षेप गरेको उहाँले उल्लेख गर्नुभयो । तर समितिले छानबिन थाल्दा त्यसलाई अतिरञ्जित पार्न खोजिएको र समितिको सभापतिको रुपमा आफ्नो चरित्र हत्या हुने गरी प्रचार गरिएको बताउनुभयो । “डेडिकेटेड र ट्रङ्कलाइनसम्बन्धी बेरुजु बक्यौताबारे विद्युत् प्राधिकरण र व्यवसायीबिचको विवाद के हो ? यो एजेन्डा लेखा समितिमा कसरी प्रवेश भयो ? यो छलफल गर्न आवश्यक थियो वा थिएन ? लगायतका प्रश्न उठाइएका छन्”, पोखरेलले भन्नुभयो, “महालेखाको ५६औँ देखि ६१औँसम्म लगातार यो बेरुजु बक्यौताको विषय उल्लेख छ । महालेखाका प्रतिवदेन संसदीय इतिहासमा संसारभरी कुन समितिमा छलफल हुन्छ र प्रतिवेदनमा उल्लेखित विषयवस्तु सार्वजनिक लेखा समितिले छलफल गर्छ ।” यो विषयमा समितिमा छलफल थाल्दा व्यक्तिको चरित्र हत्या गर्ने गरी अनर्गल प्रचार भएका कारण आफूले संसदमा बोल्नु परेको पोखरेलको भनाइ छ । महालेखाको प्रतिवेदनले औँल्याएको भन्दा फरक पर्नेगरी विद्युत् महसुल बक्यौता असुल गर्ने निर्णय कसरी भयो भनेर पनि उहाँले संसदमा प्रश्न गर्नुभयो । “एउटा मन्त्रिपरिषद्को बैठक दुईवटा आशयको पत्र कसरी हुनसक्छ रु यो सिङ्गो मुलुकको अन्तर्राष्ट्रिय बेइज्जत हुने अवस्था निर्माण कसले ग¥यो रु करिब रु १६ अर्ब छुट दिने निर्णय कसरी भयो ? प्राधिकरण, सरकार र व्यवसायीको सेटिङमा आयोग निर्माण भयो रु”, उहाँले भन्नुभयो, “यस सन्दर्भमा रु १६ अर्ब छुट दिने क्रान्तिकारी र रु २२ अर्ब उठाउनुपर्छ भन्ने लेखा समिति सभापति भ्रष्टाचारी हुने कहाँको न्याय हो रु” महालेखाले औँल्याएको विषयमा लेखा समितिले निर्णय गरेपछि मात्र त्यसबारे सरकारले निर्णय लिन मिल्ने पनि उहाँले स्पष्ट पार्नुभयो । “महालेखाले आफ्नो प्रतिवेदन राष्ट्रपतिमार्फत सदन पठाउने र सदनले सर्वाजनिक लेखा समितिमा पठाएको प्रतिवेदन समितिसँग समन्वय नगरी र समितिमा कुनै निर्णय नभई सरकारले कसरी छुट दिन सक्छ ? यो कहाँको नियम हो ?”, उहाँको प्रश्न छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २९औँ साधारणसभा एवम् १३औँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा यस क्षेत्रमा देखिएका कानुनी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । पर्यटनको राजधानी घोषणाले पोखराको पर्यटनको ‘ब्रान्डिङ’ हुँदा यसका माध्यमबाट समग्र गण्डकी प्रदेशको विकासमा योगदान पुग्ने उनले उल्लेख गरे । गण्डकी प्रदेशमा खेल पर्यटनसँगै धार्मिक पर्यटनमा जोड दिइएको उनले बताए । सरकारले मनाङ र मुस्ताङमा हाई अल्टिच्युड खेलमैदान निर्माण गर्न लागेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । पोखराको पर्यटन प्रवर्द्धन गर्न चाँडै सातवटै प्रदेशका पर्यटनमन्त्री तथा सङ्घीय पर्यटनमन्त्रीसहित सम्मेलनको तयारीमा सरकार रहेको उनको भनाई छ । प्रदेशसभा सदस्य प्रकाश बरालले पर्यटनलाई उद्योगका रूपमा विकास गर्नु जरुरी भएको धारणा राखे । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले स्वदेश र विदेशमा पोखरासहित समग्र देशको पर्यटन प्रवर्द्धन गर्न नाट्टा सक्रिय रहेको जानकारी दिए । नाट्टाका केन्द्रीय अध्यक्ष कुमारमणि थपलियाले नेपालको पर्यटनमा गण्डकी प्रदेशको योगदान महत्वपूर्ण रहेको बताए। पर्यटकको बसाई लम्ब्याउने किसिमका पूर्वाधारसँगै गतिवधि बढाउनुुपर्नेमा उनले जोड दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको समृद्धि पर्यटनबाट सम्भव हुने बताए । अधिवेशनमा सहभागी नाट्टाका सातै प्रदेशका अध्यक्षहरूले सरकारको पर्यटनमैत्री नीति राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उहाँले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताउनुभयो । देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्ने जोखिम रहेकाले युवाहरूलाई यसतर्फ सोच्न आग्रह गर्नुभयो । उहाँले हाल जनसङ्ख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउनुपर्ने बताउनुभयो । उहाँले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरू अभिभावकविहीन भएर सडकमा बस्न नमिल्ने बताउनुभयो । सम्मेलनबाट पारित घोषणापत्रलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा नेपालले प्रस्तुत गर्ने वक्तव्यमा पनि घोषणापत्रका विषय समावेश गरिने बताउनुभयो ।
बागलुङ (गलकोट): बागलुङ बजारमा लाखेनाचको रौनकता छाएको छ । घण्टाकर्ण अर्थात गठेमङ्गलको भोलिपल्टबाट नाच्न थालिने लाखे यहाँका नेवार समुदायको परम्परागत नाच हो । शाक्य कल्याण समाज बागलुङले लाखे नाच संरक्षणको अगुवाइ गर्दै आएको छ । साउनको चतुर्दशीदेखि नाचिने लाखे तीजसम्म नाचिन्छ । हिजोआज बजारको चोक तथा गल्लीमा लाखे नाचको रौनकता छाएको छ । झ्याली र बाजाको तालमा दुईवटा लाखे मुखुण्डो लगाएर रङ्गीविरङ्गी कपडासहित नाच्ने गर्छन् । लाखे नाच हेर्न गएका बालबालिकाले ‘चे लाखे भूत’ भन्दै जिस्काउँदा लाखेले दौडिएर लखेट्ने दृश्य रोचक देखिन्छ । तीन सय वर्ष अघिदेखि राक्षसको रुपमा रहेको घण्टाकर्णलाई मारेपछि पुनःराक्षसको अवतार नदोहोरियोस् भन्न लाखे नाच्ने परम्परा रहेको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो । “तीन सय वर्ष पहिला काठमाडौँबाट व्यापार गर्न बागलुङ आएका नेवार समुदायले आफ्नो संस्कारको रुपमा लाखेनाच लिने गरेको छ”, शाक्यले भन्नुभयो, “नेवार समुदायले लाखे संरक्षण गर्दै आएका छन्, गाईजात्राको दिनदेखि पुनः भदौरे नाच प्रदर्शन हुन्छ ।” एक महिना नाचिने लाखेमा लाखेको भूमिकामा नाच्ने कलाकार पाउन गाह्रो हुन थालेको छ । स्थानीय सरकारले लाखे र भदौरे नाच संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । लाखे र भदौरे नाचमध्येको एक जोगी नाच शाक्य कल्याण समाजले संरक्षण गर्दै आएकोमा होवा नाच, रोपाइँ नाच, जोगी नाच र घोडा नाचे नेवा ल्याम पुचले गर्दै आएको मंका खल बागलुङका अध्यक्ष मुकेश राजभण्डारीले जानकारी दिनुभयो । खर्चिलो भएकै कारण नागनागिनी र थेत्तर नाच लोप भइसकेको स्थानीय बताउँछन् । बास्सा नाचसमेत लोप हुने अवस्थामा पुगेको अध्यक्ष राजभण्डारी बताउनुहुन्छ । बागलुङ नगरपालिकाले यहाँको नेवार समुदायमा रहेको हनुमान नाच जोगाउन नीति तथा कार्यक्रममा समावेश गरेको जनाएको छ । आगामी दिनमा लाखे नाच र भदौरे नाच संरक्षण गर्न नगरपालिकाले अग्रसरता देखाउने नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
चितवन: भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगरपालिकाले बोलपत्र आह्वान गरी क्यामेरा जडानको प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन ९एएनपिआर० सहित चार सय १८ उच्च क्षमताका क्यामेरा जडान गर्न लागिएको हो । उहाँका अनुसार छवटा कम्पनीको बोलपत्र परेको छ । महानगरपालिकाले रु १० करोड ८३ लाख बराबरको बजेटको बोलपत्र आह्वान गरेको छ । महानगरपालिकाका प्रमुख रेनु दाहालले सहरी क्षेत्रमा धेरै र ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार सिसी क्यामेरा जडान गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरका सबै वडामा सिसी क्यामेरा जडान गर्दैछौँ ।” ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ । एकै ठाउँमा कन्ट्रोल रुम रहने गरी महानगर भरी उच्च प्रविधिका सिसी क्यामेरा जडान गर्न लागिएको प्रमुख दाहालको भनाइ छ । नेपाल टेलिकमको फाइबरमार्फत सिसी क्यामेरा सञ्चालन गरिने छ । महानगरपालिकाले नेपाल टेलिकामसँग सम्झौता गरेर काम अघि बढाएको हो । बोलपत्रको टुङ्गो लागेपछि सकार्ने कम्पनीसँग सम्झौता गरेको चार महिनाभित्रमा काम सम्पन्न हुने दाहालको भनाइ छ । उहाँले भन्नुभयो, “ढिलोमा यो आर्थिक वर्षभित्रमा महानगरका सबै वडामा सिसी क्यामेराको पहुँच पुग्नेछ ।” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भाबेष रिमालले महानगरले जडान गर्ने क्यामेराबाट यहाँको शान्तिसुरक्षा र अमन चयनमा सहयोग पुग्ने बताउनुभयो । शान्तिसुरक्षासँगै यहाँ हुने दुर्घटनाको अनुगमनका लागि क्यामेरा सहयोगी बन्ने छ । उहाँले भन्नुभयो, “कम जनशक्तिमा काम गर्नुपर्दा सिसी क्यामेरा निकै सहयोगी बन्ने छ ।”
पोखरा: बागलुङको ताराखोला गाउँपालिकाले गाउँपालिकाको क्षेत्रभित्रका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा माछा मार्न निषेध गरेको छ । गाउँपालिकाले भदौ १ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नगर्दासम्म माछा मार्न निषेध गरिएको प्रशासकिय अधिकृत विवेक रणपाल परियारले जानकारी दिए । ‘ताराखोला गाउँपालिकाको क्षेत्रभित्र रहेका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा पाइने माछा जिल्लामै प्रसिद्ध छ’, प्रसासकिय अधिकृत परियारले भने, ‘यसको संरक्षण र दिगो उपयोगको सुनिश्चितता गर्दै दिगो विकासमा जलचरको रुपान्तरण गर्नका लागि गाउँपालिकाको साँझा कर्तव्य भएकाले भदौ १ गते देखि माछा मार्न निषेध गरेका छौं ।’ उनले ताराखोला गाउँपालिकाको जलचर एवं जलीय जैविक विविधता संरक्षण कार्यविधि २०८० र गाउँपालिका कार्यपालिकाको साउन १३ गते बसेको बैठकको निर्णय अनुसार भदौं १ गतेदेखि गाउँपालिकाको क्षेत्रभित्र रहेका जलचर क्षेत्रमा माछा मार्न निषेध गरिएको बताए । गाउँपालिकाले माछा मार्न निषेध गरिएको सूचना अटेर गरेर माछा मारेको पाईएमा ताराखोला गाउँपालिका गाउँपालिकाको जलचर एवं जलीय जैविक विविधता संरक्षण कार्यविधि २०८० को दफा १४ बमोजिम १० हजार देखि १ लाख सम्म जरिवाना गर्ने बताएको छ । ताराखोला गाउँपालिका भित्रबाट बग्ने विभिन्न खोलाहरु दरमखोलामा गएर मिसिन्छ, यस अगाडि गाउँपालिकाको छिमेकी नगर गलकोट नगरपालिकाले समेत दरमखोलामा माछा मार्न रोक लगाएको छ।

