विद्युत् ट्रिपिङले बढायो लागत

काठमाडाैं | चैत २७, २०७८

विद्युत् ट्रिपिङले बढायो लागत

भैरहवा, चैत २७ गते । भैरहवा–बुटवल औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरूमा विद्युत् ट्रिपिङका कारण उत्पादन लागत बढ्न थालेको छ । उत्पादन लागत बढ्दा बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको उद्योगीले बताएका छन् ।
भैरहवा–बुटवल कोरिडोरमा रहेका उद्योगमा केही दिनयता अनियमित विद्युत् कटौती, भोल्टेज घटबढ हुने र ट्रिपिङ हुने गरेको छ । लामो समयसम्म कोभिड–१९ को महामारीबाट थलिएर भर्खरै उठ्दै गरेका बेला फेरि विद्युत् ट्रिपिङको समस्या भोग्नुपरेको गुनासो उद्योगीको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बढ्दो गर्मी, उच्च माग र भारतबाट आउने विद्युत् अनियमित भएका कारण ट्रिपिङको समस्या आएको हो । विद्युत् ट्रिपिङका कारण उद्योगमा औद्योगिक मेसिनरी सामान बिग्रिनुका साथै उत्पादन लागतसमेत बढेकाले बजारमा प्रतिस्पर्धा गर्न अप्ठ्यारो परेको उद्योगीको गुनासो छ ।

एक सातादेखि विद्युत् ट्रिपिङ बढेको भैरहवा–बुटवल औद्योगिक कोरिडोरमा रहेको एसआर फुड्सका सञ्चालक सुमन भुसालले बताउनुभयो । “पटकपटक बिजुली जाँदा उत्पादन लागत बढेको छ, जसका कारण बजारमा प्रतिष्पर्धा गर्न कठिन भएको छ,” उहाँले भन्नुभयो ।
विद्युत् ट्रिपिङले जेनेरेटर चलाएर उद्योग सञ्चालन गर्नुपर्ने र डिजलको मूल्य आकाशिएका कारण औद्योगिक उत्पादन लागत बढेको भुसालले बताउनुभयो ।

उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालय र भैरहवा वितरण केन्द्रमा बिजुलीको समस्या समाधानका विषयमा छलफलसमेत गरेका छन् । गोयन्का स्टिल्सका सञ्चालक अमित गोयन्काले दैनिक रूपमा १७–१८ पटकसम्म हुने बिजुलीको ट्रिपिङका कारण उद्योग नै बन्द गर्ने अवस्था आउन लागेको बताउनुभयो । उहाँले ट्रिपिङ समस्या समाधानका लागि उद्योगले एक दिन उद्योग बन्द गराएर भए पनि लोड मिलान गर्न प्राधिकरणलाई आग्रह गर्नुभयो ।

घराना फुड्सका प्रबन्ध निर्देशक विकासकुमार गोयन्काले विद्युत् ट्रिपिङले निकै समस्या पारेको बताउनुभयो । ट्रिपिङको समयमा पाइपलाइनमा रहेको कच्चा पदार्थ खेर जाने गरेको बताउँदै उहाँले स्वदेशी उद्योगसँग पनि प्रतिस्पर्धा गर्न नसकिएको गुनासो गर्नुभयो । एक पटक ट्रिपिङ हुँदा कच्चा पदार्थका साथै १५ मिनेट मेसिनले काम गर्न खर्चिनुपर्ने गोयन्काको भनाइ छ ।

लुम्बिनी प्रदेश सभाले दाङलाई प्रदेशको स्थायी राजधानी बनाउने घोषणा गर्दा रुपन्देहीलाई औद्योगिक राजधानी बनाउने भनेर घोषणा गरिएको थियो । उद्योगीले बिजुलीकै कारण औद्योगिक राजधानी बनाउने लक्ष्यमा बाधा पुगेको उद्योगीको भनाइ छ ।
ट्रिपिङका कारण भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी औद्योगिक कोरिडोर तथा भैरहवा आसपास क्षेत्रका उद्योग समस्यामा परेका छन् । त्यसमा पनि सबैभन्दा बढी ३३ केभीए फिडरअन्तर्गतका १७ वटा उद्योग मारमा परेका छन् ।

यस क्षेत्रमा पुरानो, न्यु वान र न्यु टु गरी तीनबटा ३३ केभीए फिडर रहेका छन् । प्राधिकरणको भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले मागअनुसारको आपूर्ति नहुँदा ओभरलोड हुने र ड्रप कन्ट्रोलमा समस्या आएको बताउनुभयो । एकातिर माग बढेर आपूर्ति कम भएको छ भने अर्कोतर्फ आयातित बिजुली कम भोल्टको भइदिँदा ट्रिपिङ, भोल्टेज अपडाउनजस्ता समस्या देखिएको बताउँदै उद्योगीहरुसँग समन्वय गरेर समस्या समाधान गरिने उहाँले बताउनुभयो । उहाँले उद्योगी सबैले एकैपटक उद्योग चलाउँदा समस्या आएको भन्दै केही दिनभित्रमा सम्पूर्ण समस्या समाधान गर्ने बताउनुभयो ।

 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्