लामो समयपछि मनसुन सुरु भएसँगै किसान हर्षीत
कैलाली | असार १३, २०७९
कैलाली : कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी हुनुहुन्छ । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन् ।
शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् । लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँ व्यस्त हुन थालेका छन् । “पानी नआउँदा किसानलाई धानको बीउ जोगाउनै निकै मुस्किल भएको थियो ।
चर्को गर्मीका कारण बोरिङको पानीले सिँचाइमा कुनै राहत भइरहेको थिएन ।” उहाँले भन्नुभयो, “अब खेती लगाउन सकिन्छ कि भन्ने आशा जागेको छ । किसान खेतमा व्यस्त हुन थालेका छन् । निरन्तर पानी पर्यो भने धान रोप्न सहज हुनेछ ।”
गत वर्ष यस समयमा धान रोपाइँ सक्नुभएका टीकापुरका दिनेश विश्वकर्माले यस वर्ष भने धान रोपाइँ सुरु गर्नुभएको छैन । गत वर्ष जेठबाट मनसुन सुरु भएपछि जेठबाटै खेतको काममा व्यस्त हुनुभएका उहाँ बल्ल खेतको काममा निस्कनुभएको छ । “पानी नपरेपछि रोपाइँ समयमै गर्न सकिएन । अब पानी पर्न थाल्यो अब रोपाइँको काम हुन्छ होला ।” उहाँले भन्नुभयो, “सबै ठाउँमा सिँचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा खेती गर्नुपर्छ । सबैको कामसँगै सुरु भएकाले काम गर्ने मजदुर भने पाउन निकै कठिन भएको छ ।”
टीकापुर–४ का हरि चौधरीले खेत जोतेर छोडेको महिना पुग्यो । धानको बीउले महिना दिनभन्दा बढी काट्यो तर, चौधरीले वर्षा नहुँदा धान रोपाइँ गर्न अझै सक्नुभएको छैन । बोरिङको पानीले खेत रोप्ने तयारी गर्नुभएका उहाँले खडेरीका कारण बोरिङको पानीले पार नलागेपछि अलि कति रोपेको धानबीचमै छोड्नुपरेको थियो । “गत वर्षजस्तै चाँडै रोपाइँ सक्ने गरी धानको बीउ राखेको थिए । पानी नआउँदा करिब एक महिना नै ढिलो भयो ।” उहाँले भन्नुभयो, “कामदार पायो भने एक हप्तामा खेत रोपेर सक्ने लक्ष्य छ । कामदार पाइएन भने दुई हप्ताभन्दा बढी लाग्छ ।”
कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले किसानलाई फुर्सदिलो बनाउँदा गत वर्ष धान रोपाइँको समयभन्दा अगाडि नै कैलालीमा रोपाइँ सुरु भएका थिए । यही असार १५ गतेसम्म ५० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको थियो । त्यसैमा जेठको दोस्रो हप्तादेखि मनसुन सक्रिय भएपछि किसानले समयअगावै खेतको काम सम्पन्न गरेको टीकापुर –८ का धनसिंह साउँदले जानकारी दिनुभयो । उहाँले यस वर्ष भने किसान पानीको पर्खाइमा बस्नुपरेको बताउँदै आकाशे पानी पनि नआउनु र सिँचाइ कुलामा पनि पानी समयमै नआउनुले धान रोपाइँमा ढिलाइ भएको बताउनुभएको छ ।
“मैले गत वर्ष यो समयमा १५ बिगाहाभन्दा बढी रोपाइँ गरिसकेको थिए । यो वर्ष एक बिगाहा पनि रोपाइँ भएको छैन ।” उहाँले भन्नुभयो, “अहिलेको वर्षा किसानका लागि अमृत बनेको छ । कम्तीमा जमिन भिजेपछि बोरिङको पानीले भए पनि रोपाइँ गर्ने वातावरण बनेको छ ।” किसान साउँदले २८ बिगाहा क्षेत्रफलमा धान रोपाइँको तयारी गर्नुभएको छ । जग्गा भाडामा लिएर व्यावसायिक खेतीमा लाग्नुभएका साउँदले १० बिगाहाभन्दा बढी क्षेत्रफलमा बिज वृद्धिका लागि धान रोपाइँ गर्नुहुन्छ ।
वर्षा नहुँदा बीउ बचाउनसमेत किसानलाई निकै समस्या भएको थियो । केही किसानले बोरिङको पानीले रोपाइँ गरे पनि रोपेको धान सिँचाइ नपाउँदा सुकेर जाने अवस्थामा पुगेको किसान अमर कठरिया बताउनुहुन्छ । उहाँले बोरिङमार्फत दुई बिगाहा क्षेत्रफलमा धान रोपाइँ गर्नुभएको थियो । पर्याप्त सिँचाइ हुन नसक्दा रोपेको धान सुक्ने अवस्थामा पुगेको बताउँदै कठरियाले थोरै भए पनि वर्षा हुन थालेपछि राहत पुगेको बताउनुभयो । “सिँचाइ कुलामा पानी छैन । बोरिङको पानीले सिँचाइ गरेर साध्य छैन । आकाशे पानी आउँदैन ।” उहाँले भन्नुभयो, “किसान निकै आत्तिएको अवस्था थियो । अब केही हदसम्म किसानले राहत महसुस गर्न थालेका छन् ।”
सरकारले रासायनिक मलको व्यवस्था गर्ला भन्ने आशामा पनि कतिपय किसानको धान रोपाइँमा ढिलाइ भएको छ । मल नभएर उत्पादन नहुने भएपछि रासायनिक मलको पर्खाइमा बसेका किसानलाई मनसुनले पनि पछाडि पारेको किसान महेश चौधरी बताउनुहुन्छ । “सरकारले मल ल्याउन सकेन । केही समय मलको पर्खालमा बित्यो भने केही समय सिँचाइको अभावले ।” उहाँले भन्नुभयो, “अहिले भारतबाट भए पनि मलको व्यवस्थापन भएको छ । किसानले आफ्नो प्रयोगको लागि भारतीय बजारबाट मल ल्याए । अनि वर्षा पनि सुरु भयो । अब किसानको व्यस्तता खेतमा देखिन थालेको छ ।”
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

