सिमांकन टोली दैलो पुग्यो, बिजुलीको आँशु फिर्केमा चुहियो
५१ पक्की घर र ३ वटा विद्यालय फिर्के खोलाभित्रै
पाेखरा | भदौ १, २०८०
Photo: Saroj Adhikari
पोखरा: एउटा उखान छ, ‘बाह्र वर्षमा खोला पनि फर्किन्छ’, यही उखान अहिले पोखरा १८ अँधेरीकुनामा बस्ने बिजुली दमाईको जीवनसँग ठ्याक्कै ठोक्किएको छ ।
२ छोरा र पतिसहित ४ जनाको परिवार लिएर म्याग्दीको राखुबाट पोखरा १२ वर्ष अगाडि आइन् । ज्याला मजदुरी गरिन् । कमाएको पैसाले अँधेरीकुनामा प्लटिङ व्यवसायी राजु खत्रीसँग २ आना जग्गा किनिन् र फिर्के नजिक ओत लाग्ने टहरो बनाइन् ।
अहिले फिर्के संरक्षणको अभियान अन्तरगत फिर्केको खोलाघर छुट्याउने टोली बिजुलीको दैलोमा पुगेको छ । त्यसपछि आफ्नो टहरो फिर्के खोलाको घर हो भन्ने थाहापाएपछि उनको आँशु फिर्केमा चुहिएको छ ।
‘ज्यामी काम गरेर साढे २ आना भनेको जग्गा पास गर्दा २ आना मात्र रहेछ, त्यही जग्गा पनि बैंङ्कमा राखेर लोन निकाले’, बिजुलीले आँशु चुहाउदै भनिन्, ‘बैंकको लोन तिर्न ३ वर्ष लाग्यो, लोन तिरेपछि त्यही जग्गामा टिनको टहरो निर्माण गरियो अहिले खोलामा पर्छ भन्दा रातभर निद्रा लाग्दैन ।’

(बिजुली दमाईको एकतले घर)
आफ्नो हैसियत अनुसारको जग्गा किनेको सुनाउदै आफुलाई मापदण्डको विषयमा केही थाहा नहुँदा समस्या परेको उनले सुनाईन् ।
‘महानगरले ०३२ सालको नापीको नक्सा लिएर खोला खोजिरहेको छ भन्छन्, नाप्दै आउँदा मेरो घर पनि खोलामा नै पर्दोरहेछ’, बिजुलीले भनिन्, ‘गाउँबाट आएर जसोतसो जग्गा किनियो, हामीलाई मापदण्डको विषयमा थाहा नुहुँदा दलाले फसायो ।’
सिमांकन टोलीले फिर्केको खोलाघर छुट्याएपछि प्लटिङ व्यवासायीले अधेरीकुनाको केही बासिन्दालाई छल गरेर जग्गा भिराएको प्रष्ट भएका हुन् ।
यस्तै गोरखाबाट अधेरीकुना बसाई आएकी विष्णुमाया कुमाललाई पनि मापडण्डभित्र पर्छकी भन्ने चिन्ता छ ।
‘३२ सालमा खोला कहाँ कहाँ हिड्यो हिड्यो हामीलाई के थाहा हुन्छ । हामी जन्मेकै थिएनौ, उनले भनिन्, ‘नाप्न त पहिला पनि नापेको थियो तर पोल गाडेन, कहिले कता नाप्छन् कहिले कता मेसै छैन ।’
महानगरले विकासको नाममा नागरिकलाई घरबार विहीन नबनाउन उनको आग्रह छ ।
‘खाडीमा बुढोले कति डिग्रीको घाममा पसिना बगाएर कमाएको पैसाले जोडेको घर हो विकास त आउँछ भन्छन् नि तर आफ्नो घर नै गएर आएको विकास के विकास, हाम्रा लागि त्यो भन्दा त विकास नै नभको ठिक छि’, विष्णुमायाले दुखेसो पोखिन् ।
पोखरा महानगरपालिकाले पुरानो आकारको फिर्के खोला खोज्न २०३२ सालको नापी नक्सा लिएर ४० जनाको टोलीले पोखराको मध्यभाग भएर बग्ने फिर्के खोला २७ दिनयता खोजिरहेको छ । उक्त टोलीले खोलाघर छुट्याएको छ ।
सो सिमांकन टोलीसँगै अनुगमनमा पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खोलाघर खोज्ने कार्य अन्तिम चरणमा पुगेको बताए ।
‘हामीले फिर्केखोला बगेको खोलाघर पत्ता लगाउन पहिलो चरणको काम सुरु गरेका हौं, हालसम्म ५ सयबढी पिल्लर गाडिएको छन्’, प्रमुख आचार्यले भने, ‘खोलाको वास्तविक रूप र आकार देखाइदिएको छ, यो प्राविधिक जाँचका आधारमा आएको तथ्य हो । यो कसैले हटाएर हटिदैन प्राविधिक टोलीसँग संकेत सुरक्षित रहन्छ ।’
उनले फिर्के खोलालाई मिचेर बनाइएका संरचना हटाउनेमा महानरगर अडिग रहेने स्पष्ट पारे ।
‘खोला माथि नै किनेर बस्नु भएको छ भने त त्यसको उपचार छैन, खोला माथिको जग्गा बेच्ने को हो ?, लालपुर्जा कहाँ पाएर बेच्यो ?, बेच्नै सक्दैन नि, खोलामाथि लालपुर्जा नै थिएन कसैको, कसैले किनेबेचे भन्ने कुरा त हुनै सक्दैन, त्यो सम्भव नै छैन, यदि कसैले भ्रममा पारेर त्यस्तो काम गरेको रहेछ भने, त्यो अपराधी हो, त्यसलाई कारवाही हुन्छ,’ मेयरले भने ।

उनले फिर्के खोलालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना रहेको प्रमुख आचार्यले बताए । ‘दिगो पर्यटन विकासको अवधारणामा खोलाको दुवैतर्फ साइकल लेनसहितको फुटट्रयाक बनाइने छ’, उनले भने, ‘यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिनेछ ।’
हप्तादिनमा प्रतिवेदन सार्वजनिक गर्ने तयारी
मेयर धनराज आचार्यले सिमांकन टोलीको प्रतिवेदन एक हप्तामा सार्वजनिक हुने बताए । आज (शुक्रबार) सिमांकन सकिने बताउदै अबको हप्ता दिनमा प्राविधिक टोलीले प्रतिवेदन बुझाएपछि सार्वजनिक हुनेछ ।
त्यसपछि फिर्केको मापडण्ड कति लगाउनेबारे टुंगो लाग्नेछ । अहिलेसम्म १० मिटरको चर्चा चलेपनि व्यवहारिक पाटोलाई हेरेर निर्णय गरिने मेयर आचार्यले बताए । 'हप्ता दिनमा प्रतिवेदन आउँछ, त्यसपछि मापडण्डको टुंगो लाग्छ । अनि फिर्केमाथि निर्माण गरिएका अतिक्रमित संरचनाहरू हटाउन महानगरले ३५ दिने सूचना जारी गर्छ ।’

फिर्केखोलाको सिमाङ्कन कार्यको नेतृत्व गरिरहेका महानगरका सर्वेक्षक वासुदेव पौडेलका अनुसार फिर्केको मापदण्डभित्र ५१ वटा पक्की घर, ३ वटा विद्यालय, १४ वटा समाजघर तथा भवन र ६४ वटा कच्चीघर (केही प्रतिशत) परेका छन् ।
पोखरा १८ बाट सुरु हुने फिर्के खोला पोखरा महानगरपालिकाको वडा नम्बर २, ४, ५, ८ हुदैं ६ स्थित फेवातालमा मिसिन्छ ।
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...
पोखरा: आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदैछ । यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, वि...

