साफ यु–२० च्याम्पियनपसिप फुटबलको उपाधि बङ्गलादेशलाई
काठमाडाैं | भदौ १२, २०८१
काठमाडौं: बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो ।
ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालयको खेलमैदानमा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपालमाथि ४–१ गोलको जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो ।
यसअघि दुईपटक फाइनलमा पुगेको बङ्गलादेश दुवै पटक पराजित हुँदै उपविजेता बनेको थियो । सन् २०१९ र सन् २०२२ मा भएको साफ च्याम्पियनपसिपमा बङ्गलादेश फाइनलमा पुगेको थियो । त्यतिबेला दुवै पटक भारतसँग पराजित हुँदै बङ्गलादेश उपविजेतामा सीमित बनेको थियो ।
बङ्गलादेशको जितमा आजको खेलमा मिराजुल स्लामले दुई गोल गरे भने रब्बी होसेन राहुल र मोहम्मद पिस अम्मद नोभाले समान एक–एक गोल गरे । खेलको पहिलो हाफको अतिरिक्त समयमा मिराजुलले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।
त्यसपछि खेलको ५५औँ मिनेटमा अस्दुल मोल्लाले दिएको पासलाई सदुपयोग गर्दै मिराजुलले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७१औँ मिनेटमा बङ्गलादेशका अर्का खेलाडी रब्बीले गोल गर्दै टोलीलाई तेस्रो अग्रता दिलाए ।
त्यस्तै, खेलको ८१औँ मिनेटमा नेपालका समीर तामाङले गोल गरे । बङ्गलादेशका गोल किपर अगाडि गएको अवस्थामा सान्त्वना गोल गरे ।
यसैगरी, बङ्गलादेशका अर्का खेलाडी नोभाले खेलको दोस्रो हाफको अतिरिक्त समयमा एक गोल थपे । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः बङ्गलादेशले नेपालमाथि ४–१ को ऐतिहासिक जित हासिल ग¥यो । हारसँगै साफ च्याम्पियनपसिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्ने नेपालको सपना अधुरै रहन पुगेको छ ।
नेपालबाटै सन् २०१५ मा साफ यू–१९ च्याम्पियनपसिपका नामबाट सुरुआत भएको उक्त च्याम्पियनशिपको उपाधि सुरुआतमा नेपालले जितेको थियो ।
उक्त च्याम्पियनपसिपको फाइनल खेलमा नेपालले भारतलाई ‘टाइब्रेकर’मा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएकोे थियो । उक्त च्याम्पियनपसिप यसअघि कहिले साफ यू–१८ र कहिले साफ यू–२० को नामबाट सञ्चालन हुँदै आएको छ ।
त्यसैगरी, सन् २०१७ मा भूटानमा आयोजना भएको साफ यू–१८ च्याम्पियनपसिपमा पनि नेपालले उपाधि जितेको थियो । त्यतिबेला राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपालले शीर्ष स्थानमा रहँदै प्रतियोगिताको उपाधि जितेको थियो ।
छैटौँ संस्करणको उक्त प्रतियोगिताको लिग चरणका खेलमा भने नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । त्यसैगरी, सेमिफाइनलमा नेपालले भूटानलाई तथा बङ्गलादेशले भारतलाई पराजित गर्दै साफ यू–२० च्याम्पियनपसिपको फाइनलमा स्थान बनाएका हुन् ।
यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, भारत, माल्दिभ्स र भूटानले सहभागिता जनाएका थिए ।
उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तालिका थियो तर वर्षाका कारण खेलमैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिताको सम्पूर्ण खेल सातदोबाटोमा खेलाइएको हो ।
विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुल परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङलगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन । यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...
काठमाडौं: अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...
काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...

