म्याग्दीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

म्याग्दी | असार ५, २०८१

म्याग्दीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

म्याग्दी:  म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ ।

 

उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताउनुभयो । ‘बेलढुङ्गा’ म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल हो । पचहत्तर रोपनीमा बर्खे र २५ रोपनीमा उन्नत जातको जनकदेव र रोजिटा जातका आलुखेती गरिएकामा जनकदेव र रोजिटाको उत्पादन प्रशस्त भएको पुनले जानकारी दिनुभयो ।

 

स्वदेश तथा विदेशमा रहेका १९ जनाको लगानी रहेको फार्ममा खेतबारीदेखि उपभोक्ताको भान्सासम्म भकिम्लीको आलुको ब्राण्ड स्थापित गर्नेगरी संस्थाको नाम, ठेगाना र परिमाण उल्लेख गरी बजारमा लैजाने तयारी गरेको उहाँले बताउनुभयो ।

 

फार्ममा आबद्ध आलु उत्पादक समूहले आफ्नोबाहेक स्थानीय किसानद्वारा उत्पादित आलु बजारीकरणमा सघाउने जनाएको छ । समूहले जनकदेव र रोजिटा जातका आलुको आकारअनुसार मूल्य तोकेको छ ।

 

सानालाई प्रतिकेजी रु ३५, मध्यमको रु ४० र ठूलो आलु प्रतिकेजी रु ५० मा खुद्रा बिक्री गर्ने समूहले जनाएको छ । 

 

समुद्र सतहबाट एक हजार छ सयदेखि तीन हजार पाँच सय मिटरको उचाइसम्म रोजिटा आलु प्रतिहेक्टर १० देखि १४ मेट्रिक टन फल्ने भएकाले आलुको बीउ कृषि ज्ञान केन्द्रले सिफारिस गरेको कृषि प्राविधिक सहायक श्यामशरण कर्मीले बताउनुभयो । उन्नत जातका आलुमा रोग, कीराको प्रकोप नहुने र उत्पादन  राम्रो हुने भएकाले किसान त्यसप्रति आकर्षित भएका  उहाँले बताउनुभयो । 

 

जिल्लाको मुसुङ, भुकभुके, भकिम्ली क्षेत्र आलु उत्पादनका लागि उपयुक्त भएकाले केन्द्रले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत किसानलाई आलुखेतीमा लाग्न प्रोत्साहन गरेको उहाँले जानकारी दिनुभयो ।

 

गण्डकी प्रदेश कृषि तथा सहकारी मन्त्रालयले म्याग्दीमा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आवमा रु तीन करोड बजेट विनियोजन गरेको थियो ।

 

केन्द्रका अनुसार म्याग्दीमा वार्षिक २५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ ।  भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

थप पढ्नुहोस्