मौलिक पोसाक भाडामा लगाएर आम्दानी
म्याग्दी | माघ ३, २०८१

बेनी नगरपालिका– १ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् ।
अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरूले मगर, क्षेत्री, थकाली, ब्राह्मणलगायत जातजातिको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन् ।
पर्यटकलाई जातजातिको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी गर्न थालेका हुन् ।
स्थानीय रामकृष्ण पुनले एक जोडा पोसाक एक घण्टा प्रयोग गरेबापत दुई सयदेखि ३५० सम्म लिने गरेको बताए ।
‘मसँग १५ जोर मगर ड्रेस छन्,’ उनले भने, ‘दिनमा १० देखि १५ जनाले भाडामा लैजानुहुन्छ ।’ रेस्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्बिर पनि खिचिदिने गरेका छन् । एउटा तस्बिर खिचेबापत रु. २० लिने गरेको थापाले बताए ।
रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेस्टुरेन्ट तथा पसलहरूले पनि जातीय पोसाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोसाक पर्यटकको रोजाइमा पर्ने गरेको छ । बागलुङबाट रत्नेचौर आएकी स्मृति रानाले मौलिक पोसाकमा सजिएर खिचेको तस्बिर र बनाएको भिडियो स्मरणयोग्य भएको बताइन् ।
केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ ।
कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।
कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खान आउनको यहाँ भिड लाग्ने गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताए ।
यहाँ दैनिक तीन सयदेखि पाँच सयजना आउने गरेका स्थानीय कुशल शर्माले बताए । उत्तरतिर सेता हिमशृंखला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन् ।
रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने ३८८ मिटर लामो झोलुङे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षणको केन्द्र हो ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...