क्यान्सरपीडित डगौरा भन्नुहुन्छ, ‘यस्तो दुःख कसैले भोग्नु नपरोस’
कञ्चनपुर | असार २५, २०७९
 
                                
                            
कञ्चनपुर:   बेदकोट नगरपालिका–६ ओझाखालीका २९ वर्षीय अजय डगौराको जिब्रोमा क्यान्सर भएपछि उपचारका लागि आर्थिक अभावले छटपटाउनु भएको छ । ससुरालीमा बस्दै आउनुभएका उहाँले उपचार खर्च जुटाउन नसक्दा कष्ट सहेर बस्नुपरेको छ । 
“जग्गा घर केही छैन मजदुरी गरेर जीविका चलाउँदै आएको छु”, डगौराले भन्नुभयो, “जीब्रो दुख्न थालेपछि एक वर्षअघि चिकित्सकलाई देखाउँदा क्यान्सर भएकाले उपचारका लागि चितवनस्थित अस्पतालमा देखाउन जान भने पनि आर्थिक अभावले पीडा सहेर बस्दै आएको छु ।”
 
  
उपचार खर्चका लागि जोहो गरिदिने कोही नहुँदा उहाँ मर्नु र बाँच्नुको दोसाँधमा पुग्नुभएको छ । “पहिला जिब्रो दुख्ने मात्रै गर्दथ्यो”, डगौराले भन्नुभयो, “अहिले खाना मुखभित्र राख्न नै गाह्रो हुन थालेको छ । पुरै मुख दुख्छ खाना खानसक्ने अवस्था पनि छैन । विस्तारै बोले पनि मुख दुख्ने भएकाले धेरै बोल्नसमेत सक्दिन । आफ्नो कोही छैन । उपचार नपाएरै मर्नुपर्ने अवस्था आएको छ । उपचारका लागि सहयोग गरिदिनका लागि उहाँले सबैसँग आग्रह गर्नुभयो । भारतमा छँदा गुटखाको अम्मली भएको र त्यसकै कारण जिब्रोमा क्यान्सर भएको डगौराले बताउनुभयो ।
 “भारतमा रोजगारीका लागि आमाबुवासँगै जाँदा उनीहरुले अलपत्र छाडेर कहाँ गए पत्तो नै लागेन । केही वर्ष भारतको मुम्बाइमा छ वर्षको उमेरदेखि नै होटेलमा भाँडा माँझ्ने कार्य गरेँ, ’’उहाँले भन्नुभयो,     “त्यही होटेलमा काम गर्ने नेपालीसँग चिनजान गरी उनीहरुसँगै नेपाल फर्किए । त्यतिबेला मेरो उमेर १९ वर्ष जतिको थियो । सानैमा भारत गएकाले यहाँ फर्केपछि परिवार भेटाउन सकिन । थातथलो कहाँ थियो । ठम्याउन पनि सकिन ।”
 
    
“यहाँ फर्केपछि मजदुरी गरेर जीविका चलाउँदै आएकाले परिवार पाल्नसक्ने आँट भएको ठिटो भनेर धेरैले तारिफ गर्थे । विवाह गरेँ । केही वर्षमै दुई छोरी एक छोराको बुवा पनि बने । जिब्रोमा क्यान्सर भएको कुरा श्रीमतीलाई सुनाए”, डगौराले भन्नुभयो, “घरको एक्लो कमाउने व्यक्तिलाई नै क्यान्सर भएपछि हाम्रो पालनपोषण कसले गर्ला भन्ने सोचेर होला श्रीमतीले एक वर्षको छोरासहित आत्महत्या गरिन् । माइली छोरीलाई पनि झुण्याएकी थिइन् । तर खुट्टाले भुइँमा छुनपुग्दा उनी जोगिइन यो गत चैत १७ गतेको घटना हो ।”
 
    
आमाबुवाले पहिला नै छाडिसकेका थिए । एक्लो सहाराका रुपमा रहेकी श्रीमतीले पनि यो संसार छाडेर गएपछि तनावपूर्ण जीन्दगी जिउनु परेको उहाँले बताउनुभयो । डगौराका दुई छोरी माइतीमा छन् । ससुरालीकोसमेत आर्थिक अवस्था निकै दयनीय भएकाले उपचार खर्च माग्नसक्ने अवस्था नरहेको उहाँको दुखेसो थियो ।
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...
काठमाडौँ: यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत ...
कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ। राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            