बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनक
म्याग्दी | साउन ३०, २०७९
म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो एक महिना लामो ‘बर्खेनाच’को रौनक छाएको छ ।
नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तिजको दिनसम्म विभिन्न नाच देखाएर मनाउँदै आइएकामा जनै पूर्णिमाको दिनदेखि लाखे, गाइजात्रा र नागानागिनी नाच देखाइएको छ । नेपाल भाषा मंकाःखलः को मूल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीको दिनदेखि देखाउन सुरुआत भएको बर्खेनाचअन्तर्गत आइतबार बेनीमा लाखे नाच, नागानागिनी, सापारु नाच प्रदर्शन गरिएको छ । नाचअन्तर्गत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइँ र जोगी नाच देखाउने गरिन्छ ।
यहाँ पुस्तौँदेखि गठे मङ्गल, लाखे नाच, घोडा नाच, जोगी नाच, गोरु नाच, रोपाइँ नाच, भोटे नाच, शिकारी नाच, नागानागिनी, सापारु र हनुमान नाचलगायतका परम्परागत संस्कृतिले बजारमा रौनकता ल्याउने गरेको नेवार समुदायका अगुवा युवा विनय श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बर्खाको रोपाइँ सकिएपछि घण्टाकर्णदेखि सुरु हुने नाचहरु हेर्न वरपरबाट मानिस बजार झरी बजार व्यवसाय वृद्धि हुने, प्रतिभाको प्रस्फुटनमा सहयोगी बन्ने मात्रै होइन यस्ता नाचले ऐेतिहासिक र धार्मिक महत्वलाई पनि उजागर गर्ने गर्दछन् ।
बेनीमा अहिले पुरानो शिकारी नाच लोप भइसकेको छ । भोटे नाच पनि लोप हुने अवस्थामा छ । मेला महोत्सवमा झाँकीको रुपमा मात्र देख्न पाइने र आजकल औपचारिकरुपमा प्रदर्शन नभएको हनुमान नाच विगत सात वर्षयता देखाउन सकिएको छैन । यसअघि सञ्चालन भएको हनुमान नाचले म्याग्दी सामुदायिक पुस्तकालय र माई भगवती मन्दिरको लागि आर्थिक सङ्कलन गरी भवन र मन्दिर स्थापना गरेको थियोे ।
परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई मुकुण्डो लगाएर स्वरुप परिवर्तन गरेका कलाकारले बर्खेनाचमा अभिनयसहित नृत्य देखाउने गर्छन् । यस वर्ष आगामी भदौ १४ गते हरितालिका तिजको दिनसम्म बेनीको सांस्कृतिक पहिनाचको रुपमा रहेको बर्खेनाचअन्तर्गत विभिन्न नाच देखाउन थालिएको नेपाल भाषा मंका : खल अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बेनीमा बसोबास भएदेखिनै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । बर्खेनाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने उहाँले बताउनुभयो । दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखेनाच प्रदर्शनपश्चात् साँझ गणेश मन्दिर परिसरमा ‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रुप धारण गरेका कलाकारले लाखेको मुकुण्डोलाई बध गरेपछि बर्खेनाच समापन गर्ने चलन रहेको छ ।
ऐतिहासिक महत्व बोकेको बर्खेनाचमा पछिल्लो समय बेनीका युवाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । केही समय अगाडिी बर्खेनाचको लागि नयाँ कलाकारलाई तालिमसमेत दिइएको थियो । भिन्नभिन्न सांस्कृतिक महत्व बोकेको नाचमध्ये सापारुलाई विशेष महत्वको रुपमा लिइन्छ । विशेष गरी ऋषि तर्पणी (रक्षा बन्धन) र गाईजात्रा गरी दुई दिन लगाएर एक वर्षभित्र स्वर्गारोहण भएका मृतकको सम्झनामा टया मचा (अग्लो मान्छे) बनाएर बजार परिक्रमा गरिन्छ । यसो गर्दा मृतकको स्वर्गमा बास हुन्छ भन्ने लोक विश्वास रहिआएको छ ।
नेवार समुदाय मात्र होइन सम्पूर्ण बजारवासीसहित आफन्तजन उपस्थित भएर नागानागिनी नाचसहित नेवारी गीत गाएर पहिलो दिन श्री लक्ष्मी नारायण मन्दिरबाट निकाली बजार परिक्रमा गरी भोलिपल्ट मृतकको घरमा भित्र्याउने परम्परा रहेको छ । तीजमा श्रीकृष्णले लाखेको बध गरेपछि वर्खे नाचको विधिवत् समापन हुन्छ । श्रीकृष्ण भगवान् र लाखेको लडाइँ हेर्न ठूलो भीड जम्मा हुने गर्छ ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अग्रजले धानेको परम्परा मंकाः खलः को संस्थागत विकासपछि व्यवस्थित गर्ने प्रयास गरिएको छ । बर्खेनाच नेवार समुदायको मात्र नभई म्याग्दीकै सम्पत्ति हो । यसबाट सबै जातजाति संलग्न हुने र प्रतिभा उजागर गर्ने अवसर जुटेको छ ।” उहाँले भन्नुभयो, “लोप हुन लागेको नारु पुनर्जीवित गर्ने प्रयासमा छौँ । यसको लागि स्थानीय तह सरकार, युवा पुस्ता र सबै बजारवासीको सहयोगको खाँचो छ ।”
खलःले विगतमा भक्तपुरबाट मुल नेवारी गुरु ल्याएर सामूहिक बेल विवाह र व्रतबन्ध सम्पन्न गरेको थियोे । त्यस्तै नेवारी भाषा कक्षा, धिमे बाजा र बासुरीको प्रशिक्षण एवं अग्रज कलाकारद्वय प्रकाशकुकार श्रेष्ठ र सञ्जयकुमार श्रेष्ठको प्रशिक्षकत्मा हार्मोनियम र मृदंगा तालिम सम्पन्न गरेको थियोे ।
“पुस्ता हस्तान्तरणको महसुस गरिएको छ”, लामो समय बर्खेनाच संरक्षणमा योगदान पुर्याएका खलः सांस्कृतिक उपसमिमतिका संयोजक सञ्जयकुमार श्रेष्ठ भन्नुहुन्छ, “नाच्ने, गाउने र बजाउनेमा पुरानै पुस्तामा भर पर्नुपर्ने बाध्यतालाई कम गर्न यस वर्ष युवापुस्तालाई अघि सार्ने र अवसर दिने प्रयास गरिएको छ, जस्ले आगामी पुस्तामा पनि यी नाच संरक्षित हुँदै जीवन्त रहने विश्वास लिएका छौँ ।”
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

