बीमा र अनुदानले चौँरीपालक किसान उत्साहित, थपिदै चौँरी
सिन्धुपाल्चोक | असोज ५, २०७९
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकका चौँरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो माध्यम बनेको छ ।
परम्परागतरूपमा पालिने चौँरीलाई व्यावसायिक रूप दिएपछि स्थानीयवासीले चौँरी लोप हुन नदिन अभियान नै सञ्चालन गरेका छन् । लिस्तीमाथि छगाम बगामको चौँरीखर्कमा ६० चौँरी थपिएका छन् । एशियन नेपाल र सेन्डाकले संयुक्तरूपमा चौँरीपालक किसानलाई रु ५३ लाख अनुदान दिएको छ । साठी चौँरीका लागि रु ३३ लाख र खानेपानीसहित अन्य व्यवस्थापनका लागि रु २० लाख अनुदान उपलब्ध भएको हो ।
स्थानीय निमा शेर्पाका अनुसार चौँरीबाट उत्पादित दूधजन्य सामग्रीको बजारीकरणका लागि लेकाली खर्कमै सङ्कलन केन्द्र स्थापना गरिएको छ । किसानको उत्साहलाई ध्यानमा राख्दै गाउँपालिकाले प्रत्येक किसानको गोठमा रहेका चौँरीको बीमा र औषधोपचारको जिम्मा लिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताउनुभयो । चौँरीखर्कको व्यवस्थापन र उत्पादित सामग्रीको बजारीकरणका लागि स्थापना गरिएको चौँरी संरक्षण समितिले कुल आम्दानीको ६० प्रतिशत किसानलाई र ४० प्रतिशत कोषमा राखेर पुनः किसानकै लागि शेयरमा परिणत गर्ने योजना बनाएको छ ।
परम्परागतरूपमा चौँरीपालन गर्दै आएका जुगल गाउँपालिकाका किसान बीमाको कार्यक्रम लागू भएपछि खुसी भएका छन् । महँगो मूल्य पर्ने चौँरी मर्दा पूरै नोक्सानी व्यहोर्दै आएका किसानले अहिले बीमावापतको रकम पाउने भएका छन् । जुगल गाउँपालिकाले किसानलाई सहुलियतमा चौँरीको बीमा गरिदिएपछि चौँरीपालक किसानको सङ्ख्यासमेत बढ्न थालेको शेर्पाले बताउनुभयो । चौँरीको दूधबाट नौनी, घ्यू र छुर्पी उत्पादन हुन्छ । एउटै गोठमा ५० भन्दा बढी चौँरी पाल्ने किसानको उत्पादन खरिद गर्न व्यापारी खर्कमै पुग्ने गरेका छन् ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

