संविधानले तोकेको जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गरेको छ: प्रधानसेनापति शर्मा
पाेखरा | चैत ९, २०७९
photo RSS
पोखरा: प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले संविधानले आफ्नो तोकेको जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गरेको बताएका छन् ।
नेपाली सेना भूपू सम्मेलन– २०७९ को आज पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली सेनाले संविधानले तोकेको आफ्नो जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गरेको बताउँदै अनर्गल र झुठा प्रचारबाट टाढा रहन पनि आग्रह गरे ।
नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार हुने गरेको भन्दै आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले नै निर्धारण गर्ने हो भन्नुभएको हो । उहाँले भन्नुभयो, “यो कुनै आइएनजिओ÷एनजिओमा बसेर आफैँ स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले भन्ने होइन, नेपाल सरकारको काम हो ।”
देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका साथै विकास निर्माण, विश्व शान्ति स्थापना एवं देशमा आवश्यक परेका अन्य काममा लाग्नु नै सेनाले आफ्नो जिम्मेवारी ठानेको प्रधानसेनापति शर्माले बताउनुभयो ।
प्रधानसेनापति शर्माले लामो सैनिक जीवनका दौरान सिकेको र स्मरण गरेको अनुशासन, मूल्य, मान्यता तथा ज्ञान, सीपहरूलाई आफ्नो बसोबास गरेको समाजमा प्रयोग गर्दै सदैव जनताको सेवामा लाग्न भूपू सैनिकहरूलाई आग्रह गर्नुभयो ।
पूर्वसैनिक परिवारलाई सहयोग र स्वरोजगार गर्ने उद्देश्यले स्थापना भएको सैनिक कल्याणकारी कोषको अधिकतम उपयोग गरी आयमूलक स्वरोजगारमार्फत जीवनस्तर उकास्ने लक्ष्य लिइएको प्रधानसेनापति शर्माले बताउनुभयो ।
सैनिक कल्याणकारी कोषमा हाल रु ७३ अर्ब, १३ करोड रकम रहेको र १० लाख हिताधिकारीलाई सो रकमको ब्याजबाट विभिन्न सहुलियत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा ज्येष्ठ भूपू सैनिक ९२ वर्षीय गोमानसिंह कार्की र ज्येष्ठ एकल महिला ८९ वर्षीया मषिकलता थापा क्षेत्रीलाई सम्मान गरिएको थियो । यसैगरी लघु उद्यम व्यवसायीहरुलाई सम्मान तथा पुरस्कार वितरण, उद्यमी व्यवसायीहरूलाई महिला उद्यमशीलता कर्जाको चेक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा भूपू सैनिकहरूबाट मार्चपास, जिल्लागतरूपमा भूपू सैनिकहरू तथा एकल महिलाहरूको मार्चपास, स्थान विशेषका झाँकीहरूको प्रदर्शन, खुकुरी ड्रिल, तेक्वान्दो, पिटी तथा मार्चपास र विभिन्न संस्कृतिहरूको प्रदर्शनी गरिएको थियो ।
पोखरा: गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित ३ महिनाको (३९० कार्यघण्टा) विभिन्न सीपमूलक तालिम कार्यक्रमहरूको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । साम...
पोखरा: पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनलमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका–३ नदिप...
म्याग्दी: म्याग्दीमा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ। गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ। अनुकूल मौसम, रोग...

