काठमाडौं: धारापानी र खुदी सबस्टेसन निर्माणपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना कार्यालयले जनाएको छ । आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ भने लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन अन्तिम चरणमा पुगेको हो । दुवै स्थानका सबस्टेसन निर्माण निर्धारित समयमा सम्पन्न भएमा लमजुङ र मनाङको विद्युत् आपूर्ति सहज हुनुका साथै भरपर्दो र गुणस्तरीय सेवा प्रवाह हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ । खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी अन्तिम चरणको काम भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ । धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायत सिभिल संरचनाको निर्माण तीव्र गतिमा भइरहेको छ । धारापानी र खुदी सबस्टेसनमा क्रमशः एक सय ३० एमभिए र एक सय ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहने छन् । दुवै सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका आवश्यक व्यवस्था गरिएको छ । निर्माण सम्पन्न भई सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति सुरु भएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने जनाइएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमनमार्फत सबस्टेसन तथा प्रसारण लाइन निर्माणको प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायत विषयमा आयोजना व्यवस्थापन, निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी जनशक्ति थपेर प्रसारण लाइन तथा सबस्टेसन तोकिएको समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले धारापानी क्षेत्रका स्थानीयसँग छलफल गरी सबस्टेसन तथा प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गर्न अनुरोध गर्नुभयो । “मस्र्याङ्दी करिडोर प्रसारण लाइनमा जोड्ने गरी सम्झौता गरिएका जलविद्युत् आयोजनाको निर्माण सुरु भइसकेको छ, त्यसैले यो लाइन जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नुपर्ने छ, समयतालिका, कामको गुणस्तरलगायतलाई विशेष ध्यान दिएर निर्माणलाई तीव्रता दिनुपर्ने छ”, घिसिङले भन्नुभयो । भौगोलिक विकटतालाई चिर्दै मनाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको भन्दै उहाँले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको समस्या रहेकाले यसलाई सुधार्न निर्धारित समयमा नै प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सबस्टेसन निर्माणस्थल वरपरका स्थानीय बासिन्दाले राखेका जायज माग पूरा गर्न आयोजना सधैँ तयार रहेको बताउँदै कार्यकारी निर्देशक घिसिङले पर्यटकीयस्थल मनाङको विद्युत् आपूर्ति सुधारका लागि योजनाबद्ध रूपमा निर्माण कम्पनीले काम अघि बढाइसकेको उल्लेख गर्नुभयो । उहाँका अनुसार मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने उहाँले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत चितवनको भरतपुरबाट मनाङको धारापानीसम्मको एक सय १४ किलोमिटर डबल सर्किट प्रसारण लाइनलाई तीन चरणमा विभाजन गरी निर्माण अगाडि बढाइएको छ । पहिलो चरणअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६८ किमी प्रसारण लाइन निर्माणाधीन छ । यसखण्डमा पर्ने एक सय ९९ टावरमध्ये एक सय २५ वटाको जग हालिएको छ भने ६५ टावर निर्माण गरिएका छन् । बाँकी स्थानमा काम भइरहेको आयोजना कार्यालयले जनाएको छ । दोस्रो चरणअन्तर्गत लमजुङको उदीपुर र चितवनको भरतपुरमा २२० केभीका सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । तेस्रो चरणअन्तर्गत धारापानी–खुदी–उदीपुर ४६ किमी प्रसारण लाइन र धारापानी तथा खुदी सबस्टेसन निर्माणाधीन छन् । खुदी–उदीपुरअन्तर्गत करिब १६ किमी खण्डमा १७ टावरको जग हालिएको छ भने आठ वटा निर्माण गरिएको छ । उक्त खण्डअन्तर्गत बेसीँसहर नगरपालिका–८ का केही स्थानीयले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नुपर्ने वा लाइन नसार्ने भए मार्गधिकारमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने माग राखी दुई वर्षदेखि निर्माण अवरोध गर्दै आएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई खुदी–उदीपुर खण्डमा देखिएको समस्या समाधान गर्न आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गर्नुभयो । “दुई वर्षदेखि काममा अवरोध भइरहेकाले स्थानीयका जायज माग पूरा गर्ने प्रधिकरणको प्रतिबद्धतासहित स्थानीयसँग छलफल गरी सहजीकरण गरेर सहयोग गरिदिन अनुरोध गर्दछौँ”, उहाँले प्रजिअ गुरुङसँग भन्नुभयो । निर्माणमा देखिएको अवरोध हटाउन स्थानीय प्रशासनकातर्फबाट सहजीकरण तथा समन्वय भइरहेको उल्लेख गर्दै प्रजिअ गुरुङले राष्ट्रिय प्राथमिकता प्राप्त प्रसारण लाइन निर्माणमा स्थानीयले पनि आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय सरकार तथा प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक ९इआइबी० को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको समग्र अनुमानित लागत करिब रु १६ अर्ब रहेको प्राधिकरणले जनाएको छ ।
काठमाडौं: नेपालका तराई क्षेत्रमा महत्वका साथमा मनाइने छठपर्व अमेरिकामा पनि मनाइएको छ । नेपालीको बाहुल्यता रहेको अमेरिकाका न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायोलगायत राज्यमा स्थानीय मन्दिरमा गएर नेपालीले छठपर्व मनाइएका हुन् । मेरिल्याण्डको जर्मनटाउनमा रहेको नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टरले संयोजन गरेको छठ पर्वमा बिहीबार साँझ सन्ध्याकालमा अर्घ दिने नेपालीको बाक्लो उपस्थिति थियो । आयोजकका अनुसार स्थानीय समय अनुसार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिनेछ । आयोजक मोहन यादवले विभिन्न स्थानमा छठको लागि ठाउँ चयन गर्नु परेकामा विगत केही वर्षदेखि नेपालीले स्थापना गरेको मन्दिरमा मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले बिहीबार व्रर्तालुले तीन दिनसम्म उपवास बसेर छठी माताको पूजा गरेका भन्दै यसमा युवा पुस्तालाई पनि सहभागी गराइएको जानकारी दिनुभयो । यादवले भन्नुभयो, “हामीहरूले यो प्रवासी भूमिमा हाम्रो सनातन धर्मको मूल्य मान्यता र यसको वैज्ञानिक कारणसहित दोस्रो पुस्तालाई छठ मनाउन उत्प्रेरित गरिरहेका छौँ । अमेरिकामा नेपाली रहेको स्थानमा कतिपयले आफ्नै घरमा, समूहमा मिलेर तथा मन्दिरमा गएर छठ पर्व मनाउने गरेका छन् ।”
पर्सा: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताउनुभएको छ । परिवारका सदस्यसहित आज वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले तराई–मधेसको छठ पर्व सहभागी हुने रहर पहिलादेखि भए पनि यसपाली पूरा भयो भन्नुभयो । “तराई–मधेसको छठ पर्व हेर्ने पहिलादेखि नै मन थियो । हिजो साँझ सूर्य अस्ताउँदो समयमा जनकपुरको छठ हेर्ने अवसर मिल्यो । आज उदाउँदो सूर्यका अवसरमा वीरगञ्जको छठ पर्व हेर्न पाइयो”, उहाँले भन्नुभयो, “यहाँको छठ पर्व निकै व्यवस्थित र भव्य लाग्यो । एकदमै आनन्दको अनुभूति भयो ।” महामन्त्री थापाले काठमाडौँको भन्दा तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताउनुभयो । “काठमाडौँको कमलपोखरीमा हामी आफैँ संलग्न भएर छठ पूजा गर्न थालेको त १२–१३ वर्ष भइसक्यो । छठपर्वसँग जोडिएको विधि र उत्साहका विषयमा त जानकार नै छु”, उहाँले भन्नुभयो, “विगतमा हामीले सञ्चालन गरेकाले पनि थाहा नै छ ।” महामन्त्री थापाले जनकपुर र वीरगञ्जमा छठ पर्वको आआफ्नै विशेषता रहेको पनि बताउनुभयो । “सुरुआती चरणमा वीरगञ्जको घडीअर्वा पोखरीको गेटभित्र छिर्नेबित्तिकै त सजावट देखेर आनन्द लाग्यो । यहाँ त अनुमान गरेकोभन्दा पनि धेरै आकर्षक बनाइएको रैछ”, उहाँले भन्नुभयो, “काठमाडौँको कमलपोखरीमा पनि सजावट हुने गरे पनि त्यहाँकोभन्दा भव्य र सभ्य रहेको पाए ।”
काठमाडौँः गीतकार दिनेश अधिकारी, सङ्गीतकार अशोक राई (भारत) र गायक अर्जुन रसाइली (अमेरिका)लाई यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार प्रदान गरिएको छ । गायक एवं सङ्गीतकार पेमा लामाको प्रमुख आतिथ्यमा दार्जिलिङको मिरिकमा गत मङ्गलबार आयोजित कार्यक्रममा अम्बर गुरुङ सालिक संरक्षण समितिले गीतकार अधिकारीलाई रु ५१ हजार नगद र ताम्रपत्रसहितको पुरस्कार प्रदान गरेको हो । त्यस अवसरमा गीतसङ्गीत र गायन क्षेत्रका आवद्ध व्यक्ति एवं कलाकारले स्वर्गीय गुरुङका गीत प्रस्तुत गरेर उहाँप्रति सम्मान प्रकट गर्नुभएको थियो । समितिका अध्यक्ष शीला लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल, भारत, भुटान र अमेरिकाका साहित्य साधकहरूको उपस्थिति थियो ।
प्युठान: प्युठानमा मोटरसाइकलको ठक्करबाट ३ महिनाको शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको ३ महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । उहाँका अनुसार शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए । घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्युठान नगरपालिका–१ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रसुवा: लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोज उद्धारबाट फेलापरेको हो । समुद्र सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको लिरूङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोंचमा वरिष्ठ क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेलापारेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । ती पर्यटकको शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ । उनीसँगै गएका चेकरिपब्लिकका राहदानी नं ४६१५६३३०९१ राहदानी नं ५० का मारेक होलेसेक भने गत हप्ता सम्पर्कमा आएका थिए । ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत पठाएको पर्यटकलाई हिमालमा पठाउँदा न्यूनतम मापदण्ड पूरा गरेरनगरेको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
धनगढी: धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ । स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्नुुहुन्छ । पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ । “घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ”, माधवीले भन्नुभयो, “डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ ।” केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ । डिपो अगाडि नै रहेको धनगढी–अत्तरिया सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन् । नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक ‘कम्प्लेक्स’ सञ्चालनमा छन् । नगर क्षेत्रमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि आफूले पटकपटक डिपोका कारण स्थानीयले निर्धक्क भएर बस्न नपाएको र बस्ती नभएको क्षेत्रमा डिपो सार्न पटकपटक आग्रह गरेको धर्मसिंह सम्झनुहुन्छ । चटकपुरकै स्थानीय भीम मल्ल घनावस्तीबीचको डिपोका कारण वरपरका बासिन्दा सधैँ चिन्तित रहेका सुनाउनुहुन्छ । “कतिबेला आगलागी हुन्छ, सधैँ चिन्तित छौँ”, उहाँ भन्नुहुन्छ, “आगलागीको त्रासका कारण स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन् ।” केही वर्षअघि डिपो नजिकै रहेको एक फर्निचरमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल मुख्य बजारको बीचमा रहेको डिपोका कारण सुरक्षा चुनौती थपेको बताउनुहुन्छ । “डिपो नजिकै अस्पताल र विद्यालय सञ्चालनमा छन्, कसैगरी ‘डिजास्टर’ भयोभने आसपास मात्र नभई सिङ्गो नगर नै प्रभावित हुनसक्छ”, प्रमुख हमालले रासससँग भन्नुभयो, “लाखौँ लिटर इन्धन भण्डारण गरिएको छ, दुर्घटनाको जोखिम छ, बस्ती नभएका क्षेत्रमा डिपो सार्नुपर्छ ।” डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटकपटक आग्रह गरिएको बताउँदै उहाँले निगमका तर्फबाट पनि डिपो सार्ने प्रतिबद्धता प्राप्त भएको जानकारी दिनुभयो । पुनर्वासमा डिपो सार्ने योजना, कार्यान्वयनमा ढिलाइ निगमले डिपो स्थानान्तरण गर्ने योजना तर्जुमा गरे पनि जग्गा प्राप्तिमा ढिलासुस्ती भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव गरे पनि त्यो कार्यान्वयन भएको छैन । निगमका उपनिर्देशक प्रदीप यादव पनि डिपो स्थानान्तरणको प्रयास भइरहेको बताउनुहुन्छ । “घना बस्तीका बीचमा डिपो छ, यसलाई स्थानान्तरण गर्नैपर्छ”, उपनिर्देशक यादवले भन्नुभयो । सुरक्षा मापदण्डअनुसारका संरचना निर्माणका लागि अहिले डिपो भएको जग्गा अपुग छ । निगमले यसअघि समिति गठन गरी डिपो स्थानान्तरणका लागि जग्गा खोजेको थियो । धनगढीस्थित डिपोमा संरचना निर्माण गर्न जग्गा अपर्याप्त भएकाले दैनिक कार्य सञ्चालन प्रभावित भएको निगमका प्राविधिक जगदीशप्रसाद जैसी बताउनुहुन्छ । हाल डिपो रहेको जग्गा अपर्याप्त भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा ‘लोडअनलोड’ गर्न पनि समस्या भएको उहाँले बताउनुभयो । हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्ने सरकारको योजना छ । भण्डारण क्षमता बढाउन निगमलाई चटकपुरस्थित डिपो स्थानान्तरण गर्नुपर्ने बाध्यता छ । निगमको धनगढीस्थित डिपो कुल एक बिघा आठ कठ्ठामा फैलिएको छ । उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुईवटा ‘भर्टिकल ट्याङ्क’ र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि सात सय ६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन् । उक्त मौज्दातबाट सुदूरपश्चिम प्रदेशका लागि सात दिनको मात्र माग धान्नेछ । धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।
खोटाङ: सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो । मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिनुभयो । “रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन् । चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ । तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ”, उहाँले भन्नुभयो, “गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेतनले मृग भनेर गोली हानेको तर, दृष्टि भ्रम भएर साथीलाई लागेर मृत्यु भएको स्वीकार गरिसकेका छन् ।” फेदीको पिपिङस्थित गाउँ नजिकैको जङ्गलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको र चेतन भाग्दै गरेको फेला पारिएको आफन्तले बताएका छन् । घटनालगत्तै आफूले प्रहार गरेको बन्दुक छाडेर भागेका चेतनलाई फोन सम्पर्क गरेर घरमा बोलाएपछि प्रहरीको जिम्मा लगाइएको साम्पाङले बताउनुभयो । घटनाका बारेमा स्थानीयले प्रहरी चौकी खार्ताम्छालाई जानकारी दिएपछि खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले बिहीबार घटनास्थलको सर्जमिन मुचुल्का गरेर मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको जनाइएको छ । घटनास्थलबाट एउटा प्रहार भएको खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको निरीक्षक कार्कीले बताउनुभयो । उहाँका अनुसार चेतनले प्रहरीसमक्ष आफूबाट गल्ती भएको स्वीकारेका छन् । जिल्लाका स्थानीयले मनोरञ्जनका साथै मासु र हाडखोर बिक्रीका लागि बाघ, भालु, मृग, थार, घोरल, खरायो, कालिजलगायत जङ्गली जनावर तथा पक्षी सिकार गर्दै आएका छन् । सिकारीले लोपोन्मुख जनावर रेडपाण्डा, सालक र हुचिल जीवितै नियन्त्रणमा लिएर बिक्रीसमेत गर्ने गरेको स्थानीयले बताएका छन् । चोरी सिकार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही नगर्दा पछिल्लो समय लोपोन्मुख जीवजन्तु जिल्लामा हराउन थालेको स्थानीयले बताएका छन् ।
सुनसरी: सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भएनभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो । टोलीले सीमास्तम्भ एक सय ८२ देखि दुई सय ११ नम्बरसम्म निरीक्षण गरेको उहाँले बताउनुभयो ।