‘जीत’को तेस्रो पटकमा जित्ने दाउ

बाग्लुङ | कात्तिक १८, २०७९

‘जीत’को तेस्रो पटकमा जित्ने दाउ

बागलुङ :  दुई-दुई पटक जसले हराए उनै दलसँग मिलेर कांग्रेस नेता जीत शेरचन प्रदेशसभा सदस्य चुनावमा होमिनुभएको छ । वाम गठबन्धनको एक्लै सामना गर्नुभएका शेरचनले वि.स. २०७४ र वि.स. २०७६ को उपचुनावमा बागलुङ-२ (२) बाट हार्नुभएको थियो ।

 

ती दुई चुनावमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा एउटै मोर्चाबाट कांग्रेसविरुद्ध चुनाव लडेका थिए । अहिले वाम दल एक ठाउँ छैनन् । माके र राजमो कांग्रेससँगको गठबन्धनमा छन् । एमाले एक्लै चुनावी मैदानमा छ । बदलिएको चुनावी समीकरणबीच शेरचनलाई नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीको समेत साथ छ । पाँच दलीय गठबन्धनका आडमा बागलुङ–२ (१) बाट प्रदेशसभा छिर्ने दाउमा हुनुहुन्छ, शेरचन । 

 

अघिल्ला चुनावमा बागलुङ–२ (२) बाट चुनाव लड्नुभएका उहाँले यसपालि क्षेत्र (१) राज्नुभएको छ । विसं २०७४ को चुनावमा शेरचन वाम गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका दिवङ्गत नेता टेकबहादुर घर्तीसँग तीन हजार दुई सय ६० मतान्तरले पराजित हुनुभएको थियो । 

 

घर्तीले ११ हजार आठ सय ८४ र शेरचनले आठ हजार ६ सय २४ मत ल्याउनुभएको थियो । निर्वाचित उम्मेदवार घर्तीको निधन भएपछि विसं २०७६ मङ्सिरमा भएको उपचुनावमा राष्ट्रिय जनमोर्चाकै खिमविक्रम शाहीले शेरचनलाई हराउनुभएको थियो । 

 

एमाले र माओवादी केन्द्रको एकतापछि बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा राजमोले शाहीलाई उम्मेदवार बनाएको थियो । उपचुनावमा भने शेरचनले पहिलेभन्दा मतान्तर केही घटाउनुभएको थियो । शाहीले ११ हजार दुई सय २५ मत ल्याएर विजयी बन्दा शेरचनले नौ हजार एक सय ३८ मत पाउनुभएको थियो ।

 

आसन्न मङ्सिर ४ को चुनावमा भने शेरचनको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीसँग हुँदैछ । उक्त क्षेत्रमा एमालेले आफ्नै उम्मेदवार उठाउन सकेन । एमालेको समर्थनमा लालटिन चिह्न लिएर उम्मेदवार बन्नुभएका घर्ती र शेरचन मात्र सो क्षेत्रमा उम्मेदवार छन् । 

 

गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित बन्नुभएका घर्ती र तेस्रोपटकमा चुनाव जित्ने दाउमा रहनुभएका शेरचनबीचको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ ।

 

विसं २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट ताराखोला गाउँपालिकाको अध्यक्ष बन्नुभएका घर्ती गत चुनावमा पार्टीले उम्मेदवार नबनाएपछि असन्तुष्ट हुनुहुन्थ्यो । प्रदेशसभा चुनावमा एमालेको साथ पाएपछि उहाँ फेरि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रनुभएको छ । 

 

दुईपटकसम्मको हारलाई जीतमा बदल्ने शेरचनको सपना यसपालि पूरा हुन्छ या हुँदैन त्यो त हेर्न बाँकी छ । कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका शेरचन विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुहुन्छ । शेरचन नेपाल विद्यार्थी सङ्घका तर्फबाट विसं २०६२ मा काठमाडौँस्थित ताहचल क्याम्पसको स्ववियु सभापति हुनुभएको थियो । 

 

शेरचनले चुनाव लड्ने क्षेत्र बागलुङ–२ (१)मा ५४ हजार दुई ३४ मतदाता छन् । गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकालाई सो क्षेत्रले समेटेको छ । विसं २०७४ को चुनावमा सो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी बन्नुभएको थियो ।

 

गत स्थानीय चुनावमा भने यस क्षेत्रका तीनै स्थानीय तहमा सत्ता गठबन्धनले जितेको थियो । गलकोटको प्रमुख र बडिगाडको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका थिए भने ताराखोलाको अध्यक्षमा माओवादी केन्द्रले जितेको थियो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्