गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापनापछि एम्बुलेन्स सेवा
बाग्लुङ | कात्तिक १९, २०७९

ढोरपाटन् । भौगोलिक विकटताका कारण पछाडी परेको तमानखोला गाउँपालिकाका नागरिक पाँच वर्ष अगाडिसम्म बिरामीलाई डोला र ढोकोमा बोकेर अस्पताल पुर्याउँथे ।
गाउँमा सामान्य उपचारका लागि स्वास्थ्य संस्था थिएनन् । बाटोघाटो पनि व्यवस्थित नहुँदा गाडी पनि चल्दैनथे । सडक सञ्जालले नजोडिएको गाउँमा एम्बुलेन्स चल्ने त झन् कुरै भएन । बिरामी अस्पताल पुर्याउन पनि मुस्किल थियो । स्थानीय सरकार आएपछि तमानखोलामा गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना र सडक पुग्यो ।
गाउँमा सडक स्वास्थ्य संस्था स्थापना र मोटरबाटो नपुग्दा डोला र ढोकोमा बिरामी बोक्नुपर्ने स्थानीयवासीको बाध्यता अब हट्ने भएको छ । गाउँपालिकाले नागरिकको सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँमा एम्बुलेन्स आएपछि वर्षौंदेखि समस्या भोग्दै आएका स्थानीयवासी हर्षित छन् । एम्बुलेन्सले डोला र ढोकोमा बिरामी बोक्नुपर्ने अवस्थाबाट छुटकरा पाउनेमा उनीहरु विश्वस्त भएका हुन् ।
स्थानीयवासी प्रकाश घर्तीमगर भन्नुहुन्छ, “गाउँपालिकाले एम्बुलेन्स ल्याएको देख्दा निकै खुसी लागेको छ, अब बिरामी हुँदा टाढा जानुपरे पनि समस्या हुने भएन, अहिले त गाउँमा पनि स्वास्थ्य संस्था खुलेका छन्, पहिलेको जस्तो सामान्य चोटपटक लाग्यो भने बुर्तिबाङ पुग्नुुपर्दैन, उतिबेला अहिलेको जस्तो सुविधा थिएन, स्थानीय सरकारले राम्रो काम गर्यो, बाटो ल्यायो, पहिले त बिरामी परे ढोकोमा बोकेर अस्पताल पुर्याउनु र्पथ्यो, अहिले त्यस्तो समस्या छैन ।”
गाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि उपचारका लागि निकै सहज भएको छ भन्दै उहाँ स्वास्थ्यमा ठूलै समस्या नआएसम्म टाढा जानुपर्ने अवस्था नभएको बताउनुहुन्छ । पहिले गाउँमा स्वास्थ्य संस्था नहुँदा समयमा उपचार नपाउँदै धेरैले ज्यान गुमाउनुपरेको नमिठो अनुभव व्यहोर्नुपरेको थियो तर एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीलाई समयमै अस्पताल पुर्याउन सकिने प्रकाश बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “अहिले बिमारीको उपचार गाउँमै हुन्छ, सिकिस्त र जटिल नभएसम्म टाढा जानुपर्दैन यहीँ उपचार हुन्छ, यहाँ उपचार हुन नसके मात्रै बुर्तिबाङ जानुपर्छ, पहिलेको जस्तो ढोकोमा बोकेर लैजान पर्दैन, पहिले त धेरैको समयमै उपचार पाउन नसक्दा अकालमै मृत्यु भयो, अहिले विकास भएको अनुभूति गरेका छौँ, त्यस्तो अवस्था छैन ।”
स्थानीयवासी नरबहादुर गोतामेल एम्बुलेन्स सञ्चालनपछि ग्रामीण क्षेत्रका नागरिकले सहज सेवा पाउने बताउनुहुन्छ । अहिलेसम्म आफूहरुले गाडीमा बिरामीलाई अस्पताल पु¥याउने गरेकामा एम्बुलेन्स सेवाले राहत मिल्ने उल्लेख गर्दै उहाँ भनेको समयमा गाडी नपाइने र पाइए पनि महँगो भाडा तिर्नुपर्ने रहेकामा अब स्थानीयवासीले बिरामी बोकेर अस्पताल पु¥याउनु समस्या नहुने बताउनुहुन्छ ।
“गाउँमा अहिले गाडी त चल्छ तर भनेको समयमा पाइँदैन, पहिले–पहिले बोकेरै अस्पताल पुर्याइन्थ्यो, गाडी चल्न थालेपछि त्यसैमा लैजान थाल्र्र्यौं, अब एम्बुलेन्स आयो, सजिलो हुने आशा छ”, नरबहादुर भन्नुहुन्छ, “गाउँपालिकाले सबै नागरिकको समस्या बुझेछ, स्वास्थ्य संस्था नभएको ठाउँमा स्वास्थ्य संस्था स्थापना गर्यो, एम्बुलेन्स पनि ल्यायो, थप व्यवस्थित पनि बनायो अब उपचारका लागि बाहिर जानुपर्ने भएन ।”
अघिल्लो आर्थिक वर्षमा एम्बुुलेन्स सेवा सञ्चालन गर्ने योजना बनाइएको र विभिन्न प्रक्रिया पूरा गरेर अहिले ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलक छन्त्याल जानकारी दिनुहुन्छ । तमानखोलावासीलाई सहज र सरल स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले रु १९ लाख लागतको लागतमा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उहाँको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर आफूहरुले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको र स्वास्थ्य संस्था गाउँ–गाउँमा संस्था स्थापनापछि एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी दिनुहुन्छ । आफूले अघिल्लो कार्यकालमा नागरिकलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था स्थापना गर्ने र एम्बुलेन्स सञ्चालन गर्ने योजना बनाएअनुसार अहिले एम्बुलेन्स ल्याइएको उहाँ बताउनुहुन्छ ।
“हाम्रो पहिलो प्राथमिकता नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु हो, नागरिकको जीवन रक्षा गर्नु हो, सोहीअनुसार हामीले अघिल्लो कार्यकालमा गाउँपालिकाको विभिन्न वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्यायौँ, गत वर्ष एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेका थियौँ, सोहीअनुसार अहिले पालिकामा एम्बुलेन्स आएको छ, अब यहाँका नागरिकले महँगो भाडा तिरेर गाडीमा बिरामीलाई अस्पताल पुर्याउने अवस्था अन्त्य भएको छ”, अध्यक्ष बुढामगर भन्नुहुन्छ ।
आम नागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको र अब कोही पनि नागरिक सामान्य उपचारका लागि घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।
गाउँपालिकाले वडा नम्बर ६ को नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेकोे र वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरिएको छ ।
पोखरा: एसईईमा ४ जीपीए ल्याएकी ममता जैसवाललाई लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले आर्थिक सहयोग गरेका छन् । पोखरा–३२ गगनगौंडामा रहेको सामुदायिक विद्यालय गोगन माविबाट ए...
पोखरा: विगत २१ वर्षदेखि लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित पोखाराको चिप्लेढुंगामा सञ्चालित निरमाया दोहोरी साँझका कलाकारहरुले मानवसेवा आश्रमलाई खाद्यान्नका समाग्री सहयोग गरेको छ । ...
काठमाडौं: नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो । नेपालले सन् २०२३ मा पनि यो कपक...