बजार नपाउँदा मौलिक सामग्री लोप हुँदै
म्याग्दी | जेठ १९, २०७९
गलेश्वर: म्याग्दीका ग्रामीण भेगमा पुख्र्यौदेखि चलनमा आएका मौलिक सामग्री हिजोआज हराउँदै गएका छन् । बजारमा प्लास्टिकका रेडिमेड सामग्री आउन थालेपछि गाउँमा बनाइएका डाला, नाङ्ला, थुन्से, भकारीजस्ता मौलिक सामग्रीको बिक्री हुन छोडेको छ ।
गाउँघरमासमेत यस्ता सामग्रीको प्रयोग गर्ने चलन घट्दै गएपछि रैथाने सीप र मौलिकता समेत हराउँदै जान थालेको स्थानीय जेठोपुस्ताका व्यक्तिले बताएका छन् । “केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा डालो, नाङ्लोको प्रयोग निकै गरिन्थ्यो तर मौलिकतासँग जोडिएका यस्ता सामग्री अहिले प्रयोग कम हुँदै गएका छन्” बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।
वर्षौँदेखि डालो, नाङ्लो बुन्ने र बिक्री गरी परिवार पाल्दै आएका पनि समस्यामा पर्न थालेका छन् । जेठो पुस्ताको सीप र ग्रामीण सौन्दर्यसमेत हराउँदै जान थालेकोमा स्थानीय बुढापाका चिन्तित देखिन्छन् । प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले एकातिर वातावरणीय सन्तुलन समेत खल्बलिएको छ, भने अर्कोतर्फ रैथाने सीप पनि प्रयोगमा आउन नसक्दा सीपभएका स्थानीय पनि बेरोजगार बनेका मालिका गाउँपालिका– ३ का भीमबहादुर बुढाले बताउनुभयो । बुढाले वर्षौँदेखि डालो, नाङ्लो बुन्ने र बिक्री गरी घरपरिवार चलाउँदै आउनुभएको थियो । अहिले आफूले बनाएका सामग्रीले बजार पाउन छाडेपछि घरपरिवार चलाउन समस्या हुन थालेको उहाँले दुःखेसो पोख्नुभयो ।
केही वर्ष अगाडिसम्म निकै बिक्री हुने डाला, नाङ्ला, थुन्से र भकारीलगायतका सामग्रीको पछिल्लो समयमा लोकप्रियता कम हुँदै गएको उहाँको भनाइ छ । बजारमा नयाँ–नयाँ प्रविधिका नापतौलका सामग्रीहरु आएपछि आफूले बुनेका डाला, नाङ्लाले बजार पाउन छाडेको बुढा बताउनुहुन्छ ।
परम्परागत नापतौल गर्ने तुलोको रुपमा प्रयोग हुने मानापाथि आजकल किलो र लिटरमा परिवर्तन भएको उहाँको भनाइ छ । “दुई दशक अघिसम्म गाउँघरमा मात्रै होइन सहर बजारमा पनि अन्नपात किन्दा मानापाथीबाट तौलिने गर्थे, अहिले त सबै किलोको हिसाब हुन थाल्यो, यसले गर्दा पनि होला गाउँ घरमा उत्पादन हुने परम्परागत मानापाथिको प्रयोग हराउँदै गए” बेनी नगरपालिका ३ भकिम्लीका तीर्थबहादुर विकले भन्नुभयो, “अब त गाउँघरमा नाङला, डाला बुन्ने मानिस पाइन छोडे, डोकोको प्रयोग हुँदै आएको छ, यही हिसाबले जाने हो भने त केही वर्षपछि गाउँमा डोको बुन्ने मानिस पनि पाइने छैनन् ।”
पछिल्लो समय एकातिर ग्रामीण मौलिक सामग्रीको प्रयोग कम हुँदै गएको छ भने अर्कोतर्फ कच्चापदार्थ समेत अभाव हुन थालेको उहाँहरुको गुनासो छ । “आजभोलि त पहिले–पहिलेको जस्तो चोया पनि प्रशस्त पाइँदैन, वनजंगल धाउनुपर्छ, चोया हुने हो भने दिनमा ५/७ वटा डोका बुन्न सकिन्छ” विकले भन्नुभयो ।
आफ्नो बाउ बाजेले बुनेको देखेर आफूले पनि सिकेको भन्दै अहिलेका युवा पुस्ताले यसप्रति चासो नदेखाएको उहाँले बताउनुभयो । आफूहरुको पुस्तापछि परम्परागत रुपमा बुनिँदै आएका डालो, नाङ्लो लोप हुनसक्ने उहाँको भनाइ छ । अहिले पनि गाउँका थोरै मान्छेले मात्रै बुन्ने गरेका छन् ।
“हामी पछिका मान्छेहरुले त अब यस्ता बुन्ने काम गर्दैनन् होला, अहिले कसैले पनि सिक्ने चासो देखाउँदैनन्, हामीले त सानैदेखि डोको, नाङ्लो, पाथी, डालो बुन्न सिक्ने गरेका थियौँ” विकले भन्नुभयो ।
केही वर्षअघिसम्म फुर्सदको समयमा डालो, नाङ्ला बुनेर विक्री गरेपनि वर्षमा डेढ दुई लाख आम्दानी गर्ने गरेको सम्झदै विकले अहिले ती सबै कुराहरु सपनाजस्तै भएको सुनाउनुभयो
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

