पक्की पुल बनेपछि सहज बन्यो दैनिक जीवन

तनहुँ | असोज ८, २०७९

पक्की पुल बनेपछि सहज बन्यो दैनिक जीवन

 

तनहुँ । तनहुँको ऋषिङ गाउँपलिका–८ पल्ट्याङका गञ्जसिं गुरुङलाई बर्खायाममा फेदीखोला तर्न निकै सकस थियो । हिउँदमा सामान्य भए पनि बर्खाका बेला फेदीखोला उर्लेर तर्न समस्या हुन्थ्योे । 

 

    खोला बढेको बेला वारपार गर्न सास्ती थियो । खोला बढेर मान्छे नै बगाउने स्थिति आउने गर्दथ्यो । विसं २०७५ मा कक्षा सातमा अध्ययनरत एक बालकलाई यही खोलाले बगाएर ज्यानै लियो तर अब यस भेगका बासिन्दालाई अहिले खोला तर्नु पर्दैन । गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त गाउँपालिका–८ र भिमाद नगरपालिका–५ जोड्ने फेदीखोलामा पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको हो । खोला तर्नुपर्दाको विगत सम्झिँदै गुरुङले भन्नुभयो, “खोलामा पुल नहुँदा यस भेगका जनताले निकै दुःख पाए तर अब त पक्की पुल बनेकाले सहज भयो ।”

 

उक्त गाउँपालिकाका विभिन्न वडावासीकोे प्रमुख व्यापारिक केन्द्र भिमाद बजार हो । त्यस भेगका सर्वसाधारण यही बाटो हुँदै भीमाद बजार आउँछन् तर पुल बनेपछि दैनिक जीवन यापनमा सहज भएको उहाँले बताउनुभयो । गुरुङका अनुसार फेदीखोलामा पुल निर्माण भएपछि भिमाद नगरपालिका र यस गाउँपालिकाका हजारौँ सर्वसाधारण लाभान्वित भएका छन् । पक्की पुल बनेपछि ग्रामीण भेगमा उत्पादित तरकारी पनि सहजरुपमा बजारसम्म लगेर बिक्री गर्न सहज भएको छ । 

 

भिमाद नगरपालिका–५ का तिलबहादुर थापाले पक्की पुल निर्माण भएसँगै भिमादका अतिरिक्त ऋषिङको राम्जाकोट, कोटदरवारलगायत ठाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित भएको जानकारी दिनुभयो । “हेर्दा सामान्य देखिए पनि बर्खामा खोलाको वास्तविक रुप देखिन्छ तर अब पुल बनेपछि राहत भयो”, उहाँले भन्नुभयो । 

 

सोही नगरपालिका–३ स्थित बुडुवा खोलामा पनि पक्की पुल नहुँदा स्थानीयवासीलाई खोला पारपार गर्न कठिन थियो । बर्खाका बेला यो खोला निकै ठूलो हुन्थ्यो । खोला तर्न हालिएका फड्के पनि बगाउँदा स्थानीयवासी मर्कामा पर्दै आएका थिए । विद्यालय जाने विद्यार्थी, घाँसदाउरा र मेलापात गर्ने स्थानीयवासीलाई पनि खोला तर्न समस्या थियो । यहाँ पनि प्रदेश सरकारको सहयोगमा पक्की पुल निर्माण सम्पन्न भएको छ । वर्षौंदेखि पक्की पुल बनाउन आवाज उठाउँदै आएका स्थानीयवासीको माग प्रदेश सरकारले सम्बोधन गरेको वडाध्यक्ष पदमराज ठकुरीले बताउनुभयो । 

 

“पुल नहुँदा यहाँका बासिन्दाले दुःख झेल्नुप¥यो तर सङ्घीयतासँगै बनेको प्रदेश सरकारले यहाँ पुलको आवश्यकता महसुस ग¥यो, किरण गुरुङ अर्थमन्त्री हुँदा बजेट विनियोजन भएर पुल निर्माण भएको छ”, उहाँले भन्नुभयो ।

 

तनहुँमा गण्डकी प्रदेश सरकार मातहत पूर्वाधार विकास कार्यालयमार्फत चारवटा पक्की पुल निर्माण भएको छ । आर्थिक वर्ष ०७८÷७९ मा रु १६ करोडको लागतमा ती पक्की पुल निर्माण भएका हुन् । 

 

विभिन्न मितिमा निर्माण सुरु गरिएका उक्त पुल आर्थिक वर्ष ०७८÷७९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यालयले रिस्तीखोला मोटरेवल पुल सोतीवेशी, बुडुवाखोला मोटरेवल पुल, फेदीखोला मोटरेवल पुल र रिस्तीखोला मोटरेवल पुल बगुवा निर्माण गरेको कार्यालयका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिनुभयो ।

 

फेदीखोलाको पुल रु चार करोड २८ लाख ३२ हजार, बुडुवा खोलाको पुल रु दुई करोड नौ लाख, रिस्ती बगुवाखोलाको पुल रु चार करोड २५ लाख र रिस्ती सोतीवेशीको पुल रु चार करोड ७१ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो । फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव ८ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीवेशीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेवल पुल निर्माण भएको उहाँको भनाइ थियो । 

 

उक्त आर्थिक वर्षमा सात वटा पुल सम्पन्न गर्ने लक्ष्य रहे पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीन वटा पुल निर्माण हुन नसकेको सूचना अधिकारी मिश्रले बताउनुभयो । 

 

“सात वटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो तर तीन वटा पुलको काममा ढिलाइ भयो, चार वटा मात्रै सम्पन्न भएको छ”, उहाँले भन्नुभयो । करिब रु ११ करोडको लागतमा निर्माण गरिने तीन पुल अन्तिम चरणमा पुगेको छ । ज्वालाखोला मोटरेवल पुल रु तीन करोड २१ लाख, द्रोपद खोला मोटरेवल पुल रु तीन करोड ८३ लाख र बरखोला पुल रु तीन करोड ३६ लाखको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ ।
 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्