स्ववियु निर्वाचनः आठ क्याम्पसमा अवरुद्ध, दुई क्याम्पसमा निर्विरोध
काठमाडाैं | फागुन २९, २०७९

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।
देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन भए पनि आठ आङ्गिक क्याम्पसमा भर्ना विवादले निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको जानकारी दिनुभयो।
उहाँका अनुसार उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका हुन् ।
उहाँले अवरुद्ध भएको क्याम्पसमा निर्वाचन प्रक्रिया थाल्न क्याम्पस प्रमुखलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । “हामी यसपटक सबै क्याम्पसमा निर्वाचन गराउने छौँ”, उहाँले भन्नुभयो, “रोकिएको क्याम्पसमा विद्यार्थी सङ्गठनसँग वार्ता गरेर प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छौँ ।”
आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस, जनप्रशासन क्याम्पसमा रोकिएको निर्वाचन प्रक्रिया आजै सुरु गर्ने उहाँले जानकारी दिनुभयो । हिजो उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको हो ।
दुई क्याम्पसमा निर्विरोध
खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले दुई क्याम्पसमा निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा बहुमुखी क्याम्पस गोरखा र धनकुटा बहुमुखी क्याम्पस धनकुटामा स्ववियुको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । यसपटकको स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट हुँदैछ ।
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो ।
आजै उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...