लुम्बिनीले जित्यो नेपाल टी–२० लिगको उपाधि
काठमाडाैं | पुस २७, २०७९
काठमाडौं । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो ।
विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाए ।अर्का ओपनर गौरान्सु शर्मा ४ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल पहिलो बलमै आउट भए । हुसेन तलात ८ बलमा १३ रनमा रन आउट भए । पृथु बास्कोटाले २९ बल खेल्दै ३१ रन बनाए ।
बलिङमा लुम्बिनीका सागर ढकाल र हर्मित सिंहले समान २–२ विकेट लिए । विपुल शर्मा र किशोर महतोले १ –१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९।२ ओभरमा अलआउट भएको थियो । सुरुवात राम्रो गरे पनि मध्यक्रममा ब्याटरहरुको प्रदर्शन अपेक्षाअनुसारको नहुँदा लुम्बिनी १३३ रनको कमजोर योगफलमा सिमित भयो ।
ओपनरहरु हरमित सिंह र लाहिरु मिलन्थाले ६४ रनको साझेदारी गर्दै सानदार सुरुवात गरेका थिए । हरमित ३० र लाहिरु ४१ रनमा आउट भए । कप्तान दिपेन्द्र सिंह ऐरी २० र इशान पाण्डले १८ रन बनाउँदा बाँकी कसैले पनि दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
६ जना बलर प्रयोग गरेको विराटनगरका सबैले विकेट लिए । नन्दन यादव र राज ननन्ले २–२ विकेट लिए । हुसेन तलात, केन जोसेफ, सूर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए । सूर्यले ४ ओभर बलिङ गर्दा मात्र ८ रन दिए ।
प्रतियोगितामा १२ खेलमा २ हार ब्यहोरेको लुम्बिनी च्याम्पियन बन्यो । लिगमा १० मध्ये ८ जितसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरी फाइनलमा पुगेको हो ।
उपविजेता बनेको विराटनगरले भने इलिमिनेटरमा काठमाडौं नाइट्सलाई हराएर दोस्रो क्वालिफायरमा जनकपुरलाई पराजित गरी फाइनलमा पुगेको हो ।
उपाधिसँगै लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएको छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछ ।
लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउनेछन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

