काभ्रेपलाञ्चोक: बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पु¥याएपछि स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापन गर्न एक महिना लागेको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पु¥याउँदा कतिपय घरबारविहीन बनेका छन् । बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको थियो । बढी क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा खोज, उद्धार तथा राहत व्यवस्थापनपछि पुनर्बास एवं आवास निर्माणका लागि एकीन तथ्याङ्क सङ्कलन कार्यमा स्थानीय तह लागेका छन् । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अतिप्रभावित क्षेत्रमा पर्दछन् । कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पु¥याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य छन् । घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको थिएन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् । बाढीपहिरोबाट प्रभावित भएका जिल्लाका स्थानीय तहहरू प्रभावित परिवारलाई राहत, घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि सरकारले उपलब्ध गराउने राहत रकम वितरण तथा प्रभावित परिवारहरूको तथ्याङ्क सङ्कलनमा लागेका हुन् । जिल्लाको बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई सङ्घीय सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्ण रूपमा घर क्षति भई समस्यामा परेका एक सय १० परिवारमध्ये पाँच जनासम्मको परिवारका लागि रु १५ हजार र पाँचभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजारका दरले राहत रकम उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोमा परी मृत्यु भएका १२ जनाको परिवारलाई सरकारले उपलब्ध गराएको रु दुई लाख तथा गाउँपालिकाले किरिया खर्चबापत रु ५० हजार थप गरी नगद राहत हस्तान्तरण गर्ने कामसमेत हालै सम्पन्न गरिएको छ । बाढीपहिरोबाट घरपूर्ण क्षति भएका परिवालाई सरकारबाट दिने राहत रकम वितरणका लागि तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष लामाको बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार बाढीपहिरोबाट गाउँपालिकाभित्र रहेका करिब तीन सय ५० घर पूर्ण रूपमा क्षति भएको पाइएको छ । बाढीपहिरोबाट अतिप्रभावित पनौती नगरमा खोज, उद्धारसँगै सबै वडा जोड्ने सडकको ट्रयाक खोलिएको छभने क्षतिग्रस्त खानेपानी आयोजनाको दीर्घकालीन समाधानका लागि योजनाको लागत अनुमान गर्नेकार्य अघि बढाइएको छ ।
अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । लु १ ज ४७११ नम्बरको जीप ब्रेक फेल हुँदा बाजुराका चार जना घाइते भएका हुन् । बयलपाटाबाट बाजुरा जाँदै गरेको जीप रिडिकोटस्थित मध्यपहाडी लोकमार्गको नालीमा पल्टिदा बाजुराको त्रिवेणी नगरपालिका–६ बस्ने १९ वर्षीया नन्दा बुढा, बुढीगङ्गा नगरपालिका–४ बस्ने २७ वर्षीय राजेन्द्र लुहार र उहाँका छोरा छ वर्षीय सक्षम लुहार तथा बाजुराकै खप्तड छेडेदह गाउँपालिका–३ का गाडी चालक २३ वर्षीय रोहित रावत घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । घाइतेमध्ये नन्दा बुढाको टाउको र मुखमा गम्भीर चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य छ । घाइतेको अछामस्थित न्याय हेल्थ बयलपाटामा उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा छन् ।
ताप्लेजुङ: ताप्लेजुङमा अवस्थित कम्भकर्ण (फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ का महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरुले हिमालमा भएको फोहर सङ्कलन गरेका हुन् । कुम्भकर्ण हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमाल हो । यसको मनमोहक दृश्य र जैविक विविधता पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ । हिमालको आधार शिविरमा फोहरका थुप्रै समस्या देखिएका थिए । यस समस्याको समाधान गर्न महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरूले फोहर सङ्कलन गरेको हुन् । विद्यालयका शिक्षक र शिक्षिकाहरूले फोहर सङ्कलनका लागि एक अभियान सञ्चालन गर्नुभएको निमित्त प्रधानाध्यापक विवश केदेमले बताउनुभयो । केदेमका अनुसार फोहोर सङ्कलन गर्ने यो प्रयास हिमालको सौन्दर्य र जैविक विविधता संरक्षण गर्नका लागि अत्यन्त महत्त्वपूर्ण थियो । यस अभियानमा कुम्भकर्ण हिमालको आधार शिविरमा पुगेका शिक्षकले पर्यटक र तीर्थयात्रीद्वारा छरिएको फोहर सङ्कलन गरेको बताउनुभयो । शिक्षक अभिशेक लिम्बूका अनुसार विभिन्न प्रकारका फोहर प्लास्टिक, खाद्य वस्तुका खोल, कपडा आदि चार बोरा सङ्कलन गरिएको थियो । कुम्भकर्ण हिमालमा फोहरको समस्या सौन्दर्यको ह्रास हो, तर यसले स्थानीय पारिस्थितिकी प्रणालीमा पनि गम्भीर असर पुर्याउने भएकाले फोहर सङ्कलन गरेको शिक्षिका सुशन तामाङले बताउनुभयो । तामाङका अनुसार पर्यटकहरूले आफ्नो भ्रमणका क्रममा फोहर छोड्दा यसले प्राकृतिक वातावरणमा प्रदूषण दीर्घकालीन रूपमा हिमालको जैविक विविधता र स्थानीय जीवनशैलीमा नकारात्मक प्रभाव पार्न सक्छ ।
काठमाडौं: वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन् । पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन नहुने बताउनुभयो । “दीपावालीमा धेरैजसो बालबालिका पटका पट्काउन संलग्न हुने गर्छन्, पटकाका नजिक उनीहरु बस्छन् । यसले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ”, उहाँले भन्नुभयो, “पटका पट्काउँदा आउने ठूलो आवाजले जनावरहरूमा तनाव पैदा गर्नाका साथै मानिसहरूको मानसिक स्वास्थ्यमा पनि असर पु¥याउन सक्छ ।” जलवायु परिवर्तनविद् मञ्जित ढकालले पटका पटकाउँदा निस्कने आवाजले ध्वनि र धुवाँले वायु प्रदूषण बढ्ने भएकाले बढी सतर्कता अपनाउनाका साथै सरोकार भएका निकायले पटका पट्काउन नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । “पछिल्लो समय नेपालमा पटका पट्काउने दर केही कम भएको छ । दीपावलीमा भारतमा बढी पटका पट्काउँदा वायु प्रदूषण हुने भन्दै भारत सरकारले नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “प्रदूषण रोक्नका लागि पटका पट्काउन पनि नियन्त्रण गर्न आवश्यक छ ।” जलवायु परिवर्तनविद् ढकालले पटकामा हानिकारक रसायनहरू हुने भएकाले माटो र पानी प्रदूषित बनाउने, वातावरणको सन्तुलन बिगार्ने भन्दै पर्यावरणमैत्री दियो बालेर शान्त रूपमा पर्व मनाउन सकिने बताउनुभयो । पटकाबाट निस्कने विषाक्ता धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, कलेजो, फोक्सो, मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या हुनसक्ने भन्दै सतर्कता अपनाउन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् । पट्का पट्काउँदा निस्कने ठूलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने, उच्च रक्तचापको जोखिम बढाउने, कानमा स्थायी क्षति पु¥याउन सक्ने भएका सावधानी अपनाउन जनश्वास्थ्यविद्हरुले आग्रह गरेका हुन् । ‘एयर क्वालिटी इन्डेक्स’ ले भारतको डिल्लीमा दीपावलीको कारण प्रदूषण बढेको जनाएको छ । आज दिउँसोसम्मको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० एक सय ८४ रहेको छ । अहिले डिल्ली विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत छ । भन्सार विभागका प्रवक्ता मुक्तिप्रसाद श्रेष्ठले नेपाल–भारत खुला सिमाना रहेकाले भन्सार छलेर गैरकानुनी रुपमा पटका नेपालमा ल्याउने गरिएको बताउनुभयो । चाडपर्वमा भारततर्फबाट सामान किनमेल गर्ने बढी हुने भएकाले पनि सिमाना गैरकानुनी रुपमा पटका नेपालमा भित्रिने गरेको उहाँको भनाइ छ । मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विस्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था गरेको छ । उक्त व्यवस्थामा भनिएको छ, “कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देज विपरीत हुनेगरी कुनै पनि किसिमका विस्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन ।” विस्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ को उपदफा २ को (क) मा कडा विस्फोटक पदार्थ भए १० वर्षसम्म कैद र रु एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । सोही उपदफाको (ख) मा नरम विस्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म र (ग) मा सामान्य विस्फोटक पदार्थ भए तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदा लगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा उहाँले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहार लगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराउनुभएको हो । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् । विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै आगामी सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह गर्नुभयो । “विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वोच्च शिखर सगरमाथा पुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुपर्छ ।’’ प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रङ्गशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराउनुभयो । सो अवसरमा खेलाडीहरुले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आगामी दिनमा पूर्वाधार विकासका प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएकामा खुसी व्यक्त गरेका थिए ।
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०को वार्षिक बैठकमा सहभागी भइ आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गर्नुभएको थियो । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेको बताउनुभयो । उहाँले उक्त बैठकमा जलवायु न्यायका लागि विकास साझेदार र सिङ्गो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानी नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारीरूपमा सञ्चालन गर्न अनुरोध गर्नुभएको थियो । अर्थमन्त्री पौडेलले नेपालले अघि सारेका विषयप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको जानकारी दिनुभयो । अमेरिकामा रहेका बेला उहाँले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीसँग अलग–अलग भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँ यही कात्तिक ५ गते अमेरिका जानुभएको थियो ।
काठमाडौं: यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मिठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठो खान दिएमा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेकाले आज कुकुरको पूजा गरी मिठो खान दिने परम्परा रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा स्थापित भएको छ । तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । आजै साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ । हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार यस वर्ष मङ्गलबारदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन मङ्गलबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो । दोस्रो दिन बुधबार सन्देशवाहकका रुपमा कागको पूजासहित मिठा खानेकुरा खान दिई मनाइएको छ । आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो । सोही दिनको साँझदेखि यम दीपदान पनि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ । चौथो दिन शुक्रबार यस वर्ष तिहारका कुनै पर्व परेको छैन । पाँचौँ दिन शनिबार गाई पूजा गरिँदै छ । यसै दिन गोवर्द्धन पूजा, हलितिहार, बलिपूजा, गोरुपूजा पर्व पनि परेको समितिले जनाएको छ । तिथिले पाँचौँ परेपनि दिनअनुसार छैटौँ दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार समापन हुन्छ । भाइटीकाको साइत ११ः३७ बजे उत्तम रहेको पनि अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
कञ्चनपुर: वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको आज उद्धार गरिएको छ । नगर उपप्रमुख कल्पना पन्तको अगुवाइमा जानकीको उद्धार गरिएको हो । वषौंदेखि अलग्गै बनाइएको कच्ची घरको कोठामा थुनेर राखिएकी बाँनियाको उद्धार गरी मानव सेवा आश्रम धनगढी पठाइएको छ । चौध–पन्ध्र वर्षको उमेरदेखि नै मानसिक सन्तुलन गुमाएकी जानकीलाई कोठामा थुनेर राखिँदै आएको थियो । थुन्दै आएको कोठाबाट बाहिर आउँदा जानकीको खुसीको ठेगानै थिएन । नगरपालिकाका नगर प्रहरीले थुनेको कोठाबाट बाहिर निकालेपछि जानकीले बोल्न चाहे पनि थोरै मात्रै शब्द भन्न सक्नुभयो । पर्याप्त आहारको कमीले गर्दा पूरै शरीर गलेकाले बोल्न नसकेको जनाइएको छ । “कक्षा ६ मा पढ्दै गरेका बेला मानसिक सन्तुलन बिग्रिएपछि उपचार गराउन लग्यौँ”, जानकीका बुबा पुरन बाँनियाले भन्नुभयो, “औषधि सेवन गरेपछि केही महिना ठीक भइन्, ठीक भएको ठानेर औषधि गर्न छाडेपछि पुरानै अवस्थामा फर्किइन् ।” त्यसपछि धामी, झाँक्री सबै कहाँ पुर्याएर उपचार गराउँदा पनि ठीक नभएपछि कोठामा थुनिँदै आएको उहाँले बताउनुभयो । कोठामा नथुनेपछि जहाँ पायो त्यहीँ हिँडिदिने, जे पायो त्यही कुरा खाइदिने, शरीरमै दिसापिसाब गरिदिने, हातमा जे पर्यो त्यहीले हिर्काउने भएकाले थुन्न बाध्य भएको पुरनको भनाइ थियो । जानकीलाई नगरपालिकाले पूर्ण अपाङ्गता भत्ताको रकम उपलब्ध गराउँदै छ । परिवारका सदस्यले भत्ताको रकम बुझ्ने तर पोषणयुक्त खानेकुरासँगै व्यक्तिगत सरसफाइमा ध्यान नदिने, औषधोपचार नगर्ने गरेको जानकारी पाइएपछि मानव सेवा आश्रम पुर्याउनु परेको नगर उपप्रमुख पन्तले बताउनुभयो । जानकीलाई थुन्ने गरिएको कोठा दुर्गन्धित र असुरक्षित अवस्थाको रहेको उहाँको भनाइ छ । मानव सेवा आश्रममा जानकीलाई तीन महिना राखिने भएको छ । त्यसपछि परिवारको जिम्मा लगाई उपचार गर्नुपर्ने जनाइएको छ ।