कैलालीः छठ पूजा सेवा समिति धनगढीले यहाँको मोहना नदी तटमा आयोजना गर्ने छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै गएका छन् । समितिले यहाँ १२ वर्षदेखि छठ पर्वका अवसरमा मोहना नदी किनारमा पूजा आयोजना गर्दै आएको छ । समितिका अध्यक्ष सन्तोष मण्डलले छठ पूजाका लागि मोहना नदी किनारमा पाँच वटा घर (टेन्ट)बनाएर सुरुका वर्षमा पर्व मनाउँदै आइएकामा विगत केही वर्षयता कम्तीमा ३ सयको हाराहारीमा टेन्ट लगाएर पूजाको कार्यक्रम गर्दै आइएको जानकारी दिनुभयो । समितिका अध्यक्ष मण्डलले छठ पूजाको तयारीका लागि सुरुका वर्षमा रु ३५ हजार मात्र खर्च हुने गरेको जनाउँदै उक्त खर्च बढेर अहिले रु २० लाखको हराहारीमा पुगेको उल्लेख गर्नुभयो । उहाँका अनुसार स्थानीय तह, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्था, सर्वसाधारणलगायतको सहयोगमा रकम सङ्कलन गरी समितिले प्रत्येक वर्ष पूजा सम्पन्न गर्दै आइरहेको छ । सुरुका वर्षमा पूजास्थलमा चहलपहल कम हुने गरेको, सुनसान हुने गरेकामा पछिल्ला केही वर्षयता करिब २ लाखको हाराहारीमा भक्तालु तथा दर्शनार्थी अवलोकन गर्न आउने गरेका अध्यक्ष मण्डलले जानकारी दिनुभयो । “पहिला यो पर्व पहिले विशेष गरी मिथिला समुदायले मात्र मनाउने चलन थियो । पछिल्लो समय अन्य समुदायको पनि उल्लेख्य सहभागिता हुन थालेको छ”, उहाँले भन्नुभयो, “निराहार व्रत बसेर मोहना छठी घाटमा तीन सयभन्दा बढी परिवार र अन्य समुदायका व्रतालु पूजा गर्न आउनुहुन्छ । २ हजारको हाराहरी भक्तजन नदीमा आई सूर्यनारायणलाई फूल तथा जल अर्पण गर्नुहुन्छ ।” छठ पर्व आउनुभन्दा १ महिना अघिदेखि मोहना नदी तटमा सरसफाइ गरी भव्य रुपमा पूजालाई सफल पार्ने तयारी गरिएको समितिका उपाध्यक्ष रोशनकुमार कर्णले बताउनुभयो । “विगतका वर्षमा यो पर्वतर्फ यहाँका अन्य समुदाय तथा स्थानीयको खासै ध्यान हुँदैन्थ्यो”, उहाँले भन्नुभयो, “पछिल्ला केही वर्षयता स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म यो पर्व मनाउन र अवलोकन गर्न आउनुहुन्छ ।” छठमा व्रतालुले परिवारका सदस्यको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट बच्न, सन्तान प्राप्तिलगायत कामना गरी मनाउने परम्परा रहेको समितिका सदस्य चन्दन जैसवालले बताउनुभयो । यसवर्ष छठको तयारीका लागि धनगढीको मोहना घाटमा २ सय ५० भन्दा बढी पूजाकक्ष निर्माण गरिएका छन् । ती निर्माण गरिएका पूजाकक्षमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी माला, पताकालगायत सामग्रीले सजाएर आकर्षक बनाइएको छ । भक्तजन तथा दर्शनार्थीका लागि आकर्षक प्रवेशद्धार निर्माण गरिएको छ । धनगढी बजारका मुख्य स्थानमा स्वागत गेट निर्माण गरिएका छन् । नेपालको पूर्वी भेगबाट ल्याइएका कालिगडले सूर्यको प्रतिमालगायत विभिन्न देवीदेवताको मूर्ति निर्माण गरी, रङ्गाउने र सजाउने काम गरेका छठ पूजा सेवा समितिका अध्यक्ष मण्डलले जानकारी दिनुभयो । मोहना नदी तटीय भागको माथितिर ठूलो पण्डाल निर्माण गरिएको छ । उक्त पण्डालमा अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । भजनकीर्तन, नाचगान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न देवीदेवताका सांस्कृतिक झाँकीलगायत कार्यक्रम पनि आयोजना गरिने छठ पूजा सेवा समितिले जनाएको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने कामनासहित श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
जनकपुरधामः सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले पौष्टिक तत्व भएको (भिटामिनयुक्त)चामल उत्पादन सुरु गरेको छ । धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिनुभयो । विश्व खाद्य कार्यक्रमअन्तर्गत जनकपुरस्थित सो कार्यालयको हाताभित्र फोटोफिकेसन प्लान्ट जडान भएको छ तथा त्यस प्लान्टबाट सो भिटामिनयुक्त चामल उत्पादन भइरहेको बताइएको छ । त्यहाँ चामलको गुणस्तर समेत जाँच गरिन्छ । २०८१ वैशाख महिनामा प्लान्ट जडान भएको हो । प्लान्ट जडान भएपछि यस कार्यालयबाट उत्पादन सुरु भएको सो पौष्टिक चामल कर्णाली प्रदेशमा वितरण गरिँदै आएको छ । पौष्टिक तत्व भएको चामल विश्व खाद्य सङ्गठनले भारतबाट खरिद गरी त्यसलाई उक्त प्लान्टमा पीठो बनाउने र प्रति १ सय केजी बोरा चामलमा १ केजी पीठो मिसाएर (पौष्टिकतत्व)भिटामिनयुक्त चामल उत्पादन गरी कर्णाली प्रदेशका कुपोषित जनतालाई वितरण गर्ने गरिएको प्रमुख साहले भन्नुभयो । विश्व खाद्य कार्यक्रमअन्तर्गत उक्त प्लान्ट खाद्य संस्थानको सुर्खेत, जनकपुर तथा काठमाडौँ कार्यालयमा जडान गरिएको छ । भारतको रासन वितरणमा यो चामल अनिवार्य त्यहाँको सरकारले गरेको छ । यसैबीच, सो कार्यालयले दसैँ दीपावली तथा छठ पर्वलाई लक्षित गरी सरकारीस्तरबाट सहुलियतदरमा चामल बिक्री सुरु गरेको जनाइएको छ । सो कार्यालयले अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु गरेको कार्यालय प्रमुख साहले बताउनुभयो । अरुवा सोना मन्सुली चामल प्रतिकेजी रु ६५ मा रु ५ छुट गरेर रु प्रतिकेजी ६० तथा बासमती चामल प्रतिकेजी रु एक सय २३ मा रु ५ छुट गरेर प्रतिकेजी रु १ सय १८ का दरले उक्त दुवै चामल सहुलियत मूल्यमा धमाधम बिक्री भइरहको बताइएको छ । सहुलियत मूल्यमा बिक्रीका लागि २ सय क्विन्टल चामल सो कार्यालयले कोटा निर्धारण गरेको छ । एकजनालाई ५० केजीसम्म सो सहुलियतको चामल बिक्री वितरण गरिने प्रावधान छ ।
काठमाडौँः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । साथै हिजो क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेकामा आजका लागि एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १७ पैसा कायम भएको छ । साथै आजका लागि अमेरिकी डलर एकको खरिददर १ सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १ सय ४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ७५ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर १ सय दुई रुपैयाँ ०१ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर ४ रुपैयाँ र बिक्रीदर ४ रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ७७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
जुम्लाः यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् । ८ वर्ष अघि सङ्घीय खानेपानी कार्यालय जुम्लाबाट तिला–९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना सुरु गरिएपनि पनि उपझोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगर्दा योजना सञ्चालन हुन सकेन । स्थानीय सरकार गठन भएपछि रु ५० लाखमा गाउँमा खानेपानी लिफ्टिङ योजना बनाइयो तर पानी आइपुगेन । यहाँका बासिन्दाले धित मरुन्जेल खानेपानी पिउन नपाएको पुस्तौँ भइसक्यो । विसं २०३५ मा निर्माण गरिएका चारवटा सार्वजनिक धारा छन् । यी धारामा दैनिक ४ घण्टाका दरले पानी आउँछ । गाउँमा रहेका दुई सय ६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन् । कहिलेकाहीँ धारामा पानी नआउँदा १ घण्टा पैदल दूरीमा रहेको तिला नदीको पानी पिउन बाध्य छन् । ४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदा पानीको सङ्कट झन् बढ्ने चिन्ता थपिएको छ । पानीको मूल विस्तारै सुक्न थालेको छ । मागअनुसार आपूर्ति नहुने भएकाले गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ । रारागाउँ वरपर पर्याप्त उर्वर जमिन छ । तर, सिँचाइ अभावले गाउँ मरुभूमिजस्तो देखिन्छ । गाउँको तलपट्टि कर्णाली राजमार्गको छेउबाट तिला नदी बगिरहे पनि खेतमा सिँचाइका लागि कुलो नभएको स्थानीयवासी मानसिंह रावतले गुनासो गर्नुभयो । “घरवरिपरिका करेसाबारी बाँझै छन, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । उत्पादन हुने उर्वर जमिन त छ, तर सुक्खा छ,” रावतले भन्नुभयो, “नदीको पानी खेर गइरहेको छ ।” १४ वर्षअघि खानेपानी आयोजना निर्माण थालिए पनि बिचमै रोकिएको थियो । उक्त आयोजना किन रोकियो, कति बजेट खर्च भयो भन्नेबारे स्थानीयले थाहै पाएनन् । सो आयोजनाका लागि ल्याइएको जिआई पाइपलगायतका केही निर्माण सामग्री तिला गाउँपालिका– ८, पुरुगाउँ खोलामा अहिले पनि लथालिङ्ग छन् । खानेपानीको समस्या समाधानका लागि हाल गाउँपालिकाले ४ करोडको योजना कार्यान्वयनमा ल्याएको छ । गत आर्थिक वर्ष २०८०ः८१ मा ६ करोडको ठेक्का आह्वान गरेकोमा चार करोडमा निर्माण कम्पनी शिवदेउती, सुलोचना, बजु जेभीसँग ३ वर्षभित्र खानेपानी गाउँमा पु¥याउने गरी सम्झौता भएको छ । पहिलो चरणको काम सुरु भएको गाउँपालिका प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले जानकारी दिनुभयो । गाउँमा ३ वर्षभित्र खानेपानी पुञ्याउने गरी सङ्घीय सरकारबाट प्राप्त विशेष अनुदान अन्तर्गत राष्ट्रिय योजना आयोगबाट विनियोजन जम्मा बजेट रु ४ करोड ६९ लाखमध्ये गतवर्ष ५० लाख र यो वर्ष १ करोड ५० लाख क्रमागत रकम पालिकामा प्राप्त भएको हो । उक्त योजनाका लागि संयुक्त राष्ट्रसङघीय विकास कार्यक्रम (यूएनडिपी) ले रु ९५ लाख सहयोग गरेको हो । सो योजनामा १ करोड १० लाख पालिकाले बजेट विनियोजन गरेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो । योजना छिटो सम्पन्न गर्न अनुगमनलाई प्राथमिकतामा राखिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । तिला–६ बाट रारा गाउँसम्म मुहानको संरचना १५ किलोमिटर लामो छ । गाउँमा खानीपानी निर्माण योजनाको काम अघि बढेपछि स्थानीयवासीमा खुसी छाएको छ ।
काठमाडौँः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २ हजार ८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु १ लाख ६८ हजार २ सय तोकेको छ । यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु १ लाख ७१ हजारमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ । महासङ्घले १ तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला रु २ हजार ९० मा कारोबार भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिइएको हो । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारी कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पार्टीले जनाएको छ । नेताहरूको सक्षमता, विगतका कार्यसम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा साङ्गठनिक संरचनामा कार्यविभाजनका लागि गृहकार्य गरेको सचिव पाण्डेले बताउनुभयो । अध्यक्ष नेपाल विदेश भ्रमणमा रहेकाले उहाँ स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ । पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको सचिव पाण्डेयले जानकारी दिनुभयो ।
गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दसैँतिहार मनाएका छन् । छिमेकी बचाउन जाँदा आफ्नो परिवारका सबै सदस्य गुमाउनुभएका डुकुमान स्याङ्तान अहिले ठूलो बुवाको छोरा जिरामान स्याङ्तानको घरमा आश्रय लिएर बस्नुभएको छ । परिवारका सबै सदस्य गुमाएर एक्लै बाँच्नुभएका डुकुमानलाई दसैँतिहारको उमङ्गभन्दा पनि परिवारका सदस्या गुमाउँदाको पीडाले विछिप्त बनाएको छ । कसैसँग राम्रोसँग कुरा गर्नसमेत नसक्ने अवस्थामा डुकुमान पुगेको उहाँका दाजु जिरामानले बताउनुभयो । “खानपिन पनि त्यति ध्यान दिएर खाँदैन, आफ्नै सुरको कुरा गरिरहन्छ, हिँडिरहन मात्रै खोज्छ”, उहाँले भन्नुभयो । बाढीपहिरो आएको दिन आफ्नो घर सुरक्षित ठानेर राति १ बजेतिर सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर घरभन्दा ५० मिटर तल रहेका सात घरमा बाढी पस्न थालेको देखेर छिमेकीको उद्धार गर्न तल झर्नुभएका डुकुमानले उद्धारमा खटिरहेका बेला आफ्नो परिवारको भने उद्धार गर्न पाउनुभएन् । अरुलाई सुरक्षित स्थानमा ल्याइसकेको डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरोले परिवार र घर पुर्न थालेको देख्नुभयो, तर उहाँ घर पुग्नै पाउनुभएन । “पहिरो यति तीव्र गतिमा झ¥यो कि उहाँ पुग्नुअघि उहाँको घर पुर्यो । गुहार माग्यो, चिच्यायो अनि थचक्क भुँइमा बसेर रुनुको विकल्प भएन् । उसले कसैलाई बचाउन सकेन्”, दाजु जिरामानले भन्नुभयो । डुकुमानको श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र नौ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्यो । खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे पनि फेला पार्न सकेनन् । चारैजना कहीँकतै जिउँदै भेटिने आश उहाँलाई थियो । असोज १२ गते दिउँसो करिब ३ बजेतिर श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला पर्नुभयो । “भ¥याङमुनि चारैजना एकैठाउँमा थिचिएको अवस्थामा भेटियो, “श्रीमती राममायाले उद्धार माग्दै हात उठाएको देखिन्छ”, दाजु जिरामानले भन्नुभयो । परिवारका पाँचमध्ये डुकुमान एक्लै जीवित हुनुहुन्छ । उहाँका बुबा, आमा र दाइको पहिल्यै मृत्यु भइसकेको छ । उहाँ तीन वर्ष वैदेशिक रोजगारमा बसेर छ महिनाअघि मात्र स्वेदश फर्कनुभएको थियो । डुकुमानलाई आश्रय दिएर राखिरहनुभएका जिरामानको सात रोपनीभन्दा बढी खेत बढीले बगाएर नष्ट गरेको छ । “आफ्नो भएको त्यही खेत हो, सबै बगाएर सखाप पार्यो । अन्न उब्जाउ हुने ठाउँ छैन”, उहाँले दुखेसो पोख्नुभयो । बाढीपहिरोबाट विस्तापित बुद्धिमान स्याङ्तानको परिवार उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ रहेका छोराछोरीको डेरामा बसिरहनुभएको छ । “अब बस्ने ठाउँ पनि रहेन, अर्को व्यवस्था तत्कालै हुने अवस्था पनि देखिएन, त्यसैले छोराछोरीको डेरामा केही समय बस्न गएका छौँ”, माइती आउनुभएकी बुद्धिमानकी श्रीमतीले भन्नुभयो । मानिखेलमा छको मृत्युु, दुई बेपत्तागरी आठ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट रु दुई लाखका दरले उपलब्ध गराएको महाँकाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ मानिखेलका अध्यक्ष जोनीकुमार न्यासुरले बताउनुभयो ।
भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ । आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन् । तर यहाँको व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आउनुभएको छ । आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि यसैगरी भाइटीका मनाउँदै आएको मदनले बताउनुभयो । मदन र सुमन दुई दाजुभाइ मात्रै हुन् । “आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौँ । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टिका थाप्न कुरिरहेका थियौँ । नआएपछि मन खल्लो भयो । त्यसपछि हामीले एकअर्कालाइ टीका लगाउने सोच बनाएर सुरु ग-यौं । त्यसपछि निरन्तर त्यसरी मनाउँदै आइरहेका छौं,” उहाँले भन्नुभयो । मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । सुरुका वर्ष उहाँहरू आफैँलाई असहज महसुस भयो । दाजुभाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं’ भन्नेहरू भेटिए । तर, उहाँहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाड्नुभएन । दिदीबहिनी नभएपनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने भाइ सुमनको भनाइ छ । “दाजुभाइले भाइटीका गर्दा सम्बन्ध सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिनेछौँं,” उहाँले भन्नुभयो ।
तिहारमा तनहुँ कारागारका कैदीबन्दीलाई भाइटीका लगाउने अवसर प्रदान गरिएको छ । कैदीबन्दीलाई चाडपर्व खल्लो नहोस् भन्ने उद्धेश्यले आइतबार बिहान ७ बजे देखि पाँच बजे सम्म भाइटिका लगाउने प्रबन्ध मिलाईएको तनहुँ कागारका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन पाउने भएपछि कैदीबन्दीको निधार खाली नहुने भएको हो । दसैँमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन दिइएको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार दुई सय ९८ जना पुरुष र २४ जना महिला कारागारमा छन् । महिला बन्दीगृहमा दुई जना आश्रित बालबालिका रहेका छन् । अधिकारीले भन्नुभयो ‘महिला र पुरुष दुवैलाई भाइटीका लगाउन र लाउन पाउने प्रबन्ध मिलाएका छौं, दसैंमा पनि टिका लगाउने अवसर मिलाएका थियौं ।’ साईत लगाउन मिल्नेले साइत अनुसार नै लगाउन पाउने र अनुकुल नमिलेकालाई अन्य साँझ पाँच बजेसम्म नै लगाउन पाउने गरी व्यवस्था गरिएको अधिकारीले बताउनुभयो ।