काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तोसुकै अवस्थामा पनि कर्मशील हुन प्रेरित गर्नुभएको उल्लेख गर्नुभएको छ । महाकवि देवकोटाको ११६ औँ जन्मजयन्तिको अवसरमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले देवकोटालाई नेपालीले सधैँ सम्झिरहने बताउनुभएको छ । महाकविप्रति सम्मान प्रकट गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीले लेख्नुभएको छ, “आज देवकोटा जयन्ती, हार्दिक श्रद्धा, हार्दिक सम्मान महाकवि देवकोटा, तपाईँलाई सधैँ सधैँ सम्झिरहने छौँ ।” महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी कविता हरफले जस्तोसुकै अवस्थामा पनि कर्मशील भइरहन प्रेरित गर्छ भन्दै देवकोटाका कविताका केही अंश प्रधानमन्त्री ओलीले यसरी उदृत गर्नुभएको छः विलासको लालस दास छैन म । मीठो छ मेरो रसिलो परिश्रम ।। प्रयासको पत्थरमा नदीसरि । बहन्छु हाँसी म तरङ्गले भरी ।। म पोखरी झैँ उही ठाउँ जम्दिनँ । छ शुद्ध यो जीवनको सबै कण ।। महाकवि देवकोटाको जन्म विसं १०६६ कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
काठमाडौं: नरक चतुर्दशी पनि भनिने कार्तिक कृष्ण चतुर्दशीका दिन आज बिहान स्नान, दानका साथ दीपदान गरी मनाइएको छ । सूर्योदय अगावै स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काएर बगाइएको छ । यसलाई नरक स्नान गर्ने र नरक बगाउने पनि भनिन्छ । आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रका जानकार रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आजै कुकुरको पनि पूजा गरिँदै छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज अपराह्न ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी सुरु हुनेछ । लक्ष्मीपूजा औँसीमा गर्नुपर्छ ।
पर्सा: पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट मनवाबाट बुधबार खटिएका प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त टोलीले गाँजाका बोट फँडानी गरे पनि त्यहाँ गाँजाखेती गर्नेको सुइँको पाउन सकेको छैन । पर्सा प्रहरीले पछिल्लो साता दिनहुँजसो गाँजाको खेती भएका ठाउँमा फँडानी गर्दै आएको छ । पर्सा प्रहरीले गाँजाखेती भएका स्थानको फँडानी गरे पनि त्यसको खेतीमा संलग्नलाई भने बुधबारसम्म पक्राउ गरेको छैन । पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले सार्वजनिक वन तथा सार्वजनिक जग्गामा गाँजाखेती भएकाले पनि गाँजाखेतीमा संलग्न हुनेलाई पक्राउ गर्न नसकिएको दाबी गर्नुभयो । “पर्साका विभिन्न ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा गाँजाखेती भएका स्थानको पहिचान गरेर फँडानी गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म पेसेवर रूपमा गाँजाखेती गर्ने को भने पहिचान हुन सकेको छैन ।” यद्यपि पर्सा जङ्गलमा जोडिएका ग्रामीण भेगमा भने व्यावसायिक रुपमा नै गाँजाको खेती हुने गरेको छ । प्रहरीले ग्रामीण भेगमा जङ्गल नजिकका बस्तीमा गाँजाका केही बोट नष्ट गरे पनि स्थानीयको पहिचान गरेर कारबाही प्रक्रिया अघि नबढ्दा गाँजाखेती मौलाएको छ । पर्सा प्रहरीले कात्तिक १० गते पनि पर्सागढी नगरपालिका वडा नम्बर १ झबराहमा पनि दुई बिघा क्षेत्रफलमा लगाइएको करिब १५ हजार गाँजाका बोट फँडानी गरेको छ । गत कात्तिक ७ गते पनि पर्सा प्रहरीले पटेवासुगौली गाउँपालिका वडा नम्बर २ थरकटीमा एक बिघा क्षेत्रफलमा लगाइएको करिब सात हजार गाँजा नष्ट गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गाँजा विभिन्न मञ्चमा छलफल र बहसको विषय भए पनि हालसम्म कानुन बनिनसकेकाले यसको कारोबार र खेती अवैध भएकाले प्रचलित कानुनको पालना गराउनु आफ्नो कर्तव्य भएको बताउनुभयो ।
काठमाडौं: यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दीयोको स्थानमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दीयोमा तेल राखेर बत्ति बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् गौतमको भनाइ छ । आज साँझ युवतीले समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख छ । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि धर्मशास्त्रविद् गौतमले बताउनुभयो । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कात्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी गराउनुभयो ।
सङ्खुवासभा: मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको उहाँले बताउनुभयो । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरु पनि भारतीय नागरिक नै हुन् । उनीहरुको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं: नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ । नरक चतुर्दशी आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत रहेको आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।
ढोरपाटनः नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई म्याग्दीबाट जोड्न थालिएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि दरबाङ–मुना–मरेनीदेखि पातीहाल्ना हुँदै ढोरपाटन जलजला जोड्न थालिएको हो । बागलुङतर्फबाट एक दशकअगाडि नै ढोरपाटन जोडिए पनि म्याग्दीबाट अझै १० किलोमिटर ‘ट्र्याक’ खुलाउन बाँकी रहेको छ । विसं २०६७ मा दरबाङबाट सुरु भएको सडकको ट्र्याकले अझै पूर्णता पाएको छैन । सङ्घीय सरकारले उक्त सडकका लागि यस वर्ष पनि बजेट विनियोजन गरेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत सडकको काम सुरु हुन थालेको हो । उक्त सडकको ट्र्याक खोल्नका लागि सङ्घीय सरकारले यस वर्ष रु पाँच करोड विनियोजन गरेको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो । गत वर्ष पनि रु दुई करोड विनयोजन भएको हुँदा उक्त बजेटले पाँच किलोमिटर सडक खुलाएको उहाँको भनाइ छ । यस वर्ष ढोरपाटनसम्मै सडक पु¥याउनका लागि ठेक्का प्रक्रिया अगाडि बढेको अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गत वर्ष पनि त्यो सडकमा हामीहरुले काम गरेका थियौँ, यस वर्ष पनि बजेट आएको छ, भौगोलिक कठिनाइका कारण अहिलेसम्म ढोरपाटन जोड्न सकिएको छैन, चालु आर्थिक वर्षको बजेटले पनि भ्याउँछ कि भ्याउँदैन, ठेक्का प्रक्रिया अगाडि बढेको छ, पोहोर साल झन्डै पाँच किलोमिटर सडकको ट्र्याक खुलाएका थियौँ, यस वर्ष पनि अब केही दिनमा काम सुरु गर्छौं ।” धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले धवलागिरि–२ मरेनीदेखि पातीहाल्नेसम्मको १० किलोमिटर ट्र्याक खुलेपछि ढोरपाटन जोडिने बताउनुभयो । म्याग्दी सदरमुकाम बेनी बजारदेखि पातीहाल्नासम्म ८६ किलोमिटर दूरी रहेकामा हालसम्म करिब ७६ किलोमिटर सडक खुलेको उहाँको भनाइ छ । यो सडक ‘पर्यटकीय सडक’ हुने निश्चित रहेको भन्दै काठमाडौँ, पोखरा लगायतका सहरदेखि ढोरपाटन पुग्ने पर्यटकलाई छोटो पर्ने उपाध्यक्ष पुन बताउनुहुन्छ । “यो सडक निर्माण गर्न थालेको धेरै समय भयो, सडक खुलेर ढोरपाटनदेखि यातायात सञ्चालन हुन थाले भने म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका नागरिकलाई यातायातमा सहज हुने नै भयो”, पुनले भन्नुभयो, “त्यसका साथै म्याग्दी हुँदै ढोरपाटन पुग्ने पर्यटकलाई पनि धेरै छिटो हुने थियो, सडक सञ्चालनमा आयो भने ढोरपाटनमा ठूलो सङ्ख्यामा पर्यटक बढ्ने सम्भावना छ ।”
काठमाडौँः कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि हिन्दू धर्मावलम्बीको दोस्रो चाड यमपञ्चक (तिहार)सुरु हुने भए पनि यसवर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म तिहार मनाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठामीठा खानेकुरा दिई खुसी पार्ने परम्परा रहेको उहाँले बताउनुभयो । लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलन समेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससहित तिहार पर्वअन्तर्गत आज कागको पूजा गर्ने परम्परा गाँसिएको प्रा अधिकारीले बताउनुभयो । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यमदीप दान दिने क्रम भने आज साँझदेखि सुरु हुन्छ । यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ । मङ्गलबारदेखि कार्तिक कृष्ण त्रयोदशी सुरु भएकाले आज बिहान पहिलो प्रहरमा कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर सम्मान गरिएको हो । यमपञ्चकको पहिलो दिन काग तिहार पर्व मनाइने गरिन्छ । यसवर्ष तिथिको घटबढका कारण मङ्गलबार यमपञ्चक सुरु भएकामा आज काग तिहार पर्व मनाइएको हो ।
पाँचथरः फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहाँका दुई छोरासहित १३ परिवार गाउँलेको खेतबारी बगाएको छ । गत असोज १२ गते बिहानको पहिरोले तिम्सिनाको परिवारसहित यी सबै घरपरिवार फालेलुङ गाउँपालिकाको सेवा केन्द्र थकेपुङमा बसेर हालै भर्खरै घर फर्किएका छन् । असोज ९ गतेदेखि नै वर्षा हुनाका साथै हेंवा खोलामा आएको बाढीले असोज १२ गते बिहान गाउँ नै हल्लाइरहेको थियो । सोही विहान जमिन धाँजा फाट्न थालेका कारण गाउँलेहरु सचेत भए । बिहान गाईवस्तु सार्नलाई किलो काट्दै गर्दा गाउँपालिकाबाट नेपाल प्रहरी आएर घुर्चिएर लगेकाले आफू बचेको तिम्सिना बताउनुहुन्छ । “गाउँले आएर गाईवस्तु सारिदिएछन्”, उहाँले भन्नुभयो । वर्षा र पहिरो त रोकियो तर, गाउँमा बस्न सक्ने अवस्था भने छैन् । लुङपिन्ताङमा सबैतिर धाँजा फाटेका छन् । कसैको घर लच्किएका छन्, कसैको खेतबारी । “एकछिन हिउँदभरि मात्रै हो, बर्खामा यहाँ बस्न सकिँदैन्”, सरकारले केही गरिदेओस् भन्ने आशा गर्दै तिम्सिनाले भन्नुभयो, “हेरौँ अब सरकारले के गर्छ रु यहाँ बस्न सक्ने अवस्था छैन । डर त लाग्छ नि, अन्यत्र सर्ने ठाउँ छैन ।” पूर्वी पहाडमा विसं २०२५ सालमा बाढीपहिरो आएको बूढापाका बताउँछन् । ७३ वर्षका तिम्सिनाले सो बाढीपहिरो प्रत्यक्ष देख्नुभयो । अहिले सडकको छेउमा रहेको घर नजिकैबाट उक्त पहिरो गएको तर अहिलेजस्तो धेरै क्षति नभएको तिम्सिनाको सम्झना छ । “मेरो पालि ९मतान० बगाएको थियो”, उहाँले भन्नुभयो, “यस पटक गाउँ केही नरहने गरी पहिरो झ¥यो ।” पहिरोले दिएको पीडा यति मात्रै छैन । तिम्सिना दम्पतीसँगै रहेका छोराका १० र ४ वर्षका बालबच्चा थिए । बूढेसकालमा बोलाउने र मन भुलाउने नातिनातिनी पहिरोपछि झापा झरेका छन् । “जाने कुरै थिएन । फेरि पहिरो आयो भने साना भागेर बचाउन कठिन हुने भएपछि बुहारीले झापा लिएर गइनँ”, तिम्सिनाले भन्नुभयो, “छोरो चाहिँ विदेशमा छ ।” सोही वडाको शीतलपाटीको अवस्था झनै भयाबह छ । हेंवा खोला नजिकैको यस गाउँमा १० परिवारको बसोबास छ । यहाँ यत्रतत्रमा पहिरो झरेको छ । सबैका घर लच्किएका छन् । कसैका भत्किएका छन् । पाक्न लागेको बालीनालीमा क्षतविक्षत भएको छ । घरमुनि सामुन्नेमा देखिने हेंवा खोलाले धेरै जमिन खण्डहर बनाएको छ । वर्षा रोकिएपछि गाउँ फर्किएका गाउँलेहरु अर्को बर्खामा कहाँ गएर ज्यान जोगाउने भन्ने पीरमा देखिन्छन् । यहाँकी नरमाया लिम्बूको घर र खेतबारी फरक–फरक ठाउँमा छन् । पहिरोले खेतबारी सबै बगाएपछि अब के खानेभन्ने पीरलो लिम्बूमाथि आइलागेको छ । श्रीमान्को निधनपछि आमाछोरा बस्दै आएका लिम्बूको पाक्न लागेको धानखेत पहिरोले बगाएको छ । “हामी त धेरै पीडित भयौँ, वडामा गएर निवेदन दिएका छौँ”, लिम्बूले भन्नुभयो, “केही त सहयोग पाइएला कि ।” फेदाङ्वा (झाँक्री)समेत रहनुभएका मानबहादुर केरुङको घरमा असोज १२ गतेअघि छोरीतर्फका एक नाति र एकजना भतिजा बस्दै आएका थिए । चारजना छोरीमात्रै भएका मानबहादुरका सबैजना छोरीहरु विवाह गरेर घर गएपछि भतिजा र नाति सहारा थिए । तर असोज १२ गते उहाँको घर वरिपरि पहिरो झरेपछि परिवार नै विस्थापित भई नजिकैको मच्छेबुङमा विद्यालयमा शरण लिएर बस्यो । वर्षा रोकिएपछि मानबहादुर र उहाँकी श्रीमती सुखमाया त घर फर्केर आउनुभयो, भतिजा र नाति पहिरोको डरले आ–आफ्नो घरतर्फ लागे । यहाँ (शीतलपाटीमा)पहिरोले समस्या हुने भयले भतिजो र नातिलाई आ–आफ्नो घर पठाएको मानबहादुर बताउनुहुन्छ । “हामी बूढाबूढी त अन्त जानलाई आर्थिक छैन । आर्थिक नभएपछि के गर्ने त रु वर्तिरपर्तिर भाग्यो, बस्यो”, निराश हुँदै ७० वर्षका मानबहादुरले भन्नुभयो, “त्यस्तै त होला नि अब । झापा झरौँ भने पैसा छैन ।” पहिरोका कारण घरमा बस्न नसकिने भएपछि यहाँका युवा शर्णकुमार केरुङको परिवार विस्थापित भई मच्छेबुङमा बस्न थालेको छ । “दश घरपरिवारमा कुनै न कुनै क्षति भएको छ । यहाँ बसेका सबैजना बाहिर निस्कने योजनामा छौँ”, छिमेकीहरुलाई मद्दत गर्दै आउनुभएका शर्णकुमारले भन्नुभयो, “बर्खायाममा बस्न नसकिने सबैको निष्कर्ष छ । कसैको पनि कमाई लगाएर खाने स्थिति छैन ।” उक्त गाउँलाई चारैपट्टिबाट पहिरोले घेरेको छ । कुनै पनि घरहरु सग्ला भेटिँदैनन् । यत्रतत्र पहिरो झरे पनि स्थानीयवासीको चलाखीले मानवीय क्षति भने हुन नपाएको शर्णकुमारको भनाइ छ । “खोला ठूलो आएपछि सबै गाउँले भेला भएर सबैतिर हे¥यौँ । पहिरो जान्छ भन्ने यकिन भएपछि समयमै सचेत हुँदा बाँच्न सफल भयौँ”, शर्णकुमारले भन्नुभयो । सो स्थानबाट दुई घर बसाइँ सरेर अन्यत्र गइसकेका छन्भने शर्णकुमार र उहाँका भाइ नजिकै मच्छेबुङमा बसेका छन् । भान्साघर बगाउनाका साथै घर पहिरोको जोखिममा भएपछि काइलो छोराको घरमा शरण लिएर बस्दै आएका खड्गबहादुर केरुङ उमेरले ६९ पुग्नुभयो । “एकछिन त जीउ जोगाउनु प¥यो होला नि । उता पनि पानी, यता पनि पानी । सबैतिर पहिरो झरेको छ”, खड्गबहादुरले थप्नुभयो, “भगवान्ले यस्तै गरिल्याए । कति दिन यसरी बाँच्नुपर्ने हो थाहा छैन ।”फालेलुङ गाउँपालिका–३ का लुङपिन्ताङ र शीतलपाटी जस्तै सोही गाउँपालिका–४ का चेम्फुवा, खुर्बुक, गैरीगाउँ, गुरुङटार र तालखर्क, वडा नं ५ का लुङ्मादिन, सिरिसे, लुदिन र फेङ्लिटार, वडा नं ६ का ठाडे, नाम्ले र खोलाघारी गाउँ पहिरोको अत्यधिक जोखिममा परेका छन् । फेङ्लिटारका एक दर्जनभन्दा बढी परिवार अझैसम्म विस्थापित भई अन्यत्रै बस्दै आएका छन् ।फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङका अनुसार सबै वडामा गरेर ७० घरमा पूर्ण क्षति भएको छभने दुई सय ९३ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोले फालेलुङमा भौतिक तथा कृषि क्षेत्रमा अत्यधिक क्षति भएको उहाँले बताउनुभयो । यहाँका अधिकांश विस्थापित घर फर्किन थालेका छन् । तर कतिपय विस्थापित भने यहाँबाट बसाइँ सर्न थालेका छन् । अध्यक्ष थाम्सुहाङले भन्नुभयो, “सबैलाई केही समय नआत्तिन आग्रह गर्दै आएको छु । तर गाउँ विरक्तलाग्दो भएपछि कसको मन अडिनु र रु” अत्यधिक प्रभावित बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ । “अहिलेसम्म विस्थापितहरुलाई सुरक्षित स्थानसम्म पु¥याउन हामी लागिपरेका थियौँ । अब दीर्घकालीन समाधानबारे सोच बनाउन थालेका छौँ”, अध्यक्ष थाम्सुहाङले भन्नुभयो, “गाउँपालिकाले मात्रै त के गर्न सकिएला र रु प्रदेश र सङ्घीय सरकारसँग सहयोग मागेर जोखिममा रहेका बस्तीलाई एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्नुको विकल्प छैन ।” यसका यसका लागि पालिकास्तरमा छलफल चलिरहेको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगू बताउनुहुन्छ । बाढीपहिरोका कारण यस गाउँपालिकामा कालोपत्रसहित ग्रामीण सडक क्षतविक्षत भएका छन् । खानेपानी, सिँचाइ, विद्युत्, विद्यालय, स्वास्थ्य संस्थालगायत संरचनामा समेत क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।