घलेगाउँ: लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं. ३, उत्तरकन्या, घलेगाउँमा चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ । उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत आयोजित सो तालिममा दुई दर्जन महिला प्रशिक्षार्थी सहभागी थिए । मंगलबारदेखि सुरु भएको सो तालिमको शुक्रबार समापन भएको हो । तालिमको समापन गर्दै क्व्होंलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्य गुरुङले तालिममा सिकेका कुरालाई जीवन व्यवहारमा उतार्न सुझाव दिनुभयो । जनताको अपेक्षा अनुसार गाउँपालिकाले काम गर्ने प्रयास गरिरहेको बताउँदै अध्यक्ष गुरुङले बजेट सीमित भएपनि आवश्यकतालाई हेरेर पालिकाले सधैं सहयोग गर्ने बताउनुभयो । त्यस्तै, गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले महिलाहरूको नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । महिलाहरू सक्षम भए मात्र समाजको विकास हुने भन्दै उहाँले घरको चुलोचौकोमा मात्र सीमित नभइ महिलाहरू क्षमता विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, वडाध्यक्ष आशवीर गुरुङले तालिममा सिकेका कुरालाई खेर जान नदिन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । कार्यपालिका सदस्य हेमन्ता गुरुङले समय व्यतीत गर्न मात्रै तालिममा सहभागी हुनुको अर्थ नहुने भन्दै प्रशिक्षकको मेहेनत र प्रशिक्षार्थीको अभ्यासले तालिम सफल बनेको विश्वास व्यक्त गर्नुभयो । कार्यपालिका सदस्य गंगाबहादुर घलेको अध्यक्षतामा भएको समापन कार्यक्रममा दलित महिला वडा सदस्य पार्वती सुनार, वडा महिला सदस्य शान्ति गुरुङ, समाजसेवी नवराज घले, तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहार उतार्न सके तालिमको उपलब्धि देखिने बताउनुभएको थियो । त्यस्तै, प्रशिक्षार्थीको तर्फबाट टमकुमारी घले, लीला विक, सोनाली गुरुङ, कृति घले, कमला घले, टेककाशी गुरुङले तालिमको अनुभवबारे आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
ढल्केवर: जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनियाँमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीया सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार शनिवार राती ९ बजे ज १ त ५२४५ नम्बरको ट्याक्टर र ज १० प ६४२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । ठक्करबाट गम्भीर घाइते भएका ठाकुर र साहको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
पोखरा: हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकका अनुसार शनिबार दिउँसो फेवातालमा डुङ्गा पल्टिदा ७० वर्षीय याममाया गिरि घाइते भएकी थिईन । डुङ्गा पल्टिएपछि रेञ्जर गण एपिएफ र बैदाम प्रहरीले उद्धार गरि गिरिलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएपनि उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । डुङ्गा पल्टिदा ४९ वर्षीय राजकुमार गिरि, २१ वर्षीय एलिशा गिरि, ४१ वर्षीय खगेन्द्र गुरुङ (चालक), ४९ वर्षीय माया गिरि र २५ वर्षीय विशाल गिरिको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पोखरा: सात तालको बगैँचा सहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर प्राणी उद्यान केन्द्र निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समितिसमेत गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो । खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रको अवलोकन गर्न विद्यार्थीका लागि रु १५ र अन्य सर्वसाधारणका लागि रु २५ टिकट दस्तुर तोकिएको छ । पछिल्लो समयमा विभिन्न विद्यालयबाट विद्यार्थी केन्द्रको अवलोकनका लागि आउने गरेको बताउँदै उहाँले आगामी दिनमा यो पोखराको अर्को नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो । केन्द्रमा पुग्ने सर्वसाधारणले त्यहाँ चितुवा, निलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर , सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा आदि गरी विभिन्न २२–२३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउने उहाँले बताउनुभयो । वन्यजन्तुको अवलोकनसँगै यस क्षेत्रमा रहेका विभिन्न धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइएको ढकालले बताउनुभयो । RSS
पोखरा: हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिदा एक महिला घाइते भएकी छिन् । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकका अनुसार करिब ५० वर्षिया महिला घाइते भएकी हुन् । घाइते महिलाको उद्धारपश्चात गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको डिएसपी विकले जानकारी । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । सो घटनाबारे थप विवरण आँउन बाँकी छ ।
पोखरा: पोखराबाट दुई बालक बेपत्ता भएपछि कास्की प्रहरीले खोजी गर्न अपिल गरेको छ । पोखरा महानगरपालिका २६ आयुवेर्दिक मार्ग बस्दै आएका १३ वर्षीय मनिष शर्मा गत शनिबारदेखि हराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शर्मा गत फागुन १३ गते शनिबारदेखि बेपत्ता भएको र अहिलेसम्म फेला नपरेको कास्की प्रहरीले जनाएको छ । यस्तै रुपन्देही कोटरी घर भई हाल पोखरा महानगरपालिका ३ तेर्सापट्टी बस्ने १२ वर्षीय कैलाश यादव हिजो (शुक्रबार) देखि हराएका छन् ।
भजनी : सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ। आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन्। छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन्। खर्च गर्ने क्रम बर्सेनि बढ्दै गएको छ। तर छाडा चौपायको समस्या भने उस्तै छ। कतिपय स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका लागि गरेको लगानी हिनामिना भएको पाइएको छ। यसरी हिनामिना गर्ने व्यक्ति तथा सम्बन्धित निकायलाई कारवाही हुन सकेको छैन। छाडा चौपायाबाट सबैभन्दा बढी चिन्तित किसान स्वयम छन्। उनीहरूले लगाएको अन्न बाली छाडा चौपायाले सखाप पार्ने गरेका छन्। स्थानीय तह निर्वाचनमा छाडा चौपाया व्यवस्थापन मुख्य मुद्दाका रूपमा मतदाताले उठाएका थिए। व्यवस्थापन गरिएको भनिएका चौपायाको अवस्था पनि दयनीय छ। कैलालीको टीकापुर नगरपालिका–५ स्थित खोटेना भुराखानी सामुदायिक वनमा गौशाला निर्माण गरिएको छ। यहाँ करिब चार सय चौपाया राखिएका छन्। तर चौपायालाई आहाराको समस्या छ। उनीहरू भोकले रूखका बोक्रा खान थालेका स्थानीयले बताएका छन्। छाडा चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा अधिकांश रुखका बोक्रा छैनन्। 'चौपायाको मुख पुग्नेसम्मका रूखका बोक्रा छैनन्', स्थानीय एकराज पण्डित भन्छन्, 'व्यवस्थापनमा खासै ध्यान दिएको पाइँदैन।' स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण गरेका छन्। तर उनीहरूका लागि आवश्यक आहाराको व्यवस्था गरेको नपाइएको उनको आरोप छ। स्थानीय नरबहादुर रावल छाडा चौपाया राख्नका लागि गौशाला निर्माण मात्र ठूलो कुरा नभएको उल्लेख गर्दै तिनको खानेकुरामा ध्यान दिन आवश्यक हुने बताउँछन्। यसलाई रोजगारीसित जोड्न आवश्यक भएको उनको भनाइ छ। टीकापुर–२ का वडाध्यक्ष दीपक चौधरीले वडाको सबैभन्दा ठूलो समस्या छाडा चौपाया व्यवस्थापन भएको बताए। 'वडाको स्रोतसाधनले भ्याएसम्म व्यवस्थापनमा लागेका छौँ', उनले भने, 'एउटा जनप्रतिनिधिले चाहेर मात्रै चौपाया व्यवस्थापन गर्न कठिन छ। हाम्रो स्रोतसाधनले भ्याउने स्थिति छैन।' टीकापुर नगरपालिकाले वार्षिक २० लाख छाडा चौपाया व्यवस्थापनका लागि विनियोजन गर्दै आएको छ। उक्त रकम चौपायाको आहारा, यसका लागि खटिने कामदारको ज्यालालगायत कुरामा खर्च गरिँदै आएको छ। बजेटको अभावले छाडा चौपाया व्यवस्थापनमा समस्या भएको नगरपालिकाका नगरप्रमुख रामलाल डंगौरा थारू बताउँछन्। नगरपालिकाले गरेको काम पनि दीर्घकालीन हुन नसकेको भन्दै उनले छाडा चौपायाको दिगो व्यवस्थापन नै जरुरी भएकामा जोड दिए। 'दीर्घकालीन योजनाका साथ उत्पादनमूलक बनाउने गरी गौशालाको व्यवस्थापन गर्नुपर्छ। यसमा नगरपालिका मात्रै नभई अन्य निजी संस्थाले पनि समन्वय र सहकार्य गर्नुपर्ने देखिन्छ', नगरप्रमुख थारू भन्छन्, 'हामीले नाफा घाटा नहेरी आवश्यकताका आधारमा काम गर्दै आएका छौँ। उत्पादनमूलक रुपमा काम गर्ने कुनै निकाय आए त्यसलाई जिम्मेवारी सुम्पिन सकिन्छ।' सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले कैलालीमा छाडा चौपाया व्यवस्थापन जटिल समस्याका रुपमा रहेको बताए। छाडा चौपायाका कारण किसानले खेती गर्न छाडेको उनको भनाइ छ। 'छाडा चौपायालाई व्यवस्थापन गर्न बनाइएका गौशालाको अवस्था चित्तबुझ्दो छैन। उनीहरूलाई खानेकुराको अभाव भएको छ, कतिपय ठाउँमा पानीको पनि व्यवस्था नगरेको पाइयो', प्रदेशसभा सदस्य चौधरीले भने, 'भोकले चौपाया मरेको समेत पाइएको छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ।' कैलालीको जस्तै कञ्चनपुरका विभिन्न स्थानीय तहले छाडा चौपायाका लागि निर्माण गरेका गौशालाको अवस्था पनि दयनीय नै छ। यसको व्यवस्थापनमा स्थानीय तहको ध्यान पुग्न सकेको पाइँदैन। छाडा चौपायाका कारण सधैँ स्थानीय तह र सर्वसाधारणबीच किचलो हुने गरेको छ। व्यवस्थापनको माग राख्दै पटक पटक आन्दोलन समेत गरिँदै आएको छ। छाडा चौपायाको व्यवस्थापनतर्फ जनप्रतिनिधि र कर्मचारी गम्भीर बन्न सकेका छैनन्। छाडा चौपायाका कारण दैनिक सडक दुर्घटना समेत बढेको पाइएको छ।
पोखरा: लामो समयदेखि पोखराको टेनिसमा क्रियाशिल खेलाडी तथा प्रशिक्षक विष्णु नेपालीले अब रुपन्देहीमा टेनिस प्रशिक्षकका रुपमा काम गर्ने भएका छन् । पोखरा–५, पस्र्याङका विष्णु झण्डै १५ वर्ष देखि पोखराको टेनिसमा आवद्ध छन् । सानै उमेरबाट टेनिस कोर्टमा सहयोगीका रुपमा काम गर्दै आएका उनले खेलाडीका रुपमा विभिन्न राष्ट्रिय तथा स्थानिय प्रतियोगिताहरुमा पदक जितिसकेका छन् । पछिल्लो समय उनले यहाँका जुनियर खेलाडीहरुलाई प्रशिक्षण समेत दिंदै आएका थिए । कास्की जिल्ला टेनिस संघले उनलाई शनिबार एक समारोहका विच विदाई समेत ग¥यो । सो अवसरमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले पोखरेली खेलाडीहरुले टेनिसमा उत्कष्ट प्रदर्शन गर्दै आएकोमा खुसि व्यक्त गरे । संघ कास्कीका अध्यक्ष लोक गुरुङ्ग, उपाध्यक्षद्धय नविन चालिसे, राजु गुरुङ्ग, सचिव नविन श्रेष्ठ, कोषाध्यक्ष अनुज बाँस्तोला, सदस्य भिष्मराज पौडेल, सल्लाहकार समिर शेरचन, गोपी भट्टराई, सूर्य भुजेल, बसन्त प्रधान तथा पोखरेली खेलाडी एवं प्रशिक्षकहरुले उनलाई सफलताको शुभकामना प्रदान गरेका थिए । खेलाडीहरुको अथक मेहनत र प्रयासका कारण अहिले देश विदेशमा पोखरेली टेनिस खेलाडीहरुले प्रशिक्षकका जिम्मेवारी सम्हाल्ने अवसर पाएको कायस्थले जनाए । पोखरेली टेनिस स्टारहरु कुमार अधिकारी, शक्ति सर्मा, निरज गुरुङ्ग, नविन मगर, प्रदीप खड्का लगायतले माल्दिभ्समा तथा महेश्वर तिवारीले कुवेतमा टेनिस प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताउनुभयो । “एक दुई क्याम्पसबाहेक देशभरि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्ना सङ्गठन दर्ता गराएका छन्”, उहाँले भन्नुभयो, “अब विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ ।” निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार विद्यार्थी सङ्गठन दर्ता गर्ने समय तोकिएको थियो । निर्देशनालयका निर्देशक अधिकारीले उपत्यकामा एउटा क्याम्पसबाहेक सबै क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार आयुर्वेदिक क्याम्पसमा पनि विद्यार्थी सङ्गठन दर्ता हुन सकेन । उहाँले उपत्यकाबाहिर लमजुङको कृषि क्याम्पसमा यही फागुन २१ गतेका लागि विद्यार्थी सङ्गठन दर्ताको समय तोकिएको जानकारी दिनुभयो । उहाँले उपत्यकामा २१ आङ्गिक क्याम्पसमा सङ्गठन दर्ता भएको बताउनुभयो । उहाँका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १९, पुल्चोक इन्जिनियरिङमा सात, नेपाल ल क्याम्पसमा १७, पद्म कन्या बहुमुखी क्याम्पस ११, शङ्करदेव क्याम्पसमा १२, त्रिचन्द्र बहुमुखी क्याम्पसमा २४, आरआर क्याम्पस १७, नेपाल कमर्स क्याम्पसमा १६ र अमृत साइन्स क्याम्पसमा १४ विद्यार्थी सङ्गठन दर्ता भएका छन् । यस्तै, निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ देखि अपराह्न २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।

