तीन वर्षमा ३३९ हराए, २२ अझै सम्पर्कविहीन

काठमाडाैं | साउन १०, २०७९

तीन वर्षमा ३३९ हराए, २२ अझै सम्पर्कविहीन

 

गुल्मी:    गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँड्नुभयो । उहाँ आफू मात्रै हिँड्नुभएन, ८ वर्षीया छोरी पूजालाई पनि सँगै लिएर जानुभयो । छविकला आउने आशामा परिवारले झन्डै १५ दिनसम्म धेरै ठाउँमा खोजतलास गरेपनि फेला पारेनन् । जेठ ४ गते देवर भीम बहादुरले जिल्ला प्रहरी कार्यालयमा भाउजू हराएकाले खोजिदिन निवेदन दिनुभयो । भाउजू आफूखुसी भागेर हिँडेको पीडकको निवेदनमा उल्लेख थियो । छविकलालाई परिवार, स्थानीयवासिन्दा एवम् प्रहरीले हराएको सूचीमा राखेर खोजी गरिरहे पनि अहिलेसम्म उहाँ फेला पर्नुभएको छैन । 

    

रेसुङ्गा नगरपालिका–८ की ईश्वरी कार्की पनि गत जेठ ८ गते घरबाट हिँड्नुभयो । चौँतीस वर्षीया उहाँले पनि दुई वर्षीया छोरीलाई सँगै लिएर जानुभयो । सोही दिन नै श्रीमान् नारायण कार्कीले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजी गरिदिन आग्रह गर्दै उजुरी दिनुभयो । ईश्वरी हराएको दुई महिना हुँदा पनि अहिलेसम्म अत्तोपत्तो छैन । उहाँलाई प्रहरी र आफन्तले खोजिरहेका छन् । 

    

थापा र कार्की त हराएर नभेटिनेमध्येका केही प्रतिनिधिमूलक पात्र मात्रै हुन् । पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा ३३९ जना हराएका थिए । आर्थिक वर्ष २०७६/७७ देखि ०७८/७९ सम्म उक्त सङ्ख्यामा महिला, बालक, बालिका र वृद्ध हराएका हुन् । हराएकामध्ये पनि २२ जना अझै भेटिएका छैनन् । बाँकी ३२४  जना सम्पर्कमा आएका थिए । आर्थिक वर्ष ०७६/७७ मा ६९ महिला, सात बालक, २१ बालिका र वृद्ध गरी कुल १०८ जना हराएका थिए । हराएकामध्ये सबै सम्पर्कमा आएका थिए। 

  

 आर्थिक वर्ष ०७७/७८ मा ७३ महिला, पाँच बालक, १० बालिका र चार वृद्ध गरी कूल ९२ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये चार महिला, एक बालक र दुई वृद्ध गरी सातजना अझैसम्म पनि नभेटिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आव०७८/७९ मा ९५ महिला, ११ बालक, ३० बालिका र तीन वृद्ध गरी एक सय ३९ जना हराएका थिए । तीमध्ये १० महिला, नौ बालक र तीन बालिका गरी १५ जना अझैसम्म पनि नभेटिएको उक्त कार्यालयका सूचना अधिकारी (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो । हराएकामध्ये अधिकांश १७ देखि ४० वर्षसम्मका महिला थिए । 

    

श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना धेरै हुने गरेको उहाँले  बताउनुभयो । त्यसका साथै घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्नेलगायत कारणले महिलाहरु हराउने गरेको पाइएको छ । 

    

यस्तो समस्या समाधानका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउनेलगायत कार्य गरिए मानिस हराउने सङ्ख्यामा कमी आउने सूचना अधिकारी खरेलको भनाइ थियो ।  । हराएका मानिसहरु पत्ता लगाउनका लागि उनीहरुको मोबाइल, फेसबुक, इन्टरनेटका साथै देशका अन्य ठाउँका प्रहरीलगायत स्रोतहरु परिचालन  गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

बैतडीः  आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...

थप पढ्नुहोस्

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्