प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त
विराटनगर | पुस २४, २०७९
                                
                            विराटनगर: नेकपा (एमाले)का स्थायी समितिका सदस्य हिक्मतकुमार कार्की प्रदेश नम्बर १ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार अपरान्ह नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।
संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई भन्दा बढी दलको समर्थनसहित दाबी प्रस्तुत गर्नुभएका नेता कार्कीलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। 
नेता कार्की सत्ता साझेदार दलका नेता नेकपा (माओवादी केन्द्र)का नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीका सांसद निर्मला लिम्बूसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेर नयाँ सरकार गठन गर्न दाबी प्रस्तुत गर्नुभएको थियो। 
नेता कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जनता समाजवादी पार्टीको एक सहित ६० सिटको दाबी प्रस्तुत भएको थियो। 
प्रदेश संरचना निर्माण भएपछि प्रदेश १ मा कार्की चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएको हो। मुख्यमन्त्री नियुक्तसँगै उहाँले सबै पक्षलाई मिलाएर लैजाने बताउनुभएको छ। उहाँले भन्नुभयो ‘गठबन्धनमा आवद्ध र अन्य दलहरुसँग छलफल गरी सबैलाई मिलाएर लैजाने मेरो प्रयत्न हुन्छ।’
विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म 
२०२१ साल असोज ११ मा झापा गौरादह ३ मा जन्मनु भएका नेता कार्की झापा गौरादहको जनता माध्यमिक विद्यालयमा अध्ययनरत हुँदै विद्यार्थी राजनीतिमा आवद्ध हुनुभएको थियो। 
विद्यालयमै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा संगठित भएर राजनीति आरम्भ गर्नुभएका नेता कार्की धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आईएल अध्ययन गर्ने पहिलो ब्याचका विद्यार्थीसमेत हुनुहुन्छ। उहाँले कानुनमा स्नातकोत्तर गर्नुभएको छ। 
एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका  ५८ वर्षे मुख्यमन्त्री कार्कीले लामो समय अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को राजनीति गर्दै २०५५ सालमा केन्द्रीय अध्यक्ष समेत बन्नुभयो। 
नेपाल ल क्याम्पसको स्ववियु सभापति हुँदै अखिल अध्यक्ष भएर विद्यार्थी राजनीतिबाट बिदा हुनु भएका उहाँ २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको थियो। उहाँ २०७१ सालदेखि २०७३ सालसम्म नेकपा एमाले मेची अञ्चल समन्वय कमिटिको इन्चार्जको जिम्मेवारीमा रहनुभयो।
 नेता कार्की झापा क्षेत्र नम्बर ५(१) बाट पहिलो पटक २०७४ सालमा प्रदेशसभा सदस्य पदमा निर्वाचित भएर प्रदेश १ को पहिलो मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको थियो।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...
                    
