वडा नागरिक आरोग्य कार्यक्रम: १ हजार बढी ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण

पाेखरा | जेठ १६, २०८१

वडा नागरिक आरोग्य कार्यक्रम: १ हजार बढी ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण

पोखरा:     पोखरा महानगरपालिका वडा नं.२५ मा सञ्चालित वडा नागरिक आरोग्य कार्यक्रमको पहिलो चरण समापन भएको छ । ३० वैशाख २०८१ देखि जेठ १२ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमको पहिलो चरण समापन गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिनुभयो । 


पहिलो चरणमा १ हजार १८४ ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष तिम्सिनाले बताउनुभयो । ‘हामीले पहिलो चरणमा ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरेका छौँ, अध्यक्ष तिम्सिनाले भन्नुभयो, यस क्रममा वडामा रहेका यी वर्गहरूको वास्तविक स्वास्थ्य अवस्था बुझ्ने अवसर मिलेको छ, हामी आगामी दिनमा थप तयारीका साथ प्रभावकारी ढङ्गले कार्यक्रमको दोस्रो चरण सञ्चालन गर्नेछौँ ।’ 


अभियानका क्रममा ज्येष्ठ नागरिकहरूको ब्लड प्रेसर, सुगर, अक्जिनको मात्रा, शारीरिक तथा मानसिक अवस्था, औषधी सेवन गरिरहेकाहरूको हकमा औषधीको मात्रा र नियमितता लगायत विषयहरूमा चासोका साथ परीक्षण गरिएको उहाँले बताउनुभयो ।


अभियानको समापन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवि गुरुङले कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो । कार्यक्रमको प्रभावकारिताले आफूहरूलाई यस प्रकारका लोककल्याणकारी कार्यक्रमहरू सञ्चालनमा थप हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमलाई महानगरभरि नै विस्तार गरी सबै नागरिकहरूको पहुँचमा विस्तार गर्ने उहाँले विश्वास समेत दिलाउनुभयो । 


पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले नागरिकहरूको स्वास्थ्य प्रति जनप्रतिनिधिहरू संवेदनशील रहेको बताउनुभयो । पोखरा १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले उमेर र अवस्थाका कारण अस्पतालसम्म पुगेर उपचार गर्न नसक्नेहरूका लागि यस प्रकारको कार्यक्रम निकै फलदायी र प्रभावकारी हुने बताउनुभयो । पोखरा १ का वडा अध्यक्ष साहारा प्रधानले एउटा आवश्यकताको सुरुवात पोखरा २५ ले गरेको भन्दै यसलाई शिक्षाको रूपमा लिनु पर्ने बताउनुभयो । 


पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्य सम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूको एकल प्रयासले मात्र नागरिक सचेतना अभिवृद्धि सम्भव नरहेको उल्लेख गर्दै उहाँले आमसरोकारवालाहरु हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । स्वस्थ महानगर निर्माणका लागि सबै नागरिकहरूमा स्वास्थ्य सचेतना र सेवाको पहुँच आवश्यक रहेको उहाँले बताउनुभयो ।
 

दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूलाई घर मै स्वास्थ्य सेवाको पहुँच, उनीहरूको जीवनलाई सुखी र खुसी सहित तनावमुक्त बनाई थप उपचारको आवश्यकता देखिएका ज्येष्ठ नागरिकहरूलाई सुविधा सम्पन्न सेवा क्षेत्रमा प्रेषण गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको हेमजा स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव कुश्मराज सुवेदीले बताउनुभयो । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक बनाउन प्रभावकारी कदमहरू चाल्न आवश्यक रहेको उहाँले बताउनुभयो  । वडा कार्यालयको अभियान प्रति ज्येष्ठ नागरिक समाजले खुसी व्यक्त गरेको छ । 


कार्यक्रम सञ्चालन पूर्व घरधुरी सर्वेक्षण गरिएको थियो । दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरूको अवस्था, उनीहरूको स्वास्थ्य, औषधी सेवनमा नियमितता लगायतका विषयहरूमा वडाबाट खटिएका स्वास्थ्यकर्मीहरुद्धारा जानकारी लिने र आवश्यक परामर्श दिइएको वडा कार्यालयले जनाएको छ । उनीहरूलाई एक महिनाका लागि आवश्यक पर्ने औषधी समेत निःशुल्क प्रदान गरिएको थियो । तीन वटा क्लस्टर बनाएर सञ्चालन गरिएको कार्यक्रम प्रत्येक तीन तीन महिनामा अभियानका रूपमा सञ्चालन गर्ने तयारी वडा कार्यालयको छ । 


यसअघि २०८१ वैशाख ३० मा अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पाइलट प्रोजेक्टको रूपमा वडा नं।२५ बाट सुरु गरिएको कार्यक्रमलाई क्रमशः महानगरका अन्य वडाहरूमा समेत विस्तार गर्दै लैजाने बताउनुभएको थियो । ‘हामी आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा छौँ, स्वास्थ्य महानगरको पहिलो प्राथमिकतामा छ ।’ उहाँले भन्नुभयो । 

मनाङ:   मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका ...

थप पढ्नुहोस्

काठमाडौँ:    देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधार...

थप पढ्नुहोस्

एजेन्सी:   आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो।   ...

थप पढ्नुहोस्