पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

धनुषा: जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ ।   विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा दैनिक दुई पटक रेल सेवा सञ्चालनमा छन् । सो मार्गमा सञ्चालित दुईवटा रेल बजेट अभावका कारण बीमा नगरीकनै सञ्चालन गर्नुपरेको  नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रकम अपुग भएपछि बीमा गराउन सकिएको छैन ।”   दुवै रेलको बीमाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा रू १५ लाख र गत आवमा रू ३० लाख विनियोजन गरिएको थियो । एउटा बोगिसहितको रेलको बीमाका लागि रू ९० लाख आवश्यक पर्छ । रकम अभाव भएपछि बीमा गर्न नसकिएको साहको भनाइ छ ।   “दुवै रेलको बीमाका लागि रू एक करोड ८० लाख आवश्यक पर्छ,” रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भन्नुभयो । बीमा नगरिए पनि रेल दुघर्टना भएर कोहीले ज्यान गुमाएमा उनीहरुका परिवारजनलाई  नेपाल रेल्वेको ऐनअनुसार प्रति व्यक्ति रू सात लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको उहाँले बताउनुभयो । झाले भन्नुभयो, “एकातिर यहाँका बीमा कम्पनी रेलको बीमा गर्न तयार छैनन् भने अर्कोतिर बीमा गर्न बजेट अभाव छ । यात्रुको मात्रै बीमा गर्ने प्रक्रिया जटिल भएकाले हालसम्म रेल र यात्रु दुवैको बीमा गराउन सकेका छैनौँ ।”   जयनगर–कुर्था रेल नेपाल रेल्वे कम्पनीले सञ्चालन गरे पनि हालसम्म दुवै रेल रेल्वे विभागको नाममा छन् । विभागले रेलको स्वामित्व कम्पनीलाई हस्तान्तरण नगरेको महाप्रबन्धक झाले जानकारी दिनुभयो । गत पुसमा वैदेही स्टेशनमा नेपाली रेलले किचेर एक यात्रुको मृत्यु भएको थियो । रेल खुल्न लागेको समयमा टिकट नलिइ चढ्ने क्रममा लड्दा किचिएर धनुषाको नगराइन नगरपालिकाका पूर्ण सदाको ज्यान गएको थियो ।   उक्त घटनाको छानबिन गरी मृतकका परिवारजनलाई क्षतिपूर्ति दिनका लागि छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले कम्पनी दैनिक लाखौँ रुपियाँ घाटामा सञ्चालन भइरहेको, रेल तथा यात्रुको बीमा नभएको तथा मृतकले टिकट नलिएको कारण उल्लेख गर्दै क्षतिपूर्तिका लागि सिफारिस नगरेका कारण क्षतिपूर्ति दिइएको थिएन ।

काठमाण्डौ:  भोलि परेको फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो। होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दैछ । इच्छा विपरीत रङ्ग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले बताउनुभयो । उहाँका अनुसार अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन सकिन्छ । प्रहरीको १०० नम्बरमा फोन  गर्दा पैसा लाग्दैन । यो नम्बरमा गुनासो आउने बित्तिकै सम्बन्धित ठाउँमा प्रहरी पुग्ने उहाँले बताउनुभयो । यसैगरी होलीलाई लक्षित गरी भोलि ठाउँठाउँमा चेकपोइन्टहरु पनि राखिने छ । मोबाइल गस्ती बढाइने छ भने सादा पोसाकमा समेत प्रहरी खटिने छन् । ट्राफिक प्रहरीसँगको सहकार्यमा सुरक्षा जाँचलाई कडाइ गरिने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले जानकारी दिनुभयो । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको हो । पछिल्ला केही वर्षदेखि होली पर्व संयमित तरिकाले मनाउने गरेको पाइन्छ । तर, पनि सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गर्न लागेको हो । होली पहाडी जिल्लामा भोलि र तराईमा पर्सि मनाइँदैछ । 

काठमाडौं : आइतबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ।    शुक्रबार एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।    संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भइरहेको छ।    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५५ अमेरिकी डलर छ। 

काठमाडौं : अछाम जिल्लामा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ : ३५ बजे भूकम्प गएको हो।    केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो। अछाम आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।   यसअगाडि आजै बिहान ८ :०३ बजे काभ्रेको नमोबुद्ध नगरपालिकाको दाप्चा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

काठमाडौं:  प्यालेस्टाइनमा मार्च ४ देखि १२ तारिखसम्म आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल खेल्ने टोलीको बिदाइ गरिएको छ ।   अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार महिला टोलीको बिदाइ गरेको हो । नेपाली टोली आजै प्यालेस्टाइन प्रस्थान गर्नेछ । छनोट खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ ।   यस समूहमा नेपालसहित आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्यान्ड छ । नेपालले पहिलो खेल मार्च ८ तारिख प्यालेस्टाइनसँग खेल्नेछ । छनोट खेलको शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।   दोस्रो चरणको छनोट खेल जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणबाट चार टोली उज्वेकिस्तानमा सन् २०२४ मा आयोजना हुने यू-२० महिला एसियन कपमा छनोट हुनेछन् । एसिया कपमा १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।  नेपाली यू–२० महिला टोली    गोलक्षक : कविता विक, सावित्री किसन र लीला जोशी   रक्षक : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनीता भुलन, दिव्या यस्मालीमगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ   मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल र दीपा शाही   स्ट्राइकर : गरिमा राई, अमिषा कार्की, ममता पुन र सदीपा भोलन

चितवन : दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम  बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो ।   भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ बजेबाट ४ बजेसम्म सडक बन्द गरिएको थियो ।    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार सवारी रोकेर पाँच ठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ । तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएको जनाइएको छ ।    तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको थियो । सो डाँडोलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ । यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टीको भित्तो काट्ने काम अन्तिम चरणमा  छ ।     सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ ।  यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँच पुल निर्माणाधीन रहेका छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्काो पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो ।   आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विष्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ । अनुमति पाएसँगै एक महिनामा विष्फोटक पदार्थ झिकाएर विष्फोट गराउने तयारी आयोजनाले गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए।

तनहुँ:  चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो ।   यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ ।   त्यसैगरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का पुजन सिञ्जाली, बन्दीपुर–४ का इसाक सुनार र शुक्लागण्डकी–२ नारन रानाको मृत्यु भएको छ ।   चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको उहाँले बताउनुभयो ।   त्यसैगरी यसै आवमा वन्यजन्तुबाट ४२ घटनामा ७७ पशुधन क्षति भएका छन् । त्यसमा बाख्रा ६९, बङ्गुर पाँच, गाई एक, पाडो एक र सुँगुर एक क्षति भएका छन् ।   त्यसैगरी चार रतुवा मृग, एक अजिङ्गरको उद्धार गरिएको छ भने तीन चितुवा र एक निरबिरालो मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख कोमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।   प्रत्येक पालिकामा पोखरी निर्माणकार्यलाई प्राथमिकता दिएसँगै विगतका वर्षका तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी ल्याउन सकिएको उहाँले बताउनुभयो ।   खोला खोल्सीमा रहेकाे सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउनका लागि वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणकार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन अभिभावकको भूमिका विशेष महत्वपूर्ण हुने बताउनुभएको छ। पोखरा महानगरपालिका–३१, बेगनासमा अवस्थित आनन्द ज्योति माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव एवं अभिभावक दिवसमा उहाँले सो कुरा बताउनुभएको हो।    उहाँले हिजोभन्दा आज सामदायिक विद्यालयमा शिक्षाको अवस्था केही सुधार भए पनि अझै थप सुधार गर्नुपर्ने बताउनुभयो। अभिभावकले आफ्ना बच्चालाई निजी विद्यालयमा पढाउन प्रतिस्पर्धा गर्ने तर सामुदायिक विद्यालयप्रति बेवास्ता गर्दा शिक्षाको गुणस्तर वृद्धि हुन नसकेको उहाँको भनाइ थियो।    आफैँले पढेको विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुग्नुभएका मुख्यमन्त्री अधिकारीले बाल्यकालमा सोही विद्यालयमा भौतिक पूर्वाधारको अभावका बीच अध्ययन गरेको स्मरण गर्नुभयो।    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा विभिन्न व्यक्तिले एक लाख ११ हजार १११ रुपियाँ अक्षयकोष स्थापना गर्नुभएको छ। 

मनाङ:   हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताउनुभयो । “यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी प¥यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ”, उहाँले भन्नुभयो, “जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनी नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि हामी खुसी भएका छौँ ।”,    उहाँका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ । “स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन”, उहाँले भन्नुभयो, “आवश्यक मात्रामा न हिमपात भएको छ, न त पानी नै परेको छ  ।”    जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । “पुसमा हिउँ परेको भए  जमिनमुनीसम्म पानीको मात्रा पुग्छ । अहिले समयमा हिउँ खेतीबाली के राम्रो होला खै रु तापक्रम बढेपछि परेको हिउँ पग्लिएर माथि–माथि नै सुक्छ । बारीमा लगाएको बालीको जरासम्म पुग्दैन”, किसान गुरुङले भन्नुभयो । कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जिल्लामा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात हुन सुरु भएको जानकारी दिनुभयो । यसबाट किसानलाई केही राहत मिलेको बताउनुभयो ।     “माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आंशिक मात्रामा हिमपात भएको छ”, उहाँले भन्नुभयो । बेमौसममा हिमपात बढ्ने देखिएको उहाँले बताउनुभयो । “मङ्सिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले फागुनको तेस्रो साता मात्रै हिमपात हुन थालेको छ”, नासो गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले भन्नुभयो, “बल्ल मात्र हिमपातको सुरुआत भएको छ ।”   मनाङ ङिस्याङ–९ का वडाध्यक्ष च्योल्पा गुरुङले मौसममा हिमपात नभए पनि ढिला गरी हिमपात भइरहेको बताउनुभयो । “विगतमा यतिबेला हिउँले ढकमक्क ढाकिएको हुन्थ्यो, घरको हिउँ फाल्नमा व्यस्त हुन्थ्यौँ, अहिले बल्ला आङ्शिक रुपमा हिमपात भएको छ, यसपाला सुक्खापन छ । सुक्खापनले हिमालकै हिउँ पग्लिएका छन्”,  उहाँले भन्नुभयो ।    नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात भएको तर आवश्यकताअनुसार नभएको बताउनुभयो । “डाँडाकाँडा र हिमालको फेदीतिर हिउँ बाक्लै देखिन्छन् तर बस्ती र खेतबारीसम्म आइपुग्ने गरी हिमपात भएको छैन”, उहाँले भन्नुभयो । उहाँका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँमा आवश्यक मात्रामा हिमपात हुन सकेको छैन । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेसी झरिसकेका छन् । मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानपछि सबै बेसी झरे पनि हिमपात भने आवश्यक मात्रामा नपरेको उहाँले जानकारी दिनुभयो ।    विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपंक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । तर यसपटक सोही अनुसारको व्यवस्था गरिए पनि ढिला गरी हिउँ परेको उहाँले बताउनुभयो । जिल्लामा गत वर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायजसो मङ्सिर अन्तिमदेखि मात्र हिमपात हुने गर्दछ ।    चिसो र हिमपात छल्न मनाङवासी कात्तिक अन्तिम र मङ्सिर पहिलो साता बेसी झर्ने गर्दछन् । उनीहरु काठमाडौँ, पोखरा, बेँसीसहरलगायत स्थानतर्फ जाने गर्दछन् । यस पटक भने उनीहरु गाउँघर फर्किने समयमा हिमपातको सुरुआत भएको छ ।