पाल्पा: जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक महिला घाइते भएका छन् । बुधबार बिहान बराङ्दीका ज्योतिनाथ घिमिरेको घरमा खाना पकाउने एलपी ग्यास पड्किँदा पम्फा घिमिरे घाइते हुनुभएको हो । खाना पकाउने क्रममा सिलिण्डर एक्कसी पड्किएर नजिकै रहनुभएका पम्फा घाइते हुनुभएको स्थानीय बासिन्दा दयाराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । सिण्डिर पड्किँदा घरमा समेत क्षति पुगेको छ । स्थानीय बासिन्दाको सहयोगमा घरमा आगलागी हुनबाट भने जोगिएको छ ।
झापा : झापामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका– ४ का ४५ वर्षीय पुष्ट बहादुर कडरिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कडरिया बुधबार बिहान ७ बजे घर नजिक सडक छेउको काभ्रा रुखमा चढेर घाँस काट्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
बुधबार सुनको मूल्य स्थिर छ। मंगलबार प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ। मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन बुधबार पनि सोही मूल्य कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।
पोखरा: चितुवाको आक्रमणबाट २ जना मानिस घाइते भएका छन् । बुधबार बिहान साढे ७ बजे पोखरा १८ भुकुण्डेमा ध्रुव थापा लगायत ७ जनाले सञ्चालन गरेको कालिज फर्ममा पसेर मानिसलाई आक्रमण गरेको जिल्ला वडा प्रहरी कार्यालय वैदामका डिएसपी वेद जोशीले बताए । चितुवाको आक्रमणबाट फर्ममा काम गर्ने रुपा गाउँपालिका ४ बस्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी घाइते भएका छन् । फर्मका २ वटा कालिज समेत मरेको प्रहरीले जनाएको छ । चितुवा फर्मबाट बाहिर निस्कँदा फर्मका ३२ को राजेश तिमिल्सिनालाई समेत घाइते भएको डिएसपी जोशीले बताए । ‘दुवै जना घाइतेको मेट्रो सिटी अस्पताल उपचार भइरहेको छ । गाला र दाहिने आँखामा सामान्य कोतारिएको छ,’ जोशीले भने । चितुवालाई स्थानीय मानिस, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास हुँदा झाडीमा मरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साइकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन पैदलयात्री सचेतना अभियानको सुरूवात गरेको छ। जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौं भन्ने प्ले कार्ड नै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक चोकमा बसेर अभियानको सुरूवात गरेको हो। दिनप्रतिदिन बढ्दो सवारी चापका साथै आकोश पुल र जेब्राक्रसिङ बाहेकका स्थानबाट जथाभावी सडक पार गर्दा ज्यानै जोखिममा पर्ने तथ्यांकलाई आधार मान्दै सुरूवात गरिएको अभियानमा सोमबार ६३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाइबुझाइ गरेको छ । सम्झाइबुझाइका क्रममा काठमाडौंको न्युरोड,बालकुमारी,जडिबुटी,ललितपुरको सातदोबाटो र जावलाखेल,भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदलयात्रुहरूलाई सडक वारपार लगाइएको थियो । यस्तै ट्राफिक प्रहरीले रेड लाइट क्रस गर्ने,जेब्रा क्रसिङमा रोक्ने,फुटपाथमा साइकल चलाउनेलगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १९३ जना साइकलका चालकलाई पनि सम्झाइ बुझाइ गरेको छ । काठमाडौंको कमलपोखरी,थापाथली,बल्खु,बुढानिलकण्ठ,नयाँबसपार्क, नागढुङगा,बौद्ध र भक्तपुरमा साइकल यात्रीलाई सम्झाइ बुझाइ गरिएको हो । काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आवको हालसम्म ४० जना पैदलयात्रीको मृत्यु भएको छ । यस तथ्यांकले सडकमा पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहने देखिएकाले यस अभियानले पैदलयात्रीमा ट्राफिक सचेतता अभिवृद्दि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरी दुर्घटनामा कमि ल्याउन मद्दत पुग्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए। यस अघि २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौं भन्ने जनचेतनामुलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरिएको थियो । आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङबाट मात्रै सडक वारपार गर्नुहुन र ट्राफिक नियमको पालना गर्दै सवारी साधन चलाउन हुन सबै सडक प्रयोगकर्ताहरूमा प्रवक्ता भट्टले अनुरोध समेत गरेका छन्।
जाजरकोट : जाजरकोटमा आमाछोरी एकैपटक स्थायी जागिरे भएका छन्। भेरी नगरपालिका–२ रिसाङ निवासी आमा निर्मला खड्का (कार्की) र छोरी श्रष्टा कार्कीले एकैपटक सरकारी जागिरमा नाम निकालेका हुन्। आमाछोरी एकैसाथ स्थायी जागिरे भएका छन्। आमाभन्दा २१ वर्ष कान्छी छोरीले लोक सेवा आयोग कर्णाली प्रदेशबाट असिस्टेन्ट सबइन्जिनियर पदमा गत पुस २० गते स्थायी नियुक्ति लिएर मुसीकोट नगरपालिका रुकुमपश्चिममा सेवा सुरु गरेकी छन्। आमा निर्मलाले भने शिक्षक सेवा आयोगको विज्ञापनमा सल्यानबाट प्राथमिक तह तृतीय श्रेणीमा हालै नाम निकालेकी छन्। उनले नियुक्ति भने लिइसकेकी छैनन्। आमाभन्दा अगाडि नै छोरीले स्थायी सेवा आरम्भ गरेकी हुन्। २०३९ जेठ २३ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका कोटजहारीमा जन्मिएकी निर्मलाको २०५९ सालमा जाजरकोट भेरी–२ रिसाङ निवासी महादेव कार्कीसँग विवाह भयो। २०६२ सालमा गाउँकै त्रिभुवन निमाविमा अंग्रेजी विषयमा राहत दरबन्दीमा लामो समय काम गरेकी उनको अथक प्रयासपछि उमेर हदको अन्तिम अवस्थामा स्थायी शिक्षकमा नाम निस्किएको हो। ‘लामो समयको अथक प्रयासपछि सफलता मिल्यो। खुसी लागेको छ। आफू ठुलो पदमा पुग्न नसके पनि छोरीले पहिलो प्रयासमै सफलता प्राप्त गरिन्। यसैमा सन्तुष्ट छु’, निर्मलाले भनिन्। छोरी श्रष्टाले भने पहिलो प्रयासमै लोक सेवा पास गरेकी हुन्। सदरमुकाम खलंगास्थित त्रिभुवन माविबाट २०७५ सालमा एसईई गरेकी उनले शंखरापुर वहुप्राविधिक शिक्षालय शाँखु काठमाडौंबाट गत वर्ष डिप्लोमा इन सिभिल इन्जिनियर पास गरिन्। सानै उमेरमा पढाइमा निकै रुची राख्ने उनले १९ वर्षको उमेरमै लोक सेवा पास गरेकी हुन्। भन्छिन्, ‘एक वर्ष जति तयारी गरेकी हुँ। पहिलो प्रयासमै सफल भएँ। खुसी छु। जागिर खाए पनि सिभिल इन्जिनियरको पढाइ पनि सँगसँगै लैजाने उनको योजना छ।’ उनले आमाले स्थायी जागिरमा नाम निमालेको खुसी भएको बताइन् ।
काठमाडौं : चीनले नेपाललाई पनि पर्यटक गन्तव्य मुलुकमा समावेश गरेपछि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएको छ। सन् २०१९ को कोभिड कहरपछि पहिलो पटक चीनले औपचारिक रूपमा नेपालमा पर्यटक गन्तव्य मुलुकमा समावेश गरेको हो। चैत्र १ गते अर्थात् मार्च १५ बाट चिनियाँ पर्यटक घुम्ने देशमा नेपाललाई पनि राखिएको नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले जानकारी दिए। चिनियाँ पर्यटन मन्त्रालयले अप्रुभड डेस्टिनेसन स्ट्याटस (एडीएस) दिएको पछिल्लो २० देशमा नेपाल पनि परेको छ। यसअघि २०२३ जनवरीमा पनि चिनियाँ मन्त्रालयले एडीएसमा २० देशको नाम सार्वजनिक गरेको थियो। तर, नेपालको नाम थिएन। त्यसपछि बोर्डले चिनियाँ राजदूतावासलाई पत्र लेखेर ध्यानाकर्षण गराएको थियो। बोर्ड र पर्यटन व्यवसायीको पहलले चीनको गन्तव्य मुलुकमा नेपाल पर्न सफल भएको प्रवक्ता लामिछानेले सुनाए। चीनको एडीएसमा नेपाल परेपछि मार्च महिनाबाट नै चिनियाँ पर्यटकको संख्या बढ्ने अपेक्षा व्यवसायीको छ। सन् २०२३ को जनवरीमा १ हजार ४ सय ३६ र फेबु्रअरीमा २ हजार २ सय २२ चिनियाँ नेपाल घुम्न आएका छन्। सन् २०१९ को भन्दा करिब ७५ प्रतिशत र अब मार्चमा करिब ८५ प्रतिशतले पर्यटन क्षेत्र सुध्रिने आकलन गरिएको छ। फेब्रुअरीमा नेपाल आउने पर्यटको सूचीमा चीन सातौं स्थानमा परेको छ। पछिल्लो समयमा नेपालको पर्यटन क्षेत्रमा चीनको लगानी पनि बढिरहेको छ। सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवामा पनि चीनको लगानी छ। चिनियाँ पर्यटक लक्षित धेरै व्यापार–व्यवसाय पनि सञ्चालनमा आएका छन्। बोर्डका अनुसार करिब पाँच सय होटल तथा रेस्टुँरा चिनियाँ पर्यटक लक्षित खुलेका छन्। काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत सांस्कृतिक पर्यटनसँगै प्याराग्लाइडिङ, छोटो दूरीका पदयात्रामा चिनियाँ पर्यटक रमाउँछन्। चीनका धेरै सहरमा नेपालबाट सिधा उडानले पनि पर्यटक बढाउन सघाउने व्यवसायी बताउँछन्। अहिले हिमालय एयरलाइन्सले चीनको बेइजिङ, चोङकिङ र कुनमिङमा सिधा उडान गरिहेको छ।
म्याग्दी: म्याग्दीको बेनी नगरपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रुपियाँ पुरस्कार दिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । नगरको प्रतीक चिह्न (लोगो) बनाउन सार्वजनिक सूचना जारी गर्दै १५ दिन भित्र लोगो तयार पारेर नगरमा पठाउन सूचनामार्फत अनुरोध गरेको छ । लोगो निर्माण गर्दा बेनी नगरको नाम, पहिचान र नेपालको झण्डा अनिवार्य हुनुपर्ने तथा कुनै पनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने सङ्केत गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ । सूचनामा प्रकाशित भएको मितिले १५ दिनभित्र लोगो बनाएर खामबन्दीमार्फत नगर कार्यपालिकाको कार्यालयमा पठाउनुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले छनाेट समितिले उत्कृष्ट लोगो चयन गर्ने र छनाेटमा परेका डिजाइनकर्तालाई कदरपत्रले सम्मान गरिने बताउनुभयो ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

