आसन्न निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति हुन्छ : अध्यक्ष दाहाल
काठमाडाैं | असार ९, २०७९

काठमाण्डौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गर्नुभएको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी देशको दोस्रो ठूलो पार्टी बन्ने बताउनुभयो ।
“स्थानीय तह निर्वाचनमा वामपन्थीभित्रको पहिलो शक्ति हुने सम्भावना थियो, २०७४ को निर्वाचनमा जितेका पालिका यसपटक गुमायौँ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशमा वामपन्थीभित्र पहिलो शक्ति हुने सम्भावना छ, त्यसका लागि आजैदेखि मेहनत गर्नुस् ।” माओवादीको नेतृत्वमा मुलुक परिवर्तन भएको उल्लेख गर्दै उहाँले माओवादीले ल्याएको परिवर्तनका बारेमा जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।
“अब हामी जनताको घरघरमा जानुपर्छ, माओवादीको एजेण्डा भन्नुस्, माओवादीले ल्याएका परिवर्तनका बारेमा जानकारी गराउनुस्”, अध्यक्ष दाहालले भन्नुभयो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको भर गर्दा केही स्थानमा हार व्यहोर्नु परेको उल्लेख गर्दै उहाँले अबको निर्वाचनमा गठबन्धन भए पनि आफ्नो खुट्टामा दह्रोसँग उभिनुपर्ने बताउनुभयो ।
“गठबन्धनबाट स्थानीय तह निर्वाचन लडियो”, उहाँले भन्नुभयो, “अब गठबन्धनको भरपर्नेभन्दा पनि आफ्नो खुट्टामा उभिनुपर्छ ।” उहाँले स्थानीय तहमा सोचेजति परिणाम नआए पनि अनिश्चितताकाबीच भएको निर्वाचनले माओवादीको जित भएको बताउनुभयो । “स्थानीय तहमा सोचेजति परिणाम आएन, तर तोकिएको समयमा निर्वाचन हुनु माओवादीको जित हो”, उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरचनाभित्र स्थानीय तहको निर्वाचन हुनु माओवादीको जित हो, निर्वाचन हुन्छ कि हुँदैन भन्ने दोधारबीच निर्वाचन भयो ।”
साउन १५ भित्र सङ्घ र प्रदेशका उम्मेदवारको टुङ्गो
अध्यक्ष दाहालले आगामी साउन १५ गतेभित्र आसन्न सङ्घ र प्रदेश निर्वाचनका उम्मेदवार टुङ्ग्याइने बताउनुभयो । लोकप्रिय र जनताको पक्षका काम गर्नसक्ने नेतालाई निर्वाचनमा उम्मेदवार बनाइने उहाँले बताउनुभयो ।
कार्यक्रममा माओवादी नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, केन्द्रीय सदस्य, प्रदेश सदस्यलगायत नवनिर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो । अध्यक्ष दाहालले ५० भन्दा बढी जनप्रतिधिलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेकपा ९एमाले० नेता नवराज राई र वरिष्ठ मुटुरोग विशेषज्ञ डा कृष्ण श्रेष्ठ माओवादीमा प्रवेश गर्नुभएको थियो ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...