दसैँँका लागि घर सजाउँदै थारु समुदाय

कञ्चनपुर | असोज १४, २०७९

दसैँँका लागि घर सजाउँदै थारु समुदाय

कञ्चनपुर :  यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका महिला व्यस्त भएका हुन् ।

 

जिल्लाको भीमदत्त नगरपालिका–१८ की देवी चौधरी घर लिपपोत गर्न व्यस्त हुनुहुन्छ । थारु समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिवार्य जस्तै मानिन्छ । “अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छ”, उहाँले भन्नुभयो, “दसैँ सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दसैँमा सखिया नाच्ने र रमाउने हो ।” 

 

अहिले गाउँमा अधिकांशले घर लिपपोत गरेर सजाइसकेका छन् । थारु समुदायमा दसैँ विशेष चाड भएकाले यसको रौनक एक महिना अघिदेखि नै सुरु हुन्छ । “दसैँमा पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, ढिक्री, रक्सी आदि चाहिन्छ”, उहाँले भन्नुभयो, “पूजा सकिएपछि सबैजना सखिया नाच्ने र रमाइलो गर्छन ।” अन्य समुदायको भन्दा यो समुदायमा दसैँ मनाउने चलन पृथक रहेको उहाँको भनाइ छ ।

 

पछिल्लो समय सामुदायिक वनले जङ्गलबाट माटो ल्याउन निषेध गरेपछि यो समुदायलाई समस्या भएको छ । माटोले लिपपोत गरेर खरले छाएका घर थारु समुदायका पहिचान हुन् । चौधरीले भन्नुभयो, “सामुदायिक वनले माटो ल्याउन निषेध गरेपछि यस्ता घरहरु हराउन थालेका छन् ।”

 

स्थानीयवासी लक्ष्मीराम चौधरी पनि दसैँका लागि सामान जुटाउन व्यस्त हुनुहुन्छ । उहाँ केही दिनदेखि माछाको जोहोमा लाग्नुभएको छ । “घरमा महिलाहरु घर लिपपोत गर्दैछन्, म माछाको जोहोमा छु”, उहाँले भन्नुभयो, “दसैँमा सुकाएको माछा र रक्सी थारु समुदायको विशेष हो ।” पछिल्लो समय पक्की घरहरु बन्न थालेपछि विगतको जस्तो रौनकता भने नभएको उहाँको भनाइ छ ।

 

स्थानीय सीता चौधरीका अनुसार दसैँका बेला सखिया नाच रातभरि हुने गर्दछ । यो नाचमा भगवान्को मात्रै महिमा हुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समय विभिन्न कारण एक महिना खेलिने यो नाच छोटिँदै गएको छ ।” 

 

टीका लगाइसकेपछि सबै गाउँलेहरु भेला भएर सखिया नाच नाच्ने चलन छ । तर पछिल्लो समय यो नाच लोप हुँदै गएको छ । “पहिलेको जस्तो रातभर नाच्ने गाउने चलन त हराइसक्यो”, उहाँले भन्नुभयो, “अहिले संस्कृति जोगाउन भए पनि कार्यक्रमको आयोजना गरी सखिया नाच्ने गरिन्छ ।” पछिल्लो पुस्ता आधुनिकतामा रमाउन थालेपछि सखिया नाचको मौलिकता हराउँदै गएको थारु समुदायका पाका पुस्ता बताउँछन् । 

पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...

थप पढ्नुहोस्

बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

थप पढ्नुहोस्

पोखरा:  पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

थप पढ्नुहोस्