विप्लवले कब्जा गरेको जग्गा फिर्ता भएन
म्याग्दी | बैशाख १, २०८०

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी बजारको केन्द्रमा रहेको जग्गा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सात वर्षदेखि कब्जा गरेको छ ।
बेनी बजार क्षेत्रमा रहेको १४१९ कित्ता नम्बरको चार आना जग्गा उक्त पार्टीले कब्जा गरी आफ्ना कार्यकर्तालाई प्रयोगका लागि दिएको छ ।
बजारको केन्द्रमै रहेको उक्त जग्गा वर्षौंदेखि कब्जा हुँदा पनि नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालय निरीह बनेका छन् । नगरपालिकाले जग्गा आफ्नो मातहतमा ल्याउन नसकेर निरीह बनेको नगरवासीको भनाइ छ ।
डेढ दशकअघि तत्कालीन खाद्य संस्थानको जग्गा बेनी नगरपालिका–२ खबरका प्रदीप सापकोटाले खरिद गर्नुभएको थियो । सापकोटाले खरिद गरेको उक्त जग्गा जिल्लास्थित राजनीतिक दलहरूले सार्वजनिक हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन गरेका थिए । आन्दोलनका कारण सापकोटाले आफ्नो जग्गामध्येबाट चार आना जग्ग्गा नगरपालिकालाई २०७३ सालमा पास गरेर दिनुभएको थियो । तत्कालीन नेकपा (माओवादी पार्टी) शान्ति प्रक्रियामा आएसँगै उक्त खाद्य संस्थानको भवन र जमिन प्रयोग गरेर पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो । अहिले सापकोटाको नाममा रहेको जग्गामा रहेको पुरानो भवनमा नेकपाको पार्टी कार्यालय सञ्चालनमा छ ।
नगरपालिकाले उक्त जग्गाका विषयमा सहजीकरण गरिदिन प्रशासनलाई औपचारिक रूपमा पत्राचार नगरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो । उक्त जग्गाका विषयमा नगरपालिका, जग्गाधनी सापकोटा र नेकपा बसेर समझदारी गर्न सके समस्या समाधान हुने उहाँले बताउनुभयो । प्रजिअ पौडेलले भन्नुभयो, “सार्वजनिक जग्गा कसैले कब्जा गर्न मिल्दैन । समस्याको समाधान गर्न नगरपालिकाले पहल गर्नुपर्दछ । नेकपाले जग्गावाला सापकोटासँग तत्कालीन समयमा गरेको समझदारी पालना गराउने उद्देश्यले उक्त जग्गा नछाडेको बुझेको छु । जग्गा दिने, लिने र नेकपा पक्ष बसेर छलफल गरेर विषय टुङ्गोमा पुग्ने देखिन्छ ।”
उक्त जग्गालाई नगरपालिकाको मातहतमा ल्याउन कोसिस गरे पनि आफ्नो कार्यकालमा सफल नभएको वडा नं. ७ का निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । अहिले उक्त जग्गा भाडामा प्रयोग गर्ने गरी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीलाई दिइएको छ । २०७६ मङ्सिर १७ गते बसेको बेनी नगर कार्यपालिकाको बैठकको भाडामा प्रयोग गर्नेगरी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीलाई दिने निर्णय गरेको थियो ।
दस वर्षका लागि वार्षिक १० हजार भाडा तिर्ने गरी मिति २०७६ पुस ३ गते सम्झौता भएको थियो । पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले वार्षिक रूपमा भाडा भुक्तानी गर्दै आए पनि नगरपालिकाले जग्गा कब्जामुक्त गराउन नसकेका कारण उपभोग गर्न नपाएको बताउनुभयो ।
अध्यक्ष पौडेलले भन्नुभयो, “शान्तिपूर्ण राजनीतिमा आएको पार्टीले वर्षौंदेखि सरकारी जग्गा कब्जा गर्नु र नगरपालिकाले समस्या समाधान गर्न नसक्नु लाजमर्दो विषय हो ।”
नगरप्रमुख सुरत केसीले जग्गालाई नगरको मातहत ल्याउन नेकपासँग आवश्यक पहल थालेको र कुराकानी सकारात्मक दिशातर्फ बढेकाले चाँडै निष्कर्षमा पुग्ने आशा व्यक्त गर्नुभयो ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...