दीपक समीपको नदीको राजमार्ग गृह विमोचन
पाेखरा | माघ २८, २०८०
पोखरा: साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ ।
आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको विमोचन गरे ।
कार्यक्रमका प्रमुख अतिथि रहेका सरुभक्तले फुर्सद भएकाले छोटा विधा लोकप्रिय भएको भन्नु भ्रम मात्रै भएको बताए । उनले जुनसुकै छोटा विधाका रचना लेख्न पनि पनि उत्तिकै मिहिनेत लाग्ने धारणा राखे । कृतिको सङ्ख्या कति पुग्यो भन्ने कुराभन्दा कति ओजिलो छ भन्ने कुराले महत्व राख्ने सरुभक्तको भनाइ थियो । उनले दीपक समीपलाई लामो सोचविचार गरेर लेख्ने साहित्यकारका रूपमा आफुले चिनेको बताए ।
कृतिको समीक्षा गर्दै डा. ईश्वरमणि अधिकारीले ६६ ओटा लघुकथा समेटिएको ‘नदीको राजमार्ग’ नेपाली लघुकथाकै एक मुख्य राजमार्ग भएको दाबी गरे ।
अर्की समीक्षक सरस्वती प्रतीक्षाले समीपका लघुकथा सामाजिक यथार्थवादी धारामा केन्द्रित रहेको बताइन् । कतिपय सूत्रकथा जस्ता लाग्ने लघुकथा समेटिएको कृतिका अधिकांश लघुकथा सबैलाई मन पर्ने उनको भनाइ थियो । ‘नदीको राजमार्गमा समेटिएका लघुकथाको प्रमुख विशेषता नै मुक्तिकिलो झट्का दिनु हो’ प्रतीक्षाले भनिन्, हास्यव्यङ्ग्यको प्रचूर प्रयोग भए पनि चुट्किला बन्नबाट समीपका लघुकथा जोगिनुले उनलाई परिपक्व लघुकथाकारका रूपमा स्थापित गरेको छ ।’
कथाकार समीपले लघुकथा लेख्नु अलि उमेर पुगेपछिका मानिसले सियोमा धागो छिराए जस्तै भएको धारणा राखे । भने, ‘छोटो लेख्नु ज्यादै कठिनसाध्य काम हो, लघु आकारको कथामा सिङ्गो वैचारिक झट्का दिनु सजिलो छैन ।’ वि.सं. २०५४ र २०५५ मा राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा उत्कृष्ट लघुकथाकारको पुरस्कार जितेका समीपले आफूले साथीहरूको हौसलाबाट सिङ्गो कृतिलाई पुग्ने लघुकथा लेख्न सकेको अनुभव सुनाए ।
यसअघि उनका भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह, २०६२) र अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह, २०७८) प्रकाशित छन् । पोखरेली युवा सांस्कृतिक परिवार र गजल सन्ध्याका पूर्व अध्यक्ष उनी लघुकथा प्रतिष्ठानका संस्थापक कोषाध्यक्ष हुन् ।
साहित्यकार जीवन सागर भण्डारीले स्रष्टा परिचय दिएका कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, उषा शेरचन, हरिदेवी कोइराला, प्रकाशक पेज टर्नरका जयराम तिमिल्सिनालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन पोखरेली युवा सांस्कृतिक परिवारकी उपाध्यक्ष रीता अधिकारीले गरेकी थिइन् ।
पोखरा: आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् । पो...
कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेख...
पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताम...

