घलडाँडामा सामूहिक गहुँखेती
तनहुँ | फागुन २, २०८१
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए । पछिल्लो समय गाउँपालिकाले पुनः गहुँखेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको छ ।
यसैक्रममा गाउँपालिकाकै प्रेरणाबाट यहाँका कृषक १५ वर्षपछि पुनः गहुँखेती गर्न जुटेका छन् । स्थानीय बटुमाया गुरुङले कृषक समूह गठन गरी सामूहिक गहुँखेती गर्न थालिएको जानकारी दिनुभयो । घलडाँडा कृषक समूहमा आबद्ध भई कृषकले व्यावसायिक रूपमा गहुँखेती सुरु गरेको उहाँले बताउनुभयो ।
हाल २० रोपनी जग्गामा सामूहिक खेती गरिएको छ । गुरुङले भन्नुभयो, “विगतमा गहुँखेतीका लागि राम्रो बीउ पाउन पनि समस्या हुन्थ्यो । कतैबाट सहयोग नपाएपछि कृषकहरू यसबाट विस्थापित भए तर पछिल्लो समय गाउँपालिकाले प्रोत्साहित गरेको छ । बीउ र प्रविधिमा सहयोग गरेपछि हामी पुनः यसतर्फ आकर्षित भएका छौँ ।”
स्थानीय गङ्गा गुरुङले पनि गाउँपालिकाको प्रेरणाबाट आफूहरू गहुँखेतीमा लागेको बताउनुभयो । उहाँले प्रविधि र बीउ सहयोग भएपछि सामूहिक गहुँखेती सुरु गरिएको बताउनुभयो । ।” स्थानीय धनबहादुर गुरुङ, लक्ष्मण गुरुङ, डम्बर गुरुङ, मीना गुरुङ, सुष्मा गुरुङलगायतले सामूहिक रुपमा गहुँखेती गरिरहनुभएको हो ।
गाउँपालिका कृषि शाखाप्रमुख सन्तोष केसीले यहाँका कृषकहरू उत्साहका साथ गहुँखेती गर्न थालेको जानकारी दिनुभयो । “यो ठाउँ गहुँखेतीका लागि उपयुक्त छ तर विगतमा बीउ र प्रविधिमा पछि पर्दा धेरैले खेती गर्न छाडेका थिए । हाल गाउँपालिकाले बीउ र प्रविधिमा जोडेपछि कृषकहरूले सामूहिक खेती गर्न थाल्नुभएको छ”, उहाँले भन्नुभयो । यसलाई निरन्तरता दिन पालिकाले निरन्तर सहयोग गर्ने केसीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले यहाँ उत्पादित गहुँ बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाभित्रका विभिन्न ठाउँमा उत्पादित कृषि सामग्री बिक्री वितरणका लागि पालिकाले हाटबजार नै चलाएको छ । हाटबजारबाट स्थानीय उत्पादन सहज रूपमा बिक्री वितरण भइरहेको छ ।”
गाउँको बाझो जमिनको उपयोगका लागि सामूहिक खेती प्रणालीको विकास र विस्तरमा आफूहरूले योजना बनाइरहेको अध्यक्ष चुमानले जानकारी दिनुभयो ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

