व्यासमा फौजी किराले मकैबाली नष्ट
तनहुँ | भदौ १९, २०७९
तनहुँ : व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ । मकैको घोगा लाग्ने समयमा किराले खाएर नष्ट गरेपछि किसान चिन्तित भएका उनीहरु समस्यामा परेका हुन् ।
करिब १० रोपनी क्षेत्रफलमा लगाएको मकैबाली किराले नष्ट गरिदिएको स्थानीय किसान मेघनाथ आचार्यले जानकारी दिनुभयो । “घोगा लाग्ने समयमा किराले मकै नष्ट गरिदियो । यसअघिका दुई वर्षसम्म लगातार फौजी किराले मकै नष्ट गरेपछि घाटा ब्यहोर्नुपरे पनि यसपटक केही होला भनेको फेरि उस्तै भयो”, उहाँले भन्नुभयो ।
राम्रो मूल्य पाउने आशामा हिउँदे मकैखेती लगाए पनि चमरा काढ्ने र घोगा हाल्ने समयमा एकाएक फौजी किरा आएर नष्ट गरिदिएको उनीहरुको भनाइ छ ।
किराको रोकथामका लागि पटकपटक औषधि प्रयोग गरे पनि समाधान गर्न नसकिएको जनाइएको छ । सधैँ यस्तै बाली नष्ट हुन थालेपछि अर्को वर्षदेखि घाँस लगाउने योजनामा त्यस क्षेत्रका किसान रहेका छन् । पन्ध्र वर्षसम्म लगातार वैदेशिक रोजगारमा पसिना बगाएर अब आफ्नै देशमा कृषि पेशा गर्ने सोच बनाएर बसे पनि उपलब्धि नदेखिएको किसान आचार्यको भनाइ छ ।
कति विदेश बस्ने भनेर अब आफ्नै परिवारसँग बसेर कृषि पेशा गरौँ भनेर अँगाल्दा घाटामात्रै भोग्नुपरेको उहाँको दुःखेसो छ । उहाँले मकैखेती सँगसँगै कोदोखेतीका साथै गाईपालन पनि गर्दै आउनुभएको छ ।
मकैसँगै कोदोमा पनि फौजी किराले नोक्सान पुर्याएको छ । मकै र कोदोबालीमा किराले नष्ट बनाएपछि सम्बन्धित कार्यलय वडाको कृषि प्रविधिक, नगरपालिकामा र कृषि ज्ञान केन्द्रमा जानकारी गराउँदा कृषि ज्ञान केन्द्रले औषधि दिनेबाहेक अन्य केही सहयोग नपाएको किसानको गुनासो छ ।
स्थानीय अर्का किसान तिलकुमारी आचार्यले पनि बर्सेनि फौजी किराले मकैबाली नष्ट हुँदा घाटा व्यहोर्नुपरेको बताउनुभयो । किसानलाई घाटा पर्दा कुनै पनि निकायबाट सहयोग नपाउँदा दुःख लागेको उहाँले बताउनुभयो । बिहान उठेर मकैबारी हेर्दा निकै उराठ लाग्ने गरेको किसान बताउँछन् ।
व्यास नगरपालिकामा दक्ष प्राविधिक नहुँदा किसानले समस्या भोग्नुपरेको ब्यास नगरपालिका–१३ का वडाध्यक्ष वसन्तबहादुर आलेले बताउनुभयो । कृषिखेती गर्ने किसानले भरिएको वडा भए पनि सधैँ किसानले नोक्सान व्यर्होनुपरेको उहाँले बताउनुभयो । दीर्घकालीनरूपमा कसरी समाधान गर्न सकिन्छ भनेर गम्भीरताका साथ लागिएको छ । उहाँले भन्नुभयो, “किसानलाई राहत दिलाउनका लागि आफूले पनि पहल गरिरहेको छु ।”
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

