काठमाडौं । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिकै विधि हो । हाम्रो समाजमा गाईलाई माताका रूपमा पूजिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिएको हो । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा प्राप्त गर्ने भएकाले दूध पोषिलो हुनाका साथै गहुँत र गोबरबाट पनि पनि शक्ति प्राप्त हुने भएकाले गाईको महत्वबारे आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । यसैकारण गाईलाई राष्ट्रिय जनावरका रूपमा पनि सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षावन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधिएको हो ।
खोटाङ । फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूलहरु यस वर्ष भर्खर मात्रै कोपिला लाग्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् । आफूले रोपेका प्राकृतिक फूल नफुलेपछि जिल्लाका अधिकांश छोरीचेलीहरु बजारमा पाइने प्लास्टिकको कृत्रिम फूलको माला खरिद गर्न बाध्य बनेका छन् । कतिपयले त्यही कोपिला बन्दै गरेका फूललाई गुच्छा बनाएर आफ्ना माइती पुज्ने तयारी गरेका छन् । विगत वर्षहरुभन्दा यस वर्ष बढी फूलका बिरुवा रोपिए पनि उक्त फूलहरु नफुल्दा समस्या भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी स्थानीय बासिन्दा आस्था मगरले बताउनुभयो । “आमा र मलाई गरी झन्डै एक सय ५० फूलका माला चाहिन्छ । रोपिएका फूलहरु भर्खर कोपिला लाग्दै छन्”, उहाँले भन्नुभयो, “जसरी भएपछनि माइती त पुज्नै पर्यो ? विकल्प नभएपछि चुरी (जङ्गलमा पाइने फूलका रुपमा प्रयोग गरिने एक प्रकारको वनस्पति)को माला बनाइरहेकी छु ।” विगत वर्षहरुभन्दा यस वर्षको तिहार छिटो भएकाले पनि फूलको अभाव भएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी भूमिका न्यौपानेले बताउनुभयो । “हाम्रो क्षेत्र पर्याप्त फूल पाउने क्षेत्र हो । तर यस वर्षको तिहार विगतको भन्दा अगाडि छ”, उहाँले भन्नुभयो, “गाउँभरि कसैकामा पनि फूल फुलेका छैनन् । फूल नफुलेपछि अधिकांशले बजारमा पाइने कृत्रिम फूल खरिद गरेर माइती पुज्ने तयारी गरेका छन् ।” दस स्थानीय तह रहेको जिल्लामा लेकबेँसी कुनै पनि क्षेत्रमा यस वर्ष पर्याप्त मात्रा फूल नरहेको पाइएको छ । तिहारकै लागि भनेर व्यावसायिकरुपमा फूल खेती गर्दै आएका कृषकहरुसमेत आफूले रोपेका फूल नफुल्दा चिन्तित बनेका छन् । हलेसी तुवाचुङ नगरपालिकाले फूलमा आत्मनिर्भर बनाउन विभिन्न ठाउँमा गठन भएका स्थानीय आमा समूहलाई पुष्प व्यवसाय सञ्चालन गर्नका लागि गत वर्षबाटै अनुदान दिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा आमा समूहले सञ्चालन गरेका बगैँचामा समेत पर्याप्त मात्रामा फूल नफुलेको स्थानीय बासिन्दाले बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा अध्ययनरत विद्यार्थीले व्यावसायिकरुपमा लगाएका फूलसमेत पर्याप्त फुलेका छैनन् । जिल्लाका अन्य क्षेत्रमा लगाइएका फूल नफुलेपछि शुभम् फाउन्डेसनका विद्यार्थीले लगाएका बगैँचामा छिट्फुट फुल्दै गरेका फूल माग्नेको सङ्ख्या दैनिक सयजना भन्दा बढी रहेको फाउन्डेसनका निर्देशक सूर्यबहादुर राईले बताउनुभयो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा औपचारिक कार्यक्रमबाहेक व्यवसाय सञ्चालनका लागि अहिलेसम्म प्राकृतिक फूल खासै आयात हुने गरेको छैन । बाहिरबाट प्राकृतिक फूल आयात गरेर बिक्री गर्नका लागि जिल्लामा आवश्यक चिस्यान केन्द्र नभएका कारण नल्याइएको व्यवसायीहरु बताउँछन् । जिल्लामा प्राकृतिकरुपमा रोपिएका फूल नफुलेपछि स्वास्थ्यका लागि हानिकारक मानिएको प्लास्टिकको कृत्रिम फूलको मालाले यस वर्ष खोटाङमा राम्रो मूल्य पाएको व्यापारीहरुले बताएका छन् । यकिन तथ्याङ्क नभए पनि यस वर्ष जिल्लामा लाखौँको कृत्रिम फूल बिक्री भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । जिल्लाको मुख्य व्यापारिक केन्द्र दिक्तेल बजार, ऐँसेलुखर्क, बाक्सिला, पञ्चमी, खोटाङबजार, सिम्पानी लगायतका ठाउँमा कृत्रिम फूलले राम्रो बजार पाएको व्यापारीहरुले बताएका छन् । प्राकृतिक फूल अभावले जिल्लामा माइती पुज्नदेखि घर तथा कोठा सजाउनसमेत भारतबाट ल्याइएको प्लास्टिकको कृत्रिम फूलको माला नै खरिद गरेको पाइएको वाणिज्य सङ्घका अध्यक्ष राईले जानकारी दिनुभयो । पुष्प व्यवसाय सञ्चालन गर्नका लागि जिल्लाका सबै भूगोल उपयुक्त रहेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । जिल्लामा उत्पादन गरिने फूल राजधानी काठमाडौँलगायत अन्य विभिन्न जिल्लाहरुमा निर्यात गरेर जिल्लाको आम्दानीको स्रोतसमेत बढाउन सकिने कृषिविज्ञले बताउँदै आएका छन् ।
ढोरपाटन । तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अंगाल्दा मौलिकता भने गुमाउँदै गएको छ । देउसी र भैलोमा बज्नुपर्ने मादल, खैजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र ¥याप गीत बज्न थालेका छन् । साथै, सोरठी र मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ । यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोकचोकमा देउसी, भैलो खेल्नेको भिड छ । तर उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता देखिन्न । बागलुङ बजारका ७८ वर्षे देवबहादुर श्रेष्ठ परम्परागत देउसी र भैलोलाई आधुनिकताले प्रभावित पारेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । पश्चिमा संस्कृतिले नेपालको मौलिकता मेटाउन लागेको भन्दै उहाँले भन्नुभयो, “अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन, मादल, बाँसुरी र खैजडी बजाएर गरिने मारुनी र सोरठीको नाच अब कहाँ हेर्न पाउनु रु” आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उहाँको बुझाइ छ । “हामीमा मौलिकता जोगाउने भन्ने भावना विकास नै भएन, अरुको देखासिकी गर्ने बानीले कैयौँ संस्कृतिहरु लोप भइरहेका छन्” उहाँले भन्नुभयो । स्थानीय ६५ वर्षीय भूदर्शप्रसाद श्रेष्ठले आधुनिक शैलीको देउसी र भैलोका कारण नेपालीको पहिचान नै गुम्ने अवस्था आउन लागेको बताउनुभयो । उहाँले मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले रेकर्ड गरिएका गीतले मौलिक सोरठी, मारुनी, थाली, कौरा, सिरफुले, सालैजो जस्ता गीत र नृत्य ओझेलमा परेको बताउनुभयो । श्रेष्ठले विदेशी संस्कृतिको अनुशरण गरे पनि मौलिक देउसी, भैलोको खास, महत्व र मर्म भने हराउन दिन नहुने बताउनुहुन्छ । तर पछिल्ला वर्षमा पैसा सङ्कलन गर्नका लागि विदेशी गीत, सङ्गीत र नाचको प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । “प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो, तर आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई सङ्कटमा पार्नु हो, नयाँ पनि सिकौँ, अनुशरण गरौँ र पुरानोलाई पनि संरक्षण गरौँ भन्ने भवना युवापुस्तामा भएन भने भोलि विदेशी र हामीमा केही भिन्नता हुने छैन”, श्रेष्ठले भन्नुभयो, “नेपालीको पहिचान विश्वभर छ, त्यसैले विदेशी जस्तो नभई हाम्रो मौलिकतामा पनि रमाउन सक्नुपर्छ ।” स्थानीय ३० वर्षीय लक्षु पुनमगरले मौलिकतालाई जोगाउन युवापुस्ता नै लाग्नुपर्ने बताउनुभयो । उहाँले बुढापाका मौलिकताको खानी भएको भन्दै उनीहरुबाट युवापुस्ताले ग्रहण गर्नुपर्ने बताउनुहुन्छ । पुनमगर भन्नुहुन्छ, “अग्रजलाई सधैँ सम्मान गर्न पर्छ, उहाँहरुमा संस्कृतिका बारेमा धेरै ज्ञान छ, हामीले सिक्न सकिरहेका छैनौँ, धेरैलाई पुराना संस्कृतिका बारेमा थाहा नहुँदा पश्चिमा संस्कृतिको सिको गरेका हुन् ।” पुनले अहिले देउसी, भैलोमा अधिकांश आधुनिकता मिसिए पनि थोरै मौलिकता भने रहिरहेको दाबी गर्नुहुन्छ । बढ्दो प्रविधिको विकासले गर्दा नयाँपुस्ताले मौलिक परम्पराको संरक्षण गर्न नसकेको बताउनुहुन्छ ।
चितवन । चितवनमा भारतीय माछा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ । शनिबार बसेको सरोकारवालाको बैठकले माछा बिक्रीमा प्रतिबन्ध गर्ने निर्णय गरेको माछा व्यवसायी सङ्घ चितवनका अध्यक्ष खेम सुवेदीले जानकारी दिनुभयो । मत्स्य व्यवसायी सङ्घको केन्द्रीय र जिल्ला तहका नेतृत्वसहित जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदीलगायतका सरोकारवालाको बसेको बैठकले माछाको आयात नगर्ने निर्णय गरेको हो । “हामीले चितवनलाई पुग्ने माछा उत्पादन गरिरहेका छौँ, भारतबाट आयात गर्नुपर्ने अवस्था छैन”, सुवेदीले भन्नुभयो, “भारतीय माछा बिक्री वितरणमा रोक लगाउन यहाँका सरोकारवाला पक्ष पनि सकारात्मक हुनुहुन्छ ।” चितवनमा वार्षिक सात हजार मेट्रिकटन माछा उत्पादन भइरहेको तर माग भने वार्षिक चार हजार मेट्रिकटन मात्रै रहेको उहाँको भनाइ छ । चितवनमा उत्पादन भएको माछा काठमाडौँ, पोखरा, गोरखा, लमजुङ, बागलुङलगायतका सहरसम्म जान्छ । माछा व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले चितवन २ वर्षयता माछामा आत्मनिर्भर भएकाले भारतीय माछा बिक्रीमा रोक लगाइएको बताउनुभयो । चितवनका माछा किसान गत भदौ १ गतेदेखि भारतबाट भन्सार छली ल्याइएका माछालाई रोक लगाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए । माछा व्यापारीहरुले यसका लागि अर्थमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बु्झाएका थिए । हाल चितवनमा एक हजार पाँच सयभन्दा बढी किसानले सात हजार हेक्टर जलाशयमा माछा पालन गरिरहेका छन् । पूर्वी चितवनको राप्ती, खैरहनी, रत्ननगर र माडी क्षेत्रमा बढी माछापालन हुने गरेको छ । चितवनबाट सुरु भएको भारतीय माछा प्रतिबन्धलाई बिस्तारै अन्य जिल्लामा पनि बिस्तार गरिने किसानहरुको भनाइ छ ।
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले सरकारले योग्य व्यक्तिलाई पदक प्रदान गरेको बताउनुभएको छ । गृहमन्त्री खाणले निर्वाचनलाई प्रभावित गर्नेगरी आफ्नो जिल्लाका मानिसहरुलाई पदक वितरण गरेको विपक्षीको आरोपको खण्डन गर्दै उहाँले रुपन्देहीमा योग्य रहेकाले उनीहरुलाई पदक दिइएको बताउनुभएको हो । विश्व पोलियो दिवसमा रुपन्देहीमा क्रियाशील रोटरी क्लब एवं रोट्र्याक्ट क्लबले भैरहवामा आयोजना गरेको पोलियो शान्ति र्यालीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाणले विपक्षीले रुपन्देहीका युवाको मूल्याङ्कन गर्न नसकेको समेत बताउनुभयो । “रुपन्देहीमा धेरै प्रतिभा रहेका छन्, रुपन्देही जिल्ला नै रचनात्मक रहेको छ”, उहाँले भन्नुभयो, “यहाँ पदक दिनुपर्ने अझ धेरै हुनुहुन्थ्यो तर समितिलाई छनोट गर्नुपर्ने बाध्यता रहेको थियो, भविष्यमा उहाँहरुलाई पनि समेट्ने छौँ ।” रुपन्देहीको विकासमा रोटरी, रोट्र्याक्ट क्लबमा आबद्ध युवाको सहभागिता महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । जिल्लामा विभिन्न सामाजिक काममा मात्र होइन विभिन्न विपद्का समयमा यस्ता क्लबको सहयोग प्रशंसनीय रहेको उहाँको भनाई थियो । पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा उम्मेदवार रहनुभएका गृहमन्त्री खाणले नेपाल सरकार युवालाई कुलतबाट जोगाउन र आगुऔषधको नियन्त्रणमा लागे पनि एकल प्रयासले मात्र नपुग्ने बताउँदै यसमा युवाले पनि सहकार्य गर्न आग्रह गर्नुभयो । उहाँले रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अवसर बढाएकाले युवा विदेश जानुभन्दा यहीँ रचनात्मक व्यवसायमा लाग्न पनि आग्रह गर्नुभयो । गठबन्धनकै तर्फबाट लोसपाबाट प्रदेशसभा उम्मेदवार सन्तोष पाण्डेले रोटरी क्लब र रोट्र्याक्ट क्लबलाई सहरी क्षेत्रका साथै ग्रामीण केन्द्रमा पनि सामाजिक काममा लाग्न आग्रह गर्नुभयो । उहाँले अहिले सहरी तथा ग्रामीण क्षेत्रमा पनि लागुऔषध लगायतका कुलतमा युवा फस्दै गइरहेकाले यस्ता क्लबले दुवै क्षेत्रमा निगरानीका साथै सचेतनामूलक काम गर्न सुझाव दिनुभयो । ‘अक्टोबर २४’ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि चेतना जागृत गाराउने खालका कार्यक्रमहरु सञ्चालन गर्ने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा पनि सन् २०१० यता पोलियोका रोगी भेटिएका छैनन् । यसै दिवसको अवसर पारेर आज भैरहवामा पोलियो शान्ति ¥यालीको आयोजना गरिएको छ । भैरहवाको बुद्धचोकबाट सुरु भएको शान्ति ¥याली, नारायणपथ, बैंकरोड, नयाँ सडक हुँदै जनकपथमा समापन भएको रोटरी क्लबका राजकुमार गुप्ताले जानकारी दिनुभयो ।
पोखरा । पोखरा फोटोग्राफर संघद्वारा नेपालीहरुको दोस्रो ठ्रलो चाड तिहार को अवसर मा देउसी भैलो साथै शुभकामना आदान प्रदान गरी सम्पन्न गरेको छ । पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्र कुमार राजभण्डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको कार्यक्रममा संघका उपाध्यक्ष भक्त तामाङ ले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथि भण्डारी ले फोटोग्राफी ब्यवसायको हक र हितका लागी स्थापनागरिएको यस संस्थाले बिभिन्न सामाजिक कार्यहरु र ब्यवसायिक हक र हितका कार्यहरु क्षमता अभिवृद्धि जस्ता सह्रानियकार्यहरु गर्दै आइरहेको र अझ नेपाली सस्कृतिको रक्षाका लागी यस्ता खालका कार्यक्रमहरु बेलाबेलामा गरि राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा पोखराफोटोग्राफर संघ महिला उप समिति संयोजक रिता पौडेल महिला उपसमिति सह संयोजक डेक कुमारी जलारी के सि पूर्व अध्यक्ष रविनाथ दाहाल, नि अध्यक्ष जनकराज तिवारी , कैलाश बचत ताथा ऋण सहकारी संस्था का अध्यक्ष खडानन्द अधिकारी, संघका संरक्षक गणेश छवि, लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो । पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरु बिच प्रत्येक बर्ष शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गर्ने गरेको छ र यसरी गरिने देउसी भैलो कार्यक्रमवाट उठेको रकम पोखराफोटोग्राफर संघ द्वारा संचालित राहतकोषमा जम्मा गरिने गरीएको छ यसपाली को देउसी भैलोमा करीव ६०हजार रुपैया संकलन भएको कुरा संघकी कोषाध्यक्ष नन्दकला पौडेलले बताएकी छन । कार्यसमिती सदस्य स्वदेश साई को संयोजन तथा पोखरा फोटोग्राफर संघ महिला उप समितिको ब्यवस्थापनमा संचालित सो कार्यक्रम संघ का सचिब देवानन्द पोख्रेल ले सञ्चालन गरेका थिए । कार्यक्रम को समापन गर्दै संघ का अध्यक्ष रामचन्द्र पोखरेल ले सबैलाई धन्यबाद ज्ञापन गर्दै सबैको सहयोगका कारण संस्थाका कार्यक्रमहरु सफल हुने कुरामा जोड दिए ।
बेनी: प्रायः शहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिकरुपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्ने गरेका छन् । अनकन्टार जङ्गल, पहाड र हिमालका बुकीसम्म नै घुम्तीरुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ । अन्नपूर्ण गाउँपालिका–५ का भेडापालक युवा प्रकाश पुनले भेडीगोठमा रहेका भेडाको हेरालु र गोठको सुरक्षाका लागि कुकुर पालिएको बताउनुभयो । “हामी पनि गोठमा हुन्छौँ, तर कहिलेकाहीँ जङ्गली जनावरले गोठमा रहेका भेडामाथि आक्रमण गर्नसक्ने जोखिम रहन्छ, जङ्गली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ”, उहाँले भन्नुभयो । खोप्रा र खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरेका हरेक गोठमा ‘भोटे’ जातका कुकुर रहेका छन् । अधिकांश समय जङ्गलमै बिताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँधेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा गोठाला र गोठका भेडाबाख्राको सुरक्षामा कुकुरलाई द्वारपालकको रुपमा लिने गरिन्छ । खासगरी पहाडी क्षेत्रमा घुम्ती चरनमा लैजाने गरी राखिने गोठका गाईभैँसीपालन र भेडाबाख्रासँगै गोठमा रहेका गोठाला र हेरालुका समेत सारथी र साथी कुकुर नै हुन् । चरन क्षेत्रको लागि गोठको दूरी टाढा–टाढा राख्ने भएकाले गोठमा सुरक्षाको भरोसा कुकुरमै निर्भर हुने गरेको धौलागिरि गाउँपालिका–५ मल्कबाङका भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताउनुभयो । जङ्गलका बाघ, चितुवा, भालुलगायतका हिंस्रक जनावरको आक्रमणले भेडाबाख्रामा पार्ने क्षति न्यूनीकरण गर्न कुकुरले महत्वपूर्ण भूमिका खेल्ने गरेको उहाँले सुनाउनुभयो । “गोठदेखि जङ्गलमा चरन क्षेत्रसम्म नै कुकुरले भेडाबाख्रालाई घुमीघुमी रेखदेख गर्छन्, जङ्गली जनावरको आवाज र सङ्केत पनि कुकुरले नै छिटो थाहा पाउने भएकाले ठूलो स्वरमा भुकेर भगाउने गर्छन्, हामीगोठमा कुकुरकै भरमा हुन्छौँ”, उहाँले भन्नुभयो । करिब छ सय बढी भेडापालन गर्नुभएका छन्त्यालको गोठमा दुई जना हेरालु र चार कुकुरले भेडीगोठ धानेका छन् । चरन क्षेत्रमा समेत कुकुरले नै भेडाबाख्रालाई जोखिमपूर्ण ठाउँमा जानबाट रोक्ने र साँझ गोठतर्फ भेडाबाख्रा ल्याउन सहयोग गर्ने गरेको विगत ६० वर्षदेखि नै भेडापालनमा सक्रिय रहनुभएका अन्नपूर्ण गाउँपालिका–५ का ७८ वर्षीय लालविर तिलिजा बताउनुभयो । गोठका सारथी बनेका कुकुरलाई जङ्गली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने गरिन्छ । जिल्लाको लेकाली क्षेत्र समेटिएको क्षेत्रमा घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन रहेको छ । घरपालुवा गुनिलो र आज्ञापालक तथा सुरक्षामा भरपर्दो जनावरको रुपमा चिनिने कुकुरको महत्वलाई तिहारको अवसरमा गरिने कुकुर तिहारको पूजा आराधानाले थप बढाउने गरेको छ । यमपञ्चकअर्थात् दीपावलीपर्वको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ ।
काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ । नरक चतुर्दशी आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रुपमा मनाइन्छ ।
म्याग्दी । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण हटाउन थालिएको छ । बेनी नगरपालिका–७ र ८ मा पर्ने बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना र सामग्री हटाउन थालेको हो । नगरप्रमुख सुरज केसीले बजारको सडक व्यवस्थित बनाउन सडकको क्षेत्राधिकारमा निर्माण भएका सामग्री र संरचना हटाउने अभियान थालेको बताउनुभयो । संरचना र सामग्री हटाउन अनुरोध गर्दै नगरप्रमुख केसीसहित वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको टोलीले शनिबार बेनी बजारमा घरदैलो गर्नुभएको थियो । सडकपेटीमा राखिएका निर्माण र व्यापारिक सामग्रीका कारण पैदलयात्रु तथा सवारी आवत जावतमा समस्या हुने गरेको छ । दुर्घटनाको जोखिम पनि बढाएकाले सडकपेटीमा सामग्री नराख्न र बनाएका संरचना हटाउन अनुरोध गरिएको नगरप्रमुख केसीले बताउनुभयो । व्यापारी र सम्बन्धित घरधनीले सामान नहटाए नगरपालिकाले आफै हटाउने बताएको छ । यसैगरी सार्वजनिक जग्गामा सडकको क्षेत्राधिकारमा पर्ने ठाउँमा बनाइएका संरचना हटाउन पनि ताकेता गरिएको नगरपालिकाले जनाएको छ । बेनीका विभिन्न ठाउँमा पुल, सडक पुल, खोल्सा र सार्वजनिक पाखोमा व्यक्तिगत संरचना बनाएर अतिक्रमण गरेका छन् । बेनीमा यातायात ब्यवस्थापनका लागि एकतर्फी यातायात सञ्चालन, सवारी पार्किङ, कालीगण्डकी र म्याग्दी नदीको किनारै किनार वैकल्पिक सडक सञ्चालन, बहुउद्देश्यीय मैदानमा बसपार्क सञ्चालन गरिएको छ । साँघुरो सडकमा व्यापारीले सामान राख्ने र निर्माणाधिन घरका सामग्री थुपार्ने गर्दा आवत जावत र यातायात सञ्चालनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम हुने गरेको छ ।