पोखरामा विद्यालय खेलकुद प्रतियोगिता जारी, शुक्रबार समापन गरिने
पाेखरा | पुस १०, २०८२
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् ।
बिहीबार भएका खेल अन्तरगत एथलेटिक्सतर्फ ८ सय मिटर छात्रामा फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण, प्रतिभाकी मेनुका अधिकारीलाई रजत र गण्डकीकी सादगी शर्मालाई काश्य पदक प्राप्त भएको प्राविधिक उपसमितिका सह–संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए ।
ज्याब्लिन थ्रो छात्र तर्फ हार्वडका निसान केसीलाई स्वर्ण, शहीद स्मृतिका विजय तामाङलाई रजत, जनप्रियका आलोक आचार्यलाई काश्य पदक तथा छात्रा तर्फ कालिकाकी सुनिता गोलेलाई स्वर्ण, विष्णुपादुकाकी पुष्पा विकलाई रजत र शहीद स्मृतिकी सन्जु विकलाई काश्य पदक हात पर्यो ।
४१०० मिटर रिले दौडको छात्रा तर्फ फिस्टेल एकेडेमीलाई स्वर्ण, कास्की मोर्डनाइज्ड एकेडेमीलाई रजत र छोरेपाटन माविलाई काश्य पदक हात पर्यो । यसैगरी छात्रतर्फ कास्की मोडनाइज्डलाई स्वर्ण, हार्वड एकेडेमीलाई रजत र सैनिक आवासीयलाई रजत पदक प्राप्त भयो ।
लङ्गजम्प छात्रातर्फ सगरमाथाकी अनुष्का अधिकारीलाई स्वर्ण, त्रिवेणी पब्लिककी एन्जल अधिकारीलाई रजत र लिटल फ्लावरकी सुजाता कुमाललाई कास्यपदक हात पर्यो भने छात्र तर्फ कालिकाका अमन दुरालाई स्वर्ण, पोखरा युनाइटेडका कृष्ण बहादुरलाई रजत र अन्नपूर्ण माविका विशाल विकलाई काश्य पदक हात पर्यो ।
एथलेटिक्स तर्फ कुल ७८ पदकका लागि प्रतिष्पर्धा हुनेछ । एथलेटिक्स तर्फका बाँकी खेल शुक्रबार हुनेछन् । एथलेटिक्स उपसमिति संयोजक गोप बहादुर अधिकारीका अनुसार एथलेटिक्स तर्फ ८४ विद्यालयका ६ सय ६५ छात्र छात्रा सहभागी भएका छन् ।
पोखरा रङ्गशाला र कालिका माविको भलिबल कोर्टमा सञ्चालन गरिएको भलिबल प्रतियोगिता अन्तरगत अब दुईवटा क्वाटर फाइनलका खेल बाँकी रहेका छन् ।
बाँकी रहेका क्वाटर फाइनल र सेमी फाइनल अनि फाइनल खेल शुक्रबार हुने भलिबल उपसमितिका संयोजक राम बहादुर लामिछानेले जानकारी दिएका छन् ।
भलिबल प्रतियोगितामा छात्रतर्फ ४५ र छात्रा तर्फ २३ टिम गरी कुल ६८ टिमले सहभागिता जनाएको जानकारी दिएका छन् । सेमी फाइनल र फाइनलका खेल पोखरा रङ्गशालाको भलिबल कोर्टमा हुनेछ ।
प्रतियोगिता अन्तरगत कराते अन्तर्गत सबै खेल सम्पन्न भएको कराते खेल उपसमिति संयोजक धन लामाले जानकारी दिए । कराते तर्फ ४१ विद्यालयका छात्र तर्फ ६० र छात्रा तर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेको उनले जनाए । यो विधा मार्फत १२ स्वर्ण, १२ रजत र २४ काश्य गरेर कुल ४८ पदक वितरण गरिएको उनले खुलाए ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गरिरहेको जानकारी दिए । प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको र बाँकी रहेका सबै खेल शुक्रबार हुने उनको भनाइ छ ।
भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ सहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए। एथ्लेटिक्स एकल तर्फका प्रथमले ४ हजार, द्वितीयले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय तथा रिले खेलमा विजेता टिमले ६ हजार, द्वितीयले ४ हजार र तृतीयले २ हजार प्राप्त गर्नेछन् ।
मार्चपासमा प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए । समापन शुक्रबार ३ बजे गरिने सदस्य सचिव अधिकारीको भनाइ छ ।
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

