धनुषा: उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ९बिना नुन हालेको० खानेकुरा खाएका थिए । त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठघाटसम्म पुगेका थिए । षष्ठीका दिन बिहीबार साँझ बर्तीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड््डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ । उहाँले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गर्नुभयो । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो । विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो । विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३:०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं: लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बौद्धमार्गी विद्वानहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आग्रह गर्नुभएको छ । भारत सरकारको आयोजनामा नयाँ दिल्लीमा सम्पन्न प्रथम ‘एसियन बुद्धिस्ट समिट– २०२४’ लाई बुधबार सम्बोधन गर्दै डा लामाले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वका सबै बौद्धमार्गी विद्वानहरुको स्वागत गर्न लुम्बिनी विकास कोष आतुर रहेको बताउनु भएको हो । उहाँले विश्वमा शान्तिको सन्देश फैलाउन शान्तिका अग्रदूत गौतम बुद्धका सन्देशहरु अहिले झन् सान्दर्भिक रहेकाले एसियन बुद्धिस्ट समिट र यस्तै कार्यक्रमहरूको आयोजना थप आवश्यक रहेको पनि चर्चा गर्नुभयो । उहाँले बुद्धका शान्ति र सहिष्णुता एवं सत्यसम्बन्धी सन्देशहरु संसारभर फैलाउन र बौद्ध दर्शन र परम्पराबारे थप खोज अनुसन्धान आवश्यक रहेकामा पनि जोड दिनुभयो । यस्ता सम्मेलन एवं छलफल कार्यक्रमहरुले विश्वमा बौद्ध दर्शन र सिद्धान्तहरुको प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास पनि कोषाध्यक्ष लामाले व्यक्त गर्नुभयो । उहाँले बौद्ध शिक्षाका माध्यमबाट एसिया क्षेत्रलाई अझ विकसित बनाउन सकिने धारणा राख्दै बुद्ध मार्गले कला, साहित्य, बास्तुकला र ध्यानका माध्यमबाट सम्पूर्ण एसियालाई नै एकताबद्ध गरेर जोडेको बताउनु भयो । विश्वमा र अझ बढी एसियाली मुलुकहरुमा बुद्ध धर्म र बौद्ध शिक्षाको अनुशरण विभिन्न तरिकाबाट भइरहेको प्रसङ्ग पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी विकास कोषले पनि बुद्ध धर्म र बौद्ध शिक्षालाई विशेष महत्व दिएर कार्यक्रमहरुको आयोजना गर्ने गरेको र यसलाई आगामी दिनमा निरन्तरता दिने धारणा राख्नुभयो । एसियाली बौद्ध सम्मेलनको आयोजना गरेकामा भारत सरकारलाई उहाँले विशेष धन्यवाद ज्ञापन गर्नुभयो । आज सम्पन्न सो सम्मेलनमा नेपालसहित एसियाली देशका बौद्ध दर्शनमा आस्था राख्ने विद्वान एवं बौद्धमार्गीहरुको सहभागिता रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्न छठी माताको पूजाअर्चना गर्नुभएको हो । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभएको थियो । राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुग्नुभएको थियो । त्यहाँ उहाँले सूर्यसहित छठी माताको पूजाआराधना एवं अर्घदान गर्नुभयो । यसैगरी उहाँले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गर्नुभयो । राष्ट्रपति पौडेल गुह्वेश्वरी र कमलपोखरीको पूजास्थल पुग्नुहुँदा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
भक्तपुर: सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यसवर्ष पनि भक्तपुर र ललितपुरका पोखरी तथा खोलामा आज छठ पर्व भव्य रुपमा मनाइँदै छ । छठ मनाउनेको भीड बाक्लिँदै गएको र छठका सामान धमाधम छठ घाटमा राख्न थालिएको छ । छठ पर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिङ्गारिएका छन् । तराई–मधेशबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थायी तथा अस्थायी रूपमा बसोबास गरेकाले भक्तपुरको कमल पोखरीमा छठ मनाउने तयारी गरेका छन् । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा दुई सयभन्दा बढी परिवारले पोखरी सिङ्गारेर, मूर्ति राखेर र पूजाको तयारी गरेको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिनुभयो । छठ पर्वका लागि यहाँका स्थानीयवासीले सहयोग गरी सामाजिक सद्भव व्यक्त गरेको उहाँले बताउनुभयो । भक्तपुर र ललितपुरको सिमानास्थित गोदावरी खोलामा पनि आज छठ पर्वको तयारी गरी छठ मनाउनेको बाक्लो चहलपहल रहेको बालकोट बस्दै आएका दशरथ ठाकुरले जानकारी दिनुभयो । गोदावरी खोला सिङ्गारिएर झकिझकाउ बनाइएको र बालकोट, सिरुटार र ललितपुरको टीकाथली, चाँगाथलीदेखि सातदोबाटोसम्मका क्षेत्रमा बस्दै आएका दुई सय बढी परिवारले छठ मनाउने सामग्री ल्याउन थालेको उहाँले बताउनुभयो । छठपर्वको अवसरमा आज साँझ अस्ताउँदो सूर्य र भोलि शुक्रबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन हुने उहाँले जानकारी दिनुभयो । आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी आज जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइँदैछ । छठको मुख्य दिन आज कार्तिक शुक्ल षष्ठीको अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोलि शुक्रबार सप्तमीको दिन उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने उहाँले बताउनुभयो ।
जुम्लाः जुम्लाको हिमा गाउँपालिकाले नाग्म–गमगडी सडकलाई तत्काल कालोपत्र गरी आवागमन सहज बनाउन माग गरिएको छ । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको रारा तालसम्म जाने नाग्म–गमगडी सडक कालोपत्र नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमनमा समस्या भइरहेको भन्दै तत्काल कालोपत्र गर्नुपर्न माग गरिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले यहाँसम्म पुग्ने पर्यटकलाई यात्रा गर्न सास्ती भइरहेकाले तत्काल कालोपत्र गरेर यात्रा सहज र सुरक्षित बनाउन सङ्घीय सरकारसँग माग गरिएको बताउनुभयो । बुधबार बसेको पालिकास्तरीय सर्वपक्षीय बैठकले नाग्म–गमगडी सडकको सुरुको बिन्दुबाट कालोपत्रको काम अगाडि बढाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । “उक्त खण्डको बीच भागमा कालोपत्र गरिएको छ । सुरुको विन्दुमा खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य भइरहेकाले तत्काल कालोपत्र सुरु गर्न मागसहित अनुरोध गर्ने निर्णय गरेका छौँ”, अध्यक्ष शाहीले भन्नुभयो । सुरुबाट कालोपत्र हुनुपर्नेमा बीचमा केही किलोमिटर मात्रै कालोपत्र गरिएकाले थप समस्या भइरहेको उहाँले बताउनुभयो ।अध्यक्ष शाहीले भन्नुभयो, “नाग्मबाट गमगडीसम्मको ९३ किलोमिटरमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । पर्यटकलाई उक्त सडक भएर आवतजावत गर्न सास्ती भइरहेको छ । सो सडकका केही भागमा खाल्डाखुल्डी हुँदा असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता रहेको जनगुनासो आइरहेका छन् ।” पालिकाभित्रका विभिन्न राजनीतिक दलहरुको साँझा बैठक आह्वान गरेर नाग्म–गडी सडक कालोपत्र गराउन राज्यसँग पहल गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिनुभयो । “सडक डिभिजन कार्यालयलाई कालोपत्र सुरुको विन्दुबाट गर्न माग गर्दछौँ । स¬ङ्घ र प्रदेश सरकारलाई बजेट व्यवस्थापनको लागि आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । सडकमार्ग हुँदै राराताल आउने, जाने पर्यटकको यात्रा सहज र सुरक्षित बनाउन राज्यको ध्यान जान नसकेको भन्दै तत्काल सडक सुधार गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का स्थानीय नेता अम्मराज शाहीले बताउनुभयो । “विसं २०६९ देखि सञ्चालनमा आएको यो सडकमा हालसम्म छ किलोमिटर सडकको बीचको खण्डमा मात्रै कालोपत्र भएको छ । तत्काल सुरुको विन्दुबाट कालोपत्र गरी आवागमन सहज बनाउन सबैले समन्वय र सहयोग गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो । सडक डिभिजन कार्यालय जुम्लाले बजेट अभावका कारण कालोपत्र गर्न कठिन भइरहेको जनाएको छ । सर्वपक्षीय बैठकले सडक कालोपत्रका साथै सामाजिक कुरीति र कुसंस्कार विरुद्ध एैक्यबद्धता जनाउने निर्णय गरेको गाउँपालिका कार्यालयले जनाएको छ । विसं २०७९ मा आएको बेमौसमी बाढीले राजमार्गमा क्षति पु¥याएको थियो ।
चितवनः भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन सुरु गरेपछि घरधनी आफैँले भत्काउन थालेका छन् । महानगरले पुङ्गी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रम अघि सारेसँगै नियमविपरीत निर्मित संरचना घरधनीले आफैँ भत्काउन थालेका हुन् । गत असोज २ गते महानगरपालिकाले केही संरचनामा डोजर चलाएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट अतिक्रमण गरी बनाइएका संरचना घरधनी आफैँले भत्काउन थालेको बताउनुहुन्छ । पुङ्गी खोलाको बाइपास सडकदेखि लाइन्सचोकसम्म अतिक्रमण गरी बनाइएका संरचना घरधनीले आफैँले भत्काइरहेका छन् । पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट रु छ करोड ६५ लाख बजेट विनियोजन भएको छ । बाइपास सडकदेखि नारायणी नदीसम्म पुङ्गी खोला ६ दशमलव ५ किलोमिटरमध्ये बाइपासबाट लायन्सचोकसम्म तीन किलोमिटर र त्यहाँबाट नारायणीनदीसम्म सौन्दर्यीकरणको काम गत वर्षदेखि जारी छ । नगरलाई सुन्दर बनाउन खोला किनारका मुख्य बजारमा उद्यान, कसरत गर्ने स्थल, पैदलमार्गलगायत संरचना निर्माण हुने छन् ।
काठमाडौं: यही कात्तिक २६ गतेदेखि आगामी मंसिर ७ सम्म अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको २९औँ सम्मेलन (कोप–२९) तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि लागि वन तथा वातावरण मन्त्रालयले आवश्यक काम पूरा भएको जनाएको छ । सम्मेलनको पूर्व सन्ध्यामा हुने विभिन्न बैठकमा भाग लिन र आवश्यक तयारी गर्न मन्त्रालयका तीन सहसचिवलगायत विज्ञसहितको टोली उद्घाटनको एक साता अघि नै बाकु पुगिसकेका छन् । सम्मेलनमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन मन्त्रालयले ‘एजेण्डा’को प्राथमिकता निर्धारण गरेको छ । सम्मेलनमा मुख्यतया अनुकूलन हानी नोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास अल्पविकसित राष्ट्रहरुको विषय प्रमुख रुपमा उठान गरिने वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिनुभयो । मन्त्रालयले यस अघिका सम्मेलन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाएका विषयहरु, संसदीय समितिवाट प्राप्त निर्देशन, विभिन्न चरणमा सरोकारवालाहरुसँग गरेका छलफल तथा प्राप्त सुझावका आधारमा राष्ट्रिय स्थितिपत्र तयार गरेको छ । राष्ट्रिय स्थति पत्रमा विशेषगरी हानि तथा नोेक्सानी, पर्वतीय क्षेत्र र जलवायु वित्तका मुद्दालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ । उहाँले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’मा सम्बोधन गर्नुहुनेछ । यसका साथै नेपालले आफ्ना मुद्दाका बारेमा विश्वको ध्यानाकर्षण गराउन नोभेम्बर १३ तारिखमा राष्ट्रपति पौडेलको नेतृत्वमा छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको बताइएको छ । सम्मेलन स्थलमा नै ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ सत्र सञ्चालन गर्न नेपालले युएनएफसिसिसीबाट अनुमति प्राप्त गरिसकेको छ । उच्चस्तरीय बैठकमा संयुक्त राष्ट्रसंघ का प्रतिनिधि, पर्वतीय मुलुकका प्रमुख तथा प्रतिनिधि, विकास तथा साझेदार निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रतितिधि सहभागिता रहने जनाइएको छ । सो सत्रमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घट्नाका कारण आएको बाढी पहिरो तथा त्यसबाट भएको क्षति बारे जानकारी गराउने तयारी गरेको छ । परिवर्तित जलवायुका कारण नेपालमा मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको छ । यही वर्ष मात्र भएका जलवायुजन्य विषद् (हिमताल विस्फोट, बाढी पहिरो) बाट भएको धनजनको क्षतीका कारण नेपालले अकल्पनीय हानि नोक्सानी व्यहोर्नु परेको छ । सम्मेलनमा नेपालले गरेका प्रतिबद्धता र उपलब्धि नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित हुने मुलुकको सूचिमा अग्रपंक्तिमा भएपनि जलवायु सम्बन्धी सम्मेलन र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । सम्मेलनहरुमा नेपालले महत्वाकांक्षी प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई कार्यान्वयन समेत गर्दै आएको छ । नेपालले पेरिस सम्झौता बमोजिम २०७७ मा दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) र २०७९ मा राष्ट्रिय अनुकूलन योजना (एनएपी) पेश गरिसकेको छ । यसैगरी नेपालले २०७८ मा तेस्रो राष्ट्रिय संचार प्रतिवेदन, राष्ट्रिय जलवायु सडकटासन्नता तथा जोखिम मूल्याङ्कन प्रतिवेदन, दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति, हानि नोक्सानीको राष्ट्रिय खाका, र २०८० मा राष्ट्रिय रूपमा निर्धारित योगदानको कार्यान्वयन योजना स्वीकृत गरी लागु गरिरहेको छ । साथै, यसै वर्ष नेपाल सरकारद्वारा जारी भएको १६औं योजनामा जलवायु अनुकूलन, उत्थानशील तथा हरित अर्थतन्त्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ । कोप–२६ मा नेपालले सन् २०३० सम्ममा ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने र सन् २०४५ मा कार्बन उत्सर्जनलाई शून्यमा पुर्याउने जस्ता महत्वाकांक्षी योजनाहरू प्रस्तुत गरेको थियो । वन क्षेत्र संरक्षण र विस्तारमा नेपालले समय अगावै लक्ष्य भन्दा बढी प्रगति हासिल गरिसकेको छ । नेपालले अन्तर्राष्ट्रिय समुदायसामु हरित र उत्थानशील विकासतर्फ आफ्ना महत्वाकांक्षी लक्ष्य हासिल गर्न जलवायु वित्तमा सहज एवं पर्याप्त पहुँच तथा सबै राष्ट्रको साथ र सहयोगको अपेक्षा गरेको छ ।