सर्वोच्चमा सुरक्षा व्यवस्था कडा, जबरा प्रवेश गर्ने गेटमा तालाबन्दी
काठमाडाैं | मंसिर २३, २०७९
काठमाडौं: सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सर्वोच्च अदालत भित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । सर्वोच्च अदालत अगाडिको सडक रामशाहपथमा सुरक्षाकर्मीका तीनवटा ट्रकहरु छन् ।
सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ । आगन्तकुहरुलाई प्रहरीले उनीहरुको परिचय पत्र हेरेर र भित्र जानुको कारणबारे सोधेर मात्रै प्रवेश गर्न दिएको छ ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटमा भने ताला लगाएर बन्द गरिएको छ । नेपाल बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ । त्यहाँ पनि सुरक्षाकर्मीहरु तैनाथ छन् ।
कानुन व्यवसायीहरु नेपाल बारको भवनतर्फबाट सर्वोच्च परिसरमा आइसकेका छन् । उनीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न नदिने र आज पनि धर्नामा बस्ने जनाएका छन् ।
सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । त्यसविरुद्ध कानुन व्यवसायीहरुले सोही दिन सर्वोच्च परिसरमा धर्ना दिएका थिए ।
सर्वोच्चको पूर्ण बैठकले पत्र नै लेखेर कुन संवैधानिक र कानुनी आधारमा महाअभियोग निष्प्रभावी भएको हो भनेर संसदका महासचिवसँग जवाफ मागेको छ । सर्वोच्च अदालतको पत्रको जवाफ शुक्रबार नै संघीय संसदका महासचिव गौतमले दिनुपर्नेछ । जबराको निलम्बन फुकुवा हुने भनी संघीय संसदका महासचिव गौतमले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ समेत हुँदैछ ।
म्याग्दी: म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...
काठमाडौं: बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...
काठमाडौं: आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

