राष्ट्रपति भण्डारी जलजलाको बराह ताल आउनुहुने
म्याग्दी | फागुन १०, २०७९
म्याग्दी: राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधवार) पर्वतको जलजला गाउँपालिका स्थित धार्मिक पर्यटकीय बराह तालमा आउने हुनुभएको छ । बराह तालमा निर्माण गरिएको कुल मन्दिरको समुद्घाटन तथा धार्मिक एवम् पौराणिक महत्त्वको क्षेत्र हम्पाल कालञ्जरको अवलोकन गर्न राष्ट्रपति भण्डारी आउन लाग्नुभएको हो ।
बिहान ११ बजे राष्ट्रपति भण्डारी हेलिकप्टरबाट जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बराह तालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले बताउनुभयो । राष्ट्रपतिको भ्रमणलाई लिएर जिल्ला स्थित सुरक्षा अधिकारी,राष्ट्रपति कार्यालयबाट खटिएको कर्मचारी सहितको सुरक्षा टोली,जनप्रतिनिधि र स्थानीयवासी सहितको समन्वय बैठक गरी व्यवस्थापकीय र सुरक्षालाई प्रभावकारी बनाइएको अध्यक्ष आचार्यले बताउनुभयो ।
राष्ट्रपति भण्डारीले बुधवार जलजलाको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालाञ्जर हम्पाल क्षेत्र अवलोकन र वडा नम्बर २ पूर्ण गाउँ स्थित आदि बराह तालमा निर्मित कुल मन्दिरको उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ । साथै राष्ट्रपतिबाट समुन्द्र सतहदेखि तीन हजार मिटर उचाइमा रहेको पौराणिक–धार्मिक रूपले महत्त्वपूर्ण पर्यटकीय स्थल कालञ्जर हम्पाल(जलजला) क्षेत्र को हेलिकप्टरबाट अवलोकन गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।
पर्यटकीय सम्भावनायुक्त क्षेत्र बराह ताल र हम्पाल कालञ्जर क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा ठुलो टेवा पुग्नुका साथै देश तथा विदेशमा परिचित गराउने र आगामी दिनमा महत्त्व बढेर जाने अपेक्षा गरिएको पालिका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो ।
बराह तालको बिच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जल बराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छन् । मन्दिर पुन निर्माणको मुख्य दाता रविन्द्र जंग लामिछानेले २५ लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ । मन्दिर निर्माण गर्न करिब डेढ करोड रुपियाँ खर्च भएको जनाइएको छ ।
समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरी हिमाल रहेका छन् । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह ताल प्राकृतिक रूपमा सुन्दर छ । यहाँबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ ।
जनै पूर्णिमामा लाग्ने विशेष मेलामा पर्वत सहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट पनि श्रद्धालु भक्तजन आउने स्थानीय युवा नवीन जिसीले बताउनुभयो । मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाइएको जलजला २ का वडाध्यक्ष प्रकाश जिसीले बताउनुभयो । राष्ट्रपतिको आगमनले यस क्षेत्रको महत्त्व बढेर जाने विश्वास गरिएको उहाँले बताउनुभयो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

