काठमाडौँः नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ गौतम तथा यहाँस्थित इजरायली दूतावासका कार्यवाहक राजदूत जनान बेबरले स्वागत गर्नुभयो । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
गलकोट: कुनै समय एकादशीको दिन बागलुङस्थित निरयघाटको कालीगण्डकी किनारामा लाग्ने हरिबोधनी एकादशी मेला २४ वर्षयता भने सञ्चालनमा छैन । त्यसताका उक्त मेलामा हजारौँको भिड लाग्ने गर्दथ्यो । किनमेल तथा भेटघाटका लागिसमेत उक्त मेला प्रसिद्ध थियो । हजारौँले नागरिकले डोलामा तोरण बोकेर मेलामा लगिने र मेलाको अवसरमा कालीगण्डकीमा तार्ने परम्परा धेरैको आकर्षणको केन्द्र थियो तर शान्ति सुरक्षा र द्वन्द्वका कारण २४ वर्षयता मेला हुनसकेको छैन । पछिल्लो सयम भने यहाँका स्थानीय अगुवाहरूले मेला आयोजना गर्न चासो देखाएका छन् । त्यसका लागि हरिबोधनी एकादशी मेला संरक्षण समिति गठन गरिएको छ । उक्त समितिका अध्यक्ष रमेश राजभण्डारीले औपचारिक रूपमा करिब २४ वर्षसम्म रोकिएको मेला यस वर्षबाट सुनः सञ्चालन गर्ने गरी तयारी सुरु भएको जानकारी दिनुभयो । उहाँले यही कात्तिक २७ गते कालीगण्डकी किनार निरयघाटमा हरिबोधनी एकादशी मेला लाग्ने बताउनुभयो । “विसं २०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न सकेको छैन । एकादशीको दिन कालीगण्डकीमा नुहाउन जाने परम्परा रहे पनि संस्थागत रूपमा मेला सञ्चालन हुन नसकेपछि पहिलेकै अवस्थामा मेला आयोजना गर्ने हाम्रो योजना छ । त्यसका लागि बुधबारबाटै कालीगण्डीमा तान्ने तोरण बाट्न सुरु गरिएको छ, उक्त दिन व्यक्तिगत रूपमा समेत तोरण लिएर आउन आग्रह गरिएको छ । बाबियो र कुशबाट बनाइने तोरण एक सय ८ मिटरभन्दा बढी लामो हुनेछ । तोरणलाई वैदिक रूपमा निर्माण गरिनेछ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो । विसं २०५७ सालअघि एक युवाको छुरा प्रहार गरी हत्या प्रयाससमेत भएपछि रातिमा लाग्ने मेला क्रमशः हराउँदै गएको जानकारहरू बताउँछन् । रातभर जाग्राम बसेर भजनकृतन गर्ने र बिहान कालीगण्डकीमा स्नान गर्ने, तोरण तान्ने र पूजाअर्चना गर्ने, किनमेल गर्ने हरीबोधनी एकादशी मेलालाई २४ वर्षपछि आयोजना गर्न विभिन्न उपसमितिसमेत गठन गरिएका छन् । आरती वाचक तथा गायक रमेश खड्काले पुर्खौँदेखि लाग्दै आएको मेला नेपालकै ठूलो मेलामध्येको एक रहे पनि पछिल्लो समय हराउँदै गएकामा सबै जनाको सल्लाहबमोजिम पुनः सुरु गर्न लागिएको सुनाउनुभयो । मेलाको अवसरमा कालीगण्डकी पुजन, कालीगण्डकी सरसफाइ र दीपसमेत प्रज्वलन गरिने छ । यही २६ गते तोरणलाई बागलुङ बजारमा शोभायात्रासहित परिक्रमा गर्ने र २७ गते कालीगण्डकी नदी किनार निरयघाटमा तोरणसहित प्रस्थान गरिने योजना छ । मेला, धार्मिक पूजा, तोरण तान्नेलगायतका क्रियाकलाप सञ्चालन गर्न यस वर्षबाट सुरुआत गरिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । आफ्नो धर्म, संस्कृति र परम्परालाई आगामी दिनमा पर्यटनसँग जोड्नका लागि मेलालाई २४ वर्षपछि निरन्तरता दिन थालिएको उहाँले बताउनुभयो । मेलाका लागि तोरण संयोजक, भजन संयोजक, आर्थिक व्यवस्थापन संयोजक, दिप संकलन, गङ्गा पूजन र सरसफाइलगायत कार्यक्रमका लागि उपसमितिसमेत गठन गरिएका छन् ।
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकामा राष्ट्रपति ट्रम्पलाई बधाई दिनुहुँदै कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रमको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गर्नुभएको छ ।
काठमान्डौँः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र संस्कृतिको संरक्षणबाट सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको छ । छठ पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले विविधतायुक्त नेपाली समाजका प्रत्येक समुदायका मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । सबै समुदायका संस्कृति तथा चाडपर्वले एकापसमा सामाजिक सद्भाव, सांस्कृतिक सद्भाव साथै राष्ट्रिय एकता मजबुत बनाउन भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सन्देशमा उहाँले समुदायस्तरबाट आफ्ना भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षणले देशलाई मौलिक सभ्यता र संस्कृतिमा सम्पन्न बनाउने विचार व्यक्त गर्नुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सामाजिक विशेषताले देशको पहिचान र परम्परालाई विश्वमा चिनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वबाट समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । अध्यक्ष दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा तराई–मधेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराईबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ, “छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको सञ्चार गर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।” “छठपर्व प्रकृति र मानवबीच व्यावहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित छ”, सन्देशमा भनिएको छ, “यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ ।”
हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
काठमाडौँः धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७५ दशमलव ५१ विन्दुमा आएको छ । आजको कारोबारमा सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अङ्कले घटेर चार सय ७७ दशमलव १८ मा सीमित भएको छ । त्यस्तै, कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक उकालो लाग्दा ८ उपसमूहको ओरालो लागेको छ । कुल १ करोड १६ लाख ८ सय ६९ कित्ता शेयर रु ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८ सय ५१ मा कारोबार भएको छ । नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैङ्कको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, बलेफी हाइड्रोपावर ९ दशमलव ९८, पिपुल्स हाइड्रोपावर कम्पनीको ९ दशमलव १२, समृद्धि फाइनान्स कम्पनीको ८ दशमलव ७९ र राप्ती हाइड्रोका लगानीकर्ताले ७ दशमलव ८० प्रतिशतले कमाएका छन् । आजको कारोबारमा नेपाल फाइनान्स ८ दशमलव २६ प्रतिशतले, कुथेली बुथेली हाइड्रोपावर ८ दशमलव २३, समाज लघुवित्त वित्तीय संस्था ६ दशमवल २१, युनाइटेड मोदी हाइड्रोपावर ४ दशमवल शून्य ३ र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ५७ प्रतिशतले घटेको छ ।
धुलिखेलः अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका–१२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आउनुभएको छ । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ती गरेको एक महिना पनि बढी भयो । राज्यले बासस्थान बनाइदिने भन्ने कुराले मनमा आशा पालेर बसेका बाढी, पहिरोपीडितको एक महिना त्यतिकै बितेको छ । अहिलेसम्म उचित व्यवस्थापनसमेत नगरेको उहाँको गुनासो छ । ५ रोपनी जग्गामा लहलह झुलेको धान सबै सखाप हुनेगरी नजिकै रहेको घरबारसँगै बाढीले बगाएपछि अहिले उहाँहरु छिमेकीको घरमा रात बिताउँदै आउनुभएको छ । “बाढीले ल्याएर थुपारेको ढुङ्गा, दाउरा र काठ पन्छाएर भए पनि अन्न फलाउने खेत त बनाउनै प¥यो”, यत्रतत्र छरिएका काठ र दाउरा टिप्दै उहाँले भन्नुभयो, “आफ्नो भएको जग्गा नै यही हो, अरू विकल्प केही छैन ।” खाद्यान्न चाहिँ अलिअलि पाइरहेको र केही दिनअगाडि जस्तापाता बाँडेकाले लिएर राखेको उहाँले सुनाउनुभयो । सरकारले छिट्टै बास बस्ने ठाउँको उचित व्यवस्थापन गरिदिए बाढीले बगाएर खोलासँगै धमिलिएको मन केही भए पनि सफा हुने उहाँ बताउनुहुन्छ । बाढीले ढलाएको घर हेर्दै खोलाको बगरमाथि त्रिपालमा सुकाएको धान सफा गर्दै रहनुभएका माथिल्लो रोशी बजारका मनकुमारी तामाङले खाने र बस्ने स्थानको सुनिश्चितताको आशामा दिन बितिरहेको बताउनुभयो । पनौतीमा कोठा लिएर बस्दै आउनुभएका उहाँहरु बस्ने घर नै नभएपछि त्यहीको नजिक रहेको जस्ताको सानो टहरामा धान भित्र्याउने सुरसारमा छन् । “सधैँ त कोठा लिएर बस्न सकिँदैन”, उहाँले भन्नुभयो, “अब कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको छ ।” खेती किसानी गरेर जीविको चलाउँदै आउनुभएका परिवारको आम्दानीका रुपमा रहेको फर्निचरसमेत घरसँगै बाढीले बगाएपछि एक महिनादेखि कष्टकर जीवन बिताइरहेको उहाँले सुनाउनुभयो । अर्का स्थानीय बासिन्दा मैना तामाङले घर ढलेको पीरसँगै खल्लो गरी बिताएको दसैँ, तिहार सकिए पनि घरबार र खाने कमाउने कुनै टुङ्गो नभएको सुनाउनुभयो । सोही ठाउँका नवराज गुरुङ गाउँका युवाहरुलाई ज्यालामा लगाएर बाढीले थुपारेको गेग्रानहरु पन्छाउन थाल्नुभएको छ । यसअघि खोलाको बाढी र काम गर्ने मान्छे पनि नपाएको अवस्था रहेकामा विस्तारै पुरिएको बासस्थान व्यवस्थित गर्न थालेको उहाँले बताउनुभयो । दुईतले घर बगाएपछि बिचल्लीमा रहेको शङ्कर तामाङ छिमेकीको घरमा बस्दै आउनुभएको छ । बस्ने घर बनाउन पैसा नै नभएको र खाने अन्नपात सङ्घसंस्थाले वितरण गरेकाबाट चलाइरहेको उहाँ राज्यले सुरक्षित बस्ने ठाउँको व्यवस्थापन गरिदिने आशामा रहेको बताउनुहुन्छ । सोही गाउँका रवीन्द्र नगरकोटीले बाढी, पहिरो गएको एक महिना बितिसक्दा पनि के कस्तो समस्या छ र खाने बस्नेको अवस्था के कस्तो छ भनेर स्थानीय सरकार एकपटक पनि सोध्न नआएको गुनासो गर्नुभयो । सबै चीज बगाएपछि बालबालिकाको पढ्ने ठाउँ र बस्ने स्थानको सुनिश्चित नहुँदा समस्यामा परेको उहाँको भनाइ छ । स्थानीय राजेन्द्र केसीले व्यक्तिको घरबारी र खेत सबै बगाएपछि बिचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन गर्न अपरिहार्य रहेको बताउनुभयो । “विपद्पछि उद्धार र राहतसँगै बाटोघाटो त बन्यो, तर उहाँहरुलाई त्यसले खासै छोएको छैन”, उहाँले भन्नुभयो, “सुरक्षित तरिकाले बस्ने आवास छैन, कमाई खाने ठाउँ छैन । राज्यले यहीको भूगोललाई छनोट गरेर एकीकृत रुपमा बस्ने आवासको व्यवस्थापन गर्न आवश्यक छ । बस्ने घर नै नहुँदा बालेको बिजुली, पु¥याएको मोटरबाटो र खानेपानी कसरी उपभोग गर्ने ” पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी यहाँका नागरिकका लागि बगरमा बाढीको र डाँडापाखामा पहिरोको डर भएकाले व्यवस्थित एवं एकीकृत बस्ती विकासतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुहुन्छ । बासस्थानका लागि उचित ठाउँको अभाव भएको कारण तिहारपछि जनप्रतिनिधिको बैठक बसेर आवास व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने उहाँले बताउनुभयो । यस पटकको बाढीपहिरोबाट यस वडामा पाँचजनाको मृत्यु भएको र तीन सयभन्दा बढी घरमा पूर्ण क्षति भएको छ । त्यस्तै, ७० भन्दा बढी गाईभैँसी, पाँच हजारभन्दा बढी कुखुरा र दुई सयभन्दा बढी खसीबोका पुरिएको छ । अझै विवरणहरु सङ्कलन भइरहेको र सडक, विद्युत्, खानेपानीलगायत कामलाई व्यवस्थित गर्दै अगाडि बढिरहेको वडा कार्यालयले जनाएको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पहिलो आवश्यकता आवास भएकाले त्यसको आवश्यक व्यवस्थापन गर्ने कार्यमा जोड दिइएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बस्ने ठाउँको व्यवस्थापन गर्न सकेको अवस्थामा बस्तुभाउ पालेर पुनः जीवनयापनलाई बिस्तारै पुरानै लयमा फर्काउन सकिनेछ ।” उहाँले यस खालको विपद् फेरि पनि सहन नपरोस् भन्नका लागि पनि राज्यले सुरक्षित रुपमा बसोबासको व्यवस्थापन गर्न सङ्घीय सरकारबाट नै सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तत्कालका लागि खाद्यान्नलगायत आवश्यक व्यवस्थापनका लागि विभिन्न सङ्घसंस्थाहरुले वितरण गर्ने नगद सहयोगमा वितरणमा ५ जनासम्मको परिवार भएकालाई रु १५ हजार र त्यसभन्दा बढी भएको परिवारलाई रु २० हजारका दरले एकरुपता हुने गरेर वितरण गर्ने निर्णय भएको जनाएको छ । बासस्थान निर्माण गर्ने विषयमा जोखिमयुक्त बस्तीको भौगोलिक अवस्था अध्ययनका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ । विपद्पछिको १ महिनामा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), गृहमन्त्री रमेश लेखक, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतले बाढीपहिरो प्रभावित क्षेत्र पनौती–१२ रोशी बजार क्षेत्र कलाँती भूमिडाँडाको स्थलगत निरीक्षण गरिसक्नुभएको छ ।
नवलपरासीः पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ स्थित धनगडवामा रु १८ करोड लागतमा अधारभूत अस्पताल निर्माण थालिएको छ । सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले सरावलमा १५ शय्याको अस्पताल निर्माण गर्न रु १८ करोड बजेट विनियोजन गरेसँगै निर्माण थालिएको हो । सवरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीका अनुसार यसअघि पालिकामा अधारभूत अस्पताल नहुँदा स्थानीय उपचारका लागि परासी, भैरहवा, बुटवललगायत स्थानमा जानुपर्ने बाध्यता थियो । यो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा उपचार पाउने उहाँले बताउनुभयो। अधारभूत अस्पतालमा पाउने सबै सेवा, सुविधा यस अस्पतालमा बिरामीलाई उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । सरावल–५ का स्थानीयले बिघा ६ कठ्ठा २ धुर जग्गा अधारभूत अस्पताल निर्माणका लागि दान दिएकाले अस्पताल निर्माणमा जग्गाको समस्या नरहेको वडा नं ५ का वडाध्यक्ष लक्ष्मणप्रसाद चौधरीले बताउनुुभयो । अस्पताल निर्माणका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेकाले यथाशीघ्र निर्माण अघि बढाइने उहाँको भनाइ छ । यहाँ अधारभूत अस्पताल नहुँदा उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताउँदै अस्पताल सञ्चालनमा आएपछि सहज उपचार पाइने स्थानीय दिनेश सहानीले विश्वास व्यक्त गर्नुभयो ।