पोखराको पालिखे चोकमा रहेको प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको निःशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीहरुले दन्त परिक्षण गरेका छन् । शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रछात्राहरुले दातको परिक्षण गरेका थिए । परिक्षणमा जटिल समस्या देखिएकाहरुलाई अस्पताल रिफर गरिएको छ । मंगलबार भएको कार्यक्रममा स्वास्थ्य परिक्षण गर्ने आउने विरामीलाई निःशुल्क आवश्यक औषधिको समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा आएका विरामीहरुमा जटिल समस्या देखिएमा शिविरको विरामी पूर्जाको आधारमा मनिपाल शिक्षण अस्पतालले उक्त विरामीलाई छुट ब्यवस्था गरेको अस्पतालले जनाएको छ । अस्पतालले विभिन्न संघ संस्थाहरुको समन्वयमा वर्षमा सय स्वास्थ्य शिविर गर्ने योजाना अन्तर्गत प्रतिभा स्कुलमा ११औ कार्यक्रम गरिएको अस्पतालका सहायक बजार ब्यवस्थापक खिम बहादुर लामिछानेले बताए । स्कूलका विद्यार्थी र शिक्षकहरूको मौखिक स्वास्थ्य सुधार गर्ने शिविरले सहयोग पुर्याउने व्यवस्थापक लामिछानेले जानकारी दिए । शिविरले मौखिक स्वास्थ्यको बारेमा चेतना जगाउने मात्रै नभएर समुदायको समग्र कल्याणमा पनि योगदान हुने लामिछानेको भनाइ छ ।
पोखरा: परापूर्वकालदेखि रुपाको सिस्टेनीमा लाग्दै आएको सिस्टेनी मेला ०५० सालपछि एकाएक बन्द भयो । चैते दशैको अवसरमा सञ्चालन हुने सिस्टेनी मेला स्थानीयले असुरक्षा महशुस गर्दै आयोजना गर्न छोडे । कास्कीको तत्कालिन रुपाकोट गाविस वडा नम्बर ६, ७ र ८ का जमनकुनाका स्थानीयहरुले आयोजना गर्ने सिस्टेनी मेला कास्कीको विभिन्न तालमध्ये रुपाताल नजिक लाग्ने मेला थियो । पर्यटकीय आकर्षणको रुपमा रहेको रुपातालको प्रचारप्रसारसँगै सिस्टेनी मेलाको महत्व बुझ्न थालेका स्थानीयले २४ वर्ष पहिले बन्द भएको मेला ०७४ मा पुनः सुरु गरे । स्थानीयले चैते दशैको अवसरमा ठुलो मेला आयोजना नगरेपनि चैते दशैको अवसरमा नै साना कार्यक्रम भने सञ्चालन हुने गरेको स्थानीयहरु बताउँछन् । समयमने परिवर्तनसँगै सभ्य समाज र चेतनशील नागरिकबाट लोप हुँदै गएको सिस्टेनी मेलालाई शान्तिरुपा बराहथोक तमु युवा परिवारले पहिलो पटक २०७४ सालमा प्रथम सिस्टेनी मेला भनेर प्रतियोगितासहित मेला सञ्चालन गरेपछि हराउँदै गएको मेला पुनः सञ्चालनमा आएको हो । रुपाताल किनारमा प्रथम सिस्टेनी मेला आयोजना गरेको शान्तिरुपा बराहथोक तमु युवा परिवारले विश्वभर फैलिएको कोरोना भाइरसको कारण मेला सञ्चालन गर्न नसकेको स्थानीय तुलबहादर गुरुङले बताए । उमेरले ७२ वर्ष पुगेका गुरुङले मुसुक्क हास्दै भने ‘१८ वर्षको उमेरमा भर्ती देखिए, लाहुरे भएर सिस्टेनी मेलामा आएको अनुभव मनमा ताजै छ, लोप भएको मेला पुनः सञ्चालन गर्न युवासँगै अगाडि बढेको छु ।’ बन्द हुनुपूर्व मेलामा स्थानीय युवाहरुले सेउलाले घेरेर टहरा निर्माण गरेर त्यही टहराबाट एक रुपैयाँसम्मको भाडा उठाएको अनुभव समेत सुनाए । कास्कीको तत्कालिन रुपाकोट गाविस वडा नम्बर ६,७ र ८ का जमनकुनाका स्थानीय युवाहरुले चैते दशै (नवमी र दशमी) को दिनमा आयोजना गर्ने मेलालाई केन्द्रीत गरेर ९० देखि १ सय वटा सम्म सेउलाले घेरेरे टहरा निर्माण गरेर रुपाताल किनारमा मेला सञ्चालन गरेको स्थानीय गुरुङले बताए । चैते दशैको अवसरमा रुपातालको सिस्टेनी मेलामा तनहुँ, लमजुङ, पर्वत र स्याङ्जा जिल्लाबाट मेला अवलोकनमा आउने स्थानीय गुरुङ बताउँछन् । ‘सिस्टनी मेलामा तनहुँ, लमजुङ,पर्वत र स्याङ्जा लगायतका स्थानीयहरु मेलामा आउथे, मेलामा ठेलो,भजन चुड्का, ठाडो भाका र लोक भाकामा रमाउथें ।’ दुईदिनसम्म सञ्चालन हुने मेलामा विभिन्न जिल्लाका व्यापारीहरुले माटाका घैँटो, हण्डा, आँसी, कुटो, कोदालो, बन्चरो हलोको फालीसँगै स्थानीय उत्पादनबाट बनेका सेलरोटी, चिया, तरुल, बागलुङ्गे भट्टा, चिउरा, कोदोको लोक्कल रक्सी र तान्द्रेको गाभाको अचार लगायतको वस्तुहरुको विक्री वितरण हुने गर्दथ्यो । विस्तारै गाउँदेखि शहरतर्फ बसाईसराई गर्ने क्रम बढेपछि लोपउन्मुख मेलामा पुगेको मेला स्थानीयले तत्कालिन समयमा असुरक्षाको महशुस गर्दै मेला गर्न छोडेको स्थानीय गुरुङ नै बताउँछन् । चैत १५ देखि १७ सम्म दोस्रो सिस्टेनी मेला कोरोना भाइरसका कारण रोकिएको सिस्टेनी मेला शान्तिरुपा बराहथोक तमु युवा परिवारले चैत १५ देखि १७ गतेसम्म कास्कीको रुपा गाउँपालिका ६ रुपातालमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमसहित दोस्रो सिस्टेनी मेला आयोजना गर्दै छ । विभिन्न कारणले रोकिएको सिस्टेनी मेलालाई चैते दशैको अवसरमा चैत १५ देखि १७ गतेसम्म प्रतियोगितासँगै मेला आयोजना गरिएको शान्तिरुपा बराहथोक तमु युवा परिवारका अध्यक्ष बुद्धिबहादुर गुरुङले बताए । ‘लोप हुँदै गएको मेला २०७४ सालदेखि सुरु ग¥यो तर विश्वभर फैलिएको कोरोना भारइसका कारण निरन्तरण दिन सकेनौं, गुरुङले भने, ‘तालको शहरले चिनिएको पोखरासँगै रुपतालको प्रचारप्रसार गर्न चैते दशैको अवसरमा दोस्रो सिस्टेनी मेला आयोजना गरेका छौं ।’ उनका अनुसार दोस्रो सिस्टेनी मेलामा साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, छेलो, रस्साकस्सी र भाले छुने प्रतियोगिता आयोजना गरेको छ । साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ६० हजार, दोस्रो हुने समूहले ३० हजार र तेस्रो हुने समूहले १५ हजार र अनुशासित समूहले ५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, ब्लकर, डिफेन्डर, सर्वरले ट्रफी र जर्सी पुरस्कार पाउने छन् । भने भलिबलमा सहभागिता हुन ५ हजार दर्ता शुल्क निर्धारण गरेको छ । दोस्रो सिस्टेनी मेलामा छेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताका विजेताले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । मेलामा ६ लाख २४ हजार आम्दानी हुने आयोजकले जनाएको छ भने, ३ लाख ९९ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
उपराष्ट्रपति पदका उम्मेदवार तथा जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले डिल्लीबजारस्थित कारागार पुगेर रेशम चौधरीसँग भेटवार्ता गरेका छन्। जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार चौधरीलाई उम्मेदवार यादवले आज भेटेका हुन्। सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उमेदवार यादवले उपराष्ट्रपतिमा आफूलाई सहयोग गर्न चौधरीसँग आग्रह गरेका छन्। चौधरीले आफूहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जसपाका सांसद प्रदीप यादवले बताए। 'रेशमजीले हाम्रो उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई यसबारे भन्छु भन्नुभएको छ,' उनले भने। जनमत पार्टी, नागरिक उन्मुक्ति र लोसपाले सहकार्य गर्ने भन्दै गठबन्धनसमेत गरेका थिए। जनमतले ममता झालाई उपराष्ट्रपतिको उमेदवार बनाएको छ। यसैबीच उपराष्ट्रपतिका उमेदवार यादवले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि भेटेका छन्। महतोले यसबारे पार्टीमा छलफल गरिने जवाफ दिएको सांसद प्रदीपले बताए। यही चैत ३ मा उपराष्ट्रपति चयनका लागि चुनाव हुँदैछ। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादव, जनमतलगायत दलबाट ममता झा उपराष्ट्रपति पदका लागि उम्मेदवार छन्।
काठमाडौं: यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज (मङ्गलबार) भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ०६ अङ्कमा कायम भएको छ । आज दुई सय ५५ वटा कम्पनीको ३३ लाख १८ हजार एक सय आठ कित्ता शेयर २६ हजार चार सय ७३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ । आज बैंङ्किङ, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह तीन दशमलव ९५, उत्पादन तथा व्यापार समूह २३ दशमलव ३८, लघुवित्त समूह १४ दशमलव ४५, म्युचुअल फन्ड शून्य दशमलव ०३ र व्यापार समूह ५० दशमलव ३७ अङ्कले घटेको नेप्सेले जनाएको छ । आज जीवन बीमा समूहको उपसूचक ४६ दशमलव ६१ अङ्कले बढेको छ भने विकास बैंक समूह १२ दशमलव ८८ अङ्कले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन समूह १९ दशमलव ९५, जलविद्युत् समूह १८ दशमलव ९५, लगानी समूह शून्य दशमलव ४४, जीवन बीमा समूह ६ दशमलव ८८ र अन्य समूह ६ दशमलव २१ अङ्कले बढेको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एशिया ब्यालेन्स फन्डको शेयर मूल्य प्रतिकित्ता पाँच दशमलव ६४ प्रतिशतले घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा एनआइसी एसिया बैंक सबैभन्दा अगाडि देखिएको छ । एनआइसी एसिया बैंकको सबैभन्दा धेरै रू १० करोड ४८ लाख २४ हजार एक सय २५ बराबरको एक लाख ३६ हजार सात सय ३३ कित्ता शेयर किनबेच भएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उहाँको भनाइ छ । नेपाल ट्रेड युनियन कांग्रेसको मङ्गलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्नुहुँदै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्याएर सपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौ राष्ट्रपति पाइसकेको हुने स्मरण समेत गराउनुभयो । उहाँले सांसद, मन्त्री भईसकेकाहरुले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रुपमै भए त्यो झनै राम्रो हुने धारणा समेत राख्नु भयो । ‘‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, पाउने, दोहोर्याएर सपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले सपथग्रहण गर्दैगर्दा पाँचौं राष्ट्रपति नेपाल देशले पाइसकेको हुन्थ्यो । डा. रामवरणले दुई पटक, विद्या भण्डारीले दुई पटक सपथ ग्रहण गर्नु भयो । र अहिले आएर रामचन्द्र पौडेल हुनुभयो ।,’’ महामन्त्री शर्माले भन्नुभयो, ‘‘राजनीतिमा रुपान्तरणभन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस् । दुई पटक प्रधानमन्त्रीको सपथग्रहण गरोस् । तीन पटक मन्त्री हुँदैगर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस् । चार पटकसम्म सांसद बनोस् । पाँचौं पटक उसले आर्थिक रुपान्तरणको काममा हात हालोस् ।’’ महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले मुलुकलाई प्रतिफल दिन सक्ने आयोजनाहरुको छनौट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको पनि बताउनुभयो । महामन्त्री शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले नयाँ पुस्तालाई वितृष्णा हुने गरी रेलमार्गलगायतका आयोजनाहको छनौट गर्न नहुने पनि पटक–पटक दोहोर्याउनुभयो । महामन्त्री शर्माले भन्नुभयो, ‘‘हामीले त्यसलाई एउटा राष्ट्रिय रुपमा एउटा उत्पादनको दशक, उत्पादन अभिवृद्धि गराउने, निर्माणको एउटा दशक बनाउने काममा तीव्रता दिने काममा लाग्न सके यसले राजनीतिक रुपमा पनि आकर्षण गराउँछ । हाम्रो अहिलेको पुस्ताले बोक्नै नसक्ने रेलमार्गलगायतका आयोजनाहरु बोकेर जाने कुराले वितृष्णा मात्रै जगाउँछ ।’’ महामन्त्री शर्माले राजनीति जनताको आर्थिक रुपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने स्पष्ट पार्नु भयो ।
काठमाडौँ: देशभरका उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् । मंगलबार केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका देशभरका उद्योगी व्यवसायीहरुले बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि आन्दोलन गरेका हुन् । उद्योगी व्यवसायीहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंक विरुद्ध सडक संर्घषमा उत्रिएका छन् । देशभरका उद्योगी व्यवासायीहरुले राष्ट्र बैंक अगाडि पुगेर व्यवसायीहरूको पीडा महशुस गराउन ध्यानाकर्षण समेत गरेका छन् । विरोध कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरु आफ्ना पीडा पोख्नको लागि राष्ट्र बैंक आएको बताए । उनले अर्थतन्त्रमा आएका समस्याको कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती र बजारको मागमा कमी भएको अवस्थामा समेत बैंकले अर्को ब्याजदर दिएको बताए । उनले यो विषयमा सरकारले तत्काल समाधान दिन आवश्यक रहेको बताए । उनले व्यवसायीहरुको व्यापार सुस्त भएको अवस्थाका उच्च ब्याज दिनसक्ने अवस्था नभएको बताए । उनले सरकारले व्यवसायीहरुसँग छलफल गरी समाधान गर्न आग्रह गरे । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर सरकारले नघटाएसम्म व्यवसायीहरुको आन्दोलन निरन्तर चल्ने बताए । उनले प्रधानमन्त्रीले चासो देखाएर बैंकको ब्याजदर एकल अंकमा ल्याउन पहल तत्काल गर्नुपर्ने बताए । उनले ब्याजदर कायम गर्ने विषयमा नीतिगत स्थायित्व आवश्यक रहेको बताए । उनले अर्थतन्त्र एकदमै संकटमा रहेकाले व्यवसायीहरुले चैत महिनामा पनि ब्याजदर र किस्ता तिर्न नसक्ने अवस्था नभएको बताए । त्यस्तै, नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बारम्बार व्यवसायीहरु बैंक विरुद्ध सडक आन्दोलन गर्दा समेत नेपाल सरकार र सम्बन्धित निकायहरु समस्या समाधान गर्न गम्भिर नभएको आरोप लगाए । उनले पछिल्लो समय बैंकको चर्को ब्याजदर लगायत दादागिरीको कारण व्यवसायीहरु मर्कामा परेको बताए । उनले बैंकहरुले उद्योगी व्यवसायीहरुलाई सुकुम्वासी बनाउने काम गर्न लागेको बताए । विगत एक वर्षदेखि व्यवसायीहरू बैङ्कको ज्यादतीबिरुद्ध आन्दोलनमा रहेपनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रीय बैंक गर्न बाध्य भएको व्यवसायीहरुले बताए । आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रीय महासंघहरूसँग आबद्ध भएका वस्तुगत संघहरु आन्दोलनमा सहभागिता रहेको छ । आन्दोलनमा व्यवसायीहरुले बैंकिङ आतंक बन्द गर,ब्याजदरमा स्थिरता कायम गर,चालु पुँजीकर्जा मार्ग निर्देशन स्थगन गर,ब्याजदर हामीलाई चर्को भो,गरिखान गाह्रो भयो,उच्च सेवा शुल्क बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।
पोखरा: पोखराका व्यवसायीहरुले करको बक्यौता तिर्न अटेर गरेको पाइएको छ । आन्तरिक राजश्व कार्यालय पोखराका अनुसार व्यवसायीहरुले मूल्य अभिवृद्धि करको बक्यौता रकम नतिर्दा उनीहरुलाई थप भार परिरहेको जनाएको छ । निर्धारित समयमा कर नतिर्दा ऐन अनुसार त्यसको जरिवाना थपिँदै जान्छ । जरिवाना थपिँदै जाँदा सुरुमा निर्धारित भएको कर दूई गुणा बढी पुगेको राजश्वको तथ्यांक छ । व्यवसायीहरु निर्धारित समयमै कर तिर्न किन आनाकानी गर्छन् ? राजश्व कार्यालयको जवाफलाई मान्ने हो भने व्यवसायीहरुमा पछिल्लो समय अटेरी प्रवृत्ति बढिरहेको छ । सरकारले समयसमयमा कर उठाउन व्यवसायीहरुलाई सहुलियत दिएका कारण पनि उनीहरुले अटेर गरेका हुन् । लामो समयसम्म कर नतिरेका कम्पनीलाई सरकारले छूट दिने नजीर बसेपछि व्यवसायीहरु त्यस्तै अवसरको प्रतीक्षामा बस्ने गरेको समेत पाइएको छ । राजश्व कार्यालय पोखराले पछिल्लो समय सामाजिक सञ्जालमार्फत विवरण अद्यावधिक नगर्ने र कर नतिर्ने कम्पनीहरुको नाम सार्वजनिक गर्दै आएको छ । ‘उहाँहरुको नाम सार्वजकि गर्नुको उद्देश्य समयमै अपडेट होस् र कर बक्यौता भुक्तानी होस् भन्ने चाहना हो’ कार्यालयका कर अधिकृत गोपाल गिरी भन्छन् ‘तर ऐन, नियम पालना गर्ने काम भएको छैन ।’ राजश्वको भनाई मान्ने हो भने व्यवसायीले कानून नटेर्ने र स्किम आएपछि तिरौंला भन्ने मानसिकता हावी भएको छ । ‘केही व्यवसायी स्किमको पर्खाइमा छन् तर सँधै त्यो सम्भव छैन, अटेरी प्रवृत्ति बढेको छ ।’ पछिल्लो समय बक्यौता रकम तुरुन्त तिर्न राजश्वले जानकारी गराइसकेको भन्दै बेवास्ता गर्नेलाई आयकर ऐन – २०५२ अनुसार कार्वाही गरिने अधिकृत गिरीले जनाए । गिरिका अनुसार करको बक्यौता नतिर्नेमा पोखराका नाम चलेका व्यवसायीहरुकै संख्या अधिक छ । ऐन अनुसार ‘कर्जा असुली’ अन्तरगत कम्पनीको चल÷अचल सम्पत्ति कब्जा गर्ने, लिलाम बिक्री गर्ने देखि करदातालाई नेपाल बाहिर जान रोक लगाउनेलगायतका कारवाही उल्लेख छ । राजश्वले जनाएअनुसार १० करोड रुपैयाँको हाराहारीमा बक्यौता तिर्नुपर्ने कम्पनी पनि रहेका छन् । कर अधिकृत गिरी भन्छन् ‘फुलबारी रिसोर्टले तिर्नुपर्ने बक्यौता १० करोड रुपैयाँ बढी छ ।’ त्यस्तै, ५–७ करोड रुपैयाँ बक्यौता तिर्नुपर्ने कम्पनी थुप्रै छन् । यतिधेरै बक्यौता रकम भने करमात्र हैन । व्यवसायीले समयमै कर नतिर्दा बक्यौता हुँदै त्यसको जरिवानासहित राशी दोब्बर भएको हो । यसअर्थमा कर बक्यौताको हिसाबकिताब मिटर ब्याजको रफ्तारमा कुद्ने गरेको छ । बक्यौताको जरिवाना मिटर ब्याजजस्तै चर्काे भएको स्वयं अधिकृत गिरी स्वीकार्छन् । गिरी भन्छन् ‘बक्यौताको १५ र जरिवाना १० जोड्दा २५ प्रतिशतले मिटर घुम्छ ।’ राजश्वले जनाए अनुसार मूल्य अभिवृद्धि करको बक्यौतापछि ब्याजदर निकै चर्काे छ । जति ढिलो हुँदै गयौं उत्ति चर्काे हुँदै जान्छ । फुलबारी रिसोर्टको हकमा कारोबार नभएको धेरै वर्ष बितिसकेको छ । तर सञ्चालनमा रहँदा उसले देखाएको हिसाबकिताब अनुसार कर तिर्न बाँकी छ । ब्यापार भएकाबेला लिएको नाफाको निश्चित अंश करस्वरुप नतिरेपछि त्यसको जरिवाना बढिरहेको छ । हाल निकालेको सूचनामा पनि निर्धारित समयसम्म कर तिर्न खबरदारी गरेको तर जरिवानाको मिटर घुमिरहेको राजश्वको भनाई छ । ‘व्यापार चलेको बेला हिसाब देखायो तर कर तिरेन, निर्धारित समयमा नतिरेपछि जरिवानाको मिटर चल्यो’ गिरीले भने । कास्कीमा ६५ हजार हाराहारीमा करदाता छन् जसले व्यावसायिक पान नम्बर लिएका छन् । कसले कति कमाई ग¥यो वा कसरी अडिट रिपोर्ट बनायो भन्ने जानकारी राख्न राजश्वलाई कठिन छ । प्रायः करदाताले आफुखुशी तयार पार्न लगाएको रिपोर्टलाई नै आधार मान्नु पर्ने राजश्वको बाध्यता छ । गिरीकैै अनुसार व्यवसायीले तयार पारेको ‘सेल्फ एसेसमेन्ट’लाई नै आधार मानिन्छ । त्यसो त राजश्वसँग अनुसन्धान शाखा र सम्बन्धित कर्मचारी पनि छन् । तर मुस्किलले वार्षिक १ हजारजनाको मात्रै छानबिन गर्नसक्ने राजश्वले जनाएको छ । ‘६४ हजार करदाताले जे विवरण बुझाए त्यही सदर गर्नुपर्ने बाध्यता छ’ अधिकृत गिरी निरिह सुनिए ।
काठमाण्डाै: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताउनुभयो । आज मङ्गलवारदेखि काठमाण्डाैमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मानव अधिकारको रक्षाका लागि लड्न पार्टी निकट मानव अधिकार एलाइन्सलाई निर्देशनसमेत दिनुभयो । अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमानदार र समर्पित भएर लाग्न पनि एलाइन्सलाई सचेत गराउनुभयो । उहाँले भन्नु भयो, ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्, तर्साउँछन्, धम्क्याउँछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन् । खुट्टा याद राख्नुस् भन्न सक्छन् । यो हुँदैन भन्न सकिँदैन । त्यस कारण हाम्रो एलाइन्स मानव अधिकारप्रति समर्पित, इमानदार हुनुपर्दछ ।’ अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने बताउनुभयो । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो । उहाँले बुद्ध जन्मेको देशका मानिसहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुनेसमेत बताउनुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयो, ‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यस कारण हामी हामी नेपालीहरू, बुद्ध जन्मेका देशका बासिन्दाहरू, यहाँका नागरिकहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन ।’ अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उल्लङ्घनकर्ताहरूले नै बढी मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने जरुरी रहेको पनि बताउनुभयो ।
काठमाडौं: अनलाइनमार्फत १५ लाख २० हजार रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्के हुनुुहुन्छ । अन्जलीले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई इंगल्याण्डको नागरिक बताएको र नेपाल आएपछि विवाह गरी इंगल्याण्ड लैजाने प्रलोभन देखाएको प्रहरीले जनाएको । साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाइदिने र यसका लागि कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियोसमेत पठाएर पीडितलाई विश्वास दिलाएको अनुसन्धानबाट देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ । त्यस्तै, कुरियर कार्यालयबाट पार्सल पाउनका लागि Anti-money laundering certificate, डेलिभरी चार्ज, भन्सार शुल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पटकपटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले अन्जलीलाई पक्राउ गरेको हो । अन्जलीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

